Category Archives: Gajal

पौरखीहरू स्वदेश फर्क ।

पौरखीहरू स्वदेश फर्क

देश बाहिर गएका पौरखीहरू
स्वदेश फर्क ।
नेपाली मन लिएर घर फर्क
अार्जेको ज्ञान,विज्ञान लिएर फर्क
सिकेको सीप लिएर फर्क
मातृभूमि बाँझो छ,
कुषि प्रविधि लिएर फर्क ।

चौतारीहरू बिरानो छन् ।
विकासका सूत्र लिएर फर्क ।
भूकम्पले गाउँबस्ती
उजाड छन् ।
सिर्जनसील हातहरू लिएर फर्क ।
देश बाहिर गएका पौरखीहरू
स्वदेश फर्क ।

उद्योग कलकारखाना
स्रोत हुन् रोजगारीका
उद्यमी भएर फर्क ।
नौलो प्रविधि लिएर फर्क ।
समृद्ध पार्नु छ देश,
सक्दो लगानी लिएर फर्क ।
पराधीन छ अर्थतन्त्र,
अात्मनिर्भर तन्त्र लिएर फर्क ।

छैन जनउत्तरदायी राजनीति
यसलाई सफा गर्न फर्क ।
अब तिम्रै पालो हो,
१० देखि १५ वर्षमा
तिम्रो हातमा अर्थतन्त्र
तिम्रै हातमा शासन सत्ता ।
देश हाँक्न –
हातेमालो गरी फर्क ।

सुन्दर देश हाम्रो,
पर्यटन उद्यमी बनेर फर्क ।
अनेक देश पुगेका हो !
स्वदेश बनाउन फर्क ।
देश बाहिर गएका पौरखीहरू
स्वदेश फर्क ।
जल,जंगल जवानी,
अनि जडीबुटी,
उपयोग गरे पुग्छ ।
स्वदेशमै पौरख गर्न फर्क ।

बन्द हडताल अान्दोलन
सीमा भन्दा बढी भयो,
नियन्त्रण गर्न यस्लाई
गोलबन्द भई फर्क ।
ढींडो गुन्द्रुक सीस्नो
नचाखेको
धेरै भयो होला ।
त्यसको स्वाद उस्तै छ,
पस्की दिन्छिन् अामा मायाले ,
मुख चोख्याऊन फर्क ।

मारूनी रोदी सेलो डेउडा र अरू
संस्कृति जोगाउन फर्क ।
घर बाहिर भएकाहरू
घर – घर फर्क ।
देश – देशमा रहेकाहरू हो !
स्वदेश फर्क ।
देश बाहिर गएका पौरखीहरू
स्वदेश फर्क ।
नेपाली मन लिएर
नेपाल फर्क ।
( – २०७३ / १२ / ३० / ०४ / १० बजे रात्री )

(१०४) त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो ।

शिक्षण जीवनका अनुभवहरु ( १०४ )

२०७२ असार २१ गते सोमवार

त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो ।

विक्रम शम्बत २०२७ मा म पहिलो पटक शिक्षक पदमा नियुक्ति भएं । विद्यालय थियो बुटवलको नि:शल्क अनिवार्य प्राथमिक पाठशाला संख्या नं.  १ ( हालको कालिका माध्यमिक विद्यालय ) । तत्कालिन बुटवल -खस्यौली नगर पंचायतले ५ वटा नि:शुल्क प्राथमिक विद्यालयहरु संचालन गरेको थियो । यो कार्यक्रम नेपाल अधिकाज्यमा नै पहिलो नमूना थियो । मैले ३ ,४ र ५ कक्षालाई अंग्रेजी र विज्ञान पढाउने ज़िम्मेवारी पाएँ । पहिलो दिन पहिलो कक्षा ४ लाई पढ़ाएँ ।छात्राको संख्या कम र छात्राको संख्या धेरै ।  ४० – ४५ मिनट समय वितेको पत्तो नै भएन । पहिलो दिनमै विद्यार्थीहरुसंग घुलमिल भएँ । तर त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो । शिक्षक भनेपछि विद्यारथीहरु डराउँथे,टाढै बस्थे । शिक्षकले प्रश्न गर्दा उनीहरु  जवाफ दिन पनि हिचकिचाउँथे । मौन रहन्थ्यो, कक्षाको वातावरण । 

