शैक्षिक जीवनका अनुभवहरु (२५ )

शैक्षिक जीवनका अनुभवहरु (२५ )

२०७१ चैत २७ गते शुक्ररवार 

वार्षिकोत्सवको रमझम

२०७१ चैत २८ गते पशुपति मित्र माध्यमिक विद्यालय,चावहिल,काठमाण्डौंको ६८ औं वार्षिकोत्सव हो । 

यसको भव्य सफलताकोलागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु । वधाइ छ मेरो , उत्तीर्ण हुंने सबै प्यारा छात्रछात्राहरुलाई । वधाइ ज्ञापन गर्दछु , सम्मानित हुनु हुंने शिक्षक मित्र सबैलाई र पुरस्कृत हुने विद्यार्थीहरूलाई ।

उपत्यकादेखि बाहिर मुकाम रहेको र फत्ते नगरि नहुंने कामले गर्दा निम्ता मान्न उपस्थिति हुंन सकिन । क्षमा प्रार्थी छु । विद्यालय परिवारसंग । मेरा भरखरै-भरखरै साथ छुटेका सहकर्मीहरुसंग ।

एक शैक्षिक सत्रको विद्यार्थीहरुको परीक्षाफल प्रकाशन ,विभिन्न विधामा जेहेन्दार छात्रवृत्ति वितरण, अतिरिक्त कार्यकलापमा उत्कृष्ट स्थान ल्याउनेहरुलाई पुरस्कार वितरण, दीर्घ सेवा गर्ने गुरु / गुरुमाहरुलाई सम्मान, छात्रवृत्ति दाताहरुलाई कदर र सम्मान आदि यस दिनका रमझम हुंन् ।

अभिभावकहरुको पातलो उपस्थिति भएपनि प्रधानाध्यापकले गुनासाहरु पोख्ने परम्परानै भएकोछ । सामुदायिक विद्यालयका अभिभावकहरुलाई सधैं असार पन्द्र हुन्छ, तिनलाई काममा जान । तर बिडम्बना यस्तो देखिन्छ कि एउटै बाआमाका छोरा बोर्डिंगमा र छोरी सरकारी स्कूलमा भर्ना गर्ने प्रायः चलन छ ।निजामति कर्मचारीका सन्ततिहरुको त कुरै गर्न परेन, यहाँ ।  बोर्डिंगको वार्षिकोत्सवमा बाआमा दुबै दिनभरि नै कार्यक्रममा सहभागी भएर छाती फुलाइ फर्कन्छन् । तर छोरीको स्कूलमा आफन्तीलाई रिजल्ट लिन पठाउँछन् । सक्की गो नि ” छोराछोरी बराबरी” को लोभलाग्दो नाराबाजी ।

                                                 

शैक्षिक जीवनका अनुभवहरु (२४)

शैक्षिक जीवनका अनुभवहरु (२४)

२०७१ चैत २६ विहिवार 

दैनिक / मानसिक पाठ योजना 

दैनिक पाठ योजना बनाएर कक्षा शिक्षण गरिएमा बढी प्रभावकारी हुन्छ । नयाँ नियुक्त भएका शिक्षकहरुको हकमा कम्तीमा दुई वर्ष र बढीमा चार वर्षसम्म लगातार पाठ योजना बनाएर पढाउने गरे, गराएमा शिक्षकमा दक्षता आउँछ । यो दक्षताले पाठ्यक्रममा आमूल परिवर्तन न आएसम्म काम दिन्छ ।सफल  पाठ योजना निर्माण र कार्यान्वयन शिक्षकले दैनिक पढाउनु पर्ने पिरियड संख्यामा पनि भर पर्दछ । दैनिक ५-६ पिरियड पढाउनु पर्ने बाध्यता भएका शिक्षकहाट पाठ योजनाको अपेक्षा गर्नु हुंदैन । त्यस्तो अवस्थामा शिक्षकले मानसिक पाठ योजना ( Mental Lesson Plan ) को आधारमा कक्षा शिक्षण गर्ने बानी बसाल्न सके वेस हुन्छ ।

१ / मैले हिजो के र कहाँसम्म पढ़ाएँ;

२ / पुनरावृत्तिकोलागि के गर्ने, आज के पढाउने;

३ / के शैक्षिक कार्यकलाप गराउने;

४ /  मूल्याँकनकोलागि के के सोध्ने; र

५ / गृह कार्यनिमित्त के दिने ?

