(८३) ढलेनन् नेपाली मन,

शिक्षण जीवनका अनुभवहरु ( ८३ )

२०७२ जेष्ठ २६ गते मंगलवार

 

        महाभूकम्पमा  देवताले बनाएका मानिस ढले ।

       मानिसले बनाएका देवताहरु पनि ढले ।

        तर ढलेनन् नेपाली मन,

         जोडन् साबित भए बिपतमा नेपाली मन ।

(८२) गर्मीको मौसममा विद्यार्थीलाई सजाय दिनु हुंदैन ।

शिक्षण जीवनका अनुभवहरु ( ८२ )

२०७२ जेष्ठ २५ गते सोमवार 

गर्मीको मौसममा विद्यार्थीलाई सजाय दिनु हुंदैन ।

२०७२ जेष्ठको अन्तिम साता गर्मी ह्वास्सै वढेर आएको छ । पठनपाठन दुरुह भएकोछ । काम तदारुकतासाथ गर्नै अप्ठेरो भएकोछ । कुनै न कुनै कक्षामा विद्यार्थी ढीलो आएका हुन्छन् । शिक्षकहरुले त्यस्ता विद्यार्थीलाई “उठबस” गर्ने सजाय दिन्छन् । कसैलाई घाममा बसी राख भनी आदेश दिन्छन् । यस्तो दुबै काम अनुत्तरदायीमा पर्दछ । यसो गर्दा बढी गर्मी भएको बेलामा विद्यार्थी बेहोश भएर लड्न सक्छन् । अत: शारीरिक सजाय दिइनु  उपयुक्त छैन ।

(८१) प्रचण्ड गर्मी

शिक्षण जीवनका अनुभवहरु ( ८१ ) 

२०७२ जेष्ठ २४ गते आइतवार

प्रचण्ड गर्मी

तराईमा ४३.३ डिग्री सेल्सियस र उपत्यकामा ३६ डिग्री हाराहारी तापक्रम रेकर्ड हुनु प्रचण्ड गर्मीको नमूना हो । आफ्ना दैनिकीकोनिमित्त मानिस जाँदैनन् बाहिर । बजारमा हुंदैन कुनै चहलपल । तराईमा “लू” ( तातो हावा ) चल्छ । डिहाइड्रेसन ( शरीरको पानी सुक्नु ) हुन सक्छ । उदाहरणकोलागि अण्डा भित्र ल्याल्ल परेको तरल पदार्थ हुन्छ । त्यसलाई उमाल्दा अण्डा जमेर कडा हुन्छ । ठोस बन्छ । हामी फोकेर खान सक्छौं । तापले पानी सुकाउँदा अण्डाको यस्तो गति हुन्छ । यसरी नै धेरै गर्मी भयो भने हाम्रो शरीरको पानी सुकेर रक्त संचार बन्द हुन्छ । अनि मृत्यु हुन्छ ।  लूबाट बच्न प्रशस्त पानी, जुस, रस,फलफुल सेवन गर्नु पर्दछ । बाहिर घाममा जानु हुंदैन । पातलो कपडा टाउकोमा बेर्नु पर्दछ । छाताको प्रयोग गर्नु पर्दछ ।

( ७९/८०) पाल्पाको रामपुर बन्दैछ ब्यवस्थित सहर

शिक्षण जीवनका अनुभवहरु (७९ /८० ) 

२०७२ जेष्ठ २२ /२३ गते शुक्रवार / शनिवार

पाल्पाको रामपुर बन्दैछ ब्यवस्थित सहर

जेष्ठ महिनामा बुटवलको उखर्माउलो गर्मी सही नसक्नु हुन्छ । केही दिन छल्न परिवारकासाथ कतै शितल ठाउँतिर जाने मनसुवा भयो । जुर्यो मनका कुरा । आफन्तबाट विहेको चूल्हे निम्ता आयो । निम्ता स्थल पाल्पाको आर्यभन्ज्याँग रै’छ। जन्ती जाने थलो चैं पाल्पा कै रामपुर । दुल्हा राजा कोरियामा कार्यरत । दुलही रानी भर्जिनीया अमेरिका रहेकी ।दुबै पाल्पाली । २१ गते १०:४५ मा टोलकै एक जना भाइको गाडी रिजर्व गर्यौं । प्रभास निर के पुगेथ्यौं, आकाशमा बादल छाउन थाल्यो । चीसो हावा हरहर चल्यो । लाग्थ्यो, शीखरमा पुगियो । यस्तो ठाउँमा बसेकालाई त रोगले पनि छुदैन । दीर्घजीवी हुन्छ मानिस, यस्तो हावापानी पाएमा । १ बज्नै लाग्दा पुग्यौं , गनतब्य । झरझर पानी पर्यो । हूरी पनि आयो । मौसम बदल्यो । आहा ! या मज्जा ! राती सिरक ओढेर सुतियो । लामखुट्टेको नामो निशान थिएन ।

