(१५५) सुन जस्तो सालको काठ साटेर लाभ लिन खोज्ने जिल्ल पर्यो ।
शिक्षण जीवनका अनुभवहरु
२०७२ भाद्र ११ गते शुक्रवार
२०४८ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो । गुह्येश्वरी माविलाई २०० क्युविक फिट काठ निकासा दिने निर्णय भयो । टिम्बर कर्पोरेसन ललितपुरबाट काठ निकासा भयो । स्थानीय एक मिलमा चिरान गरियो । त्यो काठ जस्तै लाग्दैन थियो । त्यो सुन चिराएको जस्तो भान पर्थ्यो । वि. सं. स. संरक्षक समेतको रोहबरमा विद्यालयमा ढुवानी गर्ने क्रममा एक जनाले -याल चुहाउँदै प्रस्ताव राखे ,”यो काठ दामी छ , यस्लाई मिलमा साटेर अर्को लैजाऔं । हामीलाई दुख गरेको केही चाहिन्छ ।” एकले अर्काको मुख हेर्यौं । संरक्षकले भने, ” निकृष्ट ।” लाभ लिन खोज्ने जिल्ल पर्यो । मुख कालो भयो ।
बाँकी भएका काठ चिरान गरी विद्यालय ल्याउन मिलमा दुई जना, बाटोमा दुई जना र ट्रकमा पनि दुई जनाले पहरा दिंदै चार दिन लगाएर काठ सही सलामत विद्यालयमा ओसार्यौं ।त्यो काठमा घपला गर्ने इच्छा राख्ने सदस्य हामीलाई सघाउन आएनन् ।( क्रमश:…)
(१५४ ) विद्यालय निर्माणमा लोभी पापीहरु परास्त भए
( शिक्षण जीवनका अनुभवहरु )
२०७२ भाद्र १० गते विहिवार
सन्दर्भ २०४७ चैत देखि २०५० मंसीर सम्मको हो । काठमाण्डौंको सिनामंगल स्थित गुह्येश्वरी माध्यमिक विद्यालयको प्र.अ.मा कार्यरत थिएं ।हवाई विभागले अधिकरण गरेको विद्यालयको ठाउँमा नयाँ भवन बनाइ विद्यालय सार्नु थियो ।विद्यालयमा संचालक समिति थियो । तर २०४६ सालको परिवर्तनपछि आफूलाई नेपाली काँग्रेस भन्ने स्व-मनोनित / स्व-घोषित अध्यक्ष र उनका पकेटका २ सदस्यले स्वैच्छिक निर्णय गराउन खोज्थे । पूर्व पंचहरु र नेकपा ( एमाले ) पनि थिए । अध्यक्ष र उनका पिछलग्गूहरु नाम मात्रको विद्यालय बनाइ लाभ लिने अपेक्षा राख्थे । ठेकेदार चयन,रोडा ,ढुंगा,सीमेन्ट,काठ डण्डी आदि निर्माण सामग्री खरिद जस्ता प्रकरणमा अनेक प्रकारले प्रभावित पार्न खोज्थे । पंचहरुको समूह मुआब्जा रकम शतप्रतिशत सदुपयोग हुनु पर्ने भनी खबरदारी गर्थे । वापन्थी खेमाकाहरु असल काम भए मात्र समर्थन रहने भन्थे ।समितिका सदस्यहरुको परीक्षण गर्नै मलाई ६ महिना लाग्यो । “सुन तौलनु बारम्बार मान्छे तौलनु एक बार ।” भन्ने उखान अनुसार साँच्चिकै विद्यालय निर्माण गर्ने मानसिकता राख्ने खेमाको पक्ष लिएँ, मैले । ( क्रमश: …)
शिक्षण जीवनका अनुभवहरु (१५३ )
२०७२ भाद्र ९ गते बुधवार
समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन ।
बहुप्रतिक्षित संविधानको मस्यौदा विधयक संविधान सभामा छलफल जारी छ । कैलालीको टीकापुरमा भएको अमानवीय हिंसात्मक बिउ तराईको पूर्व र पश्चिम तर्फ फैलंदैछ ।शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गर्दा पनि तोडिने प्रयास भईरहेको छ । कतै गोली चलेको छ । नेपाली सेनामाथि जनताको भरोसा छ । अवाँक्षित गतिविधि नियन्त्रण गरी देशको अखण्डता अक्षुण्य राख्ने दायित्व सेनामा हुन्छ, अन्तत्वगत्वा ।महाभूकम्पमा नेपाली सेनाले विपदमा परेका नेपालीको उद्वार गरेको ताजा नै छ ।नेपालीले सेनाको सम्मान स्वरुप सलाम गरेको थियो ।
नेतागणले आम नेपाली जनताको आत्माको आवाजलाई उच्चतम दरमा संविधानमा समावेश गर्नु पर्दछ । आत्मसंतुष्टि र आ-आफ्ना भोट बैंककोलागि सिमाँकन प्रभावित गर्नु कदापि हुंदैन । विवादित विषयलाई जनमत संग्रहमा लैजानु पर्दछ ।कसैको प्रलोभनमा नपरी नेपाली मात्रको दीर्घकालीन हितकोलागि संविधान बनाउन बल लगाउनुस् । होस्ते भन्नुस्, जनता हैंसे भन्छन् । विगतमा वा अनजानमा लोभीपापी मनलाई शान्त पार्न केही योगदान भएको भए प्रायश्चित गर्न आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जानुस् । आशुतोष भगवानले क्षमा र सदबुध्दि प्रदान गर्नु हुंने नै छ । समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन । हजारौं हजार जनताको वलिदान भई सकेकोछ , अब कसैले वलि चढ्न नपरोस् ।
शिक्षण जीवनका अनुभवहरु (१५२ )
२०७२ भाद्र ८ गते मंगलवार
टीकापुर घटना : शान्तिपूर्ण आन्दोलनको मर्म विपरित
२०७२ भाद्र ७ गते सोमवारका दिन कैलाली जिल्लाको टीकापुरमा प्रहरीहरुमाथि जुन बरबर्तापूर्ण हमला भयो त्यो नितान्त निन्दनीय छ । त्यो शान्तिपूर्ण रूपमा हुंने भनिएको आन्दोलनको मर्म विपरित सिद्ध भएको छ । सीमाँकनको विषय लिएर धेरै दिनदेखि आन्दोलन भई रहेको थियो । त्यसले त्यो विभत्स रुप लेला भन्ने पूर्वानुमान थिएन । हाम्रा नेताहरु संविधान सभाको टेवुलमा बसेर निर्णय नगरी कोठा कोठामा बसेर मनमाना गर्ने बानीले गर्दा यो असंतोषको परिणाम् गोचर भएको हुनु पर्छ ।
संविधानमा जन्मने वेलाको प्रसव पीडाले आमा र शिशु दुबैलाई सुरक्षित अवतरण गरावस् भन्ने कामना गर्दछु ।
It is about academic writing, travelogue, gajals, blog, stories & poems etc.