शिक्षण जीवनका अनुभवहरु (१९ )

शिक्षण जीवनका अनुभवहरु ( १९ )
२०७१ चैत २१ शनिबार 
शिक्षकको विद्यार्थीसंग ग्रह नमिल्ने स्थितिमा के गर्नु वेस होला ?

अनुभव नं. १८ मा शिक्षकले विद्यार्थीलाई कक्षा बाहिर निकालेर समस्याको समाधान नहुंनेबारे उदाहरण सहित छलफल गरें ।

शिक्षकको विद्यार्थीसंग मन मिलेन, ग्रह मिलेन भने यस्तो स्थिति आउने मेरो अनुभव रहेकोछ ।हामी मध्ये कतिपयले विद्यार्थीलाई कक्षा बाहिर निकाली दिए पछि कक्षा शान्त हुन्छ भन्ने गलत सोंचाइ राख्छौं । तर यसले शिक्षक र त्यस विद्यार्थी बीच मनोमालिन्य अझ बढाउँछ ।त्यसले असान्दर्भित प्रश्न सोध्ने, संगैको सहपाठीलाई अलमल्याउने र शिक्षकसंग निहुं खोज्ने कार्यकलाप गर्न पछि नपर्ने हुन्छ । विद्यार्थीलाई सामान्य अवस्थामा कक्षाबाट निकाल्दा उसको पढ्ने अधिकारबाट मात्रै बन्चित नभई उसको मानव अधिकारको समेत हनन हुन्छ । कतै उ derail ( बाटो छाड्ने / कुलतमा लाग्ने ) पनि नहोला भन्न सकिन्न । शिक्षकको कर्तव्य त पढाउनु र सिकाउने नै हो ।

कुनै विद्यार्थीसंग हाम्रो ग्रह मिलेन भने त्यसलाई केही समयकोलागि ignore ( वास्ता नगर्ने, नबोल्ने, सजाय नदिने, उ तिर नहेर्ने ) गर्ने । कुनै जेहेन्दार विद्यार्थी तर्फ दृष्टि दिने, हिस्सी परेकाहरु तिर निरपेक्ष ( आकर्षणको भाव नराखी ) नजर राख्ने गरेमा शिक्षकको मुड अफ हुंदैन । कक्षाको पछाडी गएर पनि पढाउने र ब्याख्या गर्न सकिन्छ । ग्रह नमिल्ने विद्यार्थीले पछि फर्केर शिक्षकलाई  हेर्दैन पनि । कक्षा नियन्त्रण समेत हुन्छ ।

शिक्षक मित्रहरुलाई मेरो अनुभव दैनिक शिक्षणमा एक पटक प्रयोग गरेर हेर्न आग्रह गर्दछु ।

शिक्षण जीवनका अनुभवहरु (१८ )

शिक्षण जीवनका अनुभवहरु ( १८ ) 
२०७१ चैत २० शुक्रबार 
शिक्षक र विद्यार्थी बीच भनाभन
पियन – “सर, सर ! कक्षामा झगडा भयो।”
शिक्षक- “सर, सर ! कुमार सर र विद्यार्थी बीच भनाभन भईरहेकोछ।”
प्र.अ.- “लौ म आई हालें।”
कक्षामा कुमार सरले ठूलो स्वरमा बोल्नु भयो, ” Get out from my class”.
विद्यार्थी पनि करायो, “Why ? No get out”.
मैले दुबैलाई अफिसमा लगें । मनिटरलाई कक्षा कन्ट्रोल गर्न भने ।
कुमार सरसंग कारण सोधें । “निज छात्र चकचके, अटेर र कक्षामा आफु पनि नपढ्ने र अरुलाई पनि पढ्न नदिने” खालको रहेको उसकै सामुन्ने गुनासो गरे ।
विद्यार्थीसंग सोधें । निजले भने, “सरले मलाई मात्र हप्काउनु हुन्छ, जहिले पनि गेट आउट भन्नु हुन्छ । अरुलाई पनि यस्तै भन्नु हुन्छ । अरु बोल्दैनन् । म त बोल्छु ।”
दुबै पक्षलाई आ-आफुले गर्नु पर्ने कर्तव्यबारे समझदारी गराइ कक्षामा पठाएं । यस्तो झमेला कुमार सरको अन्य कक्षामा पनि देखियो। वहाँ भन्नु हुन्थ्यो, ” यो यो विद्यार्थी देख्ने बित्तिकै मेरो मुड नै अफ हुन्छ, सर ।यिनीहरु छाँटिएका बदमास हुंन् ।”
मैले सम्झाएँ, ” सर, हामी शिक्षकहरु विद्यार्थी पढाउन भनेर नियुक्ति भएका हौं । अनुशासन उल्लंघन गर्नेलाई मनोवैज्ञानिक किसिमले सजाये दिने उपाय अपनाऔं ।तपाईलाई मुड अफ गराउने विद्यार्थी तिर हेर्दै नहेर्नुस् ।
तपाईलाई मन पर्ने विद्यार्थीतर्फ हेरेर पढाउनुस् । जेहेन्दार तिर हेर्नुस् । छलफलमा उनीहरुलाई नै सहभागी गराउनुस् ।
चकचकेहरु आफै नरम बन्ने छन् ।कृपया विद्यार्थीलाई कक्षाबाट निकाल्ने सोंच अबदेखि त्याग्नुस्।”