आदि बुंदाहरु मनमस्तिष्कमा सोंचेर कक्षा प्रवेश गर्नु नै Mental Lesson Plan बोकेर जानु हो ।

शिक्षण जीवनका अनुभवहरु (२३ )

शैक्षिक जीवनका अनुभवहरु (२३ )

२०७१ चैत २४ बुधवार

केही महिला शिक्षक किन तुरुन्त उठेर कक्षामा जान सक्दैनन् ?

अनुभव नं. २२ मा घंटी लाग्नासाथ शिक्षकहरु कक्षामा जानु पर्नेबारे छलफल ग-यौं । तर केही महिला शिक्षक मित्रहरुलाई यसो गर्न नसक्ने समस्या हुन्छ । यो प्रायः ऊनीहरुको कम्मर र त्यस मुनि पीडा खप्नु पर्ने शारीरिक कारणले गर्दा हुन सक्छ ।उमेर छिप्पिएका, menopause अर्थात मासिक धर्म निवृत्त समय प्रवेश गरिसकेका, घुंडा दुखाइ पीडा भएका आदि कारण भएकाहरुलाई यो समस्या आउँछ ।कोही आफ्नो समस्या भन्छन् त कोही मौन सही रहेका हुन्छन् । विद्यालयमा प्रशासन चलाउनेहरुले यो कठीनाइ बुझ्नु पर्ने वा महसूस गर्नु पर्ने हुन्छ ।

शैक्षिक जीवनका अनुभवहरु (२२ )

शैक्षिक जीवनका अनुभवहरु (२२ )

२०७१ चैत २३ मंगलवार

घंटी शिक्षककोनिमित्त लाग्दछ विद्यार्थीकोलागि होइन ।

विद्यालयमा ४० वा ४५ मिनटको फरकमा घंटी लाग्दछ । तुरुन्तै कक्षामा प्रस्थान गर्नु शिक्षकको कर्तव्य हो । घंटी लाग्नासाथ  कक्षामा शिक्षकहरु जाँदैनन् भन्ने अभिव्यक्ति प्रधानाध्यापकहरु दिने गर्दछन् । शिक्षकले बुझ्नु पर्ने कुरा के हो भने “घंटी मुख्यत: शिक्षककोनिमित्त लाग्दछ विद्यार्थीकोलागि होइन ।”

शैक्षिक जीवनका अनुभवहरु (२०)

शैक्षिक जीवनका अनुभवहरु (२०)

२०७१ चैत २२ आइतवार

                  विद्यालय नयाँ र पुराना शिक्षकको संगम स्थल हुनु पर्दछ 

विद्यार्थीलाई पढाउने र सिकाउने काममा नयाँ मास्टर ( लोक भाषामा ) / शिक्षकको भूमिका राम्रो हुन्छ भने विरामीलाई परीक्षण गर्ने काममा पुरानो डाक्टर राम्रो हुन्छ भन्ने विश्वास छ । नयाँ मास्टरमा नयाँ जोस, जाँगर र उत्साह हुन्छ । कलेज, विश्वविद्यालयबाट भरखरै आएका हुनाले निजको ज्ञान ताजा , वैज्ञानिक र शिक्षणका नयाँ प्रविधि सिकेर आएको हुन्छ । शिक्षण प्रभावकारी हुन्छ ।विद्यार्थीहरु निजप्रति आकर्षित हुन्छन् ।नयाँ कृयाकलाप अपनाएर पढाउने हुंदा कक्षा शिक्षण जीवन्त हुन आउँछ ।

