कविता कथा
…………….
तानसेन
(१)
“तानसेन तेरो जन्मथलो”,
भन्थे बाजे-बजै ।
उहिले बसाइ सराइको
माचो थियो
मधेसमा
रूपन्देहीको नौकट्टीमा
राणा बडाहाकिमबाट
वक्सिस पाएछन्
तराईको खेत
तेसमा थप्न अझै-
जोती नसक्ने, नभ्याइने
वाक्लो वनै -वन भएको खेत ।
किने छन् , बिघाको बिघा
बाजेले खर्चेर मखनको
अनि बाले असन-बाँगेमुढाको कमाई ।
झरेछन् मलाई काखी च्याप्दै
बाजे-बजै, बा-आमा, मामा-सानीमा
शिखरका वासिन्दा परेछन्,
तराईको उखरमाउलो गर्मीमा
औलोको भूमरीमा ।
मेरो वालपनमा चेतना आउनु पहिल्यै
मेरा जन्मदाताहरू
र एक्लो भाइ
यस संसारबाट विदा
भई सकेका रहेछन् ।
बजै भन्ने गर्थी-
” आमाले भाइ लिएर गई,
तँलाई मलाई सुम्पेर गई ।”
दश-दश दिनको फरकमा
तीन सदस्यको विछोडको
घाउ पुरिन नपाउँदै
सँधियारहरूको घरमा
चोरी भयो ।
डांका लाग्यो ।
ज्यान मारेको
रगतको आहाल घर-घर देख्दा,
घटनाहरू सात-सात दिनमा
दोहोरिंदा
धेरैको घरवास उठ्यो
वस्ती वाक्लिएको ठाउँमा
हाम्रो पनि वसाइ सर्यो ।
(२)
औलो लागेछ मलाई पनि ।
पेट फुल्ने, ज्वरो आउने
हुंदा आठ वर्षको
“झण्डै खसेको”
भन्थी बजै ।
न मधेशको दबाईले
छोयो मलाई,
न झारफुकले छोयो मलाई,
न नौतनवाको दबाईले
गर्यौ निको मलाई ।
घर सल्लाहा मिल्यो,
लगे बाजेले
मिशन अस्पताल मलाई ।
कतै बोकिएर, कतै दौडदै
कतै कुद्दै पुगें म ।
मैले बल्ल थाहा पाऐं,
त्यो ठाउँ –
तानसेन रहेछ ।
(३)
मलाई असाध्यै,
निकै- निकै,
धेरी-धेरी,
मनैबाट
मुटुबाट
माया लाग्यो ।
जन्म थलो टेक्न पाएकोमा ।
हामी बसेको
नातेदारको
घरको छानामा चढ़ी
चारै तर्फ हेरें ।
तानसेन सबै
घुमुं-घुमुं , डुलुं-डुलुं
हेरूं-हेरूं
लाग्यो मलाई ।
तर,
म घरबाट अस्पताल,
फेरि घर पुग्थें ।
त्यत्तिकै रह्यो
मेरो धोको,
अधुरै रह्यो मेरो इच्छा
तानसेनलाई हेर्ने,
तानसेन घुम्ने
ऊस्लाई माया गर्ने,
ऊस्लाई अंगालोमा कस्ने ।
ऊस्लाई पढ्ने ।
अनि गहिरिएर बुझ्ने ।
मेरो वालपनको
चंचले मनको भावना ।
छोंटो थियो
साता दिनको
बसाइ सायद ।
(४)
झण्डै डेढ दशकको
अन्तराल पछि –
समय २०२८ साल
त्रि.वि.को आई.ए. को परीक्षा दिन ।
“डेरा बन्दोबस्त भयो
नारायण स्थानमा
आउनुस् ।”
पत्रकार साथी मेघराज शर्माको
पत्र आयो ।
पुगें तानसेन
मेरो जन्मभूमि ।
तर,
जोतिऐं मात्रै गए देखिन्
वर्षा मासको गोरूझैं,
परीक्षाको खेतमा ।
साँझ पख घुम्थें,
लहरे पीपल, बस स्टेशन ,
ठाडो गल्ली ,
भगवती मन्दिर वरिपरी
अनि,
शितलपाटी, बडीगानटोल-
जहाँ म जन्मेथें ।
रमाइलो लाग्यो,
स्वच्छ वातावरण ।
ढुंगा छापेका भीरालो सडकहरू,
मौलिकता र स्थानीय
स्रोतसाधन र सीप परिचालनको,
ब्याख्या गर्थे
ती सडकहरूले ।
(५)
सकियो परीक्षा ।
सकियो जागीरे छुट्टी पनि ।
अन्तिम दिन
मलाई फर्कनै थियो
श्रीनगरको आकर्षणले
मलाई तान्यो
बोलायो ।
मन लालायित भयो ।
मेरो अनुनयविनयमा
साथीले पुर्यायो
श्रीनगर ।
आहा !