(८२) गर्मीको मौसममा विद्यार्थीलाई सजाय दिनु हुंदैन ।

शिक्षण जीवनका अनुभवहरु ( ८२ )

२०७२ जेष्ठ २५ गते सोमवार 

गर्मीको मौसममा विद्यार्थीलाई सजाय दिनु हुंदैन ।

२०७२ जेष्ठको अन्तिम साता गर्मी ह्वास्सै वढेर आएको छ । पठनपाठन दुरुह भएकोछ । काम तदारुकतासाथ गर्नै अप्ठेरो भएकोछ । कुनै न कुनै कक्षामा विद्यार्थी ढीलो आएका हुन्छन् । शिक्षकहरुले त्यस्ता विद्यार्थीलाई “उठबस” गर्ने सजाय दिन्छन् । कसैलाई घाममा बसी राख भनी आदेश दिन्छन् । यस्तो दुबै काम अनुत्तरदायीमा पर्दछ । यसो गर्दा बढी गर्मी भएको बेलामा विद्यार्थी बेहोश भएर लड्न सक्छन् । अत: शारीरिक सजाय दिइनु  उपयुक्त छैन ।

(८१) प्रचण्ड गर्मी

शिक्षण जीवनका अनुभवहरु ( ८१ ) 

२०७२ जेष्ठ २४ गते आइतवार

प्रचण्ड गर्मी

तराईमा ४३.३ डिग्री सेल्सियस र उपत्यकामा ३६ डिग्री हाराहारी तापक्रम रेकर्ड हुनु प्रचण्ड गर्मीको नमूना हो । आफ्ना दैनिकीकोनिमित्त मानिस जाँदैनन् बाहिर । बजारमा हुंदैन कुनै चहलपल । तराईमा “लू” ( तातो हावा ) चल्छ । डिहाइड्रेसन ( शरीरको पानी सुक्नु ) हुन सक्छ । उदाहरणकोलागि अण्डा भित्र ल्याल्ल परेको तरल पदार्थ हुन्छ । त्यसलाई उमाल्दा अण्डा जमेर कडा हुन्छ । ठोस बन्छ । हामी फोकेर खान सक्छौं । तापले पानी सुकाउँदा अण्डाको यस्तो गति हुन्छ । यसरी नै धेरै गर्मी भयो भने हाम्रो शरीरको पानी सुकेर रक्त संचार बन्द हुन्छ । अनि मृत्यु हुन्छ ।  लूबाट बच्न प्रशस्त पानी, जुस, रस,फलफुल सेवन गर्नु पर्दछ । बाहिर घाममा जानु हुंदैन । पातलो कपडा टाउकोमा बेर्नु पर्दछ । छाताको प्रयोग गर्नु पर्दछ ।

शैक्षिक जीवनका अनुभवहरु ( ५१ )

शैक्षिक जीवनका अनुभवहरु ( ५१ )

२०७२ वैशाख २४ गते विहिवार

ईश्वरको नाम जपें । मापदण्डमा विश्वास गरें

२०७२ वैशाख १२ गते शनिवार ७.६ म्याग्नेच्यूडको भूकम्पको लामो कम्पनको अनुभव हाम्रो परिवारले बुटवलमा गर्यो । कोही खाना खाइ सकेका र कोही खाँदैको अवस्था थियो । उत्तर -दक्षिण गरी कम्पन हुन थाल्यो । टेबल,कुर्सी र किचन -याक पिंग खेल्न थाले । ” ल भूकम्प आयो ,बाहिर निस्क।” को हल्ला मच्चियो। कम्पनको बेला “हतारमा घर बाहिर निस्कनु हुंदैन, ढोकाको चौकसमुनि उभिनु पर्छ” आदि इत्यादि विद्यार्थीलाई सिकाइन्थ्यो । आम संचार माध्यमबाट सचेतनाका सूचना सुनिन्थ्यो । त्यस्तै गर्यौं । थर थर कम्पन झन बढ्यो । पछाडि ब्यरेकमा रहेका रुखहरु निहुरिएर भाँचिएला झैं भए । गुरु मन्त्र र ईश्वरको नाम जप्न थाल्यौं । बुहारी भयभीत भई ।हामीले यस भन्दा पहिले काठमाण्डौंमा भूकम्पका धेरै कम्पनहरु महसूस गरिसकेका थियौं । तेस बेलामा पनि आत्तिएर भागदौड गरेका थिएनौ । बरु हामीसंगै बसेको कुकुर पहिले नै बाहिर गएर भुक्न थालेको थियो । कुकुरले थाहा पाउँदो रहेछ पहिला । विगतका अनुभवहरुले धैर्य गर्न सिकायो । तर बुटवलमा त्यस्तो कम्पन अनुभव गर्नु भनेको चानचुने थिएन ।

