( १७५) नागरिक मारिनु भएन

दैनिक जीवनका अनुभवहरू
२०७२ साल असोज ४ गते सोमवार

सार्वभौम जनताले २०७२ साल असोज ३ गतेदेखि संविधान जारी गरे यता नेपालीले बाच्न पाउने मौलिक अधिकार प्रत्याभूत भएको छ । तर तराईमा भएको बिरोध जुलुसमा प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाउंदा नागरिक मारिएको समचार अाएको छ । हालै सर्बोच्च अदालतले भीड नियन्त्रण गर्दा कुन अवस्थामा गोली चलाउने भन्ने निर्देश दिएको छ । फेरि किन नागरिक मारिएको छ त ? के अब पनि जनता मर्नु पर्ने ? सरकार र जिम्मेवार पक्षले नागरिकको ज्यान जोगाउनु पर्यो ।

( १७४ ) हाम्रा नेता राज नेता बनून् ।
दैनिक जीवनका अनुभवहरू
२०७२ साल असोज ३ गते

नेपालको सम्विधान २०७२ जारी भयाे । खुसी लागेको छ । जनताका प्रतिनिधिले लेखेकोमा । खर्चिलो र कान्छो संविधान बनेकोमा । दुख पनि लागेको छ । तराई अशान्त छ । छिटै पहिलो संशोधन गरी तराई मधेसको अात्मा पनि सहभागी गराउनु पर्दछ । असन्तोषको बिउ धेरै दिन रोपी रहनु हुन्न ।

अब नेपाली जनताले न्याय पाउने छन् । देश अार्थिक विकास तर्फ लम्कोस् । औद्योगिकीरणले देश स्वरोजगारमूलक होस् । नेताहरु इमानदार र नैतिक बनून् । कुर्सीकालागि लुछाचुंडी झगडा नगरुन् । कुनै बाहिरी गुरुको शरणमा पर्न नजाउन् । हाम्रा नेता राज नेता बनून् ।

( १७३ ) अब प्र.म. को बन्न भनेर कोकोहोलो गर्न दिल्ली दरवार धाउने छैनन् भन्ने विश्वास दिलाउनु परेको छ ।

         दैनिक जीवनका अनुभवहरु

        २०७२ असोज २ गते शनिवार

संविधान जारी गर्ने दृढ संकल्प लिई भारतीय प्र. म.का विशेष दूत एस. जय शंकरलाई नेपाली राजनीतिज्ञहरुले आफ्नो देशको समस्या आफै समाधान गर्न सक्छन् भन्ने सुझबुझले परिपूर्ण जवाफ दिएर राष्ट्रिय गौरव बढाएका छन् । आगामी दिनमा पनि राष्ट्रिय हितको विषयमा यस्तै निर्णय लिन सक्नु प-यो ।कुर्सीको कुरालाई लिएर दिल्ली दरवार धाउने प्रबृत्ति त्याग्नु पर्दछ । अब प्र.म. को बन्न भनेर कोकोहोलो गर्न दिल्ली दरवार धाउने छैनन् भन्ने विश्वास दिलाउनु परेको छ ।

( १७२ ) नेपालको राजनैतिक ट्रेकिंगमा मोदी चिप्लिए ।
                     दैनिक जीवनका अनुभवहरु
                    २०७२ साल असोज १ गते शक्रवार
                                         
        नेपालको संविधान सभामा गत वर्ष मित्र राष्ट्र भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले संबोधन गर्दा रृषि मनले १०० वर्षलाई पुग्ने गरी संविधान बनाउन शुभेच्छा ब्यक्त गरेका थिए ।सार्वभौंम नेपालको कदर र प्रशंसा गरेका थिए ।२०७२ बैशाख १२ को महाभूकम्पमा नेपाललाई असल र घनिष्ठ छिनेकीको नाताले भारतको तर्फबाट तदारुकतासाथ आपतकालीन राहत र मानवीय सहयोग पु-याएका थिए ।मोदी नेपालीको मन-मनमा छाएका थिए ।

