नजरको वाण

नजरको वाण

पिएर मात्रै लाग्दैन नशा,
तिमीलाई हेरेरै लाग्दछ ।

छर्छ वासना फूलले फुलेरै मात्रै,
छर्रछ्यौ वासना तिमी त हाँसेर मात्रै ।

हुंदैन घायल मात्र वाणले,
नजरकै वाण लाग्नु पर्दछ ।

वग्दैन हावा त्यसै स-ल-ल,
तिम्रै केश फिंजिनु पर्दछ ।

-२०६८ / १ / ११ / १

मुक्ति क्षेत्र

temple
temple

मुक्ति क्षेत्र

मुक्तिक्षेत्र
मेरो शौभाग्य
तिम्रो वरदान
कस्तो अनुकम्पा ?

तिम्रो सौंदर्य
प्रकृतिको दिव्यता
भू-भिन्नतामा
पाइन्छ सभ्यता ।

रचनामा कति विभेद ?
भूतलकै चन्द्रलोक
अचम्मैछ त्यहाँ जीवनी
झारपातमा पनि संजीवनी ।

कुनै न कुनै घरमा
बुद्धको विशाल मूर्ति
ओम् मणी पद्मे हुंम्
जीवन्त शान्तिको अनुभूति ।

देव क्षेत्र , तप क्षेत्र
शान्ति क्षेत्र, मुक्ति क्षेत्र
विष्णु क्षेत्र, लक्ष्मी क्षेत्र
शिव क्षेत्र, ज्ञान क्षेत्र ।
-( २०६८ / ४/ ३२ / ४ )

क्या राम्री

क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।

मृग नयनमा पनि गाजल,
ती नयनाभिराम नयन,
क्या राम्री ।

पूर्ण श्रृँगारमा सजिएकी प्रकृति,
त्यो कृत्रिम श्रृँगार किन चाहियो ?
क्या राम्री ।

रसिला ओंठहरु
चुम्बन खोजी रहन्छन् ।
तीनमा लिपपोत किन गर्ने ?
क्या राम्री ।

प्रकाशको पुन्ज त्यो मुखमण्डल ।
लाली त्यहां किन चािहयो ?
क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।

नितम्ब तलै झरेको केश लहरी,
छालझैं सागरमा ।
क्या राम्री ।

फिक्का हुंने शिल्पिको कला पनि,
त्यो चन्द्रवदन
क्या राम्री ।

रमाउने आफ्नै संस्कृतिमा,
हाकु पतासीमा यो ल्यासे,
क्या राम्री ।

मर्काई पातुलो कम्मर,
अनार दाना दाँत देखाउने चाल,
क्या राम्री ।

आपतकै आँधी छेक्ने …
हिमालझैं अविचल,
साहसी व्यक्तित्व,
क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।
-२०७१ पुस ७

तस्वीर

तस्वीर

मानिसको मन,
न घामले पोल्छ।
न आगोले पोल्छ।
मानिसको मन,
माया गाँसिएको
तस्वीरले पोल्छ ।

तस्वीर,
कहिले हंसाउँछ।
तस्वीर,
कहिले रूवाउँछ।
तस्वीर,
नखिच्दै पनि
यस्ले रूवाउँछ ।
– २०७१ पुस ८

आमाको सन्दुक

आमाको सन्दुक

“विहे हुंने दिन झण्डै दुई महिना बाँकी छ । यी सगुनका कपडा कहाँ जतनले राख्ने ? याँ जताततै मुसाले दुख दिन्छ । मूल्यवान पनि छन् , यी सगुनका कपडा । ” कमला चिन्तित हुंन थाल्छे ।

