शिक्षण जीवनका अनुभवहरु ( ६४ )

शिक्षण जीवनका अनुभवहरु ( ६४ )

२०७२ जेष्ठ ६ गते वुधवार
अब बन्ने विद्यालयहरु अग्ला हुनु हुंदैन 

भूकम्पले ध्वस्त पारेको विद्यलयहरुको पुनर्निर्माण गर्दा अब एक पटक नयाँ सोच लिनु पर्छ । हुन त मानिसमा चेत फिर्दैन । अग्ला भवन निर्माण गर्न होडबाजी नै चल्छ । तर पनि भूकम्पीय परिणाम , साधन स्रोतको सीमितता र समयको पावन्दीको ख़्याल राखेर अग्ला विद्यालय भवनहरु बनाउनुमा कड़ा कानून लागू गर्नु पर्दछ । आलिशान भवनले शिक्षाको गुणस्तर मापन गर्दैन । हालैको एउटा टेलिभिजन टक शोमा प्राडा विद्यानाथ कोइरालाले दिनु भएको बुद्धि यहाँ उल्लेख गर्न प्रासांगिक ठान्दछु । त्यो हो, अब विद्यालय साना छाप्रा भए पनि हुन्छ । किनभने शिक्षण अब प्रविधिसंग जोडिन आएको छ । मोवाइल, आई फोन,आइ प्याड, ल्याप टपको प्रयोग अत्यधिक छ । विद्यार्थीलाई एक ठाउँ भेला गराएर उपयुक्त प्रविधिको प्रयोग र उपयोग गर्न लगाउने हो भने शिक्षणमा नौलो पना आउँछ । ठूलो परिणाममा पाठ्यपुस्तक समयमा छापने, वितरणको प्रबन्ध मिलाउने आदिको बजेट प्रविधिमा खर्च गरे हुन्छ । यो कार्य केही जटिल छ । प्रविधि विज्ञबाट शिक्षकलाई तालिम प्रदान गरिनु पर्दछ । अचेल प्राय: सबैको घरमा मोबाइलमा गेम खेले खेलाएको हामी सबैले देखेकै छौं । त्यो गेम खेल्ने बुद्धिलाई पाठ्यवस्तु तिर मोडेमा सफलता पाइन्छ ।

समयले ल्याएको परिवर्तन हामी सबैले अपनाउने हैन त ?

शिक्षण जीवनका अनुभवहरु ( ६३ )

शिक्षण जीवनका अनुभवहरु ( ६३ )

२०७२ जेष्ठ ५ गते मंगलवार

आजका मितिसम्म ३० शिक्षक र ३७३ विद्यार्थी महाभूकम्पमा परलोक भए ।

२०७२ वैशाक १२ / १३ र २९ गते आएको महाभूकम्पमा परेर  विभिन्न स्थानका गरी ३० शिक्षक र ३७३ विद्यार्थीहरु परलोक भएको तथ्याँक संचार माध्यमले प्रसारित गरेको छ । यो संख्या बढ्न पनि सक्छ । 
 श्रद्धांजली अर्पण गर्दछु दिवंगत आत्माहरुको चीर शान्तिकोलागि । परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न पशुपतिनाथसंग प्रार्थना गर्दछु ।

शिक्षण जीवनका अनुभवहरु ( ६२ )

शिक्षण जीवनका अनुभवहरु ( ६२ )

२०७२ जेष्ठ ४ गते सोमवार

नेपालको कुनै पनि भू-भागमा बसोवास गर्न पाउनु नागरिकको मौलिक अधिकार हो ।

फेसबुक र टुइटरमा सद्भावना आन्ददेवीका सरिता गिरीले भूकम्पले गर्दा वसोवास गर्न जोखिमपूर्ण पहाडी भू-भागका वासिन्दालाई तराईको भू-भागमा स्थानान्तरण गर्ने विषयलाई राजनैतिक रंग दिन लागेको अभिव्यक्ति दिनु भएको पढ्ने मौका पाएँ । अहिलेको आक्रान्त परिस्थितिमा यसो भन्नु उपयुक्त छैन । नेपाली मात्रले शान्तिपूर्ण सम्मानित जीवन बाँच्न पाउनु मौलिक हक हो । मानवचित अधिकार हो । अभिव्यक्ति साँचो हो भने आपत्तिजनक छ । भूल सुधार गरी फिर्ता लिनु पर्छ । मैले र असंख्य मित्रहरुले त विद्यार्थी जीवनदेखि नै  एउटा नेपाली नागरिक देशको जुनसुकै भागमा शान्तिपूर्वक वसोवास गर्न पाउँछ भनी पढेका थियौं ।

शिक्षण जीवनका अनुभवहरु ( ६१ )

