शिक्षाको ज्योती बाल्ने ज्ञानोदय रात्री माध्यमिक विद्यालयमामा एक दशक

बुटवलको ज्ञानोदय रात्री माध्यमिक विद्यालय २०२१ सालमा खुलेको थियो । त्यसबेलाको पंचायती शासन थियो । संविधानमा विभिन्न वर्गीय संगठनहरू मध्ये नेपाल युवक संगठन पनि थियो । प्रत्येक संगठनले केही न केही रचनात्मक काम गर्नु पर्ने प्रावधान थियो । बुटवलमा नेपाल युवक संगठनले “ प्रौढ विद्यालय” खोल्ने निर्णय ग-यो । यो निर्णय लिने तेतिबेलाका केही युवकहरूमा थिए- चन्द्रध्वज श्रेष्ठ , दुर्गालाल बजिमय र सुरेन्द्र्मान श्रेष्ठ अादि । अन्यको नाम मलाई याद अाएन । दिउँसो संचालन हुने सामान्य विद्यालयमा पढाइ छुटेर अधुरो रहेका महिला र पुरूष दुबैलाई पढाइमा निरन्तरता दिनु यस्को उदेश्य थियो । यस विद्यालयमा कक्षा ६ देखि १० सम्मका कक्षा संचालन हुन्थ्यो । कक्षा ६ र ७ लाई First Grade; कक्षा ८ लाई Second Grade; कक्षा ९ लाई Third Grade र कक्षा १० लाई Fourth Grade भनेर नामाकरण गरिन्थ्यो ।

बुटवलमा रात्री स्कूललाई शिक्षा विस्तारको अनौठो प्रक्रिया मानिन्थ्यो ।

तेतिबेला रात्री विद्यालयमा पढ्ने विद्यार्थीहरूको संख्या अति नै थोरै हुन्थ्यो । दिउँसो कुनै कार्यालय वा उद्योगमा कामकाज गर्ने , तर अोपचारिक विद्यालयको अध्ययन छुटेकाहरू मात्र पढ्न अाउँथे । तिनिहरूमा पनि शिक्षा अार्जन गर्ने मनैबाट तिब्र इच्छा र संकल्प हुनेहरूमात्रले निरन्तरता दिन सक्थे । त्यस्तै मध्ये म पनि एक थिएें । Third Grade ( कक्षा ९ मा ) मा भर्ना भइ पढाइलाई निरन्तरता दिएें । त्यहाँ अध्यापन गर्ने शिक्षकहरू पनि अाँशिक ( Part Time Teacher ) हुन्थे । तिनीहरू अनुभवी, त्यागी र समाजसेवी हुन्थे । थोरै पारिश्रमिकमा सन्तोष मान्थे । सरकारी अनुदान त विद्यालयले पाउँथ्यो, तर रकम थोरै हुन्थ्यो । बुटवल नगर पंचायत, उद्योग बाणिज्य संघ र जिल्ला पंचायत अादि संस्थाहरूले पनि अार्थिक अनुदान दिन्थे । विद्यालयमा विद्यार्थी संख्या बढ्नै सक्दैनथ्यो । शिक्षकहरू स्वयंले रात्री स्कूलमा पढ्ने विद्यार्थी पहिल्याइ शिक्षाको महत्वबारे सम्झाइ बुझाइ भर्ना गर्न ल्याउनु पर्थ्यो । महिलालाई भर्ना गर्न ल्याउनु त सकस एवं चुनौती नै हुन्थ्यो । रातको ९ बजेपछि विद्यालय छुट्थ्यो । छात्राहरूलाई घर पुग्न अप्ठेरो हुन्थ्यो । सुरक्षाकोलागि कहिले पालै पालो गरी शिक्षक स्वयंले छाड्न जान्थे । कहिले छात्रहरूको साथ लगाउनु पर्दथ्यो । बुटवलमा रात्री स्कूललाई शिक्षा विस्तारको अनौठो प्रक्रिया मानिन्थ्यो ।

गुरू र शिष्यको बलियो गठबन्धन भएपछि पढाइ लेखाइ व्यवस्थित हुन्थ्यो ।

रात्री स्कूल संचालन गर्न गाह्रो नै थियो । पेट्रोमेक्स ( मेन्टोल ) बालेर पढाइन्थ्यो । कहिले लाल्टेन पनि बालिन्थ्यो । कहिले त मैनबत्ती हुन्थ्यो । नाकभरि धुंवा पस्थ्यो । शिक्षकहरू प्रवचन विधिद्वारा ( Lecture Method ) पढाउँथे । शैक्षिक सामग्रीको रुपमा कालोपाटी मात्र प्रयोग हुन्थ्यो । तर शिक्षकहरु मन लगाएर पढाउँथे । सम्झाइ -सम्झाइ पढायँथे । बुझाइ-बुझाइ सिकाउँथे । बुझे नबुझेको सोध्थे । दिएको गृहकार्य केलाइ-केलाइ जाँच्थे । प्रेरणादायी कथा र प्रसंगको उदाहरण दिएर उत्प्रेरणा जगाउँथे , विद्यार्थीमा । कर्मक्षेत्रमा विद्यार्थीहरू सफल होउन् भन्ने चाहना राख्थे , उनीहरू । हामी विद्यार्थीहरू पनि ध्यान लगाएर पढ्थ्यौं । गुरू र शिष्यको बलियो गठबन्धन भएपछि पढाइ लेखाइ व्यवस्थित हुन्थ्यो ।

रात्रीकालिन समयको अध्यापन समाज सेवाको दायित्वबोधले प्रेरित भएको हुन्थ्यो ।

शिक्षार्थीमा अध्ययन गर्ने लगन हुनु पर्दछ । अध्ययन गर्दा एकाग्रचित्त हुने प्रबृत्ति हुनु पर्दछ । नयाँ नयाँ कुरा जान्ने जिज्ञासा पालेको हुनु पर्दछ । लक्ष्यसम्म पुग्ने संकल्प जीवित रहेको हुनु पर्दछ । तब बल्ल शिक्षा प्राप्त गर्ने अभिलाषा पूर्ण हुन सक्दछ । कुनै न कुनै किसिमले जीवनमा पढाइ पनि छुटेको घटना हुनु पर्दछ ।

यीनै कुराहरू रात्री स्कूलमा पढ्ने अधिकाँश विद्यार्थीहरूमा निहित हुन्थ्यो । गुरूहरू विद्यार्थीहरूको जीवन सफलिभूत पार्न कृत संकल्पित हुन्थे । रात्रीकालिन समयको अध्यापन जीविकोपार्जनको जोहो नभइ समाज सेवाको दायित्वबोधले प्रेरित भएको हुन्थ्यो ।

