जेन्टुलमेन

जेन्टुलमेन

” किन कुरेर बसेको ? घर जाने हैन ? अब के बेच्न बाँकी छ ?”, नगर पालिकाको एक जना कर्मचारी अण्डा ब्यापारीसंग सोध्छन् ।
” जाने हो हजूर, एउटा मान्छेलाई पर्खिरहेको । उसले यी सामान छोडेर गएकाछन् । लिनै आउँदैन, क्या हजूर ।”

” काहेको अगोर रहल्बा, मर्दे ?, एकजना ऊसकै सजातीयले सोध्छन् ।

” एक जेन्टुलमेन आपन समान छोड गैलबा । वहीकै ईन्तजार बा ।”

दुईटा टन्न भकिएका प्लाष्टिक झोला छन् , तेस व्यापारीको अगाडी । एक-दुई जना गर्दै धेरै मानिस जम्मा हुंन थाले । सोधपूछ हुन थाल्यो ।
ऊ बोल्न थाल्छ –
” म कोटीहवामा बस्छु । हरेक बुधवार र शनिवार अण्डा बेच्न बुटवल आउँछु । गाउँको घर घरबाट कुखुरा र हाँसको अण्डा किनेर यहाँ हाटबजारमा बेच्न ल्याउँछु । एक जना जेन्टुलमेनले एक दर्जन अण्डा किन्यो । हजारको नोट दियो । मसंग छुट्टा थिएन । उनी नोट साटेर ल्याउँछु भनेर गएे । अण्डा लिएर गएे । यी दुई झोला तरकारी छोडेर गएे ।
अैलेसम्म लिन आउनु भएको छैन । मलाई अवेला भइसक्यो ।”

एक जना सज्जन अघि सरे । लौ त झोलाहरु खोलेर हे-यौं ।
उनी झोला खोल्न थाले । ” छि कस्तो गन्हाएको” भन्दै झोला खन्याउन लागे ।
कुहिएको बन्दाको पात, गलेको गोलभेडा, मुलाका पात, काउलीको पात मात्र देखियो ।
कुनैले भन्न थाले, ” लौ ठगेछ, विचरालाई ।”
एउटी महिला बोलिन्, ” भुसुक्कै पारेछ मोरोले । झुक्क्याउन झोलाहरु छाडेछन् । अण्डा र हजारको नोट दुबै लगेछन् । यो बुढो क्या पो सोझा रहेछन् ।”
” अण्डा आफैले राखी , नोट साटेर ले , भन्नु पर्दैन त ?”, प्रहरी बोल्छन् ।
” के गरौं त हजूर उनी जेन्टुलमेन थिए । पत्याऐं । भूल भयो । मेरो त केही गएन । उनलाई पनि पुग्दैन मलाई ठगेर । लौ म त घर जान्छु, अब ।”

ती पैंसठ्ठी सम्मका दाह्रीवाल मुस्लिम आफ्नो झोला र टोकरी कुम्ल्याउँदै आफ्नो वाटो लागे ।
निजमा लेसमात्र पनि पीर देखिएन । न कुनै आक्रोश  । मात्र आश्चर्य भाव झल्किन्थ्यो ।
जेन्टुलमेनको ठग्ने जेन्टलपनाले ।

———————

मेरो भाइटीका

मेरो भाइटीका

मेरो साख्खै दिदी / बहिनी कुनै छैन ।कर्मथलो बुटवलमा  वि.सं. २०२४ /२०२५ सालतिर मेरो हजुरआमाले एकजना धर्म बहिनीको हातबाट भाइटीका लाउने चाँजो पाँजो मिलाइ दिनु भयो ।गंगासंग  यो क्रम २०४९ सम्म निरन्तर चल्दै गयो । त्रि.वि.मा पि.एच. डी. अध्ययननिम्ति काठमाण्डौं जानु पर्यो । जीविकोपार्जनको साधन शिक्षण पेसा पनि उतै सारें । २२ वर्ष लामो वसाइ राजधानीमै रह्यो । जीवनको आरोहअवरोहसंग हातेमालो गरियो । त्यसबीच चाडपर्व मनाउन बुटवल फर्किन पाएन, भनौ अनुकुलता मिलेन । तेसबेलादेखि मेरो भाइटीका छुटेको छुट्यै रह्यो । कसैस्ग फेरि अर्को धर्म बहिनीको नाता गासिएन पनि ।सानीमाको छोरीहरु त थिए , काठमाण्डौंमा । नाताले बहिनी हुंन तिनीहरु । यदाकदा भेटघाट हुंदा हलो-हाइ त चल्थ्यो नै । तर भाइटीका मान्ने जमर्को या पहल मबाट भएन, ऊनीहरुबाट पनि भएन । यसमा अन्यथा मैले कहिल्यै पनि मानिन । कारण हो biological relationship । आफ्नै आमाको कोखबाट जन्मेका भाइ-बहिनी र नातोमा पर्ने भाइ-बहिनीको सम्बन्धमा स्वभावत: फरकपना आइहाल्छ । म उनीहरुकोमा धिम्किन जान नचाहने प्रकृतिको मनुवा । उनीहरुबाट कहिल्यै आमन्त्रण नहुंने । हुंन पनि आफ्नो प्राणीशाश्त्रीय सम्बन्धका दाजुभाइ छाडी मलाई सम्झनु पर्ने कुरै आउँदैन । यही नियम मेरी धर्म बहिनीमा पनि लागू हुन्छ । यो मानवीय स्वभाव अनि प्रकृति हो ।