२२ गते बिहान १० बजे । प्रस्थान ग-यो जन्ती, रामपुरनिम्ति । साँगुरो सडक । पहाडी ईलाकामा घुम्ती नहुने त कुरै भएन । दायाँ बायाँ पाखा पखेरो । क्या हरियाली । आँखाको उपचार भयो । गाडीले उचाल्ने । पछार्ने । रिंगाउने । पेट बटार्ने । वाक् वाकी लगाउने । भोमिट भैहाल्यो । अमीलो पानी ,अमिलो पानी । भएन त सिलटिम्मुर ? गाडी लाग्यो । आर्यभन्ज्याँग – रामपुर यात्राले मलाई विर्तामोड -ताप्लेजुंग यात्राको संझना गरायो । यो सडकको यात्रा रमणीय छ । हरियाली छाएको जताततै बाँसघारीले गर्दा । जोखिमपूर्ण छ, पहाडी राजमार्गको यात्रा । जीवन अर्पण गरेर गाडी हाँक्छन्, चालकहरु ।

रामपुर नव घोषित नगरपालिका । पाँच गाविस गाभेर बनेको भन्ने सुनियो । चारैतिर पहाड । बीचमा समतल फाँट। भैरहवाको झझल्को दियो रामपुरले । गर्मी ३६ डिग्री सेल्सियस । होंचो ठाउँमा अवस्थित छ, रामपुर ।सडक बन्दैछ ।धुलाम्य छ, धेरै सडक ।नव निर्माण हुंदैछ, रामपुर । मगर, नेवार, नेपाली मुलका मुस्लिम ( चुरेटा) , भूतपूर्व सैनिक निवास गर्ने लाहुरे वास र समग्रमा मिसमास बस्ती हो , रामपुर । भ्यू टावर डाँडामा बनेको रहेछ । सायद ढल पनि बन्दैछ । ब्यवस्थित आधुनिक सहर बन्दैछ । दुलही लिई फर्क्यौं हामी जन्ती । रातको ठ्याम्मै १२ बज्यो, आर्यभन्ज्याँग आई पुग्दा ।

नयाँ ठाउँको यात्रा गर्नाले भूगोलको ज्ञान पाइन्छ। मनोरंजन हुन्छ । जातिजनजाति र संस्कृतिको अध्ययन गर्न पाइन्छ ।

 

( ७८ ) अहिले र उहिलेका विद्यार्थीहरु

शिक्षण जीवनका अनुभवहरु (७८)

२०७२ जेष्ठ २० गते बुधवार१

अहिले र उहिलेका विद्यार्थीहरु

-उहिले विद्यार्थीहरु teacher friendly थिए ।

-उहिले पाठ्यपुस्तकलाई केन्द्रमा राखी शिक्षण गरिन्थ्यो । गेस पेपर गाइडलाई प्रोत्साहन थिएन ।

– शिक्षकको सामाजिक मान मर्यादा उच्च थियो ।

-शिक्षक एउटै विद्यालय प्रति जवाबदेही हुन्थ्यो 

—————————————-

# अहिले शिक्षकहरु student friendly छन् ।

# अहिले पाठ्यक्रम ,पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको आधारमा पढाइ हुन्छ ।

# अहिले शिक्षकको व्यवसायिक दक्षतामा मूल्याँकन हुन्छ ।

# अहिले शिक्षकहरु Helmet teacher को रुपमा २ / ३ ठाउँमा अध्यापन गर्दछन् ।

– 

( ७७ ) उहिलेका विद्यार्थी हामी प्रकृतिसंग रमाउँथ्यौं अहिलेका विद्यार्थी प्रविधिसंग रमाउन्छन् ।