बुटवल टेक्निकल ईन्स्टिच्यूटका तालिमे ( Trainee ) विद्यार्थी भर्ना हुन थाले ।

ज्ञानोदय रात्री विद्यालय शुरुमा बुटवल स्थित महावीर पुस्तकालयमा संचालन भएको थियो । विस्तारै विद्यार्थी बढ्न थालेपछि ठाउँ पुगेन । त्यसपछि तत्कालिन अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं. २ ( हालको सरस्वती नि मा वि ) मा स-यो । झण्डै ३ वर्ष त्यहाँ संचालन भएपछि २०२७ मा अाफ्नै भवन निर्माण गरी पुलचोक, बुटवल न .पा. वडा नम्बर ७ मा स-यो । त्यो भवन नेपाल युवक संगठनको सक्रियतामा बनेको थियो । तत्कालिन अंचलाधिश कार्यालयले चन्दा उठाउने अनुमति प्रदान गरेपछि अार्थिक स्रोत जुटेको थियो । अाफ्नै भवनमा कक्षा संचालन हुनथालेपछि पठनपाठन सुव्यवस्थित भयो । २०२८ सालदेखि बिजुलीको प्रकाशमा पढाइ संचालन हुन थालेपछि रात्री विद्यालयको पढाइमा अाकर्षण थपियो । अन्य विद्यार्थीहरु पनि भर्ना हुन अाउन थाले । विशेषगरी बुटवल टेक्निकल ईन्स्टिच्यूटका तालिमे ( Trainee ) विद्यार्थी भर्ना हुन थाले । उनीहरुको पढाइको पृष्ठभूमि राम्रो र अार्थिक स्थिति पनि बलियो हुन्थ्यो ।

ज्ञानोदय रात्री माध्यमिक विद्यालयले शिक्षाको ज्योति छर्दै थियो । समाजमा शिक्षाले परिवर्तन ल्याउँछ भन्ने तथ्यलाई यो विद्यालयले सिद्ध गर्न सफल रह्यो । यसबाट उत्पादन भएका जनशक्तिले शिक्षा र अन्य प्राविधिक क्षेत्रमा सेवा प्रदान गर्न शुरू ग-यो । यसै क्रममा २०२८ सालमा देशमा नयाँ राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू गर्ने सरकारले घोषणा गर्यो । काश्की र चितवनमा लागू गर्यो । रात्री स्कूलको धारणा योजनामा राखिएको थिएन । ज्ञानोदय रात्री माध्यमिक विद्यालयलाई मान्यता दिलाउन सक्दो प्रयास भयो । दोस्रो चरण २०२९ सालमामा रूपन्देही जिल्ला समेतमा योजना लागू भयो । तर यो विद्यालयले स्वीकृति पाएन । कोटामा परेन । शिक्षक दरबन्दी पाएन । जिल्ला शिक्षा कार्यालयबाट विद्यालय बन्द गर्ने परिपत्र पठायो । संचालन गर्न अनाधिकार चेष्टा गर्नेलाई कडा कार्यवाही गर्ने डरधम्की दिइयो । अगुवाहरू कोही अग्रसर भई नेतृत्व लिन तयार भएनन् । फलस्वरूप २०२९ सालमा रात्री मावि खारेज भयो । त्यहाँ पढ्दै गरेका विद्यार्थीहरूको भाग्य फुटे समान भयो । दिउँसोको समयमा काम गरी माम जुटाउनेहरूको शिक्षाको ज्योती पाउने अधिकार हनन हुन गयो । वयश्क नारीहरू अध्ययन गर्नबाट बंचित भए । विद्यालय भवन र हाता सुनसान घाटमा परिणतहुन गयो ।
यसमा ज्ञान अार्जन गरिरहेका विद्यार्थीहरूको एस.एल. सी. पूर्ण गर्ने सपना भंग भयो । अनुकुल पर्नेहरु दिउँसोको विद्यालय भर्ना हुन गए । अनुकुल नपर्नेहरू अध्ययन छाडेर बसे । तर बन्द भएर पनि ज्ञानोदय रात्री विद्यालयले रूपन्देहीमा शिक्षाको ज्योति फैलाउने काम जारी राख्यो । २०३० सालमा तानसेन पाल्पामा रहेको शिक्षा शाश्त्र ईन्स्टिच्यूट ( हालको बुटवल बहुमूखी क्याम्पस ) बुटवलमा सर्ने तरखरमा थियो । तर उपयुक्त स्थान र भवन नपाएर अलमलमा थियो । त्यसबेला हालको क्याम्पसमा नि:शुल्क अनिवार्य प्राथमिक पाठशाला संख्या नं. ३ संचालन हुन्थ्यो । त्यहाँ तानसेनको क्याम्पस सार्ने र नि:शुल्क अनिवार्य प्राथमिक पाठशाला संख्या नं. ३ लाई ज्ञानोदय रात्री माविको भवनमा सार्ने सरोकारवालाहरूको निर्णयलाई विद्यालय संचालक समितिले स्वीकृति प्रदान ग-यो । परिणामस्वरूप क्याम्पस उपयुक्त वातावरण भएको स्थानमा सर्यो । अहिले यो क्याम्पस बुटवलमा शिक्षाको केन्द्र साबित भएको छ ।

२०३७ सालमा बन्द ज्ञानोदय रात्री विद्यालयलाई बिउँताउने कुरा उठ्यो ।

२०३७ सालतिरको कुरा हो । बुटवल नगरपालिकामा राजाको जन्म दिन मनाउने सन्दर्भमा एउटा वैठक बस्यो । समिति बन्यो । नगरमा भइरहेको शिक्षाको विकासमा चर्चा भयो । नगरमा कलकारखाना र अफिसहरूमा काम गर्नेको संख्या बढ्दो थियो । उनीहरूलाई एसएलसीसम्मको शिक्षा दिनु सामाजिक उत्तरदायित्व ठानियो । बन्द अवस्थामा रहेको ज्ञानोदय रात्री माध्यमिक विद्यालयलाई बिउँताउने कुरा उठ्यो । सबैको स्वीकारोक्ति देखियो । नगर पंचायत र उद्योग वाणिज्य संघले अार्थिक अनुदान दिने उदघोष पनि भयो । सबैपक्षलाई वैठकमा बोलाउने समझदारी भयो । यसको अभिभारा गणेशमान सैंजू , हिमलाल ज्ञवाली , बृजमान श्रेष्ट , भूपु प्रअ चन्द्रध्वोज श्रेष्ट र मलाई दिइयो ।

नगरमा सुलभ शिक्षाबाट बिमुख भएकाले पढन पाउने लक्षण देखियो ।

बुटवल पश्चिमांचलकै ब्यापारिक, औद्योगिक तथा यातायात केन्द्रकोरुपमा विकसित हुंदै गएको थियो । अंचल स्तरीय सरकारी कार्यालय र संस्थाहरुले पनि बुटवलमै केन्द्रित हुन आए । हाम्रो अनौपचारिक समितिले एउटा सर्वेक्षण गर्ने निधो ग-यो । बन्द भएको ज्ञानोदय रात्री स्कूल पुन: संचालन हुने जानकारी गराउँदै संघ संस्थाहरुसंग पढ्न इच्छुक ब्यक्तिहरुको सूची माग गर्यौं । करिब १५० जनाले पढ्ने प्रारंभिक तथ्याँक प्राप्त भयो । विद्यालयका पूर्व शिक्षक र वरिपरि छिमेकी विद्यालयका योग्य शिक्षकहरुलाई पनि “योगदान” गर्न आग्रह गर्दै पत्राचार गरियो । तीन जना पुराना र ७ जना नयाँ शिक्षकहरुले पढाउन राजी भए । नगरमा सुलभ शिक्षाबाट बिमुख भएकाले पढन पाउने लक्षण देखियो ।