आज २२ वर्षको अन्तरालमा म बुटवल आएकोछु । मेरो परिवार पनि संगै छिन् । तर मलाई थाहा छैन, मेरी धर्मबहिनी कहाँ छिन् । विगतका सम्झनाहरु एक -एक गरेर मष्तिष्कमा आाउँदैछन् । मानौ म त्यसै शीर्षको चलचित्र हेरिरहेकोछु । भाइटीका भ्याएपछि बहिनी र म बाहिर निस्कन्छौं । आगनमा ओखर फुटाल्न गंगा एउटा ढुंगा ल्याइदिन्छिन् । भन्छे- ” ओखर फुटालेर खानाले शत्रुले दुख दिन सक्दैन ।” प्वाक्क फुटाल्छु । बाँडेर खान्छौं । केही समय हामी घुम्छौं । तिनाव नदी किनार-किनार । खयरघारी तिर । फुलवारी उक्लन्छौं । बुटवल हाई स्कूल भएको डांडातिर घुम्छौं । रूख-रूखमाथि हेर्छौं । हाम्रा आँखाहरु नीलकण्ठ चरा नियाल्दै छन् । भाइटीकाको दिन नीलकण्ठ देखियो भने “शुभ”हुन्छ भन्ने जन मान्यता रहेकोछ । हामीले देख्छौं पनि । गंगाले नै पहिले देख्छिन् । हामी खुसी हुन्छौं । तबसम्म हल्का हल्का प्यास लाग्छ। ” बरफ, ठन्डा बरफ” भनेर बरफ बेच्ने आइपुग्छ । म इशारा गरेर बोलाउँछु । एकुन मोहरको खान्छौं । गंगालाई बरफ खुपै मन पर्छ । फेरि त्यतिकै थपेर खान्छौं । धेरी -धेरी बरफ खायो भने पानी प्यास लागी हाल्छ, उत्नीखेरै । अनि तिनाव खोला जान्छौं । कल-कल बगेको सफा पानी अन्जुली भरी-भरी खान्छौं । छ्वाप्प-छ्वाप्प मुखमा पानी छ्याप्छौं । एक-अर्का तर्फ छ्यापाछ्याप गर्दछौं । गंगा निथ्रुक्कै भिज्छे । त्यस्तै रूप मेरो पनि हुन्छ । तबसम्म ४ बज्छ । अब घर फर्कने वेला । हामी हात समाइ उफ्रंदै फिर्छौं । भोलि फेरि घुम्ने कार्यक्रमको स्वीकृति लिन्छौं ।

गंगालाई केही उपहार दिने मन छ ।  कहिले ऊस्लाई सुहाउने फ्रककोलागि चाइनीज़ कपडा । कहिले राम्रो कलम, ज्यामिती बक्स र नोटबुक । प्रायः पठनपाठनमा चाहिने सामग्री । कहिले गंगा मैले दिने उपहारबारे बुझ्दिन । म ऊस्लाई “लथौरी” भन्छु । यो “लथौरी” भनेको के नि ?, गंगा सोध्छिन् । म खितित्त हाँस्छु । यो वालापन अब कथा भएकोछ ।

बुटवल ठूलै सहर भैसकेको रहेछ । द्वन्दले विशाल बनाएको बुटवल ।म हराएकोछु, यहाँ ।
बहिनीको ठेगान खोज्ने कोसिश पनि गरिन मैले । मेरो टीका लगाउने रहर बहिनीको परिस्थितिले के भन्छ ? ऊनीलाई धर्म दाइ यहाँ आ’को सुइंको पनि त छैन होला । ऊनी आफ्नै दाइ-भाइकहाँ गईछन्  कि के थाहा ? मेरो आफ्नै व्यवस्था पनि मिलिसकेको छैन । अत: मैले निर्णय लिऐं – भाइटीका नगर्ने ।  गंगा बाहेक मेरो कुनै बहिनी छैन, यस लोकमा । न कसैलाई म धर्म बहिनी बनाउनेछु ।

यो मेरो धर्म बहिनी गंगा प्रतिको माया र सम्मानको प्रतीक हो ।