शिक्षण जीवनका अनुभवहरु (७२ )
२०७२ जेष्ठ १४ गते विहीवार
मान्छेलाई मान्छेबाट छुट्याउने धर्म त मान्छे बाँचे पछि मात्रै बन्ने रहेछ ।
म शुद्र भनी अलग्ग बसेको ,खाना थापेको देखिएन । अभिजात्य वर्गले आफ्नो स्थान सुरक्षित गराएको, गरेको देखिएन ।सबै बराबरी । सबै सराबरी ।सबै प्राण रक्षार्थ शरणार्थीको रुपमा ।त्यहाँ काँग्रेस,एमाले, एमाववादी, नेकपा वैद्य, चन्द, राप्रपा, फोरमहरु,जनजातीय र आदिवासी आदि इत्यादि राजनैतिक झण्डा,रंग,गन्ध अनि सुवासधारी कुनै मान्छे छुट्टिएन । सबकासब पीडित,भूकम्प पीडितका रुपमा देखिए । त्यहाँ धेरै दिनसम्म कुनै राजनैतिक पार्टी देशमा छ भन्ने आभाससम्म भएन कसैलाई । मात्र त्रसित भयभीत नेपाली जनता । प्राकृतिक साम्यवाद !
अर्को एउटा चित्र पनि देखियो । त्यहाँ कुनै फरक फरक धर्महरुले विभेद गरेको पाइएन ।एउटै ठाउँमा देखिए-हिन्दू , बौद्ध , जैन , शीख, ईसाई, मुस्लिम ।सर्व धर्म समन्वय भएको अवस्था । सबैको एउटै उद्देश्य – जीवनको रक्षा ।यही नै हो प्राकृत धर्म, सायद ! मान्छेलाई मान्छेबाट छुट्याउने धर्म त मान्छे बाँचे पछि मात्रै बन्ने रहेछ । सबै त्रसित थिए एउटै संग- भूकम्पको कम्पन,पराकम्पनसंग ।सबैले एउटै कुरा गरेको देखियो खुल्ला ठाउँको आवश्कता । टुंडिखेल जस्तो ।
यस्तै परिदृश्य अन्य खुल्ला स्थानहरुमा शरणागत जीवनहरुमा पनि देखिन्थ्यो ।