तर कुनै कुनै नयाँ शिक्षक वढी स्मार्ट भएर विद्यार्थीप्रति  यौनिक आकर्षण राख्दछन् ।छात्रप्रति भन्दा पनि छात्रासंग वढी घुलमिल भईरहेको देख्न सकिन्छ ।यसबारे निजलाई विद्यालय प्रशासनले पूर्व सचेत गराउनु वाँछनीय हुन्छ । अन्यथा आचरण प्रतिकूल परिणाम देखा पर्दछ ।

पुराना शिक्षक संयमी, अनुशासित तथा विद्यार्थीको मनोभाव अनुसार पढाउन परिपक्व हुन्छन् । तर धेरै जसोले आफ्नो ज्ञानलाई अप-टु-डेट ( up to date) गर्न जाँगर चाहिं अलिक कम नै देखाउँछन्, है ।

अनुभव, ज्ञान, सीप र दक्षताको आधारमा प्रशासनलाई नटेर्ने जिद्दी पनि हुन्छन् । उनको धैर्यताले नै विद्यालयमा कुनै अप्रिय घटना घट्न भने दिंदैन पनि ।

त्यसैले विद्यालय पुराना र नयाँ शिक्षकहरुको संगम स्थल हुनु पर्छ ।

शैक्षिक जीवनका अनुभवहरु (२१ )

शैक्षिक जीवनका अनुभवहरु (२१ )

२०७१ चैत २३ सोमवार

रोजगारीकोलागि शुरु गरेको शिक्षण व्यवसाय बन्यो

२०२६ साल माघमा दिएको एस.एस. सी. परीक्षाको नतिजा जेष्ठको तेस्रो सातामा आयो । केही दिनपछि तत्कालीन बुटवल-खस्यौली नगर पंचायतद्वारा देशमा नै सर्व प्रथम संचालित अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं.  १ मा सहायक शिक्षकमा नियुक्ति पाएं ।विहान तेसवेलाको लुम्बिनी कलेजमा I.A. मा भर्ना भएं । म मास्टर भएकोमा गुरुहरु र टोलका मान्यजनबाट स्याबासी पाएं । प्राथमिकमा सबै विषय पढाउनु पर्ने भए पनि मैलै अंग्रेजी र विज्ञान पढाउने जिम्मा पाएको थिएं ।

मज्जाले पढ़ाएँ ।  सबै विद्यार्थी खुसी हुन थाले ।विहानको कलेज र दिउँसोको विद्यालयको जागीर । रू. १२५/- को महिनावारी तलव । तन, मन र मस्तिले रमाउँदै पढाउँदै गएं । एक छत्र पढ़ाएँ । कुनै अर्को जागीरको खोजीमा पनि लागिएन । प्रा.वि.मा शिक्षक  नि.मा.वि. र मा.वि. मा बढुवा र प्र.अ. , रात्री मा. वि.प्र.अ. अनि काठमाण्डौंमा सरुवा हुंदै २०२७ सालदेखि थालनी भएको अध्यापन २०७१ मा आएर पूर्ण विराम लाग्यो।

रोजगारीकोलागि शुरु गरेको शिक्षण मेरो जिन्दगीभरको व्यवसाय बन्यो ।यसैमा सेवा निवृत्त भएर भरण-पोषण हुंदैछ ।

शिक्षण जीवनका  अनुभवहरु ( ८ )

शिक्षण जीवनका  अनुभवहरु ( ८ )

अचेल परीक्षाको समय हो । अंग्रेजी विषयमा निबन्ध लेख्नु पर्ने प्रश्न दिने चलन छ । प्रायः प्रश्न यस्तो सोध्ने गरिन्छ –
” Write a short essay on Dashain or Tihar” यो प्रश्नमा अहिन्दू विद्यार्थीहरुले राम्ररी जवाफ लेख्न सक्दैन नै । त्यस प्रश्नको ठाउँमा यसरी सोधौं – “Write a short essay on your family festival that you have enjoyed”. यस प्रश्नमा सबै जातजातिले आ-आफ्ना पर्वको बारेमा अवश्य लेख्ने छन् । 

