शैक्षिक जीवनका अनुभवहरु (३५)

शैक्षिक जीवनका अनुभवहरु (३५)

२०७२ वैशाख ८ गते मंगलवार

अक्षय तृतीया : हिजो र आज
 
अक्षय तृतीया । सत्तु / सातु र सर्बत खाने, खुवाउने पर्व । सुन / चाँदी किन्ने चलन चलेको पर्व । मेरो वालपन याद आयो । बुटवलको बहर पिपलको चौतारी-चौतारीमा सर्बत र सातु वितरण हुन्थ्यो , बीसको दशकमा । तराई र पहाड अनि तानसेनमा पनि परम्परा थियो । यो दिन विद्यालयमा विदा दिने  चलन थियो, तेतिबेला । चकचके चुलबुलेहरु झुण्ड बनाइ घुम्थ्यौं । एक पछि अर्को चौतारी गर्दै । सातु मुखमा नपर्दै हँसाउँथ्यो कुनै साथी । मुख भरी सातु पर्थ्यो । एकले अर्कोलाई हेरी काइदाले हाँसिन्थ्यो ।
अब त कमै चौपारीहरुमा हुन्छ, यस्तो । बटौलीबाट बुटवल भयो, यो सहर । नेपालको दसवर्षे द्वन्दले त यसलाई विशाल बनाई हाल्यो नि, बाबै ! विरानो भयो, यो सोझो सहर । कसलाई फ़ुर्सत छ र त्यो परम्परा धान्न ? तर पनि रै’छ कतै -कतै । चलन मरेको छैन । संस्कृति बचाउनु नै बलियो कसरत गर्नु पर्छ ,अब त ।

काठमाडौँमा २३ वर्ष बसेर अध्ययन-अध्यापन गरें । काठ ईलाकामा विद्यमान नै छ । अक्षय तृतीया पर्व । दिन्छन् सत्तु । पिलाउँछन् सर्बत ।तर सहरमा त कस्लाई पो समय बढ्ता भएको छ र ? तर पनि यो दिन मैले पढाउने विद्यालय – पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल- मा मनाइन्थ्यो छोटकरीमा । अक्षय तृतीया । जेष्ठ नागरिकको कोटीमा पर्न लागेका शावित्री, नीला, राधिका, सरिता म्याडमहरु एक पछि अर्कीले यो पर्वमा सत्तु र सर्बत खुवाउन, पिलाउन छाड्नु भएन । हरेक जसो पर्वहरु याद दिलाउँथे, मिसहरु । एक किसिमले उनीहरु “पात्रो” वा “क्यालेण्डर” नै थिए भन्दिएमा फरकै पर्दैन पनि । अचेल चाहिं आरती म्याडम, प्रार्थना म्याडम,मनिता म्याडमहरुको होडबाजी छ । यो लाममा अरु पनि त थपिए कि, राम जाने ।

शैक्षिक जीवनका अनुभवहरु (३४ )

शैक्षिक जीवनका अनुभवहरु (३४ )

२०७२ वैशाख ७ गते सोमवार

विद्यार्थीको ज्ञानलाई महत्व दिनु पर्छ

नयाँ शिक्षकले शुरु-शुरुमा आफूलाई सबै ज्ञानले सम्पन्न छु भन्ने ठान्छ । उसले विद्यार्थीलाई दबाव ( Pressure ) मा राख्न थाल्दछ ।उसले पढाए, ब्याख्यान गरे अनुसारकै उत्तर लेख्नु पर्ने आदेश दिन्छ । निर्देशन विपरीत भएमा अंक काट्छ । गृहकार्य गरेर ल्याएको मिलेन भनीदिन्छ । कक्षामा प्रश्न सोध्ने विद्यार्थीलाई निरुत्साहित पार्छ । फलत: विद्यार्थीले कक्षामा छलफलमा भाग लिनबाट हच्कन्छ । किन यस्तो गर्छ शिक्षक ? यो उसलाई शिक्षा दीक्षा दिने पहिलेको गुरु, गुरुमाहरुको प्रभावको फल हो । पहिले पहिलेका शिक्षकले आफूलाई “ज्ञानको भण्डार” ( storehouse of knowledge ) सम्झन्थे ।विद्यार्थी त ज्ञान शुन्य ( zero in knowledge ) हुन्छन् भन्ठान्थे ।