शिक्षण जीवनका अनुभवहरु (७७ )

२०७२ जेष्ठ १९ गते मंगलवार

उहिलेका विद्यार्थी हामी प्रकृतिसंग रमाउँथ्यौं

अहिलेका विद्यार्थी प्रविधिसंग रमाउन्छन् ।

विक्रम शम्बत २०२० देखि २०४० सम्मको समय रेखा र २०४१ देखि २०७२ सम्म आई पुग्दा विद्यार्थी जीवनका दैनिकी सामान्यीकरण गर्दा यस प्रकार भएको मैले मनन गरेको छु ।

२०२० देखि २०४०                                                       २०४१ देखि २०७२

गुरू प्रति नतमस्तक थियौं ।                                      गुरूलाई मूल्यमा मूल्याँकन गर्न शुरू भयो ।

राजनैतिक गतिविधिमा शुन्यता ।                               प्रजातन्त्र र गणतन्त्रका संवाहक ।

विद्यालय विदा हुंदा वन विहार जाने ।                      सिनेमा, साईवर,पिकनिक,स्वीमिंग,सुपरमार्केट जाने ।

समूहगत अध्ययन गतिविधि ।                                ब्यक्तिगत,नेट सर्चिंग सर्फिंग,च्याटिंग,फोन वार्ता ।

विद्यालय पर्व सरस्वती पूजा मनाउने ।                      फ्रेन्ड्स मीटिंग,वर्थ डे केक कटिंग एण्ड डेटिंग -मिटिंग ।

चंगा, डण्डीबियो,कबड्डी,गट्टा, जुम्रा हेर्ने,                    गल्फ,स्कूनर,बन्जी जम्प,राफ्टिंग,ड्राइविंग,कंफू,कराँटे ।

फुटबल,बाघचाल।                                             रेसलिंग,वेट लिफ्टिंग ।

रेडियो नेपाल सुन्ने, रोधि घर जाने ।                       एफएम सुन्ने,डान्स रेस्टुराँ जाने,पिआरबिटी,सीआरब्टी डाउन    

                                                                   लोड गर्ने ।

( ७६ ) त्रसित मनका विद्यार्थी यथास्थितिमा आउन समय लाग्नेछ ।

शिक्षण जीवनका अनुभवहरु (७६ )

२०७२ जेष्ठ १८ गते सोमवार

त्रसित मनका विद्यार्थी यथास्थितिमा आउन समय लाग्नेछ ।

महाभूकम्पका त्रासदीमा परेका विद्यार्थीहरु २०७२ जेष्ठ १७ गतेदेखि विद्यालय उपस्थिति हुन आए । समग्रमा परिदृश्य यस्तो देखियो –

१/ न्यून संख्या । ती पनि नुन खाएका कुखुरा जस्ता ।
२/ जिल्ल परेका अनुहारहरु ।
३/ सबै विद्यालय पोशाकमा थिएनन् ।
४/ सबै विद्यार्थीहरु नयाँ जस्ता देखिन्थे ।
५/ सबैका आँखा बिस्मित थिए । आशंकित थिए , भूकम्पले हल्लाउँछ कि भन्ने ।
६/ बिपतको मुस्कान थियो ओंठहरुमा ।
७/ विद्यालयमा पढाइ हुने कुरामा भर मानिरहेका थिएनन् ।
८/ छिटो घर पुग्ने चिन्ता थियो, उनीहरुमा ।
९/ मन फुकाएर मनोविनोदमा भाग लिई रहेका थिएनन् ।
१०/ नआएका सहपाठी र शिक्षकको जीवन के भयो भन्नेमा चिन्ताग्रस्त देखिन्थे ।

सामान्य पूर्व अवस्थामा ल्याउन शिक्षकले निकै कसरत गर्नु पर्ने छ । यो चुनौती हो ।

( ७५ ) विद्यार्थी सजीव र चेतनशील प्राणी हुन् । 

शिक्षण जीवनका अनुभवहरु (७५)