भीषण बाढीले विद्यालय क्षति भयो ।

२०३८ कार्तिक १ गतेदेखि नै रात्री विद्यालय संचालन गर्ने निर्णय भएको थियो । यो निर्णय तत्कालिन बुटवल नगर पंचायतका प्रधानपंच बृजमान श्रेष्टको सक्रियतामा भएको थियो । नसस गणेशमान सैंजूको अध्यक्षतामा ११ सदस्यीय तदर्थ संचालक समिति गठन भयो । सदस्य-सचिवमा मलाई चयन गरियो । सबैको सहयोग हुने वचन पाएपछि म राजी भएैं । कुनै उपलब्धी गरूंला भनेर होइन । अाफु पढेको विद्यालय संचालन गरेर गुरू ऋणबाट उऋण ( मुक्त हुनु ) हुने अाशाले । १५२ पुरूष र ४ जना महिला विद्यार्थीहरू भर्ना हुन फाराम भरी सकेका थिए । द्रुत गतीले तयारी चल्दा चल्दै २०३८ असोज १३ गते घटस्थापनाको दिन बुटवलमा भीषण बाढी अायो । धनजनको ठूलो क्षति भयो । विद्यालयको भौतिक सम्पत्ति नष्ट भयो । कक्षा कोठाहरूमा ७ फिटसम्म बालुवा र हिलोले भरिभराउ भयो । कागजात र फर्निचरहरू सबै नष्ट भयो । सरसफाइ गर्न एक साताको समय लाग्यो । नयाँ व्यवस्थापन गर्नु परेकोले समय र खर्च बढी लाग्यो । २०३८ साल पुस पहिलो सातादेखि रात्री मा.वि. मा पढाइ संचालन भयो । साढे नौ वर्ष पछि रात्री मा वि पुनःसंचालनमा अायो । बुटवलको शिक्षा विकासमा एक कडी थपियो । अौपचारिक शिक्षा अपुरो रहेका कलकारखानाहरूमा श्रम गर्ने, सरकारी कार्यालयहरूमा सेवा गर्ने, स्वतन्त्र मजदूरी गर्ने, साहुकारहरूकहाँ नोकरी गर्ने र गृहस्थी महिलाले पढ्ने अवसर पाए । शिक्षाबाट बंचित सबैले पढ्ने मौका पाए ।

शिक्षकहरू न्यून तलवमा सेवा गर्थे ।

ज्ञानेलय रात्री मा.वि. मा अध्ययन गर्ने ७० प्रतिशत विद्यार्थीहरू रोजगारमुलक हुन्थे । शिक्षकहरू न्यून तलवमा सेवा गर्थे । तलवको सट्टा “पारितोषिक “ भन्ने शब्दावली प्रयोग गरिन्थ्यो । यसबाट शिक्षकको मान हुन्थ्यो । मनोवैज्ञानिक तवरमा । सकभर सेवा भाव राख्ने खालका अनुभवी शिक्षकहरू चयन गरिएको थियो । उनीहरू स्थानीय विद्यालयहरूमा पनि शिक्षण गर्थे । म स्वयं पनि अानन्दवन ( मणिग्राम ) स्थित जन ज्योती माध्यमिक विद्यालय डिंगरनगरको प्र.अ. थिएें । ज्ञानोदय रात्री मा.विको प्र.अ. को जिम्मेवारी पनि पाएें ।

रात्रीमा पढ्ने विद्यार्थीहरूको प्रकृति र मनोवज्ञान विशिष्ट प्रकारको हुन्थ्यो ।

रात्री माध्यमिक विद्यालयमा काम गर्नु भनेको सामान्य दिनचर्याको कुरा थिएन । समय भिन्न थियो । सन्धा ५ बजेदेखि राति साढे दश बजेसम्मको प्रशासन, अाफ्नो विषय अध्यापन र शिक्षकहरूलाई अनुगमन गर्नु मेरो दायित्व भित्र पर्दथ्यो । सहकर्मीहरूको मनोबल सदा उच्च राख्नु कठीन कार्य थियो । तलव थोरै हुनु यसको मुख्य कारण थियो । थोरै भएपनि समयमा भुक्तान गर्ने गरिएको थियो । रात्रीमा पढ्ने विद्यार्थीहरूको प्रकृति र मनोवज्ञान विशिष्ट प्रकारको हुन्थ्यो । शिक्षकहरूभन्दा शिक्षार्थीहरू उमेरले पाका हुन्थे । व्यावहारिक जीवन पनि भोगेका हुन्थे । अंग्रेजी र गणितबाहेकका विषयहरूमा शिक्षकलाई सिकाउने खालका पढ्न अाउँथे । शारीरिक परिश्रम बढी गरेर अध्ययन गर्न अाउनेहरू अलिक पेय पदार्थ पिएर अाउँथे । कक्षामा अनौठो मिजास र व्यवहार प्रदर्शन गर्थे । कोही छात्राहरूलाई अप्ठेरोमा पार्ने छाडापन देखाउँथे । यसबाट छात्राहरूको संखया घट्ने अाशंका हुन्थ्यो । दुबै पक्षलाई संगै राखी मिलाप गराइ मन लगाइ पढ्न प्रेरित गर्नु पर्दथ्यो । विद्यालयमा पिएर अाउन पाइदैन भन्ने नियम पालना गर्न लगाउँदा उनीहरू शारीरिक पीडा भुलाउन दवाइको रूपमा पीउने र भद्रतापूर्वक पढ्ने बचनबद्ध हुन्थे । सीमान्तकृतवर्गलाई पढाउन भनी संचालन भएको विद्यालयबाट उनीहरूलाई अनुशासनको कार्यवाही गरी निस्काशन गर्न पनि मिल्दैनथ्यो । सुधारात्मक उपाय पहिल्याउनु नै अर्को विकल्प हुन्थ्यो ।

खुद्रा पैसाको थैली तलवको रूपमा शिक्षकले लाज मानी बुझ्थे ।

रात्री मावि संचालनको खर्च वजेट सामान्य हुन्थ्यो । विद्यार्थी शुल्कबाट ६० प्रतिशत, बुटवल नगरपंचायतको अनुदान २० प्रतिशत,ज्ञानोदय गाईडेन्स क्लासबाट १० प्रतिशत , स्थानीय उद्योग वाणिज्य संघबाट अनुदान १० प्रतिशत अादिको योगबाट प्राप्त रकमले खर्च धान्नु पर्दथ्यो । शिक्षक तलव, विद्युत खर्च, मसलन्द अादि शिर्षकमा खर्च हुन्थ्यो । वेकल्पित अाय स्रोत पनि पहिल्याइन्थ्यो । राष्ट्रिय महत्वका दिवसहरू जस्तै पृथ्वी जयन्ती, संयुक्त राष्ट्रसंघ दिवस ,रेडक्रस दिवस अादि गरेर वर्षमा ६ वटा दिवसहरूमा ब्याच वितरण गरिन्थ्यो । संकलन भएको रकम केही प्रतिशत विद्यालय कोषमा दाखिला गरिन्थ्यो । यसरी सङकलन भएको खुद्रा पैसाको थैली शिक्षकलाई तलवको रूपमा बुझाउने पनि गरिन्थ्यो । कुनै शिक्षकले लाज मानी मानी त्यो थैली बुझेर लैजाने गर्थे । तलव ढीलो दिनु भन्दा खुद्रा सिक्का छिटो दिनु वेश हुन्थ्यो । तीहार पर्वमा नेपाल जुनियर रेडक्रस सर्कलका विद्यार्थीले देउसी भैलो खेली रकम जम्मा गर्थे । हरेक नयाँ वर्षको अवसर पारेर भित्ते-पात्रो छपाइ अभिभावक र बजारमा समेत वितरण गरेर अर्थ संकलन गरिन्थ्यो ।