  संविधान लेखनको प्रक्रिया निर्णायक विन्दुमा आइ पुग्दा मोदी सरकारको नेपालप्रति अस्वाभाविक चासो देखा प-यो ।नेपालकालागि भारतीय राजदूत रन्जित रेले १५ दिन प्रक्रिया रोकेर भए पनि तराई-मधेसको मुद्दा संबोधन हुनु पर्ने आफ्नो सरकारको सन्देश सुनाएका थिए ।प्रमुख दलका प्रमुख नेताहरूलाई घर घरै भेटेर चासो राखेका थिए । दलहरुले पनि विषयको गाम्भिर्यतालाई बुझी दुई दिन भए पनि संविधान लेखनको प्रक्रिया स्थगन गरेर मार्ग प्रशस्त गरे । तर समाधानकोलागि बाटो खुल्न सकेन । संविधान लेखन प्रक्रिया पुन: शुरु भयो । अत्यधिक बहुमतले संविधान जारी भयो । सभासदहरुले हस्ताक्षर गर्ने र सभा मुखले प्रमाणीकरण गर्ने दिन पारेर भारतीय प्रधान मन्त्री मोदीले आफ्ना विशेष दूतका रुपमा विदेश सचिव एस.जयशंकरलाई राजधानी पठाए । विदेश सचिव जय शंकर ले राष्ट्रपति लगायत तीन दलका नेताहरु र आन्दोलित नेताहरुसंग भेट गरे । प्र.म. मोदी सरकारको तर्फबाट खुसी प्रकट  गरे, प्रशंसा गरे । साथै आफ्नो गहिरो चासो राखे । जिम्मेदार दलका नेताहरुले नेपालको आन्तरिक समस्या आफै समाधान गर्न सक्षम रहेको दृढ़ सन्देश सुनाए । सहयोग र सद्भावको नाममा तीनतिर सीमा जोडिएको छिमेकी मित्रराष्ट्रले आवश्यकता भन्दा बढी चासो दिएको आम नेपालीको ठम्याइ छ ।

यसै क्रममा अर्का छिमेकी घनिष्ठ मित्र राष्ट्र चीने सर्व प्रथम खुसी चाहेर ग-यो । नेपालको राजनैतिक ट्रेकिंगमा मोदी चिप्लिए ।यहाँनिर  भारतीय पुरातन Buaucracy को चक्रब्यूहमा मोदी फंसे । 

 हामी विश्वस्त छौं, हाम्रा नेताहरु कुर्सीकोलागि अब दिल्ली धाउने छैनन् । आफ्नो समस्या आफै समाधान गर्ने छन् ।

( १७१ ) संविधान आउने भयो देशकै उपलब्धि : हिन्दू राष्ट्र रहेन जनतामा निराशा बृद्धि
            दैनिक जीवनका अनुभवहरु
           २०७२ साल भाद्र ३० गते बुधवार
आज संविधान सभाले नेपालको संविधान दुई तिहाई भन्दा बढी मतले पारित गर्यो । केही औपचारिकता पूरा गरी २०७२ असोज ३ गते अपरान्ह जारी हुंने निश्चित भएको छ । करीब ६ वर्ष समय र लगानी ६-७ खर्ब खर्च गरी संसारकै महंगो संविधान बन्यो । यो देशकै उपलब्धि हो । धन्यवाद । साधुवाद । सम्बन्धित सभासदहरुलाई । क्याबात राप्रपा नेपाल लाई । हारेर पनि जित्यो यो पार्टीले । हिन्दू धर्म कायम गराउन सकेन , हाम्रो नेपालमा । ९० % भन्दा बढी जनताले हिन्दू धर्मको पक्षमा राय सुझाव दिएको थियो । त्यसको कदर गर्न नसक्नु सभासदहरूको कमजोरी हो । 

देशमा शान्ति छाओस् ।न्याय होस् ।  अमन चैन होस् । विकास होस् । युवालाई रोज़गार होस् । नेता जनउत्तरदायी होस् ।

हिन्दू राष्ट्र रहेन जनतामा निराशा बृद्धि त हुन्छ नै । पशुपतिनाथ हुनु हुन्छ । वहाँ नै हिन्दू धर्मको संरक्षक हुनु हुन्छ ।

( १७० )  आम नेपालीको मतको अवहेलना गर्नेहरुलाई पाप लाग्ने छ ।
            दैनिक जीवनका अनुभवहरु
           २०७२ साल भाद्र २९ गते मंगलवार

