शिक्षण जीवनका अनुभवहरु (१५० )
२०७२ साल भाद्र ६ गते आइतवार
२०७२ भाद्र ५ को बाँकी अंश…
नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको : स्वामीजीको गुनासो
स्वामीजीको वेद ब्याख्या सुन्दा सुन्दै निदाएको र सात्विक भोजन खान छोडेकोमा वहाँ रुष्ट हुनुहुन्थ्यो । सन्त भए पनि वहाँको रगत त राईको नै थियो । हामी हाँसेर ग्रहण गर्थ्यौं , स्वामीजीको रिसाउने कलालाई । साता दिनको बनारस बसाइमा हामीले सिक्यौं वहाँबाट- सादगी, त्यागी र जिज्ञासुपना ।
“जस्ले पढ्यो, उस्ले जान्यो” । यसै प्रबृत्तिले गर्दा गर्न सक्नु भयो , वेदमा पीएचडि ।उत्तर आधुनिक युग ( Post modern era) का एक जल्दो बल्दो दृष्टान्त हुंन् , काले राई उर्फ डा. स्वामी प्रपन्नाचार्य । वेद वेदान्त आदि शाश्त्रहरुमा अभिजात्य, विशेष गरी ब्राम्हण समुदायको मात्र आधिपत्य हुनु पर्छ भन्ने परम्परालाई चुनौति दिनु भयो, वहाँले । विद्वान सबैतिर पुजिन्छ भन्ने उक्ति सार्थक भयो वहाँकोनिमित्त ।देशभरिका संघसंस्थाहरुले स्वामीजीप्रति सम्मान प्रदान गरे । अनगिन्ति छन् वहाँका सम्मान पत्रहरु ।
२०१४ नवम्बर ९ ( २०७१/७/ २३ ) का दिन डा. स्वामी प्रपन्नाचार्यलाई नेपाल संस्कृत विश्वविद्यालयले प्रथम विशेष दीक्षान्त समारोहको आयोजना वहाँकै आश्रय मृगस्थली , पशुपति क्षेत्रमा आयोजना गरेर मानार्थ डि.लिट. ( महा विद्यावारिधि ) को उपाधिले विभूषित गर्यो । म जिज्ञासु भएर त्यहाँ उपस्थिति भई २/४ फोटो खिचेको थिएं । त्यस बेला मैले केही मित्रहरुलाई भनेको थिएं – ने. सं.वि. ले उत्कृष्ट काम गर्यो । तर असाध्यै विलम्ब गरेर । स्वामी अशक्ततावस्थामा पुगी सक्नु भएको थियो । यदि वहाँलाई त्यो उपाधि, त्यो सम्मान १० वर्ष पहिले प्रदान गर्न सकेको भए स्वामीजीले धेरै बौद्धिक योगदान गर्न सक्नु हुन्थ्यो । वहाँ विश्वविद्यालय जानु भएर प्राज्ञिक खोज अनुसन्धान गर्ने स्कलरहरुलाई मार्ग दर्शन गर्नु हुन्थ्यो होला । नेपाल संस्कृत विश्वविद्यालयको गरिमा सगरमाथा जत्तिकै चुलिन्थ्यो होला । तर अफसोंच, वि.वि.का पदाधिकारीहरुले सन्त र विद्वानको समयमा कदर गर्न सकेनन् । कृपणता देखाए उनीहरुले । आ-आफ्ना लाभ हानीकोनिमित्त तालाबन्दी र खोल्ने खेलमा भुले उनीहरु । ‘नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको’ भन्ने स्वामीजीको गुनासो साँचो भएको लाग्छ मलाई ।
स्वामीजीलाई केही समयदेखि पशुपति विकास कोषले दिने १३०००/ ले पुगनपुग थियो भने वहाँका हितैषीहरुले जुटाइ दिने ४०,०००/ ले टेवा दिएको थियो । आ.व. २०७२ / २०७३ देखि सरकारले प्रदान गरेको मासिक ३०,०००/ को भत्ता त्यसै छाडी वहाँ समाधीष्ट हुनु भयो ।