ईश्वरनाम जपको साथसाथै मापदण्ड अनुसार निर्माण भएको घरको वनौटमा पनि विश्वास गर्यौं । मर्नु परे एकै ठाममा मरौंला भन्ने सोच पनि फुर्यो ।दोस्रो कम्पन शान्त भएपछि बाहिर गर्यौं ।सबै त्राहिमाम् थिए ।सबैका थातथलो सुरक्षित थिए । बुटवलमा भूकम्पले क्षति गर्दैन भन्ने जन विश्वास यसपाली सत्य साबित भयो ।

शिक्षण जीवनका अनुभवहरु (१२)

शिक्षण जीवनका अनुभवहरु ( १२ )

चैत महिना वार्षिक परीक्षाको रिजल्ट तयार गर्ने र वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु गर्न विद्यार्थी भर्ना र वार्षिक कार्यतालिका बनाउने आदि काममा समय खर्चिनु पर्ने वेला हो ।प्राइवेट बोर्डिंग स्कूलहरूले त अग्रिम रुपमा रणनीति बनाई लागू गर्दछन् । विहान चाँडै गुंड छाडी चारा खोज्न उड्ने चराचुरुंगीले प्रशस्तै चारा बटुल्न सफल हुन्छन् । यस्तै समयमै भर्ना नीति तये गर्ने त्यस्ता विद्यालयले प्रतिभावान विद्यार्थी र सम्पन्न अभिभावक हात पार्छन् । सामुदायिक विद्यालयहरुको भर्ना कार्यक्रम विस्तारै शुरु हुन्छ । मन नलगाइ-नलगाइ घरदैलो र स्वागत कार्यक्रम थालनी गर्दछन् । कतिपय अभिभावकवर्गले सामुदायिक / सरकारी विद्यालयमा अंग्रेजीमाध्यममा पढाइ नहुंने तर्फ गुनासा गर्दछन् ।

केहीले त शिक्षकहरुलाई ” तपाईका छोराछोरी पनि तपाईले पढाउने विद्यालयमा भर्ना गर्न ल्याउनुस अनि हामी पनि त्यहाँ भर्ना गरौंला” भनी चुनौति दिन्छन् । किनभने सरकारी स्कूलका अधिकाँश शिक्षकहरुका सन्तानहरु महंगा बोर्डिंग स्कूलहरुमा भर्ना गरिएका हुन्छन् । विगत वर्षहरुमा पाल्पा जिल्लाका केही विद्यलयका अभिभावक र गाउँवासीहरुले त शिक्षकहरुले पनि आफ्ना छोराछोरीलाई आफूले पढाइरहेका विद्यालयमै भर्ना गर्नु पर्ने अभियान नै चलाए । शिक्षकहरु बाध्य भएर सो माग पूरा गरे । माग उचित थियो । यस्तो गर्दा शिक्षकले तनमन लगाएर पढाउने हुन्छन् । अभिभावकहरुको विश्वास पनि विद्यालयले जित्छ । तर यस्तो गर्दा शिक्षकहरुका सन्तानहरुको घरपायक भने मिलेको हुनु पर्दछ । 