    संविधान सभाले प्रारम्भिक मस्यौदा गरेको नेपालको संविधानमा आम नेपालीबाट राय सुझाव संकलन गर्दा देशलाई हिन्दू राष्ट्र कायम गराउनु पर्छ भनी ९० ( नम्बे ) प्रतिशतभन्दा बढी जनमानसले आफ्नो अभिमत जाहेर गरेका थिए । तर त्यस अभिमतलाई तीन ठूला दलले अनादर गरे । अवहेलना गरे । धार्मिक भावनामा बज्रपात गरे । नेपाललाई ” धर्मनिरपेक्ष” कायम गर्ने प्रस्ताव बहुमतले पारित गराए ।सनातनी धर्म परायण जनमानसको हृदयमा आघात पु-याए ।बहुमतको घोडा चढेर बहादुरी देखाए । आज हिन्दु धर्मावलम्बिहरु अवाक छन् । निराश छन् । आफूले चुनी पठाएका प्रतिनिधिले आफ्नै चीर हरण गरेकोमा प्रताडित छन् । राम्रो भएन । विश्वकै गौरव हरण भयो ।आम नेपालीको मतको अवहेलना गर्नेहरुलाई पाप लाग्ने छ । 

( १६९ ) दैनिक जीवनका अनुभवहरु
२०७२ साल भाद्र २८ सोमवार

क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।

मृग नयनमा पनि गाजल,
ती नयनाभिराम नयन,
क्या राम्री ।

पूर्ण श्रृँगारमा सजिएकी प्रकृति,
त्यो कृत्रिम श्रृँगार किन चाहियो ?
क्या राम्री ।

रसिला ओंठहरु
चुम्बन खोजी रहन्छन् ।
तीनमा लिपपोत किन गर्ने ?
क्या राम्री

प्रकाशको पुन्ज त्यो मुखमण्डल ।
लाली त्यहां किन चाहियो ?
क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।

नितम्ब तलै झरेको केश लहरी,
छालझैं सागरमा ।
क्या राम्री ।

फिक्का हुंने शिल्पिको कला पनि,
त्यो चन्द्रवदन
क्या राम्री ।

रमाउने आफ्नै संस्कृतिमा,
हाकु पतासीमा यो ल्यासे,
क्या राम्री ।

मर्काई पातुलो कम्मर,
अनार दाना दाँत देखाउने चाल,
क्या राम्री ।

आपतकै आँधी छेक्ने …
हिमालझैं अविचल,
साहसी व्यक्तित्व,
क्या राम्री ।

चन्द्रमा त दागी छ
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।
-२०७१ पुस ७

 ( १६८ ) दायित्व बोधको पर्व – पिता सम्मान दिवस ।
           दैनिक जीवनका अनुभवहरु
           २०७२ भाद्र २७ गते आइतवार
आज भाद्र औंसी । नेपाल भाषा ( नेवारी ) मा “ब्वाया ख्वा स्वेगु औंसी।”  नेपाली भाषामा ” पिता सम्मान दिवस ।” सर्वसाधारणको बोलाचालीमा ” बाउ खुवाउने औंसी।” अंग्रेजीमा ” Father’ Day”.

बुबा हुंने छोराछोरीले आफ्नो जन्मदाता लालन पालन कर्तालाई  सम्झेर सम्मान गर्नु पर्ने । छोराछोरी वयस्क भए,परिवारमा संगै भए पितालाई दैनिक जीवनका क्रियाकलापमा काँधमा काँध मिलाइ सहयोग गर्नु पर्ने ।स्वदेशैमा नोकरी व्यवसायको सिलसिलामा घरदेखि टा-ढा भए  निरन्तर संचार संपर्कमा रही रहेर निर्देशन, सर सल्लाह अनुसार कार्य सम्पादन गर्ने । विदा मिलाइ वा विदाको बेलामा घर आई सपोर्ट गर्ने । धेरै टाढा विदेशमा रहे हप्ता, पन्द्र दिनमा सामाजिक संजाल मार्फत सन्चो बिसन्चो सोधनी गरेर भावनात्मक सम्बन्धको गाँठो कसेर राख्नु पर्ने । संभव भए मातापितालाई बोलाइ भ्रमण गराउनु पर्ने । बढीमा दुई वर्षको समयको अन्तरालमा आफ्नो थातथलोमा फर्कनु पर्ने । परिवार र स्वदेशसंग पारिवारिक, सामाजिक, धार्मिक – साँस्कृतिक र राजनैतिक सम्बन्ध नवीकरण गर्न पर्ने । बृद्ध मातापिता भए पारिवारिक वातावरणमा संगै बसी सेवा गर्नु पर्ने । उनीहरुलाई बृद्धाश्रममा राख्ने योजना बनाउने भूल नगर्ने ।
यी नै हुंन् नेपालको धर्म, संस्कृति र नैतिकता अनुसार छोराछोरीले पितामाताप्रति वहन गर्नु पर्ने कर्तब्य र दायित्वहरु । नेपाल आमाका सन्ततिहरु कर्तब्यनिष्ठ भई यीनै कामनाहरु परिपूर्ती गर्न सफल होऊन् । यही शुभेच्छा राख्दछु ।