पानी पुरी खाने किशोरी

पानी पुरी खाने किशोरी

छोटो-छोटो पोशाक 
फरर -फरर उड्दा
भित्री वश्त्र देखिने
एक झुण्ड किशोरी
पानी पुरी खाँदै
हंसी मजाक गर्दै
मुरी मुरी हाँस्दा
पुरीको झोल
ओंठबाट झरी
छातिबाट बग्दा
फिस्स हाँसी 
वाल्ल परी हेर्थ्यो
पानी पुरी दादा ।

” लौ तेरो त…”
भन्दै खितित्त 
हाँस्थे सखीहरु ।
टक्क रोकिइ 
पुर्लुक्क हेर्थे
वटुवाहरु ।

गर्दा खिसी एउटीको
अर्कीको पनि
हुन्थ्यो त्यही गती ।
पानी पुरीको 
रंग लगाई 
मुष्ठै पैसा तिरी
टिमिक्-टिमिक्
चाल चाल्दै
छोटा-छोटा
पोशाक उडाउंदै
हुत्तिए भीड ठेल्दै ।
पानी पुरी खाने किशोरी 
  – बुटवल
२०७१ चैत १५

शिक्षण जीवनका अनुभवहरु (१२)

शिक्षण जीवनका अनुभवहरु ( १२ )

चैत महिना वार्षिक परीक्षाको रिजल्ट तयार गर्ने र वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु गर्न विद्यार्थी भर्ना र वार्षिक कार्यतालिका बनाउने आदि काममा समय खर्चिनु पर्ने वेला हो ।प्राइवेट बोर्डिंग स्कूलहरूले त अग्रिम रुपमा रणनीति बनाई लागू गर्दछन् । विहान चाँडै गुंड छाडी चारा खोज्न उड्ने चराचुरुंगीले प्रशस्तै चारा बटुल्न सफल हुन्छन् । यस्तै समयमै भर्ना नीति तये गर्ने त्यस्ता विद्यालयले प्रतिभावान विद्यार्थी र सम्पन्न अभिभावक हात पार्छन् । सामुदायिक विद्यालयहरुको भर्ना कार्यक्रम विस्तारै शुरु हुन्छ । मन नलगाइ-नलगाइ घरदैलो र स्वागत कार्यक्रम थालनी गर्दछन् । कतिपय अभिभावकवर्गले सामुदायिक / सरकारी विद्यालयमा अंग्रेजीमाध्यममा पढाइ नहुंने तर्फ गुनासा गर्दछन् ।

केहीले त शिक्षकहरुलाई ” तपाईका छोराछोरी पनि तपाईले पढाउने विद्यालयमा भर्ना गर्न ल्याउनुस अनि हामी पनि त्यहाँ भर्ना गरौंला” भनी चुनौति दिन्छन् । किनभने सरकारी स्कूलका अधिकाँश शिक्षकहरुका सन्तानहरु महंगा बोर्डिंग स्कूलहरुमा भर्ना गरिएका हुन्छन् । विगत वर्षहरुमा पाल्पा जिल्लाका केही विद्यलयका अभिभावक र गाउँवासीहरुले त शिक्षकहरुले पनि आफ्ना छोराछोरीलाई आफूले पढाइरहेका विद्यालयमै भर्ना गर्नु पर्ने अभियान नै चलाए । शिक्षकहरु बाध्य भएर सो माग पूरा गरे । माग उचित थियो । यस्तो गर्दा शिक्षकले तनमन लगाएर पढाउने हुन्छन् । अभिभावकहरुको विश्वास पनि विद्यालयले जित्छ । तर यस्तो गर्दा शिक्षकहरुका सन्तानहरुको घरपायक भने मिलेको हुनु पर्दछ । 