विद्यार्थीहरूको पढाइमा नकारात्मक असर पर्ला भन्ने चिन्ताले सताउँथे ।

ज्ञानोदय रात्री मा. वि. निजी स्रोत ( सरकारी सहायता नपाउने ) मा संचालन गर्नु पर्ने भएकोले नगर पंचायत र उद्योग वाणिज्य संघ जस्ता संस्थाको अार्थिक सहयोग निरन्तर प्राप्त गर्नु जरूरी हुन्थ्यो । यस्कोलागि हरेक अार्थिक वर्षको वजेट तर्जुमा हुने समयसिमामा जिम्मेवार पदाधिकारीहरूलाई बजेट छुट्याउन अनुरोध गर्नु पर्दथ्यो । विद्यालयको कार्यक्रम र प्रगति विवरणबारे निरन्तर जानकारी गराउनु पर्दथ्यो । यो काम विशेष गरी प्र.अ. र संचालक समितिका अध्यक्षको दायित्वभित्र पर्दथ्यो । कतै चुक्यो भने बजेट विनियोजन छुट्थ्यो । विद्यालयको बजेट तलमाथि भएमा विद्यार्थीहरूको पढाइमा नकारात्मक असर पर्ला भन्ने चिन्ताले सताउँथ्यो । बजेट कमी भएको बेलामा सबैलाई तलब भुक्तानी दिई अाफ्नो तलब ६ -७ महिना भन्दा बढी ढीला गरी बुझ्थें ।

नयाँ र अपरिपक्व शिक्षक रात्री विद्यालयमा धेरै दिन टिक्न सक्दैनथे ।

रात्री स्कूलमा दिवामा जस्तै “ पढ,पढ “ शिक्षण विधिले काम चल्दैनथ्यो । जसरी भएपनि बुझाएर पढाउनु नै अन्तिम विधि हुन्थ्यो । गृह कार्य दिनु पनि मिल्दैनथ्यो । अधिकाँश विद्यार्थीहरू जीविकोपार्जनको जोहोमा लागेका हुने हुनाले गृहकार्य गर्न समयको अभाव हुन्थ्यो । नियमित कक्षामा हाजिर हुन सक्नु नै ठूलो कुरा थियो । कक्षाकार्यले भने काम गर्दथ्यो । त्यो पनि छोटो-छोटो प्रश्नोत्तर प्रकृतिका एक -दुईवटा प्रश्न दिएर ।कक्षामै निर्धारित समयभित्र जाँची सक्नु पर्ने । राम्रो उत्तर नअाए शिक्षक स्वयंले लेखाइ दिनु पर्थ्यो । पाठको प्रकृति अनुसारको प्रश्नोत्तर लेखाइ दिनु पर्ने जरूरी हुन्थ्यो । नयाँ र अपरिपक्व शिक्षक रात्री विद्यालयमा धेरै दिन टिक्न सक्दैनथ्यो । यसर्थ विज्ञान र अन्य एक-दुई विषयको शिक्षक परिवर्तन भै रहन्थ्यो ।

रात्री मा वि मा कल्याण कोषहरू

ज्ञानोदय रात्रि मा.वि. मा नियमित पठनपाठनका साथै कल्याणकारी कोषहरू पनि स्थापित भै संचालनमा थियो ।
१ / शिक्षक कल्याण कोषः- शिक्षा नियमालली अनुसार विद्यालय संचालक समितिको २०४४ / १ / २० निर्णयानुसार
यसमा शिक्षकको तलबबाट २ प्रतिशत, ब्याज बितरणबाट भएको अायबाट २५ प्रतिशत, विद्यालयले पटके पाउने पुरस्कारबाट १५ प्रतिशत र वर्षमा एक पटक विद्यार्थी भर्नाबाट प्रति जवान पाँच रूपिया उठाइ दाखिला गर्ने गरिन्थ्यो । २०४६ असारसम्म रू.२५,४९६/१३ कोषमा जम्मा थियो ।
२ / विद्यार्थी कल्याण कोषः- गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति, एसएलसी परीक्षामा प्रथम श्रेणी ल्याउनेलाई स्वर्ण पदक दिन र दुई वर्षसम्म क्याम्पस पढ्न शुल्क प्रदान गर्ने अादि उदेश्यकोलागि यो कोष स्थापित थियो । २०४६ साल असारसम्म यसमा १२,२८६/३० जम्मा थियो ।

३ / जुनियर रेड क्रस कोषः- विद्यालयमा नेपाल जुनियर रेडक्रस सर्कल संचालित थियो । विद्यालयमा चोटपटक लाग्दा प्राथमिक उपचार गर्न , अाकश्मिक घटनाहरूमा सहयोग गर्न यो कोषले काम गर्थ्यो । २०४६ असारसम्म यस कोषमा रू.१५,१८३ /- जम्मा थियो । ( क्रमशः)

शिक्षक कल्याण कोष मासियो ।

२०४६-२०४७ को जनआन्दोलनले राजनैतिक परिवर्तन ल्यायो । निर्दलीय पंचायत व्यवस्थाको स्थानमा बहुदलीय प्रजातंत्र स्थापित ग-यो । परिवर्तनको राप र ताप जताततै देखियो । स्थानीय संघसंस्थाहरुको अनुदान,विद्यार्थीको शुल्क र शिक्षकहरुले नाममात्रको पारिश्रमिक लिई चलेको रात्री मा वि मा कुनै असर परेको थिएन । विद्यालयलाई सरकारीकरण गर्ला कि भन्ने सोच भने केही शिक्षकमा पलायो । कार्यरत सबै जसो शिक्षकहरु दिउँसोको सरकारी विद्यालयहरुमा पनि कार्यरत थिए । दरबन्दीका स्थायी थिए । रातको छुट्टै समयमा रात्री मा वि मा अध्यापन गर्नबाट कुनै नियम बाधक थिएन । सम्झाइ बुझाइ गरियो । बरू उल्टै बिद्रोहको स्वर निकाले । उनीहरु शिक्षक कल्याण कोषलाई संचालन गर्ने पक्षमा भएनन् । त्यो कोष सरकारले कब्जा गर्ला भन्ने त्रासमा थिए । शिक्षकहरुको बबुरो मानसिकता देखेर संचालक समितिले कोष खारेज गर्ने निर्णय ग-यो । कोषमा रहेको रकम दामासाहीले बाँडचुंड गरे । सुनको फुल दिने कुखुराबाट दिनहुं फुल थाप्न झ्याउ मानेकी बुढीले सबै फुल बटुल्न कुखुरा नै मारेकी कथा चरितार्थ हुन अायो । निहित स्वार्थले शिक्षकको भविष्य निधि मासियो ।

रात्रीको अध्यापनबाट पेट भर्दैनथ्यो । मन भरिन्थ्यो ।

असल कामको नमीठो नतिजा अाएपछि मानिसको मन फेरिंदो रहेछ । म पनि सामान्य मान्छे नै ठहरिएँ । अब रात्री मा वि संचालनको जिम्मेवारी अरूलाई पनि दिनु पर्ने सोच मनमा पलायो । हुन पनि रात्रीकालीन समयमा शिक्षण गरिरहंदा मेरो वैयक्तिक जीवनमा रिक्तता र तिक्तता दुबै अनुभूत गरिरहेको थिएँ । रात्रीको अध्यापन कामबाट पेट त मेरो भर्दैनथ्यो । तर मन भरिन्थ्यो । मन रमाउँथ्यो । शिक्षाबाट बञ्चित र किनारीकृत समूहलाई पढाउने र पढाइको व्यवस्थापन गर्न पाउँदा अाफूले हासिल गरेको शिक्षाले सार्थकता पाएको अाभाष हुन्थ्यो । सहकर्मी शिक्षकहरूमा पलाएको लोभि पापी वृक्षको छायामा मेरो अात्मा बिचलित हुन थाल्यो ।

