अंग्रेजी शिक्षण
लव जोशी
अंग्रेजी विश्वभरि चलनचल्तीमा रहेको भाषा हो । विज्ञान प्रविधि, चिकित्साशाश्त्र , साहित्य र सूचना प्रविधिको ज्ञान भण्डार अंग्रेजी भाषामा रहेको छ । यो भाषाको महत्व नेपाली पाठ्यक्रम उत्तिकै रहेको छ । २०२८ सालमा लागू भएको नयाँ राष्ट्रिय शिक्षा पद्धतिको योजनामा निम्न माध्यमिक स्तर कक्षा ४ बाट मात्र यो विषय पढाइन्थ्यो । भाषा सिकाइको चार सीप सुनाइ,बोलाइ, पढाइ र लेखाइलाई जोड दिई पढाउने गरिन्थ्यो । अंग्रेजी धेरै जसो बिद्यार्थीलाई गाह्रो लाग्ने विषय हो । सामुदायिक विद्यालयहरूमा सबै विषय नेपाली माध्यममा पढाइने गरिन्छ । अंग्रेजी विषय पनि अनुवाद गरेर पढाउने चलन थियो । केही समस्या थियो नै । घरमा अा-अाफ्नो मातृभाषाको बोलाचाली र व्यवहार हुने । साथीभाइ, बाटोघाटो र खेल मैदानमा त्यस्तै भाषाको बोलीचाली । विद्यालयमा रहंदासम्म पनि त्यही परिवेश । कक्षामा पनि न शिक्षक पूर्ण समय अंग्रेजी बोल्ने न बिद्यार्थीहरू बोल्ने । खाली परीक्षामा पास हुन सुगा रटाइ गरेर ल्याएको अंकमा चित्त बुझाउनु नै उपलब्धी मानिन्थ्यो ।
यो विषयमा थप उर्जा दिन अावश्यक हुन्छ । हाम्रो पालादेखि अहिलेसम्म भाषालाई अनिवार्य विषय मानेर अावश्यक अंक ल्याइ उत्तीण हुनै पर्ने गराइयो । २०३७ सालमा निजी बोर्डिंग स्कूल खोल्ने नियम अायो । बोर्डिंहरूले नेपाली बाहेक सबै विषय अंग्रेजी माध्यममा पढाउन थाले । सक्षम अभिभावकहरूले नानीहरूलाई त्यहाँ भर्ना गर्ने थाले । अंग्रेजी मोहमा महंगो शुल्क तिर्न राजी भए । ती विद्यालयहरूले गुणस्तर कायम गर्नकोसाथै एस.एल.सी. नतिजा समेत उच्चस्तरको ल्याउन सफल भए । २०४६ सालपछि विद्यालयमा अंग्रेजीलाई संचार गर्ने भाषा ( Communicative Language ) को रूपमा लागू गरी प्रवेशिका परीक्षामा २५ अंकको Listening & Speaking सीप परीक्षण गर्ने चलन अायो । यसले अंग्रेजीलाई बोल्न पर्ने,संचार गर्नु पर्ने भाषा बनायो । तर देश भर एकरूपता अाएन । कतिपय स्थानमा शिक्षकको योग्यता,जोश जांगर अनि विद्यालयको भौतिक साधनमा भर प-यो । निजी बोर्डिंगका बिद्यार्थीहरूलाई जति सहज भयो उति नै सामुदायिक विद्यालयका बिद्यार्थीलाई अप्ठेरो भयो । कतै अौपचारिकतामा सीमित भयो ।
अब देशका विभिन्न स्थानमा संचालित सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन र बोर्डिंगहरूसंग प्रतिस्पर्धा गर्न अंग्रेजी माध्यममा शिक्षण गर्न शुरू गरिसकेका छन् । सामुदायिक विद्यालयमा योग्यत्तम, तालिम प्राप्त र अनुभवी जनशक्तिको अभाव छैन । केवल प्रतिबद्धताको खाँचो छ । अार्जेको सीप र ज्ञानलाई व्यवहारमा उतार्नु पर्छ । गुणस्तर खस्क्यो भने बिद्यार्थीको संख्या घटेर विद्यालय मर्ज- अन्य विद्यालयमा गाभ्नेसम्मको अवस्था अाउन सक्छ । काठमाण्डौं,भक्तपुर र ललितपुरमा यस्तै देखिन अायो । मर्ज भएका शिक्षकहरूलाई अन्य विद्यालयले सजिलै स्वीकार्दैनन् । अाफ्नो विद्यालय सपार्न नसक्नेले हाम्रो विद्यालयमा के पो गर्लान् भनी शंकाको घेरामा राख्छन् ।
