Category Archives: Earthquake Memory

(१३१) काष्ठमण्डप अब सम्झनामा

शिक्षण जीवनका अनुभवहरु ( १३१ )

२०७२ साउन १९ गते मंगलवार

image

image

२०७२ वैशाख १२ / २९ को महाभूकम्पले धराशायी बनाएको नेपालको साँस्कृतिक महत्ता बोकेको काष्ठमण्डप स्थल पुगेपछि हृदय विदीर्ण हुन्छ । अक्क न बक्क भइन्छ । पटक-पटक हेरेको-देखेको काष्ठमण्डप आज अतित भएको छ । एउटै रूखबाट बनेको भनिएको यो कलाकृति के पुन: त्यसरी नै खडा हुंन सक्ला ? सील्पीको त कमी छैन, हाम्रो देशमा । सरकारको नेतृत्वदायी भूमिकामा नेपाली मात्रले एउटा इटाको योगदान गर्नै पर्छ । परामुखापेक्षी हुनु हुन्न । 

काष्ठमण्डपको सेरोफेरोमा घुम्ने अर्थतन्त्र भने तुहिएकै छ । म वाल्ल परेर हेर्दै थिएँ । एक जना जिज्ञासुले सोध्यो, ” यहाँका देवताहरु कहाँ छन् त ? रैथाने फूल व्यापारीले जवाफ दियो,” भूकम्प आएपछि देवताहरु पनि खुट्टा हालेर भागे ।”

(१२९) गुरुले मन लगाएर, ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १२९ )
२०७२ साउन १७ गते आइतवार

गुरुले मन लगाएर,  ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।

दैनिक कक्षा शिक्षणको क्रममा गुरुले आफ्ना विद्यार्थीहरुलाई नयाँ नौलो ज्ञान सीपका साथै विषयवस्तुमाथि विस्तृत प्रकाश पारेर शिक्षण गर्नु पर्दछ ।विद्यार्थीले आफ्नो शक्ति अनुसार ग्रहण गर्दछन् । तर शिक्षकले शिक्षण गर्दा थप उर्जाका साथ पढाउनु पर्दछ ।

 

(११९) आज १०:१५ बजे राति फेरि भूकम्पको पराकम्पन

शिक्षण जीवनका अनुभवहरु ( ११९ )

२०७२ साउन ६ गते  बुधवार

आज १०:१५ बजे राति फेरि भूकम्पको पराकम्पन

९:४५ राति भंगेरीहरु रूखबाट उडेर चिरबीर- चिरबीर कराउन थाले। यो संकेत राम्रो छैन । कतै भूकम्प आउने त हैन ? भनेर कुरा चल्दै थियो । तर कौवा कराएको छैन भन्ने कुरा पनि भयो । यो वर्षायाम भरि  के के होला खै ? टुरिष्टहरु पनि कतै आएका छैनन् ।तिनका देशहरुले उर्दी वै जारी गरेका छन् । यस्तै छलफल हुंदै थियो ।आधि घंटापछि भूकम्प गयो। झस्कायो सबैलाई ।४.५ रेक्टर स्केलको थियो ।

भंगेराले ३० मिनट पहिले नै थाहा पाउने रहेछ भन्ने ज्ञान भयो ।

(८३) ढलेनन् नेपाली मन,

शिक्षण जीवनका अनुभवहरु ( ८३ )

२०७२ जेष्ठ २६ गते मंगलवार

 

        महाभूकम्पमा  देवताले बनाएका मानिस ढले ।

       मानिसले बनाएका देवताहरु पनि ढले ।

        तर ढलेनन् नेपाली मन,

         जोडन् साबित भए बिपतमा नेपाली मन ।

( ७६ ) त्रसित मनका विद्यार्थी यथास्थितिमा आउन समय लाग्नेछ ।

शिक्षण जीवनका अनुभवहरु (७६ )

२०७२ जेष्ठ १८ गते सोमवार

त्रसित मनका विद्यार्थी यथास्थितिमा आउन समय लाग्नेछ ।

महाभूकम्पका त्रासदीमा परेका विद्यार्थीहरु २०७२ जेष्ठ १७ गतेदेखि विद्यालय उपस्थिति हुन आए । समग्रमा परिदृश्य यस्तो देखियो –

१/ न्यून संख्या । ती पनि नुन खाएका कुखुरा जस्ता ।
२/ जिल्ल परेका अनुहारहरु ।
३/ सबै विद्यालय पोशाकमा थिएनन् ।
४/ सबै विद्यार्थीहरु नयाँ जस्ता देखिन्थे ।
५/ सबैका आँखा बिस्मित थिए । आशंकित थिए , भूकम्पले हल्लाउँछ कि भन्ने ।
६/ बिपतको मुस्कान थियो ओंठहरुमा ।
७/ विद्यालयमा पढाइ हुने कुरामा भर मानिरहेका थिएनन् ।
८/ छिटो घर पुग्ने चिन्ता थियो, उनीहरुमा ।
९/ मन फुकाएर मनोविनोदमा भाग लिई रहेका थिएनन् ।
१०/ नआएका सहपाठी र शिक्षकको जीवन के भयो भन्नेमा चिन्ताग्रस्त देखिन्थे ।

