(१०५) आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।

शिक्षण जीवनका अनुभवहरु ( १०५ )

२०७२ असार २२ गते मंगलवार

आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।

त्येतिबेला कक्षा कोठा ७०-८० जना विद्यार्थीले भरिएका हुन्थे ।शिक्षकहरुले ठूलो  स्वरमा चिच्चाइ -चिच्चाइ पढाउनु पर्दथ्यो । शिक्षण विधि थियो – lecture / प्रवचन विधि । शैक्षिक सामग्री केही मात्रामा हुन्थ्यो । मैले किताब र कालोपाटी प्रयोग गर्नु पर्थ्यो । मैले विद्यार्थीहरूलाई पनि जीवन्त शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्थें । भारतीय अखवार “आज”, पत्रिकाहरू “धर्मयुग” ,”दिनमान”,”नवनीत ” र “सरिता” आदि पढ्दा नयाँ विधि सिक्थें ।यद्यपि म नयाँ र काँचो शिक्षक थिएं । तर आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।

(१०४) त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो ।

शिक्षण जीवनका अनुभवहरु ( १०४ )

२०७२ असार २१ गते सोमवार

त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो ।

विक्रम शम्बत २०२७ मा म पहिलो पटक शिक्षक पदमा नियुक्ति भएं । विद्यालय थियो बुटवलको नि:शल्क अनिवार्य प्राथमिक पाठशाला संख्या नं.  १ ( हालको कालिका माध्यमिक विद्यालय ) । तत्कालिन बुटवल -खस्यौली नगर पंचायतले ५ वटा नि:शुल्क प्राथमिक विद्यालयहरु संचालन गरेको थियो । यो कार्यक्रम नेपाल अधिकाज्यमा नै पहिलो नमूना थियो । मैले ३ ,४ र ५ कक्षालाई अंग्रेजी र विज्ञान पढाउने ज़िम्मेवारी पाएँ । पहिलो दिन पहिलो कक्षा ४ लाई पढ़ाएँ ।छात्राको संख्या कम र छात्राको संख्या धेरै ।  ४० – ४५ मिनट समय वितेको पत्तो नै भएन । पहिलो दिनमै विद्यार्थीहरुसंग घुलमिल भएँ । तर त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो । शिक्षक भनेपछि विद्यारथीहरु डराउँथे,टाढै बस्थे । शिक्षकले प्रश्न गर्दा उनीहरु  जवाफ दिन पनि हिचकिचाउँथे । मौन रहन्थ्यो, कक्षाको वातावरण । 

(१०३) शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।

शिक्षण जीवनका अनुभवहरु ( १०३ )

२०७२ असार २० गते आईतवार 

शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।

शिक्षण र सिकाइ तन,मन र मस्तिष्को एकाग्रचित्त अवस्थामा मात्र प्रभावकारी हुंनसक्छ । शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।बिद्यार्थीले तन,मन र मष्तिष्क लगाएर पढ्नु पर्छ । आजकाल दुबैको अवस्था नाज़ुक छ । विद्यार्थी ” Teacher friendly” छैनन् । शिक्षक एक हदसम्म ” Student friendly” भने छन् ।एस.एल.सी.मा धेरै प्रतिशत अनुत्तीर्ण हुने रहस्य मनयोगकासाथ अध्ययन नगर्नु नै हो ।

(१०२) शिक्षणमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।

शिक्षण जीवनका अनुभवहरु ( १०२ )

२०७२ असार १९ गते शनिवार 

शिक्षणमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।

अध्यात्म प्रवचनहरूमा सन्त,महन्त र महिषीहरु भन्छन् –

आत्मालाई प्रकाश प्यारो हुन्छ । मनलाई अंध्यारो प्यारो हुन्छ । सामाजिक कार्य कुनै आत्माको खुसीकोलागि गर्नु पर्दछ । परमात्मा मेरो नजिकै उपस्थित छन् । मनको खुसी भन्दा आत्माको खुसीकोलागि काम गर्नु पर्दछ । गरें । त्यही गरें । मलाई यस्तै जुर्न आयो । आत्मा दीर्घकालीन उपलब्धि चाहन्छ । मन क्षणिक सुख खोज्दछ । हाम्रो शरीरमा आत्मा र मनको बीच द्वन्द भई रहन्छ ।यो द्वन्द आत्माले नै जितेको राम्रो हुन्छ । मलाई पनि त्यस्तै लाग्यो । आत्माको आदेश अनुसार सामाजिक लाभकोलागि काम गरें । भौतिक लाभकोलागि गरिन । चार दशक भन्दा लामो समय शिक्षण क्षेत्रमा अर्पण गरें । त्यसमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।

(१०१) शिक्षक नेताहरुले अवसरवादको लाभ पाए वा लिए ! 

