शैक्षिक जीवनका अनुभवहरु (५४)

शैक्षिक जीवनका अनुभवहरु (५४)
२०७२ वैशाख २७ गते आइतवार

हामी सकल नेपाली नागरिकहरु आभारी छौं । कृतज्ञ छौं । ती सैनिक जवानहरुप्रति जसले आफ्नो ज्यानको वास्ता नगरी महाभूकम्पको विपदमा परेका नेपाली नागरिक र पर्यटकहरुको ज्यान बचाए, उद्धार गरे, उपचार गरे र राहत समेत बाँडे । यसर्थ हामी आफ्नो हृदयदेखि नै एक पटक यसो भनौं –

सलाम !  नेपाली सेनाका जवानहरुलाई !

सलाम ! नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानहरुलाई !

सलाम ! घनिष्ठ छिमेकी मित्र राष्ट्रका सैनिकहरुलाई !

सलाम ! मित्र राष्ट्रका सैनिक जवानहरुलाई !

( कृपया SHARE गरौं )

शैक्षिक जीवनका अनुभवहरु (५३ )

शैक्षिक जीवनका अनुभवहरु (५३ )
२०७२ वैशाख २६ गते शनिवार
लसरल्लै सडकमा सुते बटौली वासीहरु

हाम्रो एकता मार्ग टोलवासीहरू पनि १३ गते आइतवार नजिकैको अन्तराष्ट्रीय सिद्धाश्रम साधक परिवार निखिल चेतना केन्द्रमा रात विताउन गयौं । राजधानी लगायत देशका अन्य क्षेत्रमा भएको जनधन र भौतिक संरचनाको विनाशले सबैलाई पीर पारेको बारे नै रातभर कुरा भई रह्यो । आफन्तीलाई फोन सम्पर्क गर्ने प्रयास भयो । सम्पर्क भएन । चिन्ता ग्रस्त पारेको थियो सबैलाई ।

शैक्षिक जीवनका अनुभवहरु (५२ )

शैक्षिक जीवनका अनुभवहरु (५२ )

२०७२ वैशाख २५ गते शुक्रवार 

लसरल्लै सडकमा सुते बटौली वासीहरु

२०७२ / १ / १२ र १३ गतेको भूकम्पमा अचानक कम्पन शुरू भएपछि 

बुटवलवासी त्राहिमाम् भएर  हाइ वे सडकमा धेरै भन्दा धेरै मानिसहरु रात बिताउन आए ।लुम्बिनी अंचल अस्पताल देखि राजमार्ग चौराहासम्म लाम थियो सुताइको । २०१८ र २०२४ सालमा टुंडिखेल ( हालको हाटबजार ) मा साँझ सम्म बसे । हरि भजन कीर्तन गर्दै । तर भूकम्प आएन । घर घर फर्के ।

२०७२ सालको  भूकम्पले झस्कायो बुटवलवासीलाई पनि । खुल्ला र सुरक्षित स्थानमा बस्न गएका थिए ।

रात काटे खुल्ला आकाश मुनि । डर र त्रास बोकेर केही दिन स्तब्ध भए ।

क्रमश:

शैक्षिक जीवनका अनुभवहरु ( ५१ )

शैक्षिक जीवनका अनुभवहरु ( ५१ )

२०७२ वैशाख २४ गते विहिवार

ईश्वरको नाम जपें । मापदण्डमा विश्वास गरें

२०७२ वैशाख १२ गते शनिवार ७.६ म्याग्नेच्यूडको भूकम्पको लामो कम्पनको अनुभव हाम्रो परिवारले बुटवलमा गर्यो । कोही खाना खाइ सकेका र कोही खाँदैको अवस्था थियो । उत्तर -दक्षिण गरी कम्पन हुन थाल्यो । टेबल,कुर्सी र किचन -याक पिंग खेल्न थाले । ” ल भूकम्प आयो ,बाहिर निस्क।” को हल्ला मच्चियो। कम्पनको बेला “हतारमा घर बाहिर निस्कनु हुंदैन, ढोकाको चौकसमुनि उभिनु पर्छ” आदि इत्यादि विद्यार्थीलाई सिकाइन्थ्यो । आम संचार माध्यमबाट सचेतनाका सूचना सुनिन्थ्यो । त्यस्तै गर्यौं । थर थर कम्पन झन बढ्यो । पछाडि ब्यरेकमा रहेका रुखहरु निहुरिएर भाँचिएला झैं भए । गुरु मन्त्र र ईश्वरको नाम जप्न थाल्यौं । बुहारी भयभीत भई ।हामीले यस भन्दा पहिले काठमाण्डौंमा भूकम्पका धेरै कम्पनहरु महसूस गरिसकेका थियौं । तेस बेलामा पनि आत्तिएर भागदौड गरेका थिएनौ । बरु हामीसंगै बसेको कुकुर पहिले नै बाहिर गएर भुक्न थालेको थियो । कुकुरले थाहा पाउँदो रहेछ पहिला । विगतका अनुभवहरुले धैर्य गर्न सिकायो । तर बुटवलमा त्यस्तो कम्पन अनुभव गर्नु भनेको चानचुने थिएन ।

ईश्वरनाम जपको साथसाथै मापदण्ड अनुसार निर्माण भएको घरको वनौटमा पनि विश्वास गर्यौं । मर्नु परे एकै ठाममा मरौंला भन्ने सोच पनि फुर्यो ।दोस्रो कम्पन शान्त भएपछि बाहिर गर्यौं ।सबै त्राहिमाम् थिए ।सबैका थातथलो सुरक्षित थिए । बुटवलमा भूकम्पले क्षति गर्दैन भन्ने जन विश्वास यसपाली सत्य साबित भयो ।