सामान्य पूर्व अवस्थामा ल्याउन शिक्षकले निकै कसरत गर्नु पर्ने छ । यो चुनौती हो ।

( ७२ ) मान्छेलाई मान्छेबाट छुट्याउने धर्म त मान्छे बाँचे पछि मात्रै बन्ने रहेछ । 

शिक्षण जीवनका अनुभवहरु (७२ )

२०७२ जेष्ठ १४ गते विहीवार

मान्छेलाई मान्छेबाट छुट्याउने धर्म त मान्छे बाँचे पछि मात्रै बन्ने रहेछ । 

म  शुद्र भनी अलग्ग बसेको ,खाना थापेको देखिएन । अभिजात्य वर्गले आफ्नो स्थान सुरक्षित गराएको, गरेको देखिएन ।सबै बराबरी ।  सबै सराबरी ।सबै प्राण रक्षार्थ शरणार्थीको रुपमा ।त्यहाँ काँग्रेस,एमाले, एमाववादी, नेकपा वैद्य, चन्द, राप्रपा, फोरमहरु,जनजातीय र आदिवासी आदि इत्यादि राजनैतिक झण्डा,रंग,गन्ध अनि सुवासधारी कुनै मान्छे छुट्टिएन । सबकासब पीडित,भूकम्प पीडितका रुपमा देखिए । त्यहाँ धेरै दिनसम्म कुनै राजनैतिक पार्टी देशमा छ भन्ने आभाससम्म भएन कसैलाई । मात्र त्रसित भयभीत नेपाली जनता । प्राकृतिक साम्यवाद !

अर्को एउटा चित्र पनि देखियो । त्यहाँ कुनै फरक फरक धर्महरुले विभेद गरेको पाइएन ।एउटै ठाउँमा देखिए-हिन्दू , बौद्ध , जैन , शीख, ईसाई, मुस्लिम ।सर्व धर्म समन्वय भएको अवस्था । सबैको एउटै उद्देश्य – जीवनको रक्षा ।यही नै हो प्राकृत धर्म, सायद ! मान्छेलाई मान्छेबाट छुट्याउने धर्म त मान्छे बाँचे पछि मात्रै बन्ने रहेछ । सबै त्रसित थिए एउटै संग- भूकम्पको कम्पन,पराकम्पनसंग ।सबैले एउटै कुरा गरेको देखियो खुल्ला ठाउँको आवश्कता । टुंडिखेल जस्तो । 

यस्तै परिदृश्य अन्य खुल्ला स्थानहरुमा शरणागत जीवनहरुमा पनि देखिन्थ्यो ।

( ७१ ) टुंडिखेलको वास

शिक्षण जीवनका अनुभवहरु (७१)
टुंडिखेलको वास
२०७२ जेष्ठ १३ गते बुधवार
 २०७२ वैशाक १२/१३ र २९ गतेको महाभूकम्पले कुनै पनि पार्टीहरुले ल्याउन नसकेको साम्यवाद ल्याइ दियो । राजनैतिक साम्यवाद हैन फेरि । प्राकृतिक साम्यवाद । हुनेखानेहरु टुंडिखेलको शरणमा पुगे । पाल भित्र वास । हुंदा खानेहरु पनि टुंडिखेलमा । पाल भित्र वास । एक आने -दुई आनेहरु त्यही टुंडिखेलमा । रोपनी-रोपनीहरु पनि त्यही नै टुंडिखेलको वास ।डेरावालहरु , सडकपेटीवालहरु र बेहालहरु पनि टुंडिखेलमा  । पालभित्र वास । लाम लागेर योगी -उद्योगी रामदेवले बाँडेको चाउचाउ र बोतल पानी थापे ।संघसंस्थाले बाँडेको खाना थापे । टन्न खाए ।त्यहाँ म ब्राम्हण हुँ भन्ने देखिएन । आफूलाई चिनाएनन् । ( क्रमश: ) 

( ७० ) ढुंगाको भर माटो । माटोको भर ढुंगा ।यो संसार भरै भरले अडेकोछ ।

शिक्षण जीवनका अनुभवहरु (७०)

