Category Archives: Short story

आमाको सन्दुक

आमाको सन्दुक

“विहे हुंने दिन झण्डै दुई महिना बाँकी छ । यी सगुनका कपडा कहाँ जतनले राख्ने ? याँ जताततै मुसाले दुख दिन्छ । मूल्यवान पनि छन् , यी सगुनका कपडा । ” कमला चिन्तित हुंन थाल्छे ।

” पोका पारेर तखतामा राखे भै’हाल्छ नि ।” साली सुझाउँछे ।
“के भन्छे यो ? नोक्सान भएमा फेरि-फेरि किन्न सकिन्छ र ?”
” तेसो भए विस्तरा मुनि मिलाएर राखम् न त ।”
“अनि दुलहीको कपडामाथि सुत्ने हैन ? तेरो कुईएको बुद्धि !” दिदी बैनी विवाद गर्न थाल्छन् ।
“ल, ल म सघाउँछु । जसरी भए पनि सुरक्षित राखे भै’हाल्छ नि ।” मैले आश्वस्त पार्छु ।
” बाहिर यहाँ सन्दुक छ । यसमा राखेको बिजुली र धाराको सामान बोरामा राखौं । केही समयसम्म सगुनका कपडा यस्मै राखौं । पछि स्टील दराज ल्याएर तेसमा सारौंला , हुन्न र ?”, मैले उपाय बताऐं।
“भै हाल्छ , भिनाजू ।” सालीको आड पाई हालें ।
तेस सन्दुकमा रहेका सबै सामान निकालेर बोरामा राखें । झारझुर पारें । अझै सफ़ा पार्न कुचो पनि लगाऐं ।
” लौ मार्यो ।” म चिच्च्याऐं ।
” के भो हँ ?” कमला छक्क परिन् ।
” ई , हेर त !” चोरी औंला प्वालमा छिराउँदै देखाऐं ।
” लौ यो सन्दुक पनि काम लाग्ने भएन ।” कमला निराश देखिईन् ।
“हो र , साँच्ची ?” साली प्रश्न गर्छे ।
“यस्को समाधान गर्छु म ।” म जाँगर देखाउँछु ।
घर बनाउँदै गरेको ठाउँबाट चारवटा ईंटा ल्याऐं ।बिछाऐं सन्दुकमा । तेसमाथि सफा अखवार बिछाऐं ।
“लौ अब कपडा राख्यौं ।”
कमला र राधाले कपडा थप -थप राखे । सन्दुक सगुनका कपडाले भरी भो । तेसमाथि पनि सफा अखवार राख्यौं । सुरक्षित । निश्चिन्त । अब मुसाले खाँदैन, पक्का पनि ।
” ल यस्लाई अब पलंगमुनि घुसारौं ।बेला न कुबेला निकालेर देखाउने काम पटक्कै नगर्नु ।”
तीनै जना मिलेर पलंगमुनि पसाल्यौं ।
“अब खाना खाऔं । म पस्कन्छु ।” राधा भोकाईन्, शायद ।
“पख।आज यस सन्दुकको कथा भन्न देऊ, मलाई ।” म भावुक हुन थाल्छु ।
म भन्दै गर्छु –
“यो मेरो आमाको सम्पत्ति हो । मैले आमावावुबाट पाएको पुर्खौली सम्पत्ति । केवल एउटै चिन्ह ।
बजैले भन्ने गर्नु हुन्थ्यो, ” यो तिम्रो आमाको सन्दुक हो । यो कलकत्तामा बनेको हो रे । चिन्ह सम्हालेर राख्नु ।”
काल खण्डले यो सन्दुक म जता जता बसें, तेतै तेतै म संगसंगै रह्यो । तर खासै काममा आएको थिएन ।
कहिले फाईलहरू त कहिले किताबकापीहरू भने जरूर राख्दै आएको थिऐं । २३ वर्षको काठमाडौँ वसाइमा पनि यो बुटवलमै रह्यो।पानी पर्यो । खिया लाग्यो । माकुरा पस्यो । साँग्लाले वास गर्यो यस्मा । रंगरोगन गर्न चाहेको थिऐं, तर कहिल्यै समय जुरेन यस्लाई । आज आमाको यस नासोले ठूलै काम गर्यो । छोरा बुहारीको नभए पनि नातिनी बुहारीको सगुनका कपडा राख्न पायो । साईपाटाको सामग्री राख्न पायो ।
बिहेको पहिलो खुसी त यो सन्कदुले नै भोग्न पायो । आमाको आत्मा निश्चय पनि खुसी भयो होला । सय वर्ष भन्दा पुरानो यो सन्दुक हाम्रो लागि सम्पदा नै हो । यो सन्दुले बिहेको शुभ साइत कुरेको रै’छ । आमाको आशीर्वाद छ, यस सन्दुकमा । यो तृप्त भयो । यो सन्दुकलाई डेन्टिंग पेन्टिंग गरेर राखौं ।”