शिक्षण जीवनका अनुभवहरु ( १०१ )

२०७२ असार १८ गते शुक्रवार 

शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए ! 

शिक्षकका दीर्घकालीन हित हुने हक अधिकार स्थापित गराउन शिक्षक नेताज्यूहरु ठाउँ-ठाउँमा चुके । शिक्षक बढुवा र श्रेणी निर्धारण गर्दा माध्यमिक शिक्षकको बढुवा प्रथम श्रेणीसम्म मात्र हुने गरी संशोधित शिक्षा एेन ,नियम स्वीकार गरे । निजामती कर्मचारी विशिष्ट श्रेणी ( सचिव / मुख्य सचिव ) सम्म बढुवा भई नीति निर्माणको दायित्व वहन गर्न पाउँछन् । उनीहरुको सेवा सुविधा पनि विशेष प्रकारका हुन्छ ।तर शिक्षक भने विशिष्टसम्म पुग्ने प्रावधान नै छैन । उपल्लो दर्जाको शैक्षिक योग्यता भएका, तालिम प्राप्त , दीर्घ अनुभव संगालेका सक्षम प्रथम श्रेणीमा शिक्षक ९ / १० वर्षसम्म शिक्षण गरी सेवानिवृत्त हुंन बाध्य भएका छन् । यो अति नै खेद जनक अवस्था रहेकोछ । गुरू वर्गले पढाएका शिष्य भने विशिष्ट श्रेणीमा बढुवा हुन पाउने, गुरू भने हावा खाएर बस्न बाध्य । लालफ़ीताशाहीहरूले शिक्षकलाई सधैं आफु भन्दा मुनि नै राखेर शासन गर्ने अभीष्ट पूरा गरे । शिक्षकका नेताहरू सधैं नोकरशाही प्रशासनको चम्चे भएर फुलेल भए । उनीहरू हीनताबोधको शिकार भए वा उनीहरू स्वयंमा उच्च पदमा पुगेर सेवा गर्ने  क्षमताले कमी थियो । शिक्षक नेताहरूले शिक्षकको गरिमा बढाउने अवसर पठाउँदा पनि अवसरवादको लाभ पाए वा लिए ! 

(१००) शिक्षक नेताहरु बारम्बार चुके शिक्षकको हक अधिकार स्थापित गर्न ।

शिक्षण जीवनका अनुभवहरु ( १०० )

२०७२ असार १७ गते विहिवार

शिक्षक नेताहरु बारम्बार चुके शिक्षकको हक अधिकार स्थापित गर्न ।

नेपालको शिक्षा क्षेत्रमा सशक्त जनशक्ति उत्पादन गर्नमा आफ्नो बुद्धि,विवेक र सिर्जना शक्ति लगानी गर्ने शिक्षक समुदायको आर्थिक स्तर, पदोन्नति र सुविधा बृद्धि गर्नमा ब्यूरोक्रेट्सहरु( नीति निर्माण तहमा पदासिन हुने ठूला कर्मचारी वर्ग ) ले त शिक्षकलाई सधैं दोस्रो दर्जाको नागरिक बनाउन सफल भएकै छन् । बिडम्बना त यस कुराको छ कि शिक्षकका विभिन्न पेसागत संघ र संगठनका नेताज्यूहरु बारम्बार शिक्षकहरुको हक अधिकार स्थापित गर्न असफल भएका छन् । समान तलबमान त २०२८ सालमा लागू भएको नयाँ राष्ट्रिय पद्धतिको शिक्षा योजनाले व्यवस्था गरेकै थियो । सरकारी कर्मचारी सरह संचयकोष कट्टा गर्ने सुविधाकोलागि २०३६ सालको शिक्षक आन्दोलनले एतिहासिक सफलता पाएको सर्व विदितै छ ।

