बन्दुक

बन्दुक

एकनाले, दुईनाले
पेष्टोल, रिवाल्वर,
राइफल, मेसिनगन, पेनगन
जे जे छन् , यसका जात
देख्दै डर लाग्छ ।

बन्दुकधारी-
सेना, प्रहरी,जमिन्दार
विर्तावाल, जिम्मुवाल,
मुखियाबा,डन
अण्डरवरल्ड
मत्ता हात्ती समान
कहीं कुनैबेला यो
निर्लज्ज पड्कन सक्छ ।
पेलिस्टाईन शिविरमाझैं
१६ सेप्टेम्बर १९८२ जन्माई
ईजराईली बन्दुकले
सर्बोत्कृष्ट मानवजातिको
क्रुर आमहत्या रचाउन सक्छ ।
बन्दुक-
यो मत्ता हात्तीझैं
वाल,वनिता,बृद्ध-बृद्धा कुल्चन सक्छ ।
शान्त र सुन्दर
गाउँ डाँका मार्न सक्छ ।
मािनसले मानिसको घृणास्पद
इतिहास निर्लज्ज लेख्न सक्छ ।
बन्दुक-
निर्बललाई बलवान बनाउँन सक्छ ।
शान्तलाई आकुल ब्याकुल बनाउँन सक्छ ।
संभ्रान्त दिग्भ्रमित हुंन सक्छ ।
त्यसैले डर लाग्छ ।
बन्दुक-
कहीं कतै पड्कन सक्छ ।
यस्कै आडमा
अपहरण हुंन सक्छ
अवलाहरूको दिउँसै ।
जहाजहरूको सरेआम ।
हत्या खुलेआम ।
डकैती निसंकोच ।
तस्करी दिन दहाडै ।
अत:
बन्दुक त्रास हो ।
संत्रास हो ।
डर लाग्छ-
हक़, सुविधा र अन्याय विरूद्धको
हड्ताल, जुलूस ,भाषण, सभाबीच,
बन्दुकधारीबाट
अनायासै
खिया लागेको गोली
खिया लागेकै
बन्दुकबाट पड्कन सक्छ ।
आत्मरक्षाको नाममा,
उत्ताउलो हुंदा
परहिंसा हुंन सक्छ ।
कर्तव्यच्यूत भई
विस्फोट हुंनसक्छ ।
विकल्परहित सत्ता पल्टिन सक्छ ।
यो शान्ति हैन
क्रान्तिको प्रतीक हो ।
बन्दुक-
मतमताउँदो छ
तैपनि
यो कायरको हतियार हो ।
यो आतंककारी वाहुबल हो ।
यो युद्धको विकुल हो ।
यो अशान्तिको
रक्तबीज हो ।
( रचना काल : २०३९/०७/१४ ,अपरान्ह १२ बजे )
Website : http://lovejoshi.com.np