Category Archives: Nature and environment

(१४७) लगातार वर्षा हुंदैछ । यो झरीले विपत् नल्यावस् ।

शिक्षण जीवनका अनुभवहरु ( १४७) 

२०७२ भाद्र  ३ गते विहिवार

लगातार वर्षा हुंदैछ । यो झरीले विपत् नल्यावस् ।

भाद्र महिनाको शुरुदेखि नै लगातार वर्षा भइरहेको छ । झरीको बेला छ  । कहीं कतै बाहिर निस्कियो भने कौवा र भंगेरीको गती हुन्छ । लुछुप्पै भिज्नु पर्ने । छाताले काम गर्दैन । रेनकोटले पनि आधी जीउ भिजाउँछ । बाइक स्कूटर चलाउनेको त कन्त बिजोग । छाता आदि नलिइकन हिंड्ने युवतिहरुको त बेहाल नै हुन्छ । तरर भिजेर काँपेका हुन्छन् ।भिजेको लुगाले लाज छोप्न गाह्रो । त्यसमा शुरु हुन्छ रुधा ,खोकी र ज्वरो । धेरै दिन रहे निमोनिया ।वर्षाबाट जोगिनु पर्दछ ।

वैशाखको भूकम्पले धाँजा फाटेका पहाडका डाँडा बस्तीहरु, पाखा पखेराहरु, उजाडिएका गाउँ बस्तीहरु वढी जोखिममा छन् । नदी किनाराका जनताका आँखामा निंद छैन । ज्यान हत्केलामा लिएर बसेका छन् । बाढी पैह्रोले आवागमन मात्र अवरोध नगरी बस्ती नै बनाउने त्रासमा छौं हामी नेपालीहरु । हरेक साल वेहोर्नु पर्ने यो प्राकृतिक प्रकोपको दीगो समाधान हुन सकेन । राहत थोरै आहत धेरै । लाचार छ सरकार भन्ने राजनैतिक “बुं ख्याचा” । यो त समवेदना पनि बाँड्न सक्दैन । दसौं हजार जनता भूकम्पमा परी मृत्यु वरण गरे । तर सरकार नामको विचरो चरोले देशमा एक दिन पनि राष्ट्रिय शोक घोषणा गरेन । तिनका कार्यकर्ता मरोस् त , झण्डा आधा झुकाउँछ र शोक मनाउँछ ।

अब प्रकृतिसंग प्रार्थना गरौं – थप विपत्ति नआवस् । बाढी पैह्रोले धनजनको क्षति नगरोस् । देशको पूर्वाधारहरु नष्ट नहोस् ।