त्यसपछिको केही आन्दोलन अस्थायी शिक्षकलाई स्थायी बनाउने, रोकिएको आयोगको परीक्षाफल प्रकाशित गराउने,दरवन्दी थप गर्ने र समितिहरुमा शिक्षकको प्रतिनिधित्व गराउने जस्ता माग पूरा गराएको देखिन्छ । ( क्रमश: )

(९९) निजामति कर्मचारी र सामुदायिक शिक्षकमा विभेद

शिक्षण जीवनका अनुभवहरु ( ९९ )

२०७२ असार १६ गते बुधवार

निजामति कर्मचारी र सामुदायिक शिक्षकमा विभेद

असार ८ गतेदेखि ११ गतेसम्म Civil Service Hospital ( निजामति कर्मचारी अस्पताल ) मिनभवन,काठमाण्डौंमा परिवारको उपचारनिम्ति गएको थिएँ । मित्र राष्ट्र चीन सरकारको सहयोगमा निर्मित यो अस्पताल तत्कालीन प्र.मं. माधव कुमार नेपालले २०६६ सालमा उदघाटन गरेका थिए । 

यो अस्पताल राम्रो ब्यवस्थापन, नयाँ उपकरण र योग्य डाक्टरहरु कार्यरत रहेको मानिन्छ । यस्मा लाग्ने उपचार खर्च पनि विरामीको पहूंच भित्र पर्ने मानिन्छ । यसै आधारमा हामी त्यहाँ गयौं । दिनको दुई शिफ्ट सेवा प्रदान गर्ने  र ३ बजेदेखि पे-क्लीनिक पनि २५० /- शुल्कमा सेवा प्रदान गर्दछ । हामीले लिएको सेवाबाट हामी सन्तोष नै भयौं । 

तर शुल्क र दवाई आदिमा सरकारी कर्मचारीले सहूलियत पाँदारहेछन् । मलाई पनि सोधियो, ” तपाई कर्मचारी हो ?” ” सरकारी शिक्षक हौं । सामुदायिक विद्यालयका शिक्षक । सरकारी तलब भत्ता र पेन्सन खाने !”, मैले जवाफ दिएं । “त्यसो त हुन्न । निजामतिको परिचय पत्र नै चाहिन्छ ।”, बिलिंगका कर्मचारीले जवाफ दिए ।

म वाल्ल परें । जिल्ल परें । भने,” तपाईको सरकारले विभेद गर्छ । सैनिककोलागि खोल्छ, छुट्टै अस्पताल ।

प्रहरीकालागि बनाउँछ, अलग्गै अस्पताल । सरकारी कर्मचारीकोलागि बनाउँछ ,बेग्लै अस्पताल ।भोलि सुकुम्बासी र सडक वालवालिकाकोलागि पनि बनाउला भिन्दै अस्पताल । हामी शिक्षककोलागि भने , राम जाने । भगवान भरोसा, बाबै ।”

(९८) विद्यार्थीको सफलता नै गुरुको सफलता हो ।

शिक्षण जीवनका अनुभवहरु ( ९८ ) 

२०७२ असार १५ गते मंगलवार

विद्यार्थीको सफलता नै गुरुको सफलता हो ।

हिजो फेस बुकको मेसेन्जरमा यस्तो सन्देश आयो ।

“Love सर नमस्ते ,ज्ञानोदय रात्रि मा.वी मा तपाई ले पढाउनु भएको इंग्लिश ले गर्दा आजमा क्यानाडा मा सफल छु |”  Dinesh Oli

मेरा विगतका विद्यार्थीले यस्तो फेस बुकमा लेखी पठाउँदा उनीहरुले मबाट केही सिकेका रहेछन् र मैले पनि केही सिकाएको रहेछु भन्ने अनुभूत गरेको छु ।

(९६) एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( ९६ )