” पोका पारेर तखतामा राखे भै’हाल्छ नि ।” साली सुझाउँछे ।
“के भन्छे यो ? नोक्सान भएमा फेरि-फेरि किन्न सकिन्छ र ?”
” तेसो भए विस्तरा मुनि मिलाएर राखम् न त ।”
“अनि दुलहीको कपडामाथि सुत्ने हैन ? तेरो कुईएको बुद्धि !” दिदी बैनी विवाद गर्न थाल्छन् ।
“ल, ल म सघाउँछु । जसरी भए पनि सुरक्षित राखे भै’हाल्छ नि ।” मैले आश्वस्त पार्छु ।
” बाहिर यहाँ सन्दुक छ । यसमा राखेको बिजुली र धाराको सामान बोरामा राखौं । केही समयसम्म सगुनका कपडा यस्मै राखौं । पछि स्टील दराज ल्याएर तेसमा सारौंला , हुन्न र ?”, मैले उपाय बताऐं।
“भै हाल्छ , भिनाजू ।” सालीको आड पाई हालें ।
तेस सन्दुकमा रहेका सबै सामान निकालेर बोरामा राखें । झारझुर पारें । अझै सफ़ा पार्न कुचो पनि लगाऐं ।
” लौ मार्यो ।” म चिच्च्याऐं ।
” के भो हँ ?” कमला छक्क परिन् ।
” ई , हेर त !” चोरी औंला प्वालमा छिराउँदै देखाऐं ।
” लौ यो सन्दुक पनि काम लाग्ने भएन ।” कमला निराश देखिईन् ।
“हो र , साँच्ची ?” साली प्रश्न गर्छे ।
“यस्को समाधान गर्छु म ।” म जाँगर देखाउँछु ।
घर बनाउँदै गरेको ठाउँबाट चारवटा ईंटा ल्याऐं ।बिछाऐं सन्दुकमा । तेसमाथि सफा अखवार बिछाऐं ।
“लौ अब कपडा राख्यौं ।”
कमला र राधाले कपडा थप -थप राखे । सन्दुक सगुनका कपडाले भरी भो । तेसमाथि पनि सफा अखवार राख्यौं । सुरक्षित । निश्चिन्त । अब मुसाले खाँदैन, पक्का पनि ।
” ल यस्लाई अब पलंगमुनि घुसारौं ।बेला न कुबेला निकालेर देखाउने काम पटक्कै नगर्नु ।”
तीनै जना मिलेर पलंगमुनि पसाल्यौं ।
“अब खाना खाऔं । म पस्कन्छु ।” राधा भोकाईन्, शायद ।
“पख।आज यस सन्दुकको कथा भन्न देऊ, मलाई ।” म भावुक हुन थाल्छु ।
म भन्दै गर्छु –
“यो मेरो आमाको सम्पत्ति हो । मैले आमावावुबाट पाएको पुर्खौली सम्पत्ति । केवल एउटै चिन्ह ।
बजैले भन्ने गर्नु हुन्थ्यो, ” यो तिम्रो आमाको सन्दुक हो । यो कलकत्तामा बनेको हो रे । चिन्ह सम्हालेर राख्नु ।”
काल खण्डले यो सन्दुक म जता जता बसें, तेतै तेतै म संगसंगै रह्यो । तर खासै काममा आएको थिएन ।
कहिले फाईलहरू त कहिले किताबकापीहरू भने जरूर राख्दै आएको थिऐं । २३ वर्षको काठमाडौँ वसाइमा पनि यो बुटवलमै रह्यो।पानी पर्यो । खिया लाग्यो । माकुरा पस्यो । साँग्लाले वास गर्यो यस्मा । रंगरोगन गर्न चाहेको थिऐं, तर कहिल्यै समय जुरेन यस्लाई । आज आमाको यस नासोले ठूलै काम गर्यो । छोरा बुहारीको नभए पनि नातिनी बुहारीको सगुनका कपडा राख्न पायो । साईपाटाको सामग्री राख्न पायो ।
बिहेको पहिलो खुसी त यो सन्कदुले नै भोग्न पायो । आमाको आत्मा निश्चय पनि खुसी भयो होला । सय वर्ष भन्दा पुरानो यो सन्दुक हाम्रो लागि सम्पदा नै हो । यो सन्दुले बिहेको शुभ साइत कुरेको रै’छ । आमाको आशीर्वाद छ, यस सन्दुकमा । यो तृप्त भयो । यो सन्दुकलाई डेन्टिंग पेन्टिंग गरेर राखौं ।”

मन भरिएको छ । आँखा रसिलो छ मेरो । आमाको स्मृति छैन मलाई । न वुवाको । म सानै छँदा वहाँहरू अल विदा भए ।। मेरो वाल मस्तिष्कमा कुनै चित्रै कोरिन पाएको थिएन, तेतिबेला ।

सन्दुक त प्रतीक मात्र हो। यस्लाई आमाकै शुक्ष्म सहभागी नै भएको ठान्छु म ।

शान्त छौं हामी । शान्ति छ कोठामा । सप-सप भात खायौं हामीले ।