( १६७ ) राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ ।
           दैनिक जीवनका अनुभवहरु
           २०७२ भाद्र २६ गते शनिवार
हिमाल,पहाड र तराई एकीकृत भई नेपालको भूगोल बनेको हो । संविधान सभा – २ ले नयाँ संविधान लेख्ने प्रक्रिया पूरा गर्न लागेको बेलादेखि सीमाँकन र प्रदेशमा समावेसी मुद्दालाई लिएर तराई मधेसको दैनिक जन जीवन  
आन्दोलित भएको छ । सुरक्षाकर्मीहरुको गोली लागी सर्वसाधारणको ज्यान गएको छ । आन्दोलनकारीहरुको क्रुरतामा परेर प्रहरी हाकिम र जवानहरुको हिंसक तरिकाबाट मृत्यु भएको छ । सम्पूर्ण तराई-मधेश आन्दोलित छ । सद्भाव र शान्ति खलबल हुनेगरी हिंसा बढेको छ । देशको एउटा भू-भाग रक्तरंजित छ । तर अर्को भूभाग- राजधानीमा संविधान लेखनको हतार छ ।जलेको तराई-मधेशलाई संबोधन नगरी संविधान ल्यायो भने त्यो चीरकालसम्न दीगो हुन सक्दैन । निषेधको राजनीति त्याज्य छ । सहमतिको विन्दुमा सबै आउनु नै पर्दछ । राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ । २४० वर्षदेखि तराई सशक्तिकरण हुंन पाएको थिएन । त्यसकै उपज हो त्यो आन्दोलन । अब विगतबाट पाठ सिकेर राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ । दंभ र प्रमाद कसैले नदेखावस् ।आन्दोलनकारी पनि वार्ताको टेबुलमा आई आफ्नो हक अधिकारकोलागि बहस गर्नु पर्दछ । संविधान सभा बाईकट गरेर हल निक्लंदैन, माननीयहरु । तपाईहरुलाई जनताको अभिमत के छ ? संविधान सभा भित्रै बहस र तर्क गरेर समस्या समाधान गर्नु पर्दछ । 

 

( १६६ )  संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस् केही दिन ।
           जल्दा बल्दा समस्या संबोधन होस् ।
           २०७२ साल भाद्र २५ गते शुक्रवार 
पूरै तराई मधेस आन्दोलित भएको छ । सरकारी कार्यालयहरु धमाधम आगजनी हुंदैछन् ।सर्वसाधारण अराजनैतिक ब्यक्तिहरु र किशोरहरु पुलिसको गोली लागी मृत्यु भएका छन् ।सुरक्षाकर्मीहरु मानिने क्रम रोकिोएको छैन ।  बन्द आदिले आम जनजीवन कष्टकर भएको छ ।उद्योग, ब्यापार व्यवसाय चौपट भएका छन् । त्रसित छन् सर्वसाधारण । अप्रिय घटना घटीहाल्छ कि भन्ने आशंका भई रहन्छ ।

यता काठमाण्डौंमा संविधान जारी गरी हाल्नु पर्ने हतारमा छन् , प्रमुख तीन दलका नेतागण । राप्रपा ( नेपाल ) संघारैमा आएर प्रक्रियाबाट अलग भएको छ । निषेधको राजनीति भयो भन्छ , राप्रपा नेपाल । तराई आधारित दलहरू पहिल्यै छाडी सके । गच्छदारको गठबन्धन पनि अलगियो । संविधान रक्तरंजित हुन जाला भनी हरेक सचेत नागरिक चिन्तित छन् । यस्तो हालतमा संविधान मात्र लेखेर जारी गर्दा नेपाली मात्रको पक्कै जीत हुने छैन । देशलाई आन्तरिक उपद्रोहमा जाकेर कस्ले पो विजयोत्सव मनाउला र ? यसर्थ राष्ट्रको बृहत् हितलाई शीरोपर गरी संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस्, केही दिन ।तराई लगायत अन्य जल्दा बल्दा समस्या संबोधन होस् । ६ वर्ष भन्दा बढी ढीलो भएको संविधान लेखाइ अरु पन्द्र दिन ढीलो भएमा केही फरक पर्ने छैन । यस्मा बेवास्ता गरी महोत्वाकाँक्षा पूरा गर्ने  जिद्दी गरिएमा देश चक्रव्यूहमा फंस्न सक्छ । बेलैमा चेतना भया …।