कुमार सरले सुझाव मान्नु भयो । त्यसपछि विद्यार्थी र वहाँबीच ” वाक युद्ध ” कहिल्यै भएन ।

शिक्षण जीवनका अनुभवहरु (१७ )

शिक्षण जीवनका अनुभवहरु ( १७ )
२०७१ चैत १९ विहिबार 

भाँडा माझ्ने र कमजोर विद्यार्थीलाई पढाउने / सिकाउने काम

नं. १६ मा कमजोर विद्यार्थीलाई कसरी सुधार्ने भन्नेबारे विचार राखें । अाज हाम्रो व्यवहारिक जीवनमा भाँडा माझ्ने कामसाई कमजोर विद्यार्थीलाई राम्रो बनाउने कामसंग जोड्न चाहन्छु ।

गृहस्थिले भाँडा माझ्ने काम दैनिक गर्नु पर्दछ । कुनै बेला खाना डढ्यो वा चिल्लो धेरै प-यो भने के के गरेर सफा गर्छ ?
# धेरै बेरसम्म पानीमा भिजाएर 
# बेस्सरी बल लगाएर 
# प्रिल, सर्फ राखी झुसले रगडेर
# चम्मच वा कडा वस्तुले घोटेर

भाँडा निश्चय पनि सफा हुन्छ ।तर जिद्दी दाग छुटाउन धैर्यतापूर्वक एक पछि अर्को उपायको प्रयोग गर्दै जानु पर्छ । यस्तै कमजोर विद्यार्थीलाई पढाउन / सिकाउन शिक्षकले एक विधि सफल नभए अर्को विधिको प्रयोग / अनुसन्धान गर्दै लानु पर्दछ । 

कमजोरलाई विशेष निगरानी गरी सुधार गर्न निम्न उपायहरु उपयुक्त हुन सक्छन् ।

# त्यस विद्यार्थीलाई पहिलो वा दोस्रो बेन्चमा तेज विद्यार्थीसंगै बसाल्ने । उसलाई नजानेको कुराहरु सिकाइ दिन अह्याउने ।
# उसलाई अन्यको दाँजोमा कमजोर भएको पाठबारे अलिक थप गृहकार्य दिने ।
# कक्षामा गृहकार्य जाँच्दा उसको सबभन्दा पहिले जाँच्ने । यसो गर्दा उसले नियमित गृहकार्य गर्ने बानी बसाल्छ ।
#  प्रश्न सोध्दा उसैसंग पहिले सोध्ने । यसो गर्दा उसमा चनाखो भएर सुन्ने बानीको विकास हुन्छ ।
#  निज सीमान्तकृत वर्गको भएमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने ।
# निजलाई शिक्षकले अतिरिक्त समय दिएर पढाउने / सिकाउने ।
# निजको अभिभावकसंग साप्ताहिक / पाक्षिक अन्तरक्रिया गर्ने ।

शिक्षण जीवनका अनुभवहरु (१६ )