काठमाण्डौंको एक विद्यालयमा मैले लामो समयसम्म पढाएं । नयाँ शैक्षिक सत्रको तैयारी गर्न बस्ने शिक्षक स्टाफ़ वैठकमा शिक्षक स्टाफ र कर्मचारीका छोराछोरी पनि विद्यालय उमेर समूहको भए वा घर पायक पर्ने भए आफ्नै विद्यालयमा ल्याई भर्ना गर्नु पर्ने विचार विमर्श हुन्थ्यो । तर कुराकोलागि कुरा मात्रै हुन्थ्यो । कोही आफ्ना वालवच्चाको हक हितको कुरा गर्थे । कोही मानव अधिकारको दुहाइ दिन्थे । कोही भने निजी क्षेत्रको  जस्तै स्तरीय पढाइ हुने ग्यारेन्टी भए त्यहाँ छुटाएर भर्ना गर्न ल्याउने मन्तव्य राख्थे । तर त्यस विद्यालयमा सुचिकार,पियन-पाले र शिक्षक र प्रशासक कसैले पनि आफ्ना छोराछोरीहरु भर्ना गर्न ल्याएनन् । बोर्डिंग स्कूलमा विदा प-यो भने तिनका सन्तानहरु विद्यालयमा ल्याएर टाईम पास गराउँछन् । यसपाली के गर्लान् ? दैव जानुन् ।

मैले भने चालिसकै दशकमा आफ्ना सन्तानहरुलाई आफूले पढाउने विद्यालयमा भर्ना गरी प्रवेशिका उत्तीर्ण गराएको थिएं ।

नजरको वाण

नजरको वाण

पिएर मात्रै लाग्दैन नशा,
तिमीलाई हेरेरै लाग्दछ ।

छर्छ वासना फूलले फुलेरै मात्रै,
छर्रछ्यौ वासना तिमी त हाँसेर मात्रै ।

हुंदैन घायल मात्र वाणले,
नजरकै वाण लाग्नु पर्दछ ।

वग्दैन हावा त्यसै स-ल-ल,
तिम्रै केश फिंजिनु पर्दछ ।

-२०६८ / १ / ११ / १

सम्झना छ

गजल
——-
सम्झना छ

मुसुक्क हाँसी छिनमै रिसाउने मुहार ,
सम्झना छ,गहिरो सम्झना छ मलाई ।

मन त रमाउँथ्यो, सुखद हुन्थ्यो ,
अर्थ के थियो ? थाहै भएन मलाई ।

तिनाउमा साँझ पौडेको बेला ,
हाँस्दै,गिज्याउँदै ढुंगा हान्ने त्यो मुहार ।

मीठो लाग्थ्यो, मायालु लाग्थ्यो,
धेरै-धेरैसंम, त्यो चोखो उपहार ।

म त गऐं टाढा, बसाइ सरी,
कुहिराको कागझैं, हराएको हेला ।

भीडमा,मन्दिरमा अनि हाटमा देखेकै बेला,
बोलाउँथी चिच्चाइ-चिच्चाइ “ऐ,लव” भनी ।

टक्क अडिन्थेँ, बिस्मित हुन्थें, खुसी हुन्थें,
हराएकी “जुन”, भेटिई भनी ।

सुनें समाचार मानसिक रोगले ग्रस्त भई,
भेट्ने समय नजुर्दैमा,सुने ऊनी अलविदा भई ।

केही लिनु न दिनु, अतित पनि भुल भो,
राख्तै न राखेको प्रेम प्रस्ताव पनि शूल भो ।
( रचना काल : २०७० बैशाख २३ )

द्वन्द गजल

द्वन्द गजल

कोही भए ‘वीरगति’, विगुल बजाई सलाम ।
कोही भए ‘आफै शहिद’, ओढ़ाई झण्डा सलाम ।

खोई कसलाई के भन्ने ?, जसको छैन विराम ।
अब कहिले जानु पर्ने हो ?, आफू आफ्नै मलाम ।

छैन कुनै चोखा प्रकृतिका, झरना नदी नाला ।
तराई, पहाड, हिमाल बगे, रगतका खोला ।

‘ठूले’ पनि हार्दैन त्यसै, ‘कान्छो’ पनि जित्दैन ।
दिन दिनै देशै बरू हार्छ,कोही घिन मान्दैन ।

वन पाखा भन्ज्यांग कतै, नीरव शान्ति पाइन्न ।
टाउका बरु भेटिन्छन् नि, ढुंगा कतै पाइन्न ।

कहिले होला बग्ने मायाको, त्यो हावा सरसर ।
डर छैन केही मिल्छन् भाइ,अब जोशी सर ।
(रचना काल: २०६१/५/१ र २०६१/५/५/७को नेपाल समाचार पत्रको “सौग़ात”मा प्रकाशित ।)