शिक्षण जीवनका अनुभवहरु ( ६१ )

२०७२ जेष्ठ ३ गते आइतवार 

वालवालिकामा भूकम्पको प्रभाव र न्यूनिकरण गर्ने उपाय

२०७२ वैशाक १२, १३ र २९ को महाभूकम्पमा वालवालिकाले अनेक दृश्य देखे । घर हल्लाएको। गर्लामगुर्लुम भत्काएको। घर मानिस समेत पाताल प्रवेश गरेको । भागाभाग । मानिस ठहरै मरेका । रुवाबासी । भागदौड रुखहरु ढलान लागेका। सडक , जमिन धाँजा परेका । आदि आकश्मिक र आश्चर्यजनक दृश्य देखेपछि वालवालिकाहरु मात्रै नभई वयस्कहरुमा पनि मानसिक सन्तुलन बिग्रेको निम्न परिस्थिति देखिएको छ । 

# टाउको भारी हुंने, दुख्ने 
# वाक्वाकी लाग्ने
# निन्द्रा नपर्ने
# निन्द्रामै कराउने
#  झस्किने
# निन्द्रामा “आयो आयो” भनी चिच्याउने
# टाउकोमा चढ्यो भन्ने 
# खाना नरुच्ने 
# हल्ला र ठूलो आवाजले मन आत्तिने 
# दुखी देखिने ।

अब निदानकोलागि के के गर्नु पर्ला त ?

 >  अस्पताल, स्वास्थ्य चौकीमा उपचार गराउने 
>  मनो-चिकित्सकसंग उपचार गराउने
> परिवारका सदस्यले सान्त्वना दिने
> धार्मिक ,नैतिक कार्यक्रम, प्रवचनमा भाग लिने
> विद्यालयमा शिक्षकले मनो-सामाजिक पुन:स्थापना गराउने खालका शिक्षा, उपदेश दिने, कथा, उखान   
   टुक्का, जोक सुनाउने, भन्न प्रेरित गर्ने
 विद्यालय धेरै दिन बन्द गरी राख्न हुंदैन । विद्यार्थीमा विकृति आउन नदिन पठनपाठन सुचारू हुंन आवश्यक छ । यसले सामाजिक घुलमिल गराउँछ । आ-आफ्ना व्यथा साटासाट गर्दा पीडा कम हुन जान्छ । समस्या सामान्यीकरण हुन जान्छ । विद्यालय क्षति भए समुदाय, सरकार र दाताको सहयोगमा मरम्मत गरी चलाउने , पालमा चलाउने , नभए चौपारीहरुमा चलाउने , बघियामा चलाउने । पूरा समय चलाउन सम्भव नभए आँशीक समय चलाउने । तर विद्यालय चलाउने पर्छ ।

शैक्षिक जीवनका अनुभवहरु (६०)

शैक्षिक जीवनका अनुभवहरु (६०)

२०७२ जेष्ठ २ गते शनिवार

भूकम्प पीडितलाई राहत र पुन:स्थापनाकोलागि छिटो छरितो निर्णय लिनु पर्छ

२०७२ वैशाक १२,१३ र २९ का दिनहरू नेपाली जनताकालागि शोक, संकट र विपद्को पर्याय भएर आए ।
नेपाली मनहरु द्रवित छन् । दु:खले कुंदिएका छन् । आफन्त गुमाउनु परेको असहज पीड। घाइते शरीरहरु । वास भत्केको अवस्था । डामाडोल व्यवसाय । पुरिएको खेतबारी । भोका गाईवस्तु । आदि अप्रत्याशित परिस्थितिले नेपाली मानवता संकटमा छ । 

यस्तो भूकम्पले निम्त्याएको कारुणिक अवस्थामा सरोकारवाला सबैले छिटो छरितो निर्णय लिई राहत सामग्री खाँचों परेको ठाउँमा पुर्याउनु नै कर्तव्य पालन हुन जान्छ । नेपाली प्रशासन प्रणाली परम्परागत “हाकिमी” शैलीको छ । निवेदन गर्नु । सिफारिस गराउनु । आदेश गर्नु । टिप्पणी लेख्नु । पेश गर्नु । सदर गर्नु । कारिन्दा खटाउनु ।वितरण गर्नु ।रेकर्ड राख्नु ।

हालको असहज वेलामा Crisis Management अनुसार कार्य सम्पादन गर्नेको विकल्प हुंदैन । यसैकारण नेपाली सेनाले नेतृत्व लिएर सेवा गरेको कार्य केही traditional bureaucracy personnel ले बाहेक सबैले सराहना गरेका छन् । सेनामा आदेश र पालना तदारुकताकासाथ हुने गर्दछ । दैनिक प्रशासको chain of command टुटेको भान पर्नु स्वाभाविक हो । 