शिक्षण जीवनका अनुभवहरु ( १६ )
२०७१ चैत १८

कमजोर विद्यार्थीलाई विशेष निगरानी

हरेक कक्षामा औसत विद्यार्थी भन्दा कमजोर विद्यार्थी हुन्छन् । विषय शिक्षकलाई कमजोर विद्यार्थीबारे ज्ञात भई हाल्छ । तर
पहिलो त्रैमासिक परीक्षाको रिजल्ट प्राप्त भएपछि मात्र त्यस्ता विद्यार्थीको पहिचान गरेर सूची बनाउनु पर्दछ । कमजोरलाई विशेष निगरानी गरी सुधार गर्न निम्न उपायहरु उपयुक्त हुन सक्छन् ।

१/ त्यस विद्यार्थीलाई पहिलो वा दोस्रो बेन्चमा तेज विद्यार्थीसंगै बसाल्ने । उसलाई नजानेको कुराहरु सिकाइ दिन अह्याउने ।
२/ उसलाई अन्यको दाँजोमा कमजोर भएको पाठबारे अलिक थप गृहकार्य दिने ।
३/ कक्षामा गृहकार्य जाँच्दा उसको सबभन्दा पहिले जाँच्ने । यसो गर्दा उसले नियमित गृहकार्य गर्ने बानी बसाल्छ ।
४/ प्रश्न सोध्दा उसैसंग पहिले सोध्ने । यसो गर्दा उसमा चनाखो भएर सुन्ने बानीको विकास हुन्छ ।
५/ निज सीमान्तकृत वर्गको भएमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने ।

शिक्षण जीवनका अनुभवहरु (१५ )

शिक्षण जीवनका अनुभवहरु ( १५ ) 
२०७१ चैत १७
प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन 
 
विद्यालयमा प्रतिभावान ( Talanted ) विद्यार्थीको पहिचान सानै कक्षादेखि गर्नु पर्दछ । विशेष परिस्थितिमा बाहेक सकभर त्यस्ता छात्रछात्राहरुलाई अन्यत्र विद्यालयमा स्थानान्तरण हुनबाट रोक्नु पर्ने हुन्छ । उनीहरुको सिकाइ उपलब्धि र प्रगतिको आवधिक मूल्याँकन गरिरहनु पर्दछ । यिनीहरुनै बोर्ड परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुंने बलियो संभावना हुन्छ । यदि निजहरुका मातापिताको आर्थिक स्थिति कमजोर रहेछ भने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनु आवश्यक हुन्छ । यसले गर्दा निजको विचमानै पढाइ छुट्न पाउँदैन ।

प्रायः नजिकैको विद्यालयले त्यस्ता प्रतिभालाई प्रलोभनमा पारेर आफ्नो विद्यालयमा भर्ना गर्न पनि सक्छ । यसबाट चनाखो हुनु जरुरी छ ।फ्रि भर्ना गरी दिने, नि:शुल्क आवासीय सुविधा ,गोल्ड मेडल दिइन्छ, उच्च शिक्षा नि:शुल्क पढ्न पाउने व्यवस्था छ जस्ता लोलीपाप देखाइ विद्यार्थी पलायन गराइन्छ । यस मामिलामा प्रायः सामुदायिक विद्यालयहरु बेखबर रहन्छन् ।

प्रतिभा पहिचान भएपछि त्यसलाई जगेर्ना गर्नु विद्यालयको दायित्व हुन्छ । गोल्ड मेडल र उच्च शिक्षा पढ्न छात्रवृत्ति दिइने प्रबन्ध मिलाउनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु (१४ )

शिक्षण जीवनका अनुभवहरु ( १४ )

सामुदायिक विद्यालयमा आर्थिक रुपमा सक्षम अभिावकहरुका सन्ततिहरुको संख्या बढाउने हो भने दैनिक पठनपाठनमा स्तरियता ल्याउनु नै पर्दछ ।गणित, विज्ञान, कम्प्यूटर विज्ञान र अंग्रेजी विषयहरुको पढाइको माध्यम अंग्रेजी नै गरिनु पर्दछ ।