२०७२ असार ९ गते बुधवार

एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ ।

अरुचिकर, अभाषिक र अव्यवहारिक विषयको पठनपाठनको कारणले एसएलसी परीक्षामा अनुत्तीर्ण हुंनेको संख्या बढ्ने कुरा ब्लग नं. ९५ मा उल्लेख गरें । 

॥ १ ॥ एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ । जस्तो कि यदि निजी बोर्डिंग स्कूलमा पढाउने शिक्षक / परीक्षकले सामुदायिक स्कूलबाट परीक्षा दिने विद्यार्थी / परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण ग-यो भने त्यो परीक्षार्थीले कम अंक पाउँछ । किन कि त्यस परीक्षार्थीले नेपाली भाषामा उत्तर लेखेको हुन्छ । बोर्डिंमा नेपाली भाषा बाहेक अन्य विषय अंग्रेजी माध्यममा पढाइन्छ । अंग्रेजी माध्यममा पढाउने शिक्षकले  नेपाली माध्यममा उत्तर लेख्ने विद्यार्थीलाई अपवाद बाहेकको अवस्थामा थोरै अंक प्रदान गर्दछ । 

॥ २ ॥ यस्तै गरेर नेपाली माध्यममा पढाउने शिक्षकले अंग्रेजी माध्यममा लेखिएको उत्तरपुस्तिका परीक्षण ग-यो भने धेरै अंक प्रदान गर्दछ । विद्यार्थीको लेखन शैलीबाट निज शिक्षक आवश्यकता भन्दा बढी प्रभावित हुन पुग्दछन् ।

॥ ३ ॥ परीक्षकको अहंमा पनि नतिजा निर्भर हुन्छ । नेपालमा प्राय: परीक्षकले आफ्नै स्तरमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्दछन् । “यत्ति जाबो पनि यसलाई लेख्न आएन” भन्दै कम अंक प्रदान गर्दछन् । जब कि परीक्षकले परीक्षार्थीको स्तरमा उत्रेर उत्तरपुस्तिका परीक्षण गर्नु पर्ने हुन्छ ।निजले ” मैले एसएलसी दिंदा कत्तिको लेख्न सकेको थिएँ” भन्ने सोंच्नु पर्दछ । परीक्षार्थीको मौलिक शैली, भाव र अभिव्यक्त गर्न खोजेको सारमा अंक प्रदान गर्नु पर्ने हुन्छ । ( क्रमश: )

(९५) विषयहरुको अनिवार्यताले गर्दा पनि अनुत्तीर्ण संख्या बढेको हो ।

शिक्षण जीवनका अनुभवहरु ( ९५ )
२०७२ असार ८ गते मंगलवार

विषयहरुको अनिवार्यताले गर्दा पनि अनुत्तीर्ण संख्या बढेको हो ।

एस.एल.सी.मा नतिजाको प्रतिशत घटाउने कारक तत्व पाठ्यक्रममा अनिवार्य गरिएका विषयहरु पनि हुन् । अंग्रेजी विषयमा जनजाति विद्यार्थी र दूर दराजमा बस्ने किशोर किशोरीहरु फेल हुने गरेको पाइन्छ ।अंग्रेजी उनीहरुकोलागि अभाषिक विषय हो ।त्यसको सट्टा स्थानीय भाषा वा कुनै सीपसंग संबंधित विषय छनौट गर्न दिनु पर्दछ । यसलाई एेच्छिक बनाइनु पर्दछ ।

फेरि अर्को अनिवार्य विषय हो – अनिवार्य गणित । यस अन्तर्गत पढाइने ज्यामिती र बीजगणित धेरै विद्यार्थीको दैनिक जीवनमा व्यवहारमा नआउने अस्वादिलो वस्तु हो । यसमा रहेको अंकगणित दैनिक जीवनसंग सरोकार राख्ने विषय हो । यसलाई बरु छुट्टै भार दिई पूर्ण विषय बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

पहिला विज्ञान विषय एेच्छिक थियो । सक्नेले लिन्थे, पढ्थे । डाक्टर हुने लक्ष्य राख्नेले पढ्थे ।अहिले अनिवार्य गरिएकोछ । सबैको रुचि भन्दा बाहिरको विषय हुन् गयो । ( क्रमश: )