रात्री मा वि का अध्यनार्थीहरु अहिले सफल जीवनयापन गर्दै राष्ट्र सेवा गर्दै छन् ।

रात्री विद्यालयमा पढाउने शिक्षकमा छुट्टै किसिमको विशेषता वा चरित्र हुनु पर्ने मेरो आफ्नै भोगाइ छ । समाजकोलागि मैले सकेको योगदान गर्छु भन्ने भावनाले प्रेरित हुनु पर्दछ । यो सेवा निस्वार्थ  हो भन्ने सोच लिनु पर्दछ । समाजकोलागि अतिरिक्त शिक्षण हो तर उपलब्धी अति न्यून  हुन्छ भनेर सन्तोष लिन सक्नु पर्छ । आफ्नो वैयक्तिक  जीवनको साँझको ५-६ घण्टा समय  त्याग गर्न मन,वचन र कर्मले सदैव तैयार रहनु जरुरी हुन्छ । परिवारलाई दिनु पर्ने समय कटौती गर्नु पर्छ । आफ्ना वालवच्चाको लेखाइ पढ़ाइमा अभिभावकीय भूमिका निर्वाह

गर्ने दायित्वबाट बंचित भइन्छ । शिक्षकले आफ्नो ज्ञान अपडेट गर्न निरन्तर गर्नु पर्ने अध्ययनकोलागि समय दिन सकिदैन ।  स्वस्थ जीवनकोलागि समयमा भोजन गर्ने र सुत्ने समय एकदमै गडबड हुन्छ । निजी स्रोतमा अध्यापन गर्ने शिक्षकको रात्री क़ालीन सेवा समय पेन्सनमा गणना हुंदैन । २०३८ सालदेखि २०४८ सालसम्मको १० वर्षको रात्रीकालीन समय मैले रुपन्देहीको शिक्षा सेवामा समर्पण भएको ठानेको छु । कयौं अध्यनार्थीहरु अहिले सफल जीवनयापन गर्दै राष्ट्र सेवा गर्दै छन् । यही मेरो उपलब्धी हो । यही मेरो गौरव हो । 

सर्प-धर्म भएका सहकर्मीको विष अति विषालु हुन्छ ।

२०४० मा स्वीकृत ज्ञानोदय रात्री मा वि र २०४४ मा विना धरौटी स्वीकृत प्राप्त ज्ञानोदय मा वि दुबैमा प्रधानाध्यापक भई कार्यरत थिए । काम गर्दै जाँदा सबैलाई खुसी गर्न सकिदैन । हरेक मानिस गुण दोषले युक्त हुन्छ । म पनि त्यसै मध्य गुण दोष भएको मान्छे हुँ । धेरै जसो  सहकर्मीहरु कार्यालय प्रमुखसंग सुविधा सहुलियत दोहन गर्ने दाउमा हुन्छन् । दिन सकिएन भने उनीहरुको मानसिकता परिवर्तन भैहाल्दछ । सानातिना भुल गल्ती छोपी तीललाई पहाड बनाउन पछि पर्दैनन् । आफ्नो निहित स्वार्थ पूरा गर्न शिक्षकको आदर्शसमेत परित्याग गरिहाल्छन् । अनर्गल प्रचार गरी प्रधानाध्यापकको चरित्रहत्या गर्न लागी पर्दछन् । आफूले खानु पर्ने थालमा आफै प्वाल पार्छन् । सर्प-धर्म भएका सहकर्मीको विष अति विषालु हुन्छ । उच्च आदर्श, नैतिकता, इमान्दारीता र मनोवल भएका व्यक्तिले मात्रै उक्त विष निष्प्रभावी पार्न सफल हुन्छ । मलाई त्यस्ता सर्प-धर्म भएका सहकर्मीहरुले चरित्रहत्या गर्न दसे ।

आरोप प्रमाणित हुन सकेन ।

  पूर्व नगर प्रमुख सूर्य प्रसाद प्रधानको संयोजकत्वमा सर्वपक्षीय छानविन आयोग  गठन भयो । पक्ष, विपक्ष र सर्वसाधारण ,अभिभावक एवं बुद्धिजीवीहरुसंग राय सुझाव मागियो । २०४७ / ३ / १२ देखि २०४७ / ५ / २६ सम्म जम्मा ६ ओटा वैठक बस्यो ।  आरोप प्रमाणित हुन सकेन । अन्तमा विद्यार्थी ,आरोप लगाउने शिक्षक र प्रधानाध्यापकको आपसी आरोप फिर्ता लिन लगाइयो । विवादित टेलिभिजन सेट बिक्री गर्ने,माइक्रोस्कोप जनज्योती माविलाई फिर्ता गर्ने , प्र.अ.को टेलिफ़ोन सुविधा काट्ने , शैक्षिक भ्रमणलाई खर्चको २५ % सहयोग गर्ने , विद्यालयको अनुमतिबिना शैक्षिक भ्रमण नजाने र विद्यार्थीवर्गहरुले अनुशासन पालन गर्नु पर्ने आदि निर्णय गरी कार्यान्वयनकालागि विद्यालयलाई सिफारिस गर्दै आयोग विघटन भयो । शायद यो पहिलो जन अायोग थियो ।

सत्यता अगाडि अाएपछि उनीहरूले गम खाए ।

आयोगमा रहेका केही सदस्य , जस्ले बखेडा झिक्ने शिक्षकहरूलाई काँधमा बोकी राखेका थिए, ममाथि कडा रुपमा प्रस्तुत भए । सजाय गर्न चाहन्थें । म विद्यालयलाई बन्द हड्ताल आदि कार्यमा लगाउँदिनथें । कारण दुबै विद्यालयको एसएलसी नतिजा राम्रो ल्याइ विद्यालयहरु स्वीकृत गराउनु अभीष्ट थियो । यही कारणबाट म निसानामा परेको थिएँ । सत्यता अगाडि अाएपछि उनीहरूले गम खाए । मेरा प्रत्येक सहकर्मीहरुसंग गल्तीका प्रमाण माग्थे । राम्रो पढाउँदा गल्ती भन्न मिलेन । नियमित विद्यालय संचालन गर्नु अपराध भन्न मिलेन । सेवाभावबाट  प्रेरित भई कर्मथलो बुटवलको विद्यालयहरूमा समर्पित थिएँ ।

असल काम गर्दा हजार बाधा आउँदा रहेछन् ।

विद्यालयको वातावरण धमिलो गर्ने, गराउने क्रियाकलापमा लाग्ने तथा विद्यार्थीलाई हतियार बनाउने शिक्षक विद्यार्थीहरुद्वारा नै बेसमार कुटिए । परिचालित विद्यार्थीहरुले प्र.अ.संग पश्चाताप सहित क्षमा याचना गरे । साधनस्रोत दुरुपयोगमा संलग्न शिक्षकले अवकाश पाए । मेरो एउटा अनुभव छ – जुन शिक्षकले विद्यार्थीहरूलाई हतियार बनाउँछ, उ ती विद्यार्थीद्वारा नै कुटिन्छ । विद्यालयमा लागेको बादल हट्यो । असल काम गर्दा हजार बाधा आउँदा रहेछन् भन्ने अनुभव संगाले । मेरो निष्ठा र इमान  अझै वलशाली भएर आयो । 

निजी स्रोतका विद्यालयहरू संचालन गर्न सजिलो पनि त हुंदैन नि !

