शैक्षिक जीवनका अनुभवहरु (३५)

शैक्षिक जीवनका अनुभवहरु (३५)

२०७२ वैशाख ८ गते मंगलवार

अक्षय तृतीया : हिजो र आज
 
अक्षय तृतीया । सत्तु / सातु र सर्बत खाने, खुवाउने पर्व । सुन / चाँदी किन्ने चलन चलेको पर्व । मेरो वालपन याद आयो । बुटवलको बहर पिपलको चौतारी-चौतारीमा सर्बत र सातु वितरण हुन्थ्यो , बीसको दशकमा । तराई र पहाड अनि तानसेनमा पनि परम्परा थियो । यो दिन विद्यालयमा विदा दिने  चलन थियो, तेतिबेला । चकचके चुलबुलेहरु झुण्ड बनाइ घुम्थ्यौं । एक पछि अर्को चौतारी गर्दै । सातु मुखमा नपर्दै हँसाउँथ्यो कुनै साथी । मुख भरी सातु पर्थ्यो । एकले अर्कोलाई हेरी काइदाले हाँसिन्थ्यो ।
अब त कमै चौपारीहरुमा हुन्छ, यस्तो । बटौलीबाट बुटवल भयो, यो सहर । नेपालको दसवर्षे द्वन्दले त यसलाई विशाल बनाई हाल्यो नि, बाबै ! विरानो भयो, यो सोझो सहर । कसलाई फ़ुर्सत छ र त्यो परम्परा धान्न ? तर पनि रै’छ कतै -कतै । चलन मरेको छैन । संस्कृति बचाउनु नै बलियो कसरत गर्नु पर्छ ,अब त ।

काठमाडौँमा २३ वर्ष बसेर अध्ययन-अध्यापन गरें । काठ ईलाकामा विद्यमान नै छ । अक्षय तृतीया पर्व । दिन्छन् सत्तु । पिलाउँछन् सर्बत ।तर सहरमा त कस्लाई पो समय बढ्ता भएको छ र ? तर पनि यो दिन मैले पढाउने विद्यालय – पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल- मा मनाइन्थ्यो छोटकरीमा । अक्षय तृतीया । जेष्ठ नागरिकको कोटीमा पर्न लागेका शावित्री, नीला, राधिका, सरिता म्याडमहरु एक पछि अर्कीले यो पर्वमा सत्तु र सर्बत खुवाउन, पिलाउन छाड्नु भएन । हरेक जसो पर्वहरु याद दिलाउँथे, मिसहरु । एक किसिमले उनीहरु “पात्रो” वा “क्यालेण्डर” नै थिए भन्दिएमा फरकै पर्दैन पनि । अचेल चाहिं आरती म्याडम, प्रार्थना म्याडम,मनिता म्याडमहरुको होडबाजी छ । यो लाममा अरु पनि त थपिए कि, राम जाने ।

शैक्षिक जीवनका अनुभवहरु (३४ )

शैक्षिक जीवनका अनुभवहरु (३४ )

२०७२ वैशाख ७ गते सोमवार

विद्यार्थीको ज्ञानलाई महत्व दिनु पर्छ

नयाँ शिक्षकले शुरु-शुरुमा आफूलाई सबै ज्ञानले सम्पन्न छु भन्ने ठान्छ । उसले विद्यार्थीलाई दबाव ( Pressure ) मा राख्न थाल्दछ ।उसले पढाए, ब्याख्यान गरे अनुसारकै उत्तर लेख्नु पर्ने आदेश दिन्छ । निर्देशन विपरीत भएमा अंक काट्छ । गृहकार्य गरेर ल्याएको मिलेन भनीदिन्छ । कक्षामा प्रश्न सोध्ने विद्यार्थीलाई निरुत्साहित पार्छ । फलत: विद्यार्थीले कक्षामा छलफलमा भाग लिनबाट हच्कन्छ । किन यस्तो गर्छ शिक्षक ? यो उसलाई शिक्षा दीक्षा दिने पहिलेको गुरु, गुरुमाहरुको प्रभावको फल हो । पहिले पहिलेका शिक्षकले आफूलाई “ज्ञानको भण्डार” ( storehouse of knowledge ) सम्झन्थे ।विद्यार्थी त ज्ञान शुन्य ( zero in knowledge ) हुन्छन् भन्ठान्थे ।

तर अहिले त्यो परिकल्पना  सही मानिदैन । पत्र-पत्रिका , रेडियो, टेलिभिजन, कम्प्यूटर , विभिन्न सामाजिक संजालहरुको प्रभावले गर्दा विद्यार्थी अहिले ज्ञान सम्पन्न छन् । विद्यार्थीलाई उसको परिवार, समाज , संस्कृति ,रीतिथीतिबारे केही न केही तथ्य थाहा हुन्छ । शिक्षकले त उसंग भएको ज्ञानलाई प्रष्फुटन गराइ दिनु पर्छ । उसको ज्ञानलाई क्रस चेक गर्न अरु त्यस्तै विद्यार्थीलाई प्रश्न सोधी परीक्षण गर्नु पर्दछ । छलफलबाट निस्केको निष्कर्ष टिपोट गराइ दिनु पर्छ । यसरी अचेल वालमैत्री शिक्षण ( student friendly teaching ) व्यवहारमा ल्याउन सकिन्छ ।

शैक्षिक जीवनका अनुभवहरु (३३ )

शैक्षिक जीवनका अनुभवहरु (३३ )

२०७२ वैशाख ६ गते आइतवार

शिक्षक र समय      

शिक्षक भएपछि समयलाई महत्व दिनु पर्छ । समयमा विद्यालयनिम्ति प्रस्थान गरी समयमा विद्यालय पुग्नु । प्रार्थना सभा ( assembly ) मा सहभागी हुनु । कक्षा प्रवेश भन्दा केही समय पहिले पढाउनु पर्ने पाठबारे सरसर्ति अध्ययन गरी mental plan बनाउनु । पहिलो घंटी लागीसकेपछि हतार -हतार कक्षा प्रवेश गरेर मनिटरलाई हाजिरी रजिष्टर, चक ,डष्टर आदि लिएर आउनु भनी अह्याउनु जस्तो खराब बानी अरु केही हुंदैन । आफ्नो काबु बाहिरको परिस्थिति आएमा विद्यालय प्रशासनलाई खबर गर्नु पर्दछ ।

बिलम्ब गरी विद्यालय पुग्ने गर्ने गरेमा सबै भन्दा पहिले आफ्नै विद्यार्थीको नजरमा राम्रो भइन्न । उनीहरुले ” किन ढिलो सर / मिस ” भनी सोध्छन् ।धेरै दिनको बहाना चल्दैन । जेठाबाठाको अदब राख्नु पर्दछ । वरिष्ठ /  सिनियरले केही भनेमा सहन सक्नु पर्दछ । तर जुनियर / कनिष्ठलाई सोध्ने मौका दिएमा ग्लानि अनुभूति हुनु पर्दछ । अत: अदब राख्नु पर्दछ । डर लिनु पर्दछ ।कसैसंग न डराएमा पनि आफैसंग डराउनुपर्छ । शिक्षकको दैनिकी विद्यार्थीकोनिमित्त नमूना / role model बन्न सक्नु पर्दछ ।