२०७२ जेष्ठ १७ गते आइतवार

विद्यार्थी सजीव र चेतनशील प्राणी हुन् । 

विद्यार्थीलाई एकाग्रचित्त पार्न शिक्षकले केही जुक्ति निकाल्नु पर्दछ । कक्षामा भएका विद्यार्थीहरु पूरै समय एकाग्र हुन सक्दैनन् । एक पछि अर्को शिक्षण विधि जस्तै प्रवचन, छलफल, प्रश्नोत्तर, प्रयोगात्मक र यस्तै अन्य विधि प्रयोग गर्दै जानु पर्छ । विद्यार्थी सजीव र चेतनशील प्राणी कै ईकाई हुन् । अत: दश मिनटसम्म विद्यार्थीलाई एकाग्रचित्त पार्न सकियो भने पनि शिक्षण प्रभावकारी हुन जान्छ । शिक्षण कार्यकलापकै समय पारी उनीहरुलाई ब्यक्तिगत, समूहगत र कक्षाका पूरै विद्यार्थीहरु समावेश हुने गरी ड्रिल पनि गराउनु आवश्यक हुन जान्छ । कक्षामा बढी हल्ला भयो भने छोटो समयकोलागि लिखित कक्षा कार्य दिएर पनि एकाग्र गर्न सकिन्छ ।

( ७४) सिक्न स्वप्रेरित हुनु जरुरी छ

शिक्षण जीवनका अनुभवहरु (७४)

२०७२ जेष्ठ १६ गते शनिवार

सिक्न स्वप्रेरित हुनु जरुरी छ

शिक्षा शिक्षणमा केही कुरा सिक्नकोलागि स्वस्प्रेरित हुनु जरुरी छ । बिद्यार्थीमा सिक्नकोलागि तत्परता हुनु आवश्यक छ । शिक्षकले सिकाउने विधि र प्रक्रिया त आफ्नो ठाउँमा छंदैछ ।शिक्षक कोशिश गर्छ तर उस्का विद्यार्थीमा तन,मन र मष्तिष्कको एकाग्रता छैन भने सिकाइ हुन सक्दैन ।(क्रमश:) 

( ७३ ) गणतन्त्र दिवस आज : न्याय निसाफ खोज्न रामशाहकै चौतारी धाउनु पर्ने भएकोछ ।

शिक्षण जीवनका अनुभवहरु (७३)

२०७२ जेष्ठ १५ गते शुक्रवार 

गणतन्त्र दिवस आज : न्याय निसाफ खोज्न रामशाहकै चौतारी धाउनु पर्ने भएकोछ ।

        ठीक दस वर्ष अघि नेपाल गणतन्त्र घोषित भयो । नयाँ,नौलो शब्द थियो नेपालीहरुकोनिमित्त । म शिक्षक किन नरमाउनु ? यस्को अर्थ र महत्व बुझाएँ बिद्यार्थीहरुलाई । अंग्रेजीमा बुझाएँ । नेपालीमा  बुझाएँ । घोक्न लगाएँ ।अब परिवर्तन छिटो छिटो हुन्छ । विकास छिटो हुन्छ । युद्धका घाउहरु पुरिने छन् । नेपालीहरु रैतीबाट नागरिक बन्ने छन् । राज्यले सबैलाई न्याय गर्नेछ ।”हाम्रा” मान्छेले नभै “राम्रा” मान्छेले मौका पाउने छन् भन्ने आशा जाग्यो । कानूनको शासन हुंनेछ ।सीमान्तकृतहरुको उत्थान हुनेछ । गरीबी उन्मूलन हुनेछ । युवा स्वदेश छाडी बाहिरिने छैनन् । युवाले देशमा नै मनग्गे रोजगारी पाउने छन् ।युवा शक्ति निर्णायक हुनेछन् ।नयाँ संविधानले नागरिक हक हितको प्रत्याभूति दिनेछ । मात्र यी नै अरेक्षा थिए ।

तर नेतातन्त्र हाबी रह्यो देशमा ।एउटा संविधान सभा विफल भयो । दोस्रो के होला भन्ने पीर छ, नेपाली मतदातालाई ।न्याय निसाफ खोज्न रामशाहकै चौतारी धाउनु पर्ने भएकोछ ।युवाशक्ति निर्यात बढेकोछ । नेताहरु चिल्ला-चिल्ला कुरा गरी चिल्लै रोटी  हाम्म गरिरहेकाछन् ।कुराको सगरमाथा बनाइ रहेका छन् ।जनता चाहिं ” हात्ती आयो, हात्ती आयो, फुस्सा ” मैं चित्त बुझाइ रहेका छन् । अब के के हुने हो ? राम जाने !