मित्र राष्ट्रका सैनिक उद्धार टोलीले पनि सोझै नेपाली सेनासंगै समन्वय गरेर आफ्नो पुनित कार्यमा लागेको प्रत्यक्ष भएको छ । विपद् र संकटमा ” युद्ध शैली ” प्रभावकारी हुन्छ न कि “प्रशासन शैली”। मेरो सलाम छ ,नेपाली सेनाका जवानहरुलाई ।

शैक्षिक जीवनका अनुभवहरु (५९)

शैक्षिक जीवनका अनुभवहरु (५९)

२०७२ जेष्ठ १ गते शुक्रवार

मानिसलाई पहिला घर बनाउन सघाऊ । अनि विद्यालय । त्यसपछि मठ मन्दिर र राष्ट्रिय महत्वको पन: निर्माण ।

महाभूकम्पको  विनाश र त्रासदीले गर्दा नेपालीमनहरु टुटेका छन् । कैयौं नेपालीहरु घरवास विहीन भनेका छन् । अल्पकालीन राहत वितरण लगत्तै ओत लाग्नु पर्ने वर्षा वेला आउँदैछ । वालवच्चा,सुत्केरी र बृद्धबृद्धालाई आश्रयको नितान्त आवश्क्ता पर्दछ । यसर्थ बस्ने घर बनाउनु प-यो । निमुखा-पीडितहरुले प्राथमिकता पाउनु पर्दछ । सरकारले सबभन्दा पहिले यिनीहरुलाई घर बनाउन सघाउनु पर्दछ ।  खगेन्द्र संग्रौलाले लेखे झैं ( कान्तिपुर वैशाख २९ ) “मानिसलाई पहिले घरको खाँचो पर्दछ । देवी-देवतालाई पछि मठ मन्दिर बनाए पनि हुन्छ ।” उनीहरु पनि यस्तो वेलामा मानिसलाई नै प्राथमिकता दिई हाल्छन् । तर वलियो योजना बनाउन चाहिं सरकार चुक्नु हुंदैन ।

अनि भविष्यका कर्णधारहरुको ध्वस्त भएका विद्यालयहरु निर्माणमा लाग्नु जरुरी हुन्छ । त्यो भन्दा पहिले पूर्ण क्षतिग्रस्त विद्यालयहरुमा अस्थायी रुपमा पठनपाठन हुंने प्रबन्ध गरिनु वाँछनीय हुन्छ । त्रसित कलिला मनहरुलाई शिक्षकहरुले मनोसामाजिक समायोजन गर्ने खालका परामर्श दिदै पढाइ संचालन गर्दै लैजानु पर्दछ ।

तत्पश्चात तेस्रो चरणमा राष्ट्रिय सांस्कृतिक सम्पदा , एतिहासिक गौरवका संरचनाहरु र धार्मिक आस्थाका मठ मन्दिर देवालयहरु र प्रशासनिक कार्यालय भवनहरु बनाउने योजना कार्यान्वयन गर्नु, गराउनु उपयुक्त हुन्छ ।

शैक्षिक जीवनका अनुभवहरु (५८ )

शैक्षिक जीवनका अनुभवहरु (५८ )

२०७२ वैशाख ३१ गते विहिवार

२०७२ वैशाक १२ गते गोरखाको वारपाकलाई केन्द्र् बिन्दु बनाइ ७.५ को  भूकम्प आयो । काठमाडौँ प्रभावित भयो ।
२०७२ वैशाक २९ गते सिन्धुपलान्चोक / दोलखालाई केन्द्र बिन्दु बनाइ भूकम्प आयो । काठमाडौँ हल्लायो ।
हे पशुपतिनाथ ! काठमाडौँलाई केन्द्र बिन्दु बनाउने भूकम्प आउँदै नआवस् ।

शैक्षिक जीवनका अनुभवहरु (५७ )

शैक्षिक जीवनका अनुभवहरु (५७ )
२०७२ वैशाख ३० गते बुधवार

के काठमाडौँलाई केन्द्रविन्दु बनाएर भूकम्प आउँछ ? ? ?