यी विद्यालयहरुमा चाहिने न्यूनतम योग्यता भन्दा बढी शैक्षिक योग्यता हासिल गरेका शिक्षकहरु हुन्छन् । उनीहरु तालीम प्राप्त र धेरै वर्षदेखि पढाइरहेका हुन्छन् । विद्यालय प्रशासन र व्यवस्थापन समिति मिलेर उनीहरुको इच्छा शक्ति ( will power ) लाई जगाउनु पर्दछ । यसो गर्न दैनिक विद्यालय संचालन गर्ने “manager” ( म प्रधानाध्यापकलाई म्यानेजर भन्न मन पराउँछु ) ले योजना बनाइ छलफल गराउनु पर्दछ । निजले म “हाकिम” हुँ भन्ने अहं ( ego) त्याग्नु जरुरी छ । उनी त “टीम म्यानेजर ” हुंन् । 

उनले पूर्ण रुपमा आफूलाई शैक्षिक व्यक्तित्वको (academic figure ) रुपमा प्रस्तुत गर्नु पर्दछ । विद्यालयमा Team Work ले काम गर्यो भने आशातित सफलता पाउन सकिन्छ ।

शिक्षण जीवनका अनुभवहरु (१३ )

शिक्षण जीवनका अनुभवहरु ( १३ )

अंग्रेजी माध्यममा पढाइने हुनाले बोर्डिंग वा निजी विद्यालयप्रति आम अभिभावकहरुको आकर्षण बढेको हो । नजिकैको निजी विद्यालयमा खचाखच विद्यार्थी हुन्छन् तर सामुदायिकमा न्यून । फलस्वरूप सामुदायिक विद्यालयहरु मर्ज ( अर्कोमा गाभ्ने ) भएका उदाहरणहरु धेरै छन् । कमजोर पढाइ हुनु मुख्य कारण हो, विद्यार्थीको संख्या घट्नुमा । अर्कों टुटेफुटेको अंग्रेजी नबोल्नुको परिणाम पनि हो । फेरि अर्कों चाहिं , विद्यालय पोशाकमा चिटिक्क नदेखिनु हो ।

विद्यार्थी संख्या बढाउन र स्थिर राख्न अंग्रेजी माध्यममा पढाइ संचालन गर्नु पर्ने अवस्था सृजना हुंन आउँछ । यसो गर्न तल्लो कक्षाहरुबाट क्रमश: अंग्रेजी मिडियममा कक्षा संचालन गर्न संबंधित शिक्षकहरुलाई आवश्यक तालीम दिइ तयार गराउनु पर्दछ । शिक्षकहरुले पनि विशेष मिहिनेत गरी जेष्ठ सहकर्मीबाट रायसुझाव लिई काम गर्नु पर्छ ।सबै विषय अंग्रेजी माध्यममा पढाउनु व्यवहारिक हुंदैन पनि । नतिजा प्रतिकूल हुन जान सक्छ । तर अंग्रेजी
माध्यममा गणित, विज्ञान र अंग्रेजी मात्र पढाउने गरिए पनि विद्यालयको महत्व बढ्छ । यी विषयहरुनै विद्यार्थीको भविष्य ( career ) बनाउनुमा भूमिका खेल्छन् । 

शिक्षकले हेक्का राख्नु पर्दछ कि यदि आफू अध्यापनरत विद्यालयमा विद्यार्थीको संख्या घट्यो भने दरबन्दी सहित अन्य विद्यालयमा सरुवा हुनु पर्ने अवस्था आउँछ, त्यसबेला ” विद्यालय डुबाउने” शिक्षक भनेर तपाईलाई हाजिर नगराउन सक्छ ।

शिक्षण जीवनका अनुभवहरु (१२ )

शिक्षण जीवनका अनुभवहरु ( १२ )