तर अहिले त्यो परिकल्पना  सही मानिदैन । पत्र-पत्रिका , रेडियो, टेलिभिजन, कम्प्यूटर , विभिन्न सामाजिक संजालहरुको प्रभावले गर्दा विद्यार्थी अहिले ज्ञान सम्पन्न छन् । विद्यार्थीलाई उसको परिवार, समाज , संस्कृति ,रीतिथीतिबारे केही न केही तथ्य थाहा हुन्छ । शिक्षकले त उसंग भएको ज्ञानलाई प्रष्फुटन गराइ दिनु पर्छ । उसको ज्ञानलाई क्रस चेक गर्न अरु त्यस्तै विद्यार्थीलाई प्रश्न सोधी परीक्षण गर्नु पर्दछ । छलफलबाट निस्केको निष्कर्ष टिपोट गराइ दिनु पर्छ । यसरी अचेल वालमैत्री शिक्षण ( student friendly teaching ) व्यवहारमा ल्याउन सकिन्छ ।

शैक्षिक जीवनका अनुभवहरु (३३ )

शैक्षिक जीवनका अनुभवहरु (३३ )

२०७२ वैशाख ६ गते आइतवार

शिक्षक र समय      

शिक्षक भएपछि समयलाई महत्व दिनु पर्छ । समयमा विद्यालयनिम्ति प्रस्थान गरी समयमा विद्यालय पुग्नु । प्रार्थना सभा ( assembly ) मा सहभागी हुनु । कक्षा प्रवेश भन्दा केही समय पहिले पढाउनु पर्ने पाठबारे सरसर्ति अध्ययन गरी mental plan बनाउनु । पहिलो घंटी लागीसकेपछि हतार -हतार कक्षा प्रवेश गरेर मनिटरलाई हाजिरी रजिष्टर, चक ,डष्टर आदि लिएर आउनु भनी अह्याउनु जस्तो खराब बानी अरु केही हुंदैन । आफ्नो काबु बाहिरको परिस्थिति आएमा विद्यालय प्रशासनलाई खबर गर्नु पर्दछ ।

बिलम्ब गरी विद्यालय पुग्ने गर्ने गरेमा सबै भन्दा पहिले आफ्नै विद्यार्थीको नजरमा राम्रो भइन्न । उनीहरुले ” किन ढिलो सर / मिस ” भनी सोध्छन् ।धेरै दिनको बहाना चल्दैन । जेठाबाठाको अदब राख्नु पर्दछ । वरिष्ठ /  सिनियरले केही भनेमा सहन सक्नु पर्दछ । तर जुनियर / कनिष्ठलाई सोध्ने मौका दिएमा ग्लानि अनुभूति हुनु पर्दछ । अत: अदब राख्नु पर्दछ । डर लिनु पर्दछ ।कसैसंग न डराएमा पनि आफैसंग डराउनुपर्छ । शिक्षकको दैनिकी विद्यार्थीकोनिमित्त नमूना / role model बन्न सक्नु पर्दछ ।

शैक्षिक जीवनका अनुभवहरु (३२ )

शैक्षिक जीवनका अनुभवहरु (३२ )

२०७२ वैशाख ५ गते शनिवार

जीवनको प्रथम गुरू हुन् – आमा

आज मातातीर्थ औंसी । आमाको मुख हेर्ने दिन । यस धर्तीमा सन्तानलाई जन्म दिने जननी । नौ महिनासम्म गर्भ धारण गर्ने । जन्म पश्चात लालनपालन गर्ने आमा । असंख्य रात सुत्दैनन् आमा ।आफ्नो स्वास्थ्यको परवाह नराखी सन्तानको सुखदुखमा साथ दिने । “बाबा” भन, “आमा” भन भनी भाषाको प्रथम चरणको सुनाइ-बोलाइको सीप सिकाउने आमा । यो गर्नु हुन्छ,त्यो गर्नु हुंदैन भनी नैतिक शिक्षा पढाउने आमा । जीवनकै प्रथम गुरू आमा । छोराको साथी । छोरीकी सखी । आमा । आमा । केवल आमा ।

मातृशक्तिलाई सतत् प्रणाम ।

आमा हुंनेहरुले यथोचित मान,सम्मान र कदर गरी शुभाशिष थापुन् । आमालाई सुख शान्ति दिन नसकेपनि दु:ख,कष्ट र पीडा नदिउन् । आफू सुख सयलमा बस्न बृद्धाश्रममा आमा राख्न नलैजाउन् । कोही पनि धिक्कारको पात्र नबनुन् । 

यस धरामा आमा नहुंनेहरुले आमाको प्रात: स्मरण गरुन् ।दान गरुन् ,खुवाउन् वृद्धालाई ।ब्राम्हणलाई सिदा दान गरुन् ।आमाको नामबाट छात्रवृत्ति स्थापना गरुन् । अन्य पुण्य काम गरुन् ।