बुटवल ।

२०७२ जेष्ठ १२ गते मंगलवार

ढुंगाको भर माटो । माटोको भर ढुंगा ।यो संसार भरै भरले अडेकोछ ।

यो भनाइ नासो कथा संग्रहको ” छिमेक” शिर्षक कथामा पढ्न पाइन्छ । कथाकार गुरु प्रसाद मैनाली ।(  गल्ती भए सच्याइ दिनु होला ।)  मार्मिक कथा छ , यो ।हिजो आज झण्डै आधा आधि नेपाली जिल्ला सहर, गामवेसीहरु महाभूकम्पको ताण्डव नृत्यको शिकार भएका छन् । आफन्त गुमेको वेला छ ।बेपत्ता छन् कोही ।घाइतेहरु उपचारमा छन् । कतिका घर भत्किएकोछ । मन भत्किएकोछ । कत्ति किंकर्तव्यविमुढ छन् । राहत पुग्न ढीलाइ हुंदैछ ।वर्षा लाग्नै लाग्यो । अोत लाग्नु  जरुरी छ । पाल /  त्रिपाल दीगो समाधान हैन ।हाम्रो गाउँ राहत नै भनेर कुर्नेवाला छैन ।
भएको सरसामान जोरजाम गरेर , नभएको ऐंचोपैंचो गरेर पुन: निर्माणमा लागी सके । एउटा घरधुरीले अर्का  घरधुरीलाई सघाउने स्थानीय विचार-प्रविधि हो, यो । एकापसमा भर पर्नाले छिटो काम फत्ते हुन्छ ।ढुंगाको भर माटो । माटोको भर ढुंगा ।यो संसार भरै भरले अडेकोछ । लडे पछि उठ्न जानेको छ , नेपालीले ।
गाउँ छिटै आत्मनिर्भर भै सक्छ । 

( ६८ ) धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ? 

शिक्षण जीवनका अनुभवहरु (६८)

बुटवल ।

२०७२ जेष्ठ १० गते आइतवार

धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ? 
 
यता केही दिनदेखि नेपालका मठ मन्दिरहरुमा देवी देवताको ,प्रकृतिको क्षमा पूजा गरी महाभूकम्पको सन्त्रास हटाइ शान्ति स्वस्ति गर्न थालिएकोछ । रेडियो र टेलिभिजनमा पनि त्यस्तै त्यस्तै कार्यक्र्म प्रसारण भई रहेका छन् ।मैले विद्यार्थी जीवनमा नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्र  हो,देवभूमि हो , तपोभूमी हो भनेर पढेको थिएं ।जनआन्दोलनपछि एकाएक यो देश धर्म निरपेक्ष घोषित भयो । कुनै पनि आन्दोलनको माग पनि थिएन , धर्म निरपेक्ष हुनु पर्छ भन्ने । कुनै पनि राजनैतिक पार्टीको घोषणा -पत्रको बोलकबोल पनि थिएन,यो ।धर्मप्राण गाईप्राणी नेपालीहरुको त सपनामा पनि सोच थिएन, नेपाललाई धर्म निरपेक्ष बनाउने ।

यसैलाई प्रसंग बनाएर बस स्टपमा केही वरिष्ठ जेष्ठ नागरिकहरु आपसमा कुरा गर्दै थिए ।
पहिलो नागरिक – जबदेखि धर्म मेटियो तब देखि नै अनेक अनिष्ट हुंदैछ ।
दोस्रो नागरिक- हो, ठीक भन्नु भो ।गौ हत्या, बाढी पहीरो, आगलागी, हत्याहिंसा,भूकम्प तेसैको नतिजा हो ।
तेस्रो नागरिक- यो सबै नेताका देन हुन् ।तिनीहरुले हेरुन् , शनिवारको दिन मनकामना र पशुपतिनाथ दर्शन गर्न जानेहरुको भीड् । निम्ता पाएर गएका हुन् र त्यहाँ ?
पहिलो नागरिक- धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ? 

मलाई छोयो, तिनीहरुको कुराकानीले । यत्रो दैवी प्रकोप ? हो, स्वस्ति शान्ति पनि एउटा उपचार । दु:खी मनको उपचार । रोदन आत्माको शान्ति ।विदीर्ण मन र मष्तिष्ककोलागि सान्त्वना ।

( ६७ ) राष्ट्रिय शोक घोषणा हुनु पर्छ । दसैं तीहार चाडपर्व भडकिलो हुनु हुंदैन ।

शिक्षण जीवनका अनुभवहरु (६७)

२०७२ जेष्ठ ९ गते शनिवार

राष्ट्रिय शोक घोषणा हुनु पर्छ । दसैं तीहार चाडपर्व भडकिलो हुनु हुंदैन ।

२०७२ वैशाख १२,१३ र २९ को महाभूकम्पले विपत् ल्याई हजारौंको मृत्यु र असंख्य जनता आश्रयविहीन भई बिचल्लीमा परेका छन् । देश नै शोकमा डुबेको छ । यस परिस्थितिमा देशमा केही दिनकालागि राष्ट्रिय शोक घोषणा हुनु पर्ने हो । अन्तराष्ट्रीय प्रचलन पनि यस्तै रहेको छ ।

देश संकटग्रस्त अवस्थामा गुज्रने निश्चित छ । सरकारी फजुल खर्च र केही मन्त्रालयका कर्मचारीका ५० देखि १०० प्रतिशतसम्म खाई रहेको प्रोत्साहन भत्ता काट्ने निर्णय भएको छ । यस वर्षको दसैं तीहार चाडपर्व पनि भडकिलो तवरले नमनाउने तर्फ विचार पुर्याउनु पर्दछ । असंख्य नागरिक शोकाकुल भएको वेला अर्का नागरिकले अवश्य पनि पीडामा मलहम लगाउन अग्रसर हुनेछ ।