चैत महिना वार्षिक परीक्षाको रिजल्ट तयार गर्ने र वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु गर्न विद्यार्थी भर्ना र वार्षिक कार्यतालिका बनाउने आदि काममा समय खर्चिनु पर्ने वेला हो ।प्राइवेट बोर्डिंग स्कूलहरूले त अग्रिम रुपमा रणनीति बनाई लागू गर्दछन् । विहान चाँडै गुंड छाडी चारा खोज्न उड्ने चराचुरुंगीले प्रशस्तै चारा बटुल्न सफल हुन्छन् । यस्तै समयमै भर्ना नीति तये गर्ने त्यस्ता विद्यालयले प्रतिभावान विद्यार्थी र सम्पन्न अभिभावक हात पार्छन् । सामुदायिक विद्यालयहरुको भर्ना कार्यक्रम विस्तारै शुरु हुन्छ । मन नलगाइ-नलगाइ घरदैलो र स्वागत कार्यक्रम थालनी गर्दछन् । कतिपय अभिभावकवर्गले सामुदायिक / सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ नहुंने तर्फ गुनासा गर्दछन् ।
केहीले त शिक्षकहरुलाई ” तपाईका छोराछोरी पनि तपाईले पढाउने विद्यालयमा भर्ना गर्न ल्याउनुस अनि हामी पनि त्यहाँ भर्ना गरौंला” भनी चुनौति दिन्छन् । किनभने सरकारी स्कूलका अधिकाँश शिक्षकहरुका सन्तानहरु महंगा बोर्डिंग स्कूलहरुमा भर्ना गरिएका हुन्छन् । विगत वर्षहरुमा पाल्पा जिल्लाका केही विद्यलयका अभिभावक र गाउँवासीहरुले त शिक्षकहरुले पनि आफ्ना छोराछोरीलाई आफूले पढाइरहेका विद्यालयमै भर्ना गर्नु पर्ने अभियान नै चलाए । शिक्षकहरु बाध्य भएर सो माग पूरा गरे । माग उचित थियो । यस्तो गर्दा शिक्षकले तनमन लगाएर पढाउने हुन्छन् । अभिभावकहरुको विश्वास पनि विद्यालयले जित्छ । तर यस्तो गर्दा शिक्षकहरुका सन्तानहरुको घरपायक भने मिलेको हुनु पर्दछ । 

काठमाण्डौंको एक विद्यालयमा मैले लामो समयसम्म पढाएं । नयाँ शैक्षिक सत्रको तैयारी गर्न बस्ने शिक्षक स्टाफ़ वैठकमा शिक्षक स्टाफ र कर्मचारीका छोराछोरी पनि विद्यालय उमेर समूहको भए वा घर पायक पर्ने भए आफ्नै विद्यालयमा ल्याई भर्ना गर्नु पर्ने विचार विमर्श हुन्थ्यो । तर कुराकोलागि कुरा मात्रै हुन्थ्यो । कोही आफ्ना वालवच्चाको हक हितको कुरा गर्थे । कोही मानव अधिकारको दुहाइ दिन्थे । कोही भने निजी क्षेत्रको  जस्तै स्तरीय पढाइ हुने ग्यारेन्टी भए त्यहाँ छुटाएर भर्ना गर्न ल्याउने मन्तव्य राख्थे । तर त्यस विद्यालयमा सुचिकार,पियन-पाले र शिक्षक र प्रशासक कसैले पनि आफ्ना छोराछोरीहरु भर्ना गर्न ल्याएनन् । बोर्डिंग स्कूलमा विदा प-यो भने तिनका सन्तानहरु विद्यालयमा ल्याएर टाईम पास गराउँछन् । यसपाली के गर्लान् ? दैव जानुन् ।

मैले भने चालिसकै दशकमा आफ्ना सन्तानहरुलाई आफूले पढाउने विद्यालयमा भर्ना गरी प्रवेशिका उत्तीर्ण गराएको थिएं ।

शिक्षण जीवनका अनुभवहरु (१० -११ )

शिक्षण जीवनका अनुभवहरु ( १० )

चैत महिना विद्यालयकोलागि परीक्षा लिने,उत्तर पुस्तिका परीक्षण गर्ने र परीक्षाफल प्रकाशित गर्ने समय हो । स्वच्छ परीक्षा लिने र निष्पक्ष मूल्याँकन गर्नु शिक्षकको दायित्व हो । विद्यार्थीले मिहिनेतको र अभिभावकवर्गले आफ्नो लगानीको वार्षिक फल पाउने वेला हो । २०४८ / २०४९ को शैक्षिक सत्रको कुरा हो ।म काठमाण्डौंको एक विद्यालयमा प्रधानाध्यापक थिएं । परीक्षाफल प्रकाशित भएपछि कक्षा ७ र ९ का विद्यार्थीहरुले प्राप्त नतिजामा २ जना शिक्षकहरुसंग चित्त नबुझाइ गुनासा गरे । शिक्षक र विद्यार्थी बीच भनाभनको अवस्था देखा पर्यो । स्थिति सम्हाल्न गुनासोबारे तथ्य बुझी जानकारी गराउने निर्णय दिएं । सम्बन्धित शिक्षकहरुसंग छलफल गर्दा उत्तर पुस्तिका हराएर त्यस्तो परिस्थिति आएको थाहा लाग्यो । अन्दाजको भरमा अंक प्रदान गर्दा बवाल भयो । विद्यार्थीहरूलाई अब उप्रान्त न्याय हुंने आश्वासन दिएर शान्त पारियो ।