मेरो अनुभवमा शिक्षक नै उर्जावान हुनु पर्छ । शिक्षकको काम कुनै तरहबाट बुझाइ-बुझाइ पढाउनु हो । अंग्रेजी स्वभावले नै कठीन हुन्छ । अंग्रेजी विषयको शिक्षकले बोलचाल र अभिनयबाट पढाउनु पर्छ । बिद्यार्थीहरूलाई बोल्ने अभ्यास गर्ने पेरणा जगाउनु पर्छ । बिद्यार्थीले गर्ने अनेक गल्तीलाई स्वाभाविकरूपमा ग्रहण गर्नु पर्छ । यसो भनेमा राम्रो हुन्छ ,यस्तो लेखेमा सही हुन्छ भनेर हौसला दिनु पर्छ । तुरून्तै गल्ती अौंल्याउन हुंदैन । सकेसम्म कक्षाको ४५ मिनटको समयमा अंग्रेजीमै बोलाचाली गर्ने गराउने जिम्मा शिक्षकको हो । शिक्षक सफल हुनु नै बिद्यार्थी सफल हुनु हो । कक्षामा केही बिद्यार्थी अंग्रेजीमा राम्रा हुन्छन् । तिनीहरूलाई नमूना बनाइ प्रदर्शन गर्नु अावश्यक हुन्छ । अंग्रेजीमा राम्रो गर्नकोलागि बिद्यार्थीहरूलाई केही मार्ग दर्शन गर्नु अति जरूरी छ । जस्तै – कुनै शब्दको अर्थ जान्नु परेमा डिक्सनरी पल्टाउनु ,सर मिससंग सोध्नु , उपल्लो कक्षाका दाजु दिदीसंग सोध्नु ,रेडियो वा एफ.एम. प्रसारण हुने अंग्रेजी समाचार सुन्नु, टेलिभिजनमा अाउने अंग्रेजी समाचार हेर्नु , त्यहाँ श्रब्य-दृश्य सामग्री देखाइन्छ ,अर्थ बुझ्न सजिलो हुन्छ, नेशनल जोग्रफि, डिसकभरी, जी एनिमल, एनिमल प्लानेट, निक कार्टुन अादि शो हेर्नु र कुनै पनि अंग्रेजी अखबारमा मन लागेको सामग्री पढ्नु अादि कुरा सिकाउनु पर्छ । शिक्षक मित्रहरू , यस्तो गर्नु भएको छैन भने गरेर, भनेर हेर्नुस् । मनोयोगले अध्यापन गर्नुस् । सफलता अवश्य पाइन्छ । यो मेरो अनुभव सिद्ध उपायहरू हुन् ।
अाज मोबाईल / स्मार्ट फोनको जमाना छ । ठूला कक्षाका सबै छात्रछात्रासंग हुन्छ । हामी शिक्षकहरू उनीहरूलाई मोबाईल विद्यालयमा ल्याउन निषेध गर्छौं ।फेसबुक हामी चलाउँछौं । उनीहरूलाई नचला भन्छौं । यहाँ अलिक बुद्धि फेरौं । हाम्रो मस्तिष्कको एेन्टेना घुमाअौं । फेसबुक चलाउन जान्नु पनि अंग्रेजी सिक्नु,लेख्नु हो । एकाउन्ट खोल्न चलाउन सहयोग गरौं । मोबाईलमा स-साना गृहकार्य दिन थालौं । अंग्रेजीमा वा नेपाली भाषामा समानार्थ वा बिपरितार्थ शब्दको अर्थ लेखेर मेरो मोबाईलमा पठाउन भनौं । स-साना निवेदन लेखेर पठाउन भनौं । गणितको सुत्र र विज्ञानमा रसायन सुत्रको अर्थ, संक्षिप्त प्रश्नोत्तर दिई उत्तर लेखी पठाउन भनौं । सामाजिकमा तथ्याँक र देशहरूको राजधानी लेख्ने प्रश्न दिन थालौं । अभ्यास गरौं । यस्तै अा-अाफ्ना विषयमा पनि गरौं । प्रविधिलाई हाम्रो सहयोगी र सामग्री बनाअौं । बिद्यार्थीले हाम्रो निर्देशन मान्छन् ।
म अंग्रेजी विषयको शिक्षक भएको हुनाले बिद्यार्थीहरूलाई बोल्ने अौधी प्रेरित गर्छु । एउटा उदाहरण छ – कुनै दुई टुरिष्ट गाईड पर्यटकहरूलाई लिई मुक्तिक्षेत्र गए छन् । अंग्रेजी बोल्न जान्ने गाईडले पर्टकहरूलाई खोलानाला, भीड पाखा,हिमाल,बनस्पति र शालीग्रामबारे अंग्रेजीमा बर्णन गर्दै घुमाए । अर्कोले बाटो मात्रै देखाउँदै सेवा गरे । पद यात्रा सकिएपछि अंग्रेजी बोल्न जान्नेले पुस्कार – टिप्सबापत पाँच सय डलर पाए छन् । अर्कोले नेपाली एक हजार रूपियाँ पाए छन् । यो त पुरस्कारको कुरा हो । यस्ले अंग्रेजी भाषाको महत्व बताउँछ । भारी बोक्न पनि अंग्रेजी जान्नु पर्ने बेला अायो भने अन्य क्षेत्रमा त कुरै नगरौं । हाम्रो पाठ्यक्रममा पनि केही परिवर्तन होस् । एउटा पत्र अंग्रेजी विषय मानेर र अर्को पत्र संचार गर्ने,बोल्ने गरी कायम गरौं । दुबैको जोडफलले उत्तीर्ण हुने अंक निर्धारण गरौं । अब स्थानीय निकायले अाफ्नो क्षेत्रको अावश्यक पाठ्यक्रम अाफै बनाउन र परिमार्जन गर्न सक्छ । यसो भएमा अंग्रेजी विषयमा नवीनता थपिन्छ ।