दुई वर्ष पछि ( २०४८ सालमा ) त्रिभुवन विश्वविद्यालयमा पि.एच.डी. अध्ययन गर्न काठमाण्डौं गएें । खर्च जुटाउन पशुपति मित्र मावि चावहिलको प्र.अ. पदमा सरुवा भई ,पद लियन रहने गरेर गुह्येश्वरी मा वि सिनामंगलको प्र.अ.मा काज सरुवा भऐं । 
२०४८ असार ३० गते कालिका मा वि बुटवलका शिक्षक विमल बहादुर शाक्यले ज्ञानोदय रात्री मा वि र ज्ञानोदय मा वि दुबैको प्र.अ. पद वहाली गर्नु भयो । मैले रात्री मा वि को प्र.अ. बाट राजीनामा दिऐं । मेरो सेवा समाप्त भयो । विमल सरबाट रमाना लिई म विदा भऐं । वर्षे विदापछि वहाँ हाजिर हुन अाउनु भएन रे भन्ने जानकारी पाएँ । निजी स्रोतका विद्यालयहरू संचालन गर्न सजिलो पनि त हुंदैन नि !

सेवा गरेर गुरुवर्ग र विद्यालयको ऋण तिर्न सकेको अनुभूत गरेको छु । 

२०२६ सालमा मलाई एस.एल.सी. उत्तीर्ण गराइ शिक्षाको ज्योती दिने रात्री मा वि २०२९ देखि २०३८ मंसीरसंम बन्द भएको थियो । पुन: २०३८ देखि २०४८ असारसंम संचालन गर्ने अवसर पाऐं । थोरै भएपनि सेवा गर्ने मौका पाएँ । सबैको सहयोगले विद्यालय १० वर्ष संचालन संचालन गरें । विद्यालय स्वीकृत भयो । दरबन्दी / कोटा पाईहाल्ने भयो – ढीलो वा छिटो । विद्यालय स्थापित भयो । यो विद्यालयको एस एल सी रिजल्ट २०३९ सालदेखि २०४५ सम्म क्रमशः १५,२५,४२,३७,५६,५५ र ६७ प्रतिशत रहेको थियो । यो विद्यालय २०४५ सालमा एस.एल.सी. नितजामा जिल्ला प्रथम भई पुरस्कार प्राप्त ग-यो । यस्तै गरी जिल्ल स्तरीय वीरेन्द्र शील्ड खेलकूदमा पटक-पटक प्रथम स्थान हासिल गरेको थियो । साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । शिक्षाको गुणस्तर कायम गर्नमा पनि सफल थियो ।

ज्ञानोदय रात्री मा वि को सेवा गरेर गुरुवर्ग र विद्यालयको ऋण तिर्न सकेको अनुभूत गरेको छु । 

अध्यात्मको सहारा लिन ।

( १ ) अध्यात्मको सहारा लिन ।

१९९७ ( विसं २०५४ )
स्थान – वाराणसी
पर्व – महा शिवरात्री
विद्याभूमि एवं तीर्थस्थल वराणसी ( बनारस / काशी ) मा अन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारद्वारा शिविरको अायोजना गरिएको थियो । निखिल चेतना केन्द्र, बुटवलको अगुवाइमा नेपालको विभिन्न स्थानबाट शिविर जानेहरूको एक टोली पनि त्यहाँ गएको थियो । कमला र म पनि सहभागी बनेका थियौं । विशेष परिचितहरूमा निर्मल र जमूना राजभण्डारी थिए । टोली नेता डा. एस के धिताल थिए । बस यात्राबाट बनारस पुग्यौं । पावन भूमिमा भब्य शिविर लागेको थियो । शिविर शानदार तवरले संचालन भएको देखें । धार्मिक शिविरमा कतै पनि नेता र राजनीति पसेको देखिन । गुरू भजन , शिव भजन , शिव नृत्य र गुरू प्रवचन अादि मलाई अति नै राम्रो लाग्यो । गुरू दीक्षा लिई सकेपछि महाशिवरात्रीको दिनमा नै शक्तिपात दीक्षा लिने निश्चय गरें । मेरोनिम्ति बगलामुखी दीक्षा लिनु पर्छ भन्ने गुरू बचन भयो । कारण म समस्यामा जेलिएको थिएँ । त्यो बेला मेरो ग्रह दशा राम्रो चलिरहेको थिएन । पंडितजन त्यस्तै भन्थे । फटाहा ,फोहरी र घिन नमान्नेहरूले नाजायज फाइदा लिन नपाएकोमा मलाई भ्रष्टाचारको झुट्ठा मुद्दामा फँसाएका थिए । उपायको खोजिमा म बनारस पुगेको थिएँ । अध्यात्मको सहारा लिन ।

२ डाक्टरलेझैं पूर्जी दिए ।

पुगेको भोलिपल्ट धेरै जसो मानिसहरू गुरूलाई भेट्न होटलमा गए । हामी पनि गयौं । अाधी घंटाको प्रतिक्षापछि भेट्ने पालो अायो । समस्या बताएँ । गुरूको माइला छोरा कैलाशचन्द्र श्रीमालीले भन्नु भयो – “ दोनो हात दिखाअो ।“ तुरून्तै देखाएँ । पुनः वहाँले भन्नु भयो “ चरण प्रणाम करो “ । अर्थ थियो -खुट्टामा ढोग । म अचम्म माने । मन अलमलमा प-यो । अनायासै ढोग्नु पर्दा अात्तिएँ । मैले यसरी कसैलाई ढोगेकै थिएन, जीवनमा । अामाबुबा मेरो चेतना नफुर्दै बितेका हुनाले गोडामा ढोक्नै परेको थिएन । केही प्रतिक्रिया गरिन ,मैले । पहिले गुरूलाई ढोगें । अर्को पल्ट वहाँको छोरालाई । गुरूले डाक्टरलेझैं पूर्जी दिए । लेखिएको थियो – बगलामुखी । मन दुविधामा प-यो । किन ढोगाए मलाई ? हुन त अरूहरूले पनि लम्पसार परेर ढोगी नै रहेका थिए । किन हात देखा भने मलाई ?

( ३ ) बनारसमा गुरू भेट्टाएँ ।
सन् १९९७ ( विसं २०५४ ) महाशिवरात्रीको दिन बगलामुखी शक्तिपात दीक्षा लिने भएँ । प्रातः स्नान गरी मन,बचन र कर्मले शुद्ध भएर दीक्षाको लाईनमा बसें । मन शान्त थियो । कुनै नकारात्मक सोच थिएन, मस्तिष्कमा पनि । अरूले चीया पिए । मलाई पनि पिए हुन्छ भने । तर मन मानेन । पानी पनि बारें । रूघा भने मच्चिएर लागेको थियो । महाशिवरात्रीको पावन दिनमा दीक्षा लिन अवसर पाएकोमा म खुसी थिएँ ।
गुरूले शक्तिपात दीक्षा दिदा वहाँको अाँखामा हेरी रहनु पर्ने बताइयो । दीक्षा पश्चात गोडामा ढोग्न हुन्न भन्ने पनि सिकाइयो । तर धेरैले ढोगेको देखें । मेरो पालो अायो । गुरूले मेरो अाज्ञा चक्रमा बुढी अौंलाले तलमाथि गरेर घोट्नु भयो । मैले अाफ्ना दुबै अाँखा गुरूको नजरसंग जुधाई राखें । निर्मल राजभण्डारीले फोटो खिचे । मैले बगलामुखी दीक्षा पाएँ । मलाई दीक्षा प्रदान गर्ने ब्यक्तित्व थिए – डा.श्री नारायणदत्त श्रीमाली । बनारसमा गुरू भेट्टाएँ ।