काठमाण्डौंको एक विद्यालयमा मैले लामो समयसम्म पढाएं । नयाँ शैक्षिक सत्रको तैयारी गर्न बस्ने शिक्षक स्टाफ़ वैठकमा शिक्षक स्टाफ र कर्मचारीका छोराछोरी पनि विद्यालय उमेर समूहको भए वा घर पायक पर्ने भए आफ्नै विद्यालयमा ल्याई भर्ना गर्नु पर्ने विचार विमर्श हुन्थ्यो । तर कुराकोलागि कुरा मात्रै हुन्थ्यो । कोही आफ्ना वालवच्चाको हक हितको कुरा गर्थे । कोही मानव अधिकारको दुहाइ दिन्थे । कोही भने निजी क्षेत्रको  जस्तै स्तरीय पढाइ हुने ग्यारेन्टी भए त्यहाँ छुटाएर भर्ना गर्न ल्याउने मन्तव्य राख्थे । तर त्यस विद्यालयमा सुचिकार,पियन-पाले र शिक्षक र प्रशासक कसैले पनि आफ्ना छोराछोरीहरु भर्ना गर्न ल्याएनन् । बोर्डिंग स्कूलमा विदा प-यो भने तिनका सन्तानहरु विद्यालयमा ल्याएर टाईम पास गराउँछन् । यसपाली के गर्लान् ? दैव जानुन् ।

मैले भने चालिसकै दशकमा आफ्ना सन्तानहरुलाई आफूले पढाउने विद्यालयमा भर्ना गरी प्रवेशिका उत्तीर्ण गराएको थिएं ।

शिक्षण जीवनका अनुभवहरु (१९ )

शिक्षण जीवनका अनुभवहरु ( १९ )
२०७१ चैत २१ शनिबार 
शिक्षकको विद्यार्थीसंग ग्रह नमिल्ने स्थितिमा के गर्नु वेस होला ?

अनुभव नं. १८ मा शिक्षकले विद्यार्थीलाई कक्षा बाहिर निकालेर समस्याको समाधान नहुंनेबारे उदाहरण सहित छलफल गरें ।

शिक्षकको विद्यार्थीसंग मन मिलेन, ग्रह मिलेन भने यस्तो स्थिति आउने मेरो अनुभव रहेकोछ ।हामी मध्ये कतिपयले विद्यार्थीलाई कक्षा बाहिर निकाली दिए पछि कक्षा शान्त हुन्छ भन्ने गलत सोंचाइ राख्छौं । तर यसले शिक्षक र त्यस विद्यार्थी बीच मनोमालिन्य अझ बढाउँछ ।त्यसले असान्दर्भित प्रश्न सोध्ने, संगैको सहपाठीलाई अलमल्याउने र शिक्षकसंग निहुं खोज्ने कार्यकलाप गर्न पछि नपर्ने हुन्छ । विद्यार्थीलाई सामान्य अवस्थामा कक्षाबाट निकाल्दा उसको पढ्ने अधिकारबाट मात्रै बन्चित नभई उसको मानव अधिकारको समेत हनन हुन्छ । कतै उ derail ( बाटो छाड्ने / कुलतमा लाग्ने ) पनि नहोला भन्न सकिन्न । शिक्षकको कर्तव्य त पढाउनु र सिकाउने नै हो ।

कुनै विद्यार्थीसंग हाम्रो ग्रह मिलेन भने त्यसलाई केही समयकोलागि ignore ( वास्ता नगर्ने, नबोल्ने, सजाय नदिने, उ तिर नहेर्ने ) गर्ने । कुनै जेहेन्दार विद्यार्थी तर्फ दृष्टि दिने, हिस्सी परेकाहरु तिर निरपेक्ष ( आकर्षणको भाव नराखी ) नजर राख्ने गरेमा शिक्षकको मुड अफ हुंदैन । कक्षाको पछाडी गएर पनि पढाउने र ब्याख्या गर्न सकिन्छ । ग्रह नमिल्ने विद्यार्थीले पछि फर्केर शिक्षकलाई  हेर्दैन पनि । कक्षा नियन्त्रण समेत हुन्छ ।

शिक्षक मित्रहरुलाई मेरो अनुभव दैनिक शिक्षणमा एक पटक प्रयोग गरेर हेर्न आग्रह गर्दछु ।