नाक,कान,मुख र खुट्टा

अाँखा,नाक,मुख र खुट्टा

हाम्रा यी दुई अाँखा भएको
के वर्तमान संसार नियालेर हेर्न हैन ?
तर मेरो अाँखा
साँच्चै भन्ने हो भने ?
म बसेको दशगजसम्मको
ठूलो पर्खाल मात्रै हेर्न भ्याएको छ ।

यो नाक पनि त
सुवासित वा दुर्गन्ध
सुंघ्न नै हो ।
किन हो कुन्नी –
मेरो नाकले दुर्गन्ध सुंध्न नै पाएको छैन ।

हाम्रो मुख –
ब्रम्हाण्ड हो ।
मुख एउटा सत्य हो ।
एउटा बलियो अभिब्यक्ति हो ।
अनि यो पनि भन्न मन लाग्छ-
मान्छेहरूको प्रतिनिधि पनि हो ।
यो कटु सत्य बुझीकन पनि
मेरो मुख –
सत्यको अगाडि
मुक भई बसेको छ ।

खुट्टा चीरगामी अनन्त यात्री हो ।
हो त के ? मेरो त हैन !
म त केवल
निर्धारण गरिएको
थामसम्म पुगेर अाउन सक्छु ।
यत्ती नै मेरो खुट्टाले
गर्न सक्छ, साथी ।
– ( २०३२ मार्ग १)

पाईतलाहरू

( ४५ ) पाईतलाहरू

पाईतलाहरू,
सिंगो शरीर बोकेको छ , यिनले ।
सा – नो ,
एक बित्ते पाईतला
हिडाइरहेकोछ प्रत्येकलाई,
नाँगो पाईतलाहरूले ।
तिनिहरूलाई-
जस्का जीवनको अस्तित्व नै
त्यसैमा समेतिएको हुन्छ ।
यी पाईतलाहरुमा
बिज्दछन् तीखा काँडाहरू
पलपलमा घोंच्दछन्
चुच्चा मसीना ढुंगाहरुले
झाँझर – झाँझर हुन्छन् ।
रगतका थोपाहरू
टप-टप गरी टप्कन्छन् ।
राताम्य हुन्छन् ।
विवश छन्, यी पाईतलाहरू ।
थाम्नै पर्छ , देहलाई ।
के गर्नु ?
गरीबका अन्तर्रात्मालाई
बुझेका हुन्छन्,यिनले ।
त्यसैले त अडेका छन् , जसोतसो-
गरीबका घुट्काहरू ।
-( २०३० चैत ४ )

लाश,जो भष्म हुंदैन

( ४५ ) लाश , जो भष्म हुंदैन
मेले अाफ्नो शरीरभित्र
एउटा लाश जलाई राखेको छु।
त्यो लाश
म मा नव चेतनाले प्रवेश गरेदेखि
निर्वाध गतिले जलिरहेछ ।
मेरो मनका कोमल इच्छा ,अाकांक्षा ,
महत्वाकांक्षा,रीस,ईर्ष्या,लोभ अादि सबैलाई
पालै – पालोसंग होमी दिएको छु ।
भीषण अग्नि प्रज्जोल्लित गर्दा पनि
त्यो चीसो शव
भष्म हुन सकेको छैन ।
सधैं यो चीसो चिता कति जलाउने , कति कुर्ने ?
एउटा शीथिल अन्तःस्थल
एउटा गतीरोध चाल
एउटा अन्यमनस्कताको मनस्थिती
र एउटा असमयको अलाप
यही छ मेरो लाशमा शायद !
म मा मात्र हैन साथी,
यो तिमिमा पनि,हामी सबैमा नै विद्यामान छ ।
जिजीविषा बोकेको छ , यस्ले ।
गहिरीएर , एकचित्त भएर तिमी सोच ,
अवश्य नै साक्षात्कार हुन्छौ , यो संग ।
किन तिमी तड्पन्छौ , असीमित पीडाले ?
हो , यो शाश्वत लाशलाई
खरानी – खरानी पार्ने हो भने
मैले,तिमीले र हामीले
हाम्रो यो पार्थिव अाशा युक्त देहलाई ।
हीउँदै चीतामा होम्नु पर्ला ,
तब शायद यो लाशको
चीर अन्त होला ।
-( २०३४ असार २९ )

अाई रहुन् दुःखहरू

( ४७ )अाई रहुन् दुःखहरू

अाई रहुन् दुःखहरू
सधैं जीवनमा
भाग एे सुखहरू
बाँकी छ भने अझै ।
सधैं दुःख भोग्छु
त्यसैमा सुख छ ।
सुखानन्द खोज्छु त –
हृदयका व्यथाहरू
छटपटिन थाल्छन् ।
त्यसैले म भन्छु –
दुःख,दुखीको जीवन हो ।
सुख, सुखीको मृत्यु हो ।
दुःख,सुखोल्दछ ।
सुख,पिरोल्दछ ।
स्वागत छ अंध्यारा क्षणहरू ।
ढाक्न परे ढाक उज्यालो ।
नौलो प्रभात ल्याउने कोशिस गर्छु ।
सधैं उज्यालो मात्र रहे
नव निर्माण रोकिन्छ ।
तमरात्रिमा नै-
जीवनका लक्षहरू
परिचालित हुन्छन् ।
नत्र –
जीवनका गोरेटाहरू
शिथिल हुन्छन् ।
अाईरहुन् दुःखहरू ।
गरी रहूं संघर्षहरू ।
नौलो बिहानीको खोजमा
लागी रहूं ।
-( २०३६ वैशाख १ )