वालपनमा चेतना नजागेसम्म आमा चिन्न सकिन्न रहेछ ।वाल मस्तिष्कमा आमाको आकृति नपरेसम्म आमाको परिकल्पना समेत आउन्न रहेछ । मान्छे सानै छँदा , अबोध हुंदाको बेलामा आमा खसिन् भने आमा सपनामा पनि आउँदिन रहेछ । आमाको सपना समेत देख्न सक्दैन रहेछ, मानिसले । मेरो यस्तै अनुभूति छ । 

आमाप्रति श्रद्धा सुमन अर्पण गर्दछु ।

शैक्षिक जीवनका अनुभवहरु (३१ )

शैक्षिक जीवनका अनुभवहरु (३१ )

२०७२ वैशाख ४ गते शुक्रवार

चुनौती सामना गर्न प्रेरणा दिने नेता थिए सूर्य बहादुर थापा

आज सन्ध्याकालीन ध्यानमा एकाग्रचित्त हुन सकिएन । भूतपूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको देहावसानले वहाँको ब्यक्तित्वको  झझल्को आई रह्यो । २०५६ को मध्यमा वहाँसंग भेट्ने इच्छा निजी सचिवसंग निवेदन गरें । दिउँसोको २ देखि २:३० सम्ममा १५ मिनटको समय मिल्यो । म १:४५ बजे नै पुगें ।म पत्रपत्रिका पढेर बसें ।  प्रतिक्षा कक्षमा धेरै कुर्नु परेन । 

” जोशी सर” भन्दै वहाँ कोठामा आउनु भयो । जुरुक्क उठेर “नमस्कार हजुर” भनी अभिवादन गरें ।हात बढाउनु भयो । अप्ठेरो र अचम्भित हुंदै हात मिलाएँ । न्यानो थियो हात । बसौं भन्नु भयो  । बसें । शिक्षण पेसामा लागेको छोटो परिचय दिएँ ।  शिक्षा क्षेत्रका केही विषयमा कुरा गरें । चीया पनि आयो । फेरि अचम्म लाग्यो । राजनीति इतरको म मनुवालाई पनि चिया , मन मनै भने । 

” १५ मिनट त सकियो, हजुर।” 

” गरौं कुरा मलाई हतार छैन, आज ।”

ब्यक्तिगत समस्याबारे पनि अवगत गराएँ । ध्यान दिएर सुन्नु भयो । भन्नु भयो, “हर कुरालाई राजनैतिक रंग दिइन्छ , अचेल । चुनौतिको सामना गर्दै गरेको थाहा पाएँ । डटेर लाग्नुस । सत्यमेव जयते।”

३० मिनट कुरा भयो । भेट्न पाएकोमा धन्यवाद ज्ञापन गरें । अभिवादन गरें । विदा भएं ।

” आउँदै गर्नुस् ,है।”

“हवस् ” म झुकें ।

आज त्यो भेट स्मरण भएको छ । सामान्य मानिसलाई पनि न्यानो पनले भेटघाट गर्ने वहाँको शैलीले म प्रभावित छु ।छु । चुनौती सामना गर्ने हौसलाले म सधैं प्रेरित छु ।

शैक्षिक जीवनका अनुभवहरु (३० )

शैक्षिक जीवनका अनुभवहरु (३० )

२०७२ वैशाख २ गते बुधवार

२०७१ को अन्तिम घडीमा महाकाली नदीमा चार किशोरीहरुले सामूहिक फाल हालेर जीवन लीला समाप्त पारे । २०७२ को आगमन भयो । शिक्षा जगतलाई थुप्रै प्रश्नहरु तेर्स्याएर ।

नेपालको शिक्षा प्रणालीलाई ती किशोरीहरुले चुनौती दिएर गए । विद्यालयको वार्षिक परीक्षामा अनुत्तीर्ण भएको कारण बन्यो तिनीहरुको जल समाधि । क्रुर आत्महत्या । नसोचिएको परिणाम् । कलकलाउँदो किशोरी जीवन हाम्रो शिक्षा प्रणालीले सदाकोलागि चुंडालेर लग्यो । अपराधशाश्त्रको सिद्धान्त अनुसार जब ब्यक्तिले आफ्नो जीवनमा चारैतिर अन्धकारै अन्धकार देख्छ, प्रकाशको किरण कतै देख्दैन, तब उसले आत्महत्या वरण गर्दछ ।