मन भरिएको छ । आँखा रसिलो छ मेरो । आमाको स्मृति छैन मलाई । न वुवाको । म सानै छँदा वहाँहरू अल विदा भए ।। मेरो वाल मस्तिष्कमा कुनै चित्रै कोरिन पाएको थिएन, तेतिबेला ।

सन्दुक त प्रतीक मात्र हो। यस्लाई आमाकै शुक्ष्म सहभागी नै भएको ठान्छु म ।

शान्त छौं हामी । शान्ति छ कोठामा । सप-सप भात खायौं हामीले ।

जेन्टुलमेन

जेन्टुलमेन

” किन कुरेर बसेको ? घर जाने हैन ? अब के बेच्न बाँकी छ ?”, नगर पालिकाको एक जना कर्मचारी अण्डा ब्यापारीसंग सोध्छन् ।
” जाने हो हजूर, एउटा मान्छेलाई पर्खिरहेको । उसले यी सामान छोडेर गएकाछन् । लिनै आउँदैन, क्या हजूर ।”

” काहेको अगोर रहल्बा, मर्दे ?, एकजना ऊसकै सजातीयले सोध्छन् ।

” एक जेन्टुलमेन आपन समान छोड गैलबा । वहीकै ईन्तजार बा ।”

दुईटा टन्न भकिएका प्लाष्टिक झोला छन् , तेस व्यापारीको अगाडी । एक-दुई जना गर्दै धेरै मानिस जम्मा हुंन थाले । सोधपूछ हुन थाल्यो ।
ऊ बोल्न थाल्छ –
” म कोटीहवामा बस्छु । हरेक बुधवार र शनिवार अण्डा बेच्न बुटवल आउँछु । गाउँको घर घरबाट कुखुरा र हाँसको अण्डा किनेर यहाँ हाटबजारमा बेच्न ल्याउँछु । एक जना जेन्टुलमेनले एक दर्जन अण्डा किन्यो । हजारको नोट दियो । मसंग छुट्टा थिएन । उनी नोट साटेर ल्याउँछु भनेर गएे । अण्डा लिएर गएे । यी दुई झोला तरकारी छोडेर गएे ।
अैलेसम्म लिन आउनु भएको छैन । मलाई अवेला भइसक्यो ।”

एक जना सज्जन अघि सरे । लौ त झोलाहरु खोलेर हे-यौं ।
उनी झोला खोल्न थाले । ” छि कस्तो गन्हाएको” भन्दै झोला खन्याउन लागे ।
कुहिएको बन्दाको पात, गलेको गोलभेडा, मुलाका पात, काउलीको पात मात्र देखियो ।
कुनैले भन्न थाले, ” लौ ठगेछ, विचरालाई ।”
एउटी महिला बोलिन्, ” भुसुक्कै पारेछ मोरोले । झुक्क्याउन झोलाहरु छाडेछन् । अण्डा र हजारको नोट दुबै लगेछन् । यो बुढो क्या पो सोझा रहेछन् ।”
” अण्डा आफैले राखी , नोट साटेर ले , भन्नु पर्दैन त ?”, प्रहरी बोल्छन् ।
” के गरौं त हजूर उनी जेन्टुलमेन थिए । पत्याऐं । भूल भयो । मेरो त केही गएन । उनलाई पनि पुग्दैन मलाई ठगेर । लौ म त घर जान्छु, अब ।”

ती पैंसठ्ठी सम्मका दाह्रीवाल मुस्लिम आफ्नो झोला र टोकरी कुम्ल्याउँदै आफ्नो वाटो लागे ।
निजमा लेसमात्र पनि पीर देखिएन । न कुनै आक्रोश  । मात्र आश्चर्य भाव झल्किन्थ्यो ।
जेन्टुलमेनको ठग्ने जेन्टलपनाले ।

———————