यो नगर ।
यो श्रीनगर ।
“श्री” को श्रेणीमा छ यो ।
छोयो मेरो मस्तिष्क ।
छोयो मेरो मुटु ।
समीर शीतल
सल्लाका वृक्षहरूले दिने पवन !
आहा ! क्या अपूर्व आनन्द !
डाँडैबाट ।
भीरैबाट ।
टाढैबाट ।
मेरो मातृभूमिलाई ।
सहस्र प्रणाम गरें ।
हरियाली ।
सुसौरभ ।
देशकै गौरव ।
तानसेनलाई
नियाँलेर हेरें ।
चियाएर हेरें ।
नयनाभिराम हेरें ।
मन शीतल भयो ।
तैपनि पुगेन ।
अधीर मन
धीर भयो ।
तैपनि पुगेन ।
भयो पूर्ण आँशीक इच्छा ।
“फेरि भेटौंला,
तानसेन तिमीसित”
भन्दै भऐं विदा ।
(६)
स्नातक परीक्षाको
केन्द्र तोकियो
फेरि पाल्पा -तानसेन ।
थपेर दुई साताको िवदा ।
पुगें आमाको काखमा ।
अनि तिमीलाई
हेर्ने मौका
प्रशस्तै निकालें ।
परीक्षा-तालिका पालन गर्दै,
तिम्रो अन्तर कुन्तर
केश, निधार, गोडा
र पाइतला समेत नियाँलेर हेरें ।
तिम्रो आँखामा
मेरो आँखा
जुधाइ- जुधाइ हेरें ।
म थाकें ।
तिमी थाकिनौ ।
सीमै थिएन,
हर्षविभोरको ।
आमाको काख पाएर ।
तानसेन !
तिमी रूपवती
शीलवती
गुणवती
धनवती, कलावती
सम्पदा की खानी छ्यौ ,
कि-
म के गरूं बयान ?
कि-
को सक्ला गर्न,
तिमीसंग प्रतिस्पर्धा ?
छ्यौ तिमी अतुलनीय ।
छ्यौ तिमी अक्षुण्य ।
थातथलोको सौंदर्यसंग
माया गर्न सिकायौ ।
टुंडिखेलमा बस्दा
तिम्रो आँचलले
सरलक्क छोपेको
अनुभूत हुन्थ्यो मलाई ।
आमैले अंगालोमा कसेकी
आभास हुन्थ्यो मलाई ।
शीतल हावाको स्पर्श हुंदा
आमैले लाखों चुम्बन वर्साएकी
आत्माभास हुन्थ्यो मलाई ।
खिन्न मनले विदा भऐं ।
आमा तानसेन तिमी संग ।
त्यसैले बसको
छेउँको झ्यालबाट हेरें ।
ओल्लो झ्यालबाट हेरें ।
पल्लो झ्यालबाट हेरें ।
पछिल्लो झ्यालबाट हेरें ।
तिमीलाई
देखुन्जेल हेरें ।
(रचना काल २०३२ / ११ /१५ )