शैक्षिक जीवनका अनुभवहरु ( ५१ )

शैक्षिक जीवनका अनुभवहरु ( ५१ )

२०७२ वैशाख २४ गते विहिवार

ईश्वरको नाम जपें । मापदण्डमा विश्वास गरें

२०७२ वैशाख १२ गते शनिवार ७.६ म्याग्नेच्यूडको भूकम्पको लामो कम्पनको अनुभव हाम्रो परिवारले बुटवलमा गर्यो । कोही खाना खाइ सकेका र कोही खाँदैको अवस्था थियो । उत्तर -दक्षिण गरी कम्पन हुन थाल्यो । टेबल,कुर्सी र किचन -याक पिंग खेल्न थाले । ” ल भूकम्प आयो ,बाहिर निस्क।” को हल्ला मच्चियो। कम्पनको बेला “हतारमा घर बाहिर निस्कनु हुंदैन, ढोकाको चौकसमुनि उभिनु पर्छ” आदि इत्यादि विद्यार्थीलाई सिकाइन्थ्यो । आम संचार माध्यमबाट सचेतनाका सूचना सुनिन्थ्यो । त्यस्तै गर्यौं । थर थर कम्पन झन बढ्यो । पछाडि ब्यरेकमा रहेका रुखहरु निहुरिएर भाँचिएला झैं भए । गुरु मन्त्र र ईश्वरको नाम जप्न थाल्यौं । बुहारी भयभीत भई ।हामीले यस भन्दा पहिले काठमाण्डौंमा भूकम्पका धेरै कम्पनहरु महसूस गरिसकेका थियौं । तेस बेलामा पनि आत्तिएर भागदौड गरेका थिएनौ । बरु हामीसंगै बसेको कुकुर पहिले नै बाहिर गएर भुक्न थालेको थियो । कुकुरले थाहा पाउँदो रहेछ पहिला । विगतका अनुभवहरुले धैर्य गर्न सिकायो । तर बुटवलमा त्यस्तो कम्पन अनुभव गर्नु भनेको चानचुने थिएन ।

ईश्वरनाम जपको साथसाथै मापदण्ड अनुसार निर्माण भएको घरको वनौटमा पनि विश्वास गर्यौं । मर्नु परे एकै ठाममा मरौंला भन्ने सोच पनि फुर्यो ।दोस्रो कम्पन शान्त भएपछि बाहिर गर्यौं ।सबै त्राहिमाम् थिए ।सबैका थातथलो सुरक्षित थिए । बुटवलमा भूकम्पले क्षति गर्दैन भन्ने जन विश्वास यसपाली सत्य साबित भयो ।