हिल स्टेसन मुन्नार दक्षिण भारतको केही धार्मिक स्थानको यात्रापछि हिल स्टेसन मुन्नारको भ्रमण गर्ने योजना बन्यो। त्रिभेन्डरपुरमको कोभ्लम समुन्द्री तट, जस्लाई “दक्षिणको स्वर्ग” भनिन्छ, मा दिनभरी सनबाथको मज्जा र्लिदै अर्को दिन हामी कोची पुर्ग्यौ। मुन्नार जाने बाटोमा पर्ने “पूर्वको भेनिस” संज्ञा पाएको अल्लापीमा रहेको विशाल तालमा आधी दिन नौका बिहार नगरी मनै मानेन। प्राकृतिक रमण्ीय शान्त तालमा तीन घंटा नौकायन गर्दा समय बितेको हेक्कै भएन।
ठूला–ठूला हाउसबोटमा विभिन्न देशका पर्यटकहरु रमेका देख्दा पोखराको फेवातालमा पनि त्यो दृश्य देख्न मन लालायित भएर आयो। समय अभावले गर्दा कोची फर्कियौं। विहान ८ बजे गुडेको इन्डीगो क्याबले हामीलाई विभिन्न दृश्यावलोकन गराउंदै, वनभित्रको खाजाघरमा खाजाचमेना खुवाउंदै अपरान्ह १ बजे मुन्नार पु–यायो। कोचीबाट मुन्नार झण्डै १३० कि.मी.टाढा पर्छ।
घुम्ती–घुम्ती भएको चिल्लो सडक, काजु ,किसमिस,वदाम, मरीच, सुकुमेल, केरा, नरिवल,भूईं कटहर,रुख कटहर , मरमसला, फलफुल आदि नगदेवाली मगमगाउंदो वनपाखाले मनै हरण ग–यो।
मुन्नारको चीया बगान
कोसौंसम्म फैलिएको भीरपाखामा मुना टिप्न तम्तयार भएका चीया बगानहरुले प्रत्येक आगन्तुकलाई स्वागत गरिरहेको भान पर्छ। मन पुलकित भयो। गाडी रोकेर फोटो खिच्यौं। बगानमा रमेर घुम्यौं। कुण्डला चीया बगानमा रहेका टाटा तथा अन्य कम्पनीले उत्पादन गरेको ग्रीन टी तथा स्थानीय स्तरमा प्याक गरेको चीया किन्यौं। मुन्नारको सौंदर्य हरियाली चीया बगानले औधी बढाएको छ। चीया बगानमा सिंचाइ गर्ने राम्रो प्रबन्ध सुलभ कृषि प्रविधिको नमूना नै पायौं। मुन्नारमा अनुत्पादक बनस्पति नै छैन जस्तो भान पर्यो। वनपाखामा ठूला रुखहरु भएपनि लटरम्म रातो फूल फुलेर शोभा दिई रहेकाछन्। यो जोहो वर्षौं– वर्षौंको ठोस योजना कार्यान्वयनको प्रतिफल हो।
हाम्रो देशको पहाडी इलाकामा हिल स्टेसनको योजना तर्जुमा गर्दा योजनाकार, विकासवाहक प्रशासक र राजनेताहरुले मुन्नारको स्थलगत भ्रमण गरेर व्यावहारिक ज्ञान सिकी आफ्नो देशमा लागू गरेमा कायदा हुंने विचार मनमा फुर्यो।