के उनीहरुलाई विद्यालयले कुनै जीवन ज्योति देखाउन सकेन ? वाल मैत्री शिक्षण अपनाउनु पर्ने शिक्षकहरुले कुनै मनोवैज्ञानिक परामर्श दिन सकेनन् ? कि वालिकाहरु पक्षपातपूर्ण मूल्याँकनको शिकार भए ? एक-दुई हैन, चार- चार जनाले आत्महत्या गर्नु के संयोग हो ? के यसलाई भावीले लेखी दिएको भाग्यवाद भनेर पन्छिनु मिल्छ ? हैन भने मानसिक अवस्था ठीक नभएका किशोरीहरु भनी दिने कि ?  के को लागि त्यो “कडा रिजल्ट ?” आगामी वर्षको  एस.एल. सी. उत्तीर्ण प्रतिशत दर बढाउन हो कि ? कि शिक्षकहरुको अहं पूर्ति गर्न हो कि ? अनेक प्रश्नहरु स्वतह: उब्जन्छन् ।

हाम्रो शिक्षा परीक्षा प्रधान छ । सीप प्रधान छैन । उत्तरपुस्तिकामा लेखेकै आधारमा मात्र विद्यार्थी योग्य हुंने ? नत्र  फेल ? परिणाम , परीक्षाकै नाममा जीवन वलिदान गरिन्छ । 

यो घट्नाबाट शिक्षाका नीति निर्माताहरुले पाठ सिक्नु जरुरी छ ।

शैक्षिक जीवनका अनुभवहरु (२९ )

शैक्षिक जीवनका अनुभवहरु (२९ )

२०७२ वैशाख १ गते मंगलवार

शुभकामना लेख्न सिकाउने

विद्यार्थीलाई कक्षामा पुस्तकमा आधारित पाठ मात्र पढाउने होइन अपितु पाठ्यक्रममा आधारित सीप पनि सिकाउने गर्नु पर्दछ ।

विभिन्न चाडपर्व , नव वर्ष , सफलता र जन्मोत्सवमा कसरी शुभकामना ,वधाइ र निमन्त्रणा लेख्ने भनेर प्रयोगात्मक कक्षा लिन सकिन्छ । यसो गर्दा विद्यार्थीहरु रुचि लिएर सहभागी हुन्छन्, सिक्छन् ।प्रभावकारी सिकाइनिमित्त  एक-दुई दिन अगावै उनीहरुलाई सूचना दिएर तयारी गराउनु भने भुल्नु हुंदैन । यसो गर्नाले उनीहरु आवश्यक सामग्रीहरु – कागज, पोष्ट कार्ड, साइन पेन, कैंची, गम इत्यादि- जुटाउन सक्षम हुन्छन् ।

बोर्डमा एउटा नमूना लेखी दिनु पर्छ । कहाँ- कहाँ आफ्नै शब्द राख्न सकिन्छ, बताउनु पर्छ । १५ / २० मिनटको समय निर्धारण हुनु पर्छ । विद्यार्थीहरुले लेखेका, तयार गरेका नमूनाहरु एक-एक गरेर जाँचेर बिग्रेको ठाउँमा अण्डरलाइन गरी पुनर्लेखन गर्न लगाउनु पर्छ । पूर्ण रुपमा तयार नहुंन्जेल यो प्रक्रिया चलाइ रहनु पर्छ । नमूना तैयार भएपछि प्रोत्साहन जनाउने शब्द -Very good / Excellent / Supper लेखी शिक्षकले सही गरेर आमाबाबुलाई देखाउन भन्नु पर्छ ।

यही विधिबाट अन्य अवसरहरुमा पनि सिकाउने गर्नु पर्दछ । २ -३ पटकको Trial and error बाट बिद्यार्थीहरुले शुभकामना कार्ड लेख्न सिपालु हुन्छन् ।

 

शैक्षिक जीवनका अनुभवहरु (२८ )

शैक्षिक जीवनका अनुभवहरु (२८ )

२०७१ चैत ३० गते सोमवार

ट्यूसन शिक्षक

आफ्नो लामो विद्यालय शिक्षक जीवनमा ट्यूसनलाई अतिरिक्त कमाइको हतियार मैले कहिल्यै बनाइन । हुन त मेरो विषय अंग्रेजी हो । असहज विषय भन्छन् यसलाई धेरै विद्यार्थी र अभिभावकहरु । यस्तै गणित / अतिरिक्त गणित र विज्ञान पनि असहज विषय मानिन्छ ।अंग्रेजी, गणित र विज्ञानका शिक्षकहरुले ट्यूसन पढाइ विशेष रुपमा आय आर्जन गर्दछन् । मैले अंग्रेजीको ट्यूसन नपढाएको कारण निम्न छन् –

१ / टेयूसन पढाउने शिक्षक मूल्याँकन प्रक्रियामा निष्पक्ष हुंन सक्दैन ;

