(१४८) राष्ट्रले लगानी नगरी उदाएका वेद,संस्कृति र हिन्दू धर्मका विद्वान डा. स्वामी प्रपन्नाचार्य अब रहेनन् ।

शिक्षण जीवनका अनुभवहरु ( १४८) 

२०७२ भाद्र  ४ गते शुक्रवार

राष्ट्रले लगानी नगरी उदाएका वेद,संस्कृति र हिन्दू धर्मका विद्वान डा. स्वामी प्रपन्नाचार्य अब रहेनन् ।

राष्ट्रले लगानी नगरी उदाएका । वेद,संस्कृति र हिन्दू धर्मका विद्वान । गोठाले जीवनमा साधुसंग पछि लागी हिंडेका ।३० वर्षको उमेरमा क ख रा सिकेका राई लिम्बुका छोरा । जोगी,साधु सन्तको सत्संगमा विद्वान भएका । वेदान्तमा विद्यावारिधि गरेका ।  काशीवासबाट नेपाल आई मातृभूमिको सेवामा समर्पित  । डा. स्वामी प्रपन्नाचार्य ( काले राई ) २०७२ भाद्र ४ गते विहान ३::३० बजेदेखि हामीबीच रहेनन् ।

 २०४५ / २०४६ तिर वहाँ नेपाल आउनु भयो । आफ्नो घर फिदिम जानु भयो । तर बस्नु भएन । जोगी साधुको  जीवन अपनाएपछि एक पटक आफ्नो घर आउनु पर्ने धर्म निभाउन आउनु भएको रहेछ । देशको विभिन्न स्थानको भ्रमण गर्नु भयो । राजा वीरेन्द्रले राजसभाको सदस्यमा मनोनित गरेर सन्तको सम्मान मात्र गर्नु भएन बल्कि राज सभामा रिषी मुनिको उपस्थिति गराउनु भयो । सभाको गरिमा बढ्यो । राजा रिषीमनका रहेछन् भन्ने सन्देश देश विदेशमा फैलियो ।वेद वेदान्त र हिन्दू सनातन परम्पराको मान बढ्यो । स्वामीजीको सम्मान पनि बढ्दै गयो । देश गणतन्त्रमा प्रवेश गरेपछि प्रपन्नाचार्यजीको ब्यक्तित्वमा केही अन्तरालकोनिमित्त प्रश्नचिन्ह लाग्न थाल्यो । नेताहरु राजाको पृष्ठपोषक ठानी वहाँको सुविधाआदि काट्ने प्रयासमा लागे । के फरक पर्थ्यो र एक सन्तलाई ? वहाँ अविचलित भई साधनामा लागी रहनु भयो । पशुपति मृगस्थलीको आश्रयमा जीवन विताउन थाल्नु भयो । २०७० सालतिर वहाँ आर्थिक संकटमा पर्नु भयो ।अस्वस्थता पनि बढ्दै गयो । वहाँका केही सहयोगी मध्ये एक जना सेवानिवृत्त हेडसर नेपाल सर, पशुपति मित्र माध्यमिक विद्यालयका सप्रअ घनश्याम राज काफ्ले आदिले स्वामीलाई सहयोग गर्नु पर्ने कुरा ल्याउनु भयो । स्टाफ साथीहरु राजी भए । मलाई बेग्लै खुसी लाग्यो । कारण थियो २०३७ / २०३८ मा एक साता स्वामीजीसंग बनारसमा बसउठ भएको थियो । ( क्रमश:) 

 

(१४९) काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

शिक्षण जीवनका अनुभवहरु ( १४९ ) 

२०७२ भाद्र  ५ गते शनिवार 

काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

२०७२ भाद्र ४ गतेको बाँकी…

रुपन्देही ,बुटवलबाट म र कालिका मा.वि.का प्र.अ. कौशल राज बस्याल जिल्ला स्तरीय प्रश्न-पत्र छपाउन बनारसको विश्वनाथ गल्ली स्थित माधव मुद्रणालय (प्रेस)मा बसेका थियौं । प्रेस मालिकले स्वामीजीसंग परिचय गराइ दिनु भयो ।दिनभरि जसो हामी आ-आफ्ना काममा ब्यस्त हुन्थ्यौं । राती बास बस्न स्वामीजी त्यहीं आउनु हुन्थ्यो । त्यतिखेर वहाँ ” वेदमा के छ ?” भन्ने पुस्तक छापेर वितरण व्यवस्थापन गर्न लाग्नु भएको थियौं ।वैदिक ज्ञान, आफ्नो जीवन र नेपालको शिक्षाबारे छलफल गर्न रुचाउनुहुन्थ्यो, स्वामीजी । नयराज पन्तलाई विद्वान मान्छु भन्नु हुन्थ्यो । काठमाडौं उपत्यकालाई “अधित्यका”भन्नु पर्ने विचार थियो, वहाँको । साकाहारी खानपान भएका वहाँले साम्बर मन पराउनुहुन्थ्यो । औधि पिरो तरकारी खानु पर्ने । हामीलाई पनि आफुले खाने भोजनालयमा लैजानुहुन्थ्यो । खान्थ्यौं स्वादिष्ट भोजन ।पेमेन्ट हामी स्वयं गर्ने गर्थ्यौं । तर पिरो खानाले हाम्रो पेट बिग्रियो।कारण बताएर हामी अन्तै खान थाल्यौं । वहाँलाई मान गर्नेको जमात नै हुन्थ्यो । काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं । सन्त समागममा पनि गयौं । विशिष्ट स्थान थियो वहाँको । राति वहाँको ज्ञान,गुन ,प्रवचन सुन्दै निदाउन्थ्यौ ।सायद वेद रसको बानी परेको थिएन, हामीलाई त्यतिबेला ।( क्रमश: )