२०७२ वैशाख १२ गते  गोरखाको वारपाकलाई केन्द्र बिन्दु बनाई महाभूकम्प आउँदा ८००० भन्दा बढी नेपालीको ज्यान गयो । असंख्य घाइते भए । अरबौंको स्रचना ध्वस्त हुन गयो । जनजीवनमा खैलाबैला मच्चियो । सयौं सानातिना पराकम्पनहरु झेल्दै १६ दिनपछि नेपालीहरु अलि- अलि व्यवस्थित हुन थालेको थियो । देशविदेशका भूकम्पविद् र भू-वैज्ञानिकहरुले ५ म्याग्नेच्यूडको भन्दा ठूलो पराकम्पन नआउने तर्फ इंगित गर्दै थिए । २०७२ वैशाक २९ गते दिनको १२:५४ बजे पुन:सिन्धुपलाम्चोक / दोलखा ( कोदारी राजमार्ग ) लाई केन्द्र बिन्दु क़ायम गरी  ६.९ / ७.१ स्केलको भूकम्प आयो । १०० जनताको हाराहारीमा मानिसको ज्यान गयो । २००० भन्दा बढी घाइते भए । नभत्केका भौतिक संरचनाहरु पनि धराशायी भएको देखियो । पुन: रातको २ बजेको वेला कीर्तिपुरलाई केन्द्र बिन्दु बनाई पराकम्पन आयो । त्रस्त जनजीवन खुला चौरहरुमा त्रिपालमा रात काट्न बाध्य भए ।

गोरखा , कोदारी र कीर्तिपुरलाई केन्द्र बिन्दु बनाएर पटक-पटक भूकम्प आएको जस्तै काठमाडौँलाई नै केन्द्र बिन्दु बनाएर भूकम्प आउन सक्छ कि सक्दैन ? आएमा यस्को मापन कतिसम्मको हुन सक्छ ? के कस्तो सचेतना अपनाउनु पर्ला ? सरकारको तर्फबाट के कस्तो विपद् व्यवस्थापन होला ? जानिफकारहरुलाई यो प्रश्न राख्दछु । 

शैक्षिक जीवनका अनुभवहरु (५६ )

शैक्षिक जीवनका अनुभवहरु (५६ )
२०७२ वैशाख २९ गते मंगलवार

विद्यालयमा कोकोहोलो मच्चियो ।

आज दिनको १२:५५ मा पुन: नेपालमा भूकम्प आयो । केन्द्र विन्दु कोदारी थियो । शक्ति चाहि ७.४ थियो । मापन फरक फरक उल्लेख भएकोछ ।७.१-७.४ सम्म को रेक्टर स्केल भनिएको छ । 
अजासुहरुले ( अति जान्ने सुन्ने हरु ) ले अब पराकम्पन बाहेक खासै ठूलो जान्न भनेका थिए ।तर जोड्को ठूलो धक्का पाइयो । थप क्षति भयो । यस पटक पनि हामी बुटवलमा नै थियौं ।

हाम्रो टोल नजिकै समित बोर्डिंग स्कूल छ । १२: ५४ तिर भूकम्प गयो । कोकोहोलो मच्चियो । विद्यार्थी  आत्तिएर  कराएको आवाजले टोलमै कम्पन भयो । अभिभावकहरु तुरुन्तै आ-आफ्ना नानीहरु लिन दौड्दैं आए ।लिएर आत्तिंदैं हस्याँग फस्याँग गर्दै घर तर्फ लागे । धन्न कोही हताहत भएनन् । वैशाक १२ को भूकम्प शनिवार परेकाले विद्यार्थी बाआमाका काखमै घरमा नै थिए । नत्र धेरैको ज्यानको आहुति हुन्थ्यो । 

शैक्षिक जीवनका अनुभवहरु (५५ )

शैक्षिक जीवनका अनुभवहरु (५५ )

२०७२ वैशाख २८ गते सोमवार

विद्यालयहरु सा-साना र भूकम्प प्रतिरोधक बन्नु पर्दछ ।

२०७२ वैशाख १२ र १३ गते आएको भूकम्पले प्रभावित क्षेत्रमा विद्यालयको संरचना भत्काएको अवस्था रहेको छ । असंख्य विद्यार्थीको दैनिक पठनपाठन रोकिएको छ । यसबाट हाम्रो विद्यालय भवनहरु तत्कालीन काम चलाउ अवस्थाका मात्र रहेछन् भन्ने स्पष्ट भएको छ । शनिवार भूकम्प आएको हुनाले विद्यार्थीहरुको भागदौड़ हुन पाएन । लामो समयसम्म पढाइ रोकिएको र अझै बन्द रहने अवस्था रहेको छ ।

उपत्यकामा विद्यालयहरुमा रेक्ट्रोफिटिंग गरी केही हदसम्म भएपनि भूकम्प छेक्ने प्रयास भएको थियो ।यसरी निर्माण भएका विद्यालयहरु हदसम्मै भूकम्प छेक्न सफल छन् ।यस्तो सकारात्मक कार्यमा सरोकारवाला सबै लाग्नु पर्दछ ।

अब बन्ने विद्यालयहरु स-साना र भूकम्प प्रतिरोधक किसिमको हुनु पर्दछ ।