४ श्रद्धापूर्वक लिएको दीक्षाकै पहिला परीक्षा गर्नु जरूरी छ भन्ने अडान लिएँ ।
दीक्षा कार्यक्रम सकिएपछि शिव भजन एवं गुरू भजन प्रस्तुत हुन थाल्यो । शिव नाट्यहरू बनारसकै कलाकारहरूले प्रस्तुत गरे । वीच-वीचमा गुरूज्यूबाट अाशिर्वचन र विभिन्न किसिमका शक्तिपात दीक्षा प्रदान हुंदै गयो । दीक्षाकोलागि पहिलेनै पूर्जी काट्नु पर्दथ्यो । विशेष दीक्षाको विशेष मुल्य चुकाउनु पर्थ्यो । मैले पनि बगलामुखी दीक्षाकोलागि भारू तिन हजार एकसय बुझाएको थिएँ । मेरी संगिनीले पनि दीक्षा लिईन् । गुरू च्यादर, जपमाला र गोमुख, गुरू चित्र र मन परेको साहित्य खरिद गर्दा हाम्रो खर्च सकिन लाग्यो । हाम्रो जस्तो हालत अरूहरूको पनि रहेको चाल पाईयो ।

( ५ ) कार्यक्रम संचालकले अनेक समस्याका समाधाननिमित्त चत्कारिक दीक्षाहरूको घोषणा गर्दै गए । रेटमा थोरै छुट दिन थालियो । दीक्षा लिन लालायितहरूले सुनारको पसलमा गएर अाफ्ना गहना बेच्न पनि शुरू गरे । कमलाले पनि एक-दुई गहना बेच्ने इच्छा गरिन् । मैले भीटो लगाएँ । श्रद्धापूर्वक लिएको दीक्षाकै पहिला परीक्षा गर्नु जरूरी छ भन्ने अडान लिएँ । हामीवीच नमीठो विवाद पनि भयो । हामीसंग फर्कने भाडा र बाटोमा चीया पिऊने खर्च मात्र थियो । बुटवल र तानसेनबाट सहभागी केही महानुभावहरूले प्रायः सबै जसो दीक्षा थापे । डोकोभरी नोट ल्याएर निधारभरी दीक्षा थापेको दृश्य देखेर म जिल्ल परें ।

( ६ ) बुद्ध धर्मको हाराहारीमा यो कार्यक्रम विस्तार हुनसक्छ

मंडाकिनी मैदानमा लगाइएको पंडालमा खचाखच भरिएको थियो। निरन्तरको भजन र गुरूको संभाषणले कार्यक्रममा पूर्ण अध्यात्म रसले भरिएको थियो । मनबाट दुःख,पीर र बाधाहरू हटेको अनुभव हुन्थ्यो । सांसारिक मोह बन्धनबाट मुक्त भएको जस्तो भान पर्थ्यो । सहभागीहरू अापसमा शिवीरको भब्यताबारे चर्चा गर्थे । मैले पनि अाफ्नो विचार राखें – यस्तो अध्यात्मिक कार्यक्रमले ब्यापकता पाउन सके मानव कल्याणमा थप अायाम थपिने छ । बुद्ध धर्मको हाराहारीमा यो कार्यक्रम विस्तार हुनसक्छ । तर शिविर अायोजक र गुरूका सहयोगीहरूले कार्यक्रमलाई द्रब्यप्रधान नबनाअोस् । ( क्रमशः)

( ७ ) अाध्यात्मिक कार्यक्रमले ब्यक्तिको जीवनको केही पक्षमा रूपान्तरण ।

बनारस शिविरमा अन्तराष्ट्रिय सिद्धाश्रम साधक परिवारको अाध्यात्मिक कार्यक्रमले ब्यक्तिको जीवनको केही पक्षमा रूपान्तरण / परिवर्तन ल्याएको चर्चा सुनें । साँचो रहेछ । केही महानुभावहरूलाई मैले पहिल्यैदेखि चिनेको थिएँ । ती मैले अादर गर्दै अाएका पनि थिए । उनीहरू धार्मिक भए छन् । उनीहरू मनकारी भए छन् । दाता पनि हुन थालेछन् । सामाजिक पनि भएछन् । सामाजिक उत्तरदायित्व बहन गर्ने भएछन् । पहिले जड थिए । सरल भएछन् । मलाई खुसी लाग्यो । तर मेरो बुद्धिले केही अपाच्य पक्ष पनि देख्यो ।

( ८ ) “ जितना लुट सको तो लुट लो । “

तर मेरो बुद्धिले केही अपाच्य पक्ष पनि देख्यो । पहिला त सोचें, मेरो भ्रम होला भनेर । मेरो सोचाइ निष्कर्षमा पुग्यो । डा. श्रीनारायणदत्त श्रीमाली मन्त्र तन्त्र यन्त्र विज्ञान र ज्योतिषशाश्त्रका स्थापित ब्यक्तित्वलाई ऊँचाइमा पु-याउन उनका शिष्य, अनुयायी र अायोजकले गरेको कार्यकलाप अतिशयोक्तिपूर्ण लाग्यो । केही सहभागीहरू पटक-पटक नारा घन्काउँथे । उदघोषक केही समयको अन्तरालमा विभिन्न सांसारिक समस्या समाधान गर्ने शक्तिपात दीक्षा घोषणा गर्थे । सहुलियतकासाथ दीक्षा प्रदान गर्न डा.श्रीमालीलाई अनुनय विनय गरी चरणमा ढोग्थे । दीक्षा प्रदान गर्दै जाँदा वहाँ लखतरान हुन्थे । पहिलो पटक सहभागी भएकोले होला म चकित परें । म बिरक्त भएँ । अाफ्नो समापन अाशिर्वचन मन्तब्यमा डा.श्रीमालीज्यूले अाफु संसारमा दुई वर्ष अरू रहने हुंदा जति दीक्षा लिई लाभान्वित हुने हो होऊ भने । वहाँ कै बोलीमा यस्तो बोल्नु भएको थियो – “ जितना लुट सको तो लुट लो । “ उच्चतम मर्यादाकासाथ महाशिवरात्रीका दिन बगलामुखी दीक्षा थापेको मान्छे – म बिद्रोही हुन पो थालें । अर्को दिन बिहान सबेरै अापसमा भेटघाट हुंदा “ जय गुरूदेव । “ भनेर अभिवादन गर्थे सहभागीहरू । मैले भन्न थालें – “ जय पशुपितनाथ ।“