मुन्नारको एक रिजोर्ट
मुन्नार घुम्ने जो कोहीलाई तीन दिनको समय पनि पुग्दैन। वन–भीरपाखाको वरिपरि पक्की सडकको संजाल छ। अनवरत विद्युत र पानीको आपूर्ति गरिएकोछ। हरियाली वनभित्र ठाउं ठाउंमा आकर्षक सुविधाजनक सुपथ मूल्यका रिजोर्टहरु पाहुनालाई स्वागत सत्कार गर्न तैयार छन्। ब्रेकफाष्ट, लञ्च र डिनर उचित दाममा पाइनछ। हो, पकाउने विधि फरक छ। काठमाण्डौंमा पाइने तरकारी जति सबै पाइन्छन्। अझ उन्नत उब्जनीका। तर परिकार चाहिं दक्षिण भारतीय स्वादमा। काजु , किसमिस , बदाम मिसाउनै पर्नै। नरिवल त सबै परिकारका अभिन्न अंग। स्थान अनुसारको परिकार चाख्नु पनि भ्रमणको एउटा अंग हैन र?
विशाल ड्यामहरुको प्राकृतिक सौंदर्यता र त्यसमा नौकायन गर्नै सुविधा मुन्नारको अर्को आकर्षण हो। Mattaputty Dam लाई मानिसहरु स्वीट्जरल्याण्डको बांधसंग तुलना गरी बखान गरेको सुनियो। यो बांध औधी चित्ताकर्षक छ। बांधसंगैको सडकपेटीमा हस्तकला,काष्ठकला जस्ता घरेलु उत्पादको हाट बजार लाग्दछ। मोतीमाला र पत्थरको पसल लोभ लाग्दा छन्। घंटौं भुलिएको थाहै हुंदैन। बांस,बेतको उत्पादन न किनी मनै मान्दैन। कांचो काजु फ्राई गरेर सस्तोमा बेचिन्छ। काजु स्थानीय उत्पादन हो। स्थानीय उत्पादन गरम मसलाको प्याक नपत्याउंदो मूल्यमा पाइन्छ।

Mattaputty Dam Munnar
कुण्डन बांधमा नौकायनको सुविधा छ। आप्ाक्नो आवाज प्रतिध्वनित भएको सुन्न आगन्तुकहरु वेसमारी चिच्याएर थाक्दैनन्। यसकासाथै शान्त वातावरणमा ट्रेकिङ्ग, साईक्लिङ्ग, र ऐंगलिंग गर्ने स्थान मनग्यै छन्। 207लोरिकल्चर सेन्टरमा नाना थरीका फूलहरुले भुलाउंछन्।
मुन्नार समुन्द्रको सतहदेखि १६००–१८०० मिटरको उंचाइमा रहेकोले मौसम चीसो छ। यहांको हावापानी स्वास्थ्यबर्धक छ। माघको पहिलो हप्ता (जनवरी चौथौ हप्ता ) मा पुग्दा पनि न्यानो लुगा चाहिन्छ। जाडो याममा ० देखि १० र गर्मी याममा १५ देखि २५ डिग्री सेल्सियस्को तापमान रहने गर्दछ। अगस्ट देखि मई संम पर्यटक ओइरिने पीक सिजन मानिन्छ। मुन्नारमा बस्दा तानसेन र धनकुट्टाको हावापानीको अनुभूति गराउंछ। चीया र कफी यहांको प्रमुख नगदे वाली हुन्।
आगन्तुकलाई सजिलो पार्न बैंकहरु,एटिएमहरु ,संचारका साधनहरु सबै सहजतापूर्वक उपलब्ध गराइएकाछन्।
क्रिश्चियन मिसीनरीहरुको संजाल रहेको केरला भारतकै शत– प्रतिशत शिक्ष्ाित भएको राज्यमा दरिन्छ। सबै काम कार्यकलाप ईश्वरको इच्छा र कृपाले भएको भन्ने जनविश्वास रहेछ। स्थान स्थानमा “ईश्वरको आफ्नै देश” -“God’s own country” लेखिएको साईन्बोर्डहरु झुण्ड्याएको देख्न पाईन्छ। झिलीमिली बिजुली बत्तीले सिंगारिएका शोभायमान चर्चहरु बस्ती–बस्तीमा छन्। रातको समयमा सौंदर्यको पुञ्ज लाग्छन् ,

ती चर्चहरु मनोरम चित्ताकर्षक प्राकृतिक सम्पदाले ओतप्रोत मुन्नारको बसाइले पीरबाधा विर्साई दिन्छ। मन मथिङ्गगलमा नौलो सोच, विचार र भावना उब्जाइ दिन्छ। स्थानीयहरुको सहयोगीपना, मानवीय र प्रकृति वीच तालमेल भएको मुन्नार एकपटक पुग्नै पर्ने ठाउं हो। मुन्नार प्रकृती प्रेमीहरुकालागि स्वर्गै हो।

कुण्डन बांधः जहां आवाज प्रतिध्वनित हुन्छ। फोटो: लेखक।