( १६५ ) १२ वर्षे गोदावरी सिंह अस्त मेला 

( १६५ ) १२ वर्षे गोदावरी सिंह अस्त मेला 

दैनिक जीवनका अनुभवहरु 
२०७२ साल भाद्र २२ गते मंगलवार

गोदावरी ललितपुर जिल्लामा पर्दछ । यो काठमाडौँबाट अन्दाजी १४ /१५ किलोमीटर दक्षिण -पूर्वी भागमा पर्दछ ।समुन्द्री सतहबाट ५००० फिट उँचाईमा रहेकोछ । मौसम विज्ञानको भाषामा यसलाई काठमाडौँ उपत्यकाको ” चेरापूंजी” भनिन्छ । छिनछिनमा पानी पर्ने ठाउँ । आज त हामी त्यहाँ रहंदासम्म पानी परेन । छिनछिनमा बदली भयो ।
गोदावरी पौराणिककालदेखि स्थापित एक तीर्थ स्थल रहेछ । प्रत्येक १२ वर्षमा सिंह राशीमा वृहस्पति र सूर्य एकै स्थानमा भाद्र महिनामा पर्न आउँदा  यहाँ १२ / १२ बर्षमा मेला लाग्ने परम्परा रहेछ । गोदावरी भन्ने बत्तिकै एक पवित्र गंगा / नदीको नाम, एक सुन्दर फूलको नाम भन्ने बुझिन्छ । अनेकौं वर्ष पहिले एक जना बहादुर पुरी नाम गरेका सिद्ध योगी बस्दथे । उनी आफ्नो योगवलद्वारा आकाशमार्ग भई भारतको गोदावरी तीर्थमा नित्य गंगा स्नान गर्न जान्थे । एक दिन सपनामा गोदावरी गंगाले उनलाई भनिन्,” अब तिमी यती टाढा स्नान गर्न आउनु पर्दैन , म तिमी बस्ने स्थानमा नै प्रकट हुनेछु, त्यही स्नान गर्नु ।” योगीले कसरी विश्वास गर्ने भनी प्रश्न गरे । गंगाले भनिन् , ” तिम्रो कमण्डलु,माला, खराऊ,चिम्ता,झोली आदि गंगामा विसर्जन गर्नु । प्रमाण स्वरुप पहिला तिम्रा सामान आउने छन् र पछिबाट म प्रकट हुनेछु ।” यस्तै भएछ । त्यसै समयदेखि गोदावरी मेला पर्व शुरु भयो भन्ने कथन रृषभदेव घिमिरेलाई आफ्नो ” गोदावरी संक्षिप्त परिचय,२०७२” भन्ने पुस्तिकामा लेख्नु भएको छ ।

गोदावरी एक  प्राकृतिक सम्पदा हो । प्रकृतिको खुल्ला संग्रहालय हो । देशको एक मात्र बोटानिकल गार्डन यहीं नै छ । यो एक धार्मिक स्थल हो ।एक सांस्कृतिक सम्पदा हो । यहाँ जैविक विविधता छ ।एक पर्यटक स्थल हो । यहाँको हावा, पानी र वातावरणमा आफूलाई हराइ दिन्छन्, पर्यटकहरु । 

म २०४८ मा एक्लै,२०६० मा सपत्नी र २०७२ मा सपरिवार  लगातार मेला भर्न आएं ।तेस्रो पटक कुण्डमा नुहाउने अवसर मिलेन । भीड्मभीडले गर्दा ।जनसागर ओइरिएको ओइरिएकै छ ।एक महिना सम्म मेला लाग्छ । एकातिर यस्तो अवस्था छ भने संविधान निर्माताहरुले देशलाई ” धर्मनिरपेक्ष” घोषणा गर्न लागी परेकाछन् । केही नेतागण भन्छन् – राज्यको कुनै धर्म हुंदैन । तर सनातनदेखि चली आएको धर्मको संरक्षण पनि त हुनु पर्दछ ।
रमाइलो छ गोदावरी मेला । युवायुवतिको अचाक्ली भीड थियो । फेसन परेड जस्तो पनि देखें । बृद्धबृद्धा थोरै देखिन्छन् । खाजा खाना पसलहरु प्रसस्तै रहेका । इलेक्ट्रिक रोटे पींगमा जोड़ीका जोडी फनफनी घुमेका ।सुरक्षाको विशेष प्रबन्ध थियो नै । स्थानीय उत्पादन भटमास,मासको दाल, बोडी,केराउ , अकबरे खुर्सानी, थ-थरीको अचार,खुवा, काँक्रो सबै लोभलाग्दो । किनौ- किनौ लाग्ने । किनी छाडे एक हजार जतिको ।

रमाइलो मान्यौं, हामी सबैले । थकान भने मज्जाले लाग्यो । हाइ गोदावरी ! बाइ गोदावरी ।

( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।

( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।
            शिक्षण जीवनका अनुभवहरु 
           २०७२ भाद्र २१ गते सोमवार

घंटी लागेपछि चक, डष्टर र किताब लिएर अफिस गएं । टेबुलमाथि राखें । बाहिर गएं । बाहिर अवलोकनकर्ताहरु बसिरहेका थिए । एक जनाले भने, ” सर, १८ / २० वर्ष शिक्षण गरेका शिक्षकको पूरै कक्षा अवलोकन गर्नु आवश्यक ठानेनौं, हामीले । अरु प्रतियोगीहरु पनि छन् । एक हप्तापछि रिजल्ट दिने छौं, धन्यवाद ” ,  एक मोटो ,रौं सेतो देखिने, चाक्लो अनुहार भएका ब्यक्तिले  भने ।” सबैलाई ” नमस्कार ” गरी म सिनामंगल चौकतिर लागें । केही किनमेल गर्दै थिएं ।त्यसैबेला कक्षा शिक्षणपछि बोल्ने ब्यक्ति भेट भए । उनले आफूलाई विसंसको अध्यक्ष भएको परिचय दिए । हात मिलाए । 
” मेरो एउटा प्रस्ताव छ । अर्का एक जना योग्य मित्र पनि हुनु हुन्छ । विद्यालय दुई शिफ्ट संचालन हुन्छ । तपाई भिजिटिंग टिचर भएर दिउँसोको शिफ्टको प्र. अ. भई संचालन गर्नुस् । निजले विहानको मा.वि. शिफ्ट संचालन गर्छन् । मिलेर काम गरौं ।”

” सर, यो भिजिटिंग टिचर भन्ने विद्यालय स्तरमा प्रचलित छैन । विश्वविद्यालयमा भिजिटिंग प्रोफेसर हुन्छ । एक विद्यालयमा दुई प्रअ रहनु भनेको विवादास्पद विषय हो । एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।”

खिस्स हाँसेर “सी यू” भन्दै बाइक कुदाउंदै गए, अध्यक्ष । ( क्रमश:..)