शिक्षकले लापरवाही गर्दा यस्तो हुन आउँछ । कापी हराएको जानकारी नगराउनु , विना परीक्षण नंबर हाली रिजल्ट बनाउनु गुरु धर्मबाट चुक्नु हो । ती शिक्षकलाई चेतावनी दिइयो । अस्थायी भएकाले पछि म्याद नथपेर विदा गरियो ।

शिक्षण जीवनका अनुभवहरु  ( ११ )
     
नं. १० मा मैले परीक्षाको उत्तर पुस्तिका परीक्षण नगरेर नं. दिंदा आउने बवालबारे चर्चा गरें । प्रायः यस्तो समस्या आउँछ, यदि शिक्षकले लापरवाही गरे भने । सामुदायिक विद्यालयमा देखिने तीतो सत्य हो, यो । धेरै कक्षा लिई पढाउनु पर्ने, एक भन्दा वढी विद्यालय  / कलेजमा पढाउने शिक्षक, राजनीति / पेसागत संघ संगठनमा बढी सक्रिय रहने, विद्यालय प्रशासनको वरिपरि परिक्रमा गर्ने ,आफ्नो व्यवसाय गरी शिक्षण पेसालाई “दोस्रो दर्जा”को पेसा ठान्ने र धेरै ट्यूसन पढाउने महानुभावहरुबाट हुन जाने लापरवाही हो ।

यस्तो लापरवाहीको समाधानकोलागि हरेक परीक्षाको उत्तर पुस्तिका परीक्षण गरेपछि फाईलमा राखी मार्कशीट सहित विद्यार्थी / अभिभावक लाई बुझाई दिनु पर्छ । शिक्षकहरु प्रशासनसंग भने खुबै मुरमुर्रिन्छन् । विद्यार्थीहरुले आफ्नो गल्ती समात्लान भनेर शिक्षकहरु पहिले नै होशियार भई कपी परीक्षण गर्ने हुन्छन् । यो नियम अब धेरै विद्यालयहरुले लागू गर्दै आएका छन् । यसबाट विद्यालय र अभिभावक वीच संचार- सम्पर्क बढ्छ । विद्यालयको साख पनि बृद्धि हुंदै जान्छ ।

शिक्षण जीवनका अनुभवहरु (४,५ र ६ )

शिक्षण पेसाका अनुभवहरु ( ४ )
परीक्षामा पढेर पास गर्नुको गौरव अतुलनीय हुन्छ । त्यो प्रमाण-पत्र दीगो हुनुको साथै त्यसले राम्रो मौका पाउँछ ।

शिक्षण जीवनका अनुभवहरु ( ५ )

पाठसंग मेल खाने शैक्षिक सामग्री प्रयोग गरेमा शिक्षण बेजोड हुन्छ । 
भनाइ छ,” हजार शब्दले भन्दा एक चित्रले बढी व्याख्या गर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( ६ )
शैक्षिक सामग्रीका स्रोतहरु निम्न हुन सक्छन् –
१. शिक्षक स्वयं २. विद्यार्थीहरु ३. कक्षा कोठामा उपलब्ध चिजवस्तुहरु ४. विद्यालय हाता भित्र पाइने सजीव, निर्जिव सामग्री ५. दैनिक अखवार र पत्रपत्रिका कटिंगहरु ६. मोबाइल ७. कम्प्यूटर
विद्यालयमा सामग्रीनै छैन भनेर पन्छिनु हुंदैन । सामग्री जताततै हुन्छन् । उपलब्ध सामग्रीको अधिकत्तम प्रयोग गर्नु पर्दछ । शिक्षकमा Presence of mind हुनु पर्दछ ।