( ९ ) कुनै महात्माले “ छु मन्तर “ गरेर कोही पनि समस्या मुक्त हुंदैन

बनारस शिविरको केही कृत्रिमताले मलाई ब्यक्तिगत रूपमा चित्त बुझेन । एक वर्ष पहिले भाग लिई सकेकी परिवार कमला र मित्र जमूना राजभण्डारीको परामर्शमा म भाग लिन गएको थिएँ । मलाई शिविरको माहौलबारे स्पष्ट बताउन नसकेकोमा कमलासंग असन्तोष जनाएँ – “ जीवनमा गर्नु पर्ने संघर्ष गर्न म सधैं तैयार हुन्थें, छु पनि। कुनै महात्माले “ छु मन्तर “ गरेर कोही पनि समस्या मुक्त हुंदैन । भोग्नु पर्ने कुरा त भोग्नै पर्छ । मैले नैतिकता पालन गरेकै छु। शिक्षा क्षेत्रमा निःस्वार्थ सेवा गरिरहेकै छु । ईमान्दारीता पालन गरेकै छु । कुअन्न खाएकै छैन । बाबुको सम्पत्ति त खानु परेन भने अरू कसैको त के कुरा ? अाफ्नै पौरख खाने हामीलाई कस्को अपुताली खानु छ र,अब ? मानिस अज्ञान छन् । केही न केही न अभावले पीरोलिएका हुन्छन् । छिटो समाधान चाहान्छन् । लोभमा पर्दा बिपत पनि अाई पर्छ । मलाई यस्तो जालोमा पर्नु छैन । ”

( १० ) कसै कसैलाई गुरू दीक्षा पश्चात बिद्रोही बनाउँछ ।

काशी / बनारस स्थित पवित्र गंगामा स्नान , काशी विश्वनाथको दर्शन, संकटमोचन हनुमान मन्दिरमा पूजन र विभिन्न मठ मन्दिरको दर्शनको मीठो संझना लिएर हामी घर फर्क्यौं । तर मनमा शिविरको टर्रो सम्झना बाटोभरि नै मथिंगलमा रह्यो । केही सहयात्रीहरूले मेरो तीखो प्रतिक्रिया प्रति सकारात्मक सोचाइ राखी भने – कसै कसैलाई गुरू दीक्षा पश्चात बिद्रोही बनाउँछ । यो नराम्रो लक्षण होइन । कमलालाई मैले भने , “ बुटवल पुगेपछि गुरू च्यादर, जप माला,पोष्टर,कुमकुम र साहित्य सबै सिद्धबाबाको मन्दिरमा समर्पण गरिदिन्छु । यो धर्म मान्ने होइन । चाहियो भने रामनामी च्यादर पशुपतिनाथ मन्दिरमा किनौला । “

( ११ ) गुरूको तसबीर यथास्थानमा रहन दिएँ ।

बनारस शिविरको उहापोह बोकेर बुटवल अाईपुगेको भोलिपल्टै विहान गुरू च्यादर, जप माला,पोष्टर,कुमकुम र साहित्य सबै बोकेर सिद्धबाबा मन्दिर गएँ । ती सामग्री बनारसबाट ल्याएको भनी त्यहाँको पूजारीलाई दान गरें । कमलाले मलाई रोकिन् । तर मैले अाफ्नो हठ छाडिन । कमला चुपचाप बसिन् । कुनै प्रतिवाद गरिनन् । मनमा दुविधा त रही रह्यो । हामी काठमाण्डौं घर अाई पुग्यौं । घरको पूजा कोठामा कमलाले एक वर्ष पहिले बनारसैबाट ल्याएको गुरूको सन्यासी तसबीर थियो । त्यसलाई पनि बागमती नदीमा प्रवाहित गरिदिन्छु भनेर त्यो तसबीर निकाल्न खोजें । निकालौं कि ननिकालौं भनेर अलमलमा परें । मनै भित्रबाट प्रेरणा अायो । पूजा गर्दै अाएको तसबीर निकाल्न उचित हुंदैन । फूल अक्षता यस तसबीरलाई पनि चढाउंछु । ( क्रमशः )

( १२ ) सपनामा अाफूलाई गुरू मन्त्र जपिरहेको पाउँथें ।

गुरूको सन्यासीरूपको तसबीर पूजा स्थलबाट नहटेकोमा कमलालाई केही सन्तोष भयो । मलाई पनि हटाउन मन नलागेकोबारे उनलाई बताएँ । तर मेरो मनमा अाज्ञाचक्रमा ( निधारमा ) दीक्षा थापेर मात्र समस्याको समाधान हुंदैन । कर्म गर्नै पर्दछ । म ब्यक्तिगतरूपमा धर्म,सनातन परम्परा,सन्त महन्त महात्मा र धार्मिक साहित्यमा सापेक्ष रही अाएको थिएँ , छु। तर कुनै पनि कुराको अन्धानुशरण गर्ने बानी भने थिएन । अात्म निरीक्षण र वस्तुगत परीक्षण पश्चात नै ठीक बेठीक छुट्याउने गर्दछु । यो प्रबृत्ति निश्चयनै शिक्षण पेसाले बसाएको हो । धेरै लामो समयसम्म मनमा शंका छाइरह्यो । गुरू मन्त्र जपिन । जप्ने माला माला अादि मैले परित्याग गरिसकेको थिएँ । तर सपनामा अाफूलाई गुरू मन्त्र जपिरहेको पाउँथें ।

( १३ ) सपनामा पनि गुरू दीक्षा ?

सपनामा गुरू मन्त्र जप्नुलाई मैले कुनै महत्व दिएको थिएन । वास्ता पनि गर्न छाडे । तर त्यो जप्ने क्रम छुटेन । गुरू दीक्षा एवं बगलामुखी शक्तिपात दीक्षालाई पनि विश्वास गर्न छाडें । केही दिनको ग्यापपछि सपनामा गुरू मन्त्र जप गर्ने क्रम चल्न थाल्यो । यो मलाई हैरान गर्ने क्रम बन्दै गयो । मैले त्यागी सकेको अास्था जागृत भयो । नकारात्मक सोंचमा अलि – अलि सकारात्मक हुन थाल्यो । झण्डै ६ महिनापछि अनुभूति भयो । विहानको समयमा गुरूदेवबाट मलाई गुरू दीक्षा प्रदान गर्नु भयो । म पहेंलो धोती र च्यादर अोढेको थिएँ । म गुरूदेवको सामुन्ने बसेको थिएँ । वहाँले दीक्षा दिनु भयो । झल्याँस बिउँझें । समय हेरें साढे ४ बजेको थियो । अरे, यो के ? सपनामा पनि गुरू दीक्षा ?

( १४ ) मैले छाडेको गुरू शक्तिले मलाई छाडेन ।

सपना देख्नु र सपनामा अाउने दृश्यहरूले ब्यक्तिको जीवनमा केही प्रभाव पार्छ कि पार्दैन भन्ने कुरामा मतान्तर छ। सपना अतृप्त मनोभावनाको परिपुरकको रूपमा अाउने गर्दछ । कुनैबेला सपनाले भविश्यमा अाईपर्ने परिणामलाई अग्रिमरूपमा प्रदर्शित गर्ने गर्दछ । सपनाले वर्तमान जीवनलाई भविष्यमा हुन अाउने क्रियाकलापसंग पनि समन्वय गराउँछ । वर्तमान र भविष्यकोबीच सेतु पनि बन्छ ,सपना । सपनाले वर्तमानलाई भविष्यसंग जोड्ने संकेत दिन्छ । परन्तु सपनाका संकेतहरू बुझ्न र विश्लेषण गर्न सक्नु पर्दछ । सपनाका नतिजाहरू सकारात्मक वा नकारात्मक हुन सक्छन् ।

विपनामा पाएको दीक्षामाथि मलाई विश्वास थिएन । यसर्थ सपनामा गुरूदेवबाट दीक्षा पाएँ । गुरू एक शक्ति हो,ब्यक्ति हैन । त्यो शक्तिले नै अाफू प्रमाणित हुन खोज्यो । मैले छाडेको गुरू शक्तिले मलाई छाडेन ।