२ / कक्षा शिक्षणमा स्वस्फुर्त हुंन सक्दैन ;

३ / परीक्षामा निरीक्षकको भूमिकामा चुस्त रहन सक्दैन ;

४/ विपरीत लिंगप्रति आकर्षण बढ्दछ ;

५ / समयमा course पूरा गर्न सक्दैन तर ट्यूसनमा आउनेलाई प्रश्न चुहाइ दिन्छ ;

शैक्षिक जीवनका अनुभवहरु (२७ )

शैक्षिक जीवनका अनुभवहरु (२७ )

२०७१ चैत २९ गते आइतवार 

गुणस्तरीय पढाइ हुने विद्यालयमा अभिभावकवर्गले लगानी गर्न हिचकिचाउँदैनन्

सामुदायिक होस् या निजी क्षेत्रको बोर्डिंग स्कूल होस् , यदि गुणस्तरीय पढाइ हुन्छ भन्ने कुरामा ढुक्क भएमा अभिभावकहरुले आफ्ना नानीहरुलाई भर्ना गर्न ल्याउँछन् । सस्तो र महंगो शल्कको लेखाजोखा गर्दैनन् । राम्रो पढाइ र अतिरिक्त कार्यकलाप हुंने विद्यालय अभिभावकहरुका रोजाइमा पर्दछ । सामुदायिक विद्यालयका शिक्षकहरुमा दृढ इच्छाशक्ति हुनु पर्दछ ।किनकि उनीहरु योग्य, तालिमे र अनुभवले पोख्त हुन्छन् । प्रधानाध्यापकले “Team spirit”/ समुहमा काम गर्ने वातावरण जगाउनु सक्नु पर्दछ । निष्पक्ष प्रशासन , मूल्याँकन र सुविधा प्रदान गर्ने कौशल देखाउनु पर्दछ ।

शैक्षिक जीवनका अनुभवहरु (२६ )

शैक्षिक जीवनका अनुभवहरु (२६ )

२०७१ चैत २८ गते शनिवार

सामुदायिक विद्यालयमा सम्पन्न र मेधावी आमाबाका सन्तान भर्ना 

सामुदायिक विद्यालयहरुमा हुंने खाने अभिभावकहरुका सन्तति प्राय: नगन्य रुपमा मात्र भर्ना भएको पाइन्छ । विशेष गरी काठमाण्डौं उपत्यकाका विद्यालयमा यस्तो दृश्य देखिन्छ । अन्य घना वस्ती भएको सहर पनि यो समस्याबाट अलग छैन ।

सामुदायिक विद्यालयलाई ” मालिकका विद्यालय” भने पनि फरक नपर्ला ।अर्थात मालिकहरुले आ-आफ्ना घरमा काम गर्ने वालवालालाई भर्ना गर्न ल्याउने स्थान हो । उनीहरु आफ्ना सन्तानलाई भने निजी बोर्डिंग स्कूलहरुमा भर्ना गरेर पढाउँछन् । यसो गर्ने महानुभावहरुमा शिक्षक वर्ग, निजामति कर्मचारीहरु, संस्थानका कर्मचारी, सैनिक र  प्रहरी हाकिमहरु अग्र स्थानमा पर्दछन् । अझ प्रहरी र सेनाकालागि छुट्टा-छुट्टै विद्यालयहरु स्थापित छन् । राज्य आफैले समाजमा विभेदकारी नीति अपनाएर विद्यालय / कलेज चलाउँछ ।

Meritocracy – धनाढ्य र विशिष्ट मेधावी स्तर भएकाहरुले विशिष्ट विद्यालयमा पढाउने सुविधा र अधिकार – तथा Human Rights – आफूलाई मन पर्ने विद्यालयमा पढाउन पाउने मानव अधिकार जस्ता सिद्धान्तको दुहाइ दिनाले पनि उपरोक्त स्थिति आएको हो ।

कर्मचारीका  घर पायक कार्य स्थल र वालवालिकाहरुको स्तर अनुसारको विद्यालय त्यहाँ भएसम्म त्यसै विद्यालयमा आफ्ना सन्तानलाई भर्ना गर्नु पर्ने नीति राज्यले अपनाउनु पर्दछ । यसकोलागि आकर्षक छात्रवृत्ति र प्रोत्साहन समेतको व्यवस्था ऐन नियममा उल्लेख गर्नु वाँछनीय हुन्छ । त्यसपछि सामुदायिक विद्यालयहरुमा आर्थिक रुपमा सम्पन्न र मेधावी आमाबाका छोराछोरी पनि पढ्न आउन थाल्ने छन् ।