(१२७) गुरु पूर्णिमा

शिक्षण जीवनका अनुभवहरु ( १२७ )

२०७२ साउन १५ गते विहिवार

गुरु पूर्णिमाको पावन पर्वमा आदरणीय समस्त मार्ग दर्शक गुरुवर्गमा हार्दिक प्रणाम गर्दछु ।

(१२५ ) शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

शिक्षण जीवनका अनुभवहरु ( १२५  )

२०७२ साउन  १२ गते मंगलवार

शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

शिक्षक बन्ने ब्यक्तिले सदा समय पालन गर्नु पर्दछ भनेर मेरा अग्रज आदरणी गुरुहरुले भन्ने गर्नु हुन्थ्यो । म शिक्षक बनेपछि यो कुरा अनुभूत गरें । समयमा विद्यालय पुग्ने गर्नाले प्र.अ. ,संचालक समिति र अभिभावक-विद्यार्थी सबै खुसी हुंदा रहेछन् । केही work cheat / काम ठग सहकर्मीहरु भने इर्ष्या गर्दा रहेछन् । यिनीहरु शिक्षण पेसालाई दोस्रो दर्जाको ठान्ने, प्लेट फर्म बनाइ कुरेर बस्ने र मौका पाउनासाथ अर्कै पेसामा लाग्ने खालका हुन्छन् ।समयमा पुग्नु, समयमा कक्षा लिने, समयमा कक्षा छाड्ने र निर्धारित समयमा उत्तरपुस्तिका परीक्षण गरी रिजल्ट दिने शिक्षकको प्राथमिकतामा पर्नु पर्दछ । लामो समयसम्म प्रधानाध्यापक हुंदा पनि मैले समय पालन गरें ।  शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

(१२४) भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम रहेनन् ।

शिक्षण जीवनका अनुभवहरु ( १२४ )

२०७२ साउन  ११ गते  सोमवार

भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम रहेनन् ।

मित्र राष्ट्र भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम रहेनन् । उनको देहावसान असममा अकस्मात् विरामी हुंदा भयो ।उनी भारतका रकेट वैज्ञानिक थिए । उनी missile man भनेर चिनिन्थे ।सन २००२ देखि २००७ सम्म उनी भारतका ११ औं राष्ट्रपति थिए । भारतीय जनता पार्टीका प्रधानमन्त्री अटल विहारी बाजपेयीले उनलाई राष्ट्रपति बनाउन भूमिका खेलेका थिए ।उनलाई विद्यार्थीहरु निकै मन पर्थ्यो । पढाउन अति नै सौखिन थिए ।राष्ट्रपतिकोलागि मनोनित गर्नु पूर्व उनलाई सोधिएको थियो , ” सर तपाई अहिले के गर्दै हुनुहुन्छ ?” तुरुन्तै जवाफ दिए,” भोलि पढाउनु पर्ने विषयको तयारी गर्दै छु ।”

नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय पहिलो पटक स्थापना गर्दा एक जना वैज्ञानिकको ठाउँमा एक जना सडक बनाउने ठेकेदारलाई मन्त्री बनाइएको थियो ।

अब्दुल कलामले भनेका थिए, ” मलाई माया गर्ने हो भने मेरो मृत्यु हुंदा देशमा विदा नदिनु , अझ बढी परिश्रम गरी काम गर्नु ।”

दिवंगत आत्माले चीर शान्ति पावस् भनी भनवानसंग प्रार्थना गर्दछु ।

(१२३)त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।

शिक्षण जीवनका अनुभवहरु ( १२३ )

२०७२ साउन  १० गते   आइतवार

त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।

कुरा २०२७ सालतिरको हो । म बुटवल -खस्यौली नगर पंचायतद्वारा संचालित अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं.१ कालिका नगरमा पढाउँथें । म पढाइ लेखाइको मामलामा अलिक कडाइ गर्थें । गृह कार्य नगर्ने विद्यार्थीलाई केही न केही सजाय  दिन्थें । एक दिन १० / १२ जनाले गृह कार्य गरेर ल्याएनन् । तिनीहरुलाई विद्यालय पछाडि लगें । त्यहाँ खेतमा सिंचाइ गर्ने कुलो थियो । “लौ तिमीहरु १० मिनट कुलोमा उभिएर बस”, मैले निर्देशन दिएं । एउटा गएर पानी छोयो ।”ओ हो , मरिन्छ ।” , भन्न थाल्यो । ढीलो विद्यालय भर्ना भएका केटीहरु लजाउन थाले । म आफै कुलोमा एकछिन उभिनु थालें ।पानी चीसो थियो ।किन कि जाडो याम पुस थियो । दिन लागेको सजाय रोकें ।विकल्प सोचें । भने- “भैगो, जाडो छ । कक्षा कोठा सफा गर अथवा करेसाबारी गोडमेल गर । रोजेर काम गर ।” 

छात्रहरु करेसाबारी तिर गए । छात्राहरु कक्षा कोठा सफा गर्न गए । त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।

(१२२) संविधानमा जनताको भावना समेटिनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १२२ )

२०७२ साउन  ९ गते   शनिवार

संविधानमा जनताको भावना समेटिनु पर्दछ ।

यो साउन महिना सूर्योदयदेखि सूर्यास्त सम्म र राति सपनामा पनि जनताले आफूले चुनेर पठाएका सांसदहरुले आफ्नै संविधान बनाउन सफल हुंने छन् भन्ने अभिलाषा साँचेर बसेका छन् । सच्चा सभासद्हरुले जनताको आकाँक्षा अवश्य पूरा गर्ने छन् । जनता निराश भए भने फेरि तथाकथित साँसदहरु जनताको घर दैलोमा टेक्न जान सक्ने छैनन् ।उचित सुझावहरु संविधानमा समावेश गर्नु पर्दछ ।जनताको भावना नमेटिएको संविधानले जनतालाई अमनचैन दिन सक्दैन । नेपालीहरु संसारकै सिधासाधा प्राणीमा पर्दछन् । उनीहरुलाई धर्मको नाममा प्रताड़ना दिइनु हुंदैन ।भौगोलिक आधारमा विभाजन गर्न दिनु हुंदैन ।

 

लिपुलेकबारे नेकपा माओवादी ( चन्द ) को चिन्तन देशभक्तिपूर्ण छ । तर बन्द आह्वान उचित थिएन ।

शिक्षण जीवनका अनुभवहरु ( १२० / १२१ )

२०७२ साउन  ७ /  ८ गते  विहिवार / शुक्रवार 
लिपुलेकबारे नेकपा माओवादी ( चन्द ) को चिन्तन देशभक्तिपूर्ण छ । तर बन्द आह्वान उचित थिएन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत जेष्ठ १ गते भएको चीन भ्रमणको बेला नेपालको लिपुलेक भएर दई देश बीच भएको ब्यापार सम्झौतामा नेपाललाई बेवास्ता गरियो भन्ने मुद्दा उठाएर आज साउन ८ गते नेकपामाओवादी ( चन्द ) ले नेपाल बन्द गर्यो । बन्द आफैमा झड़
आफ्नो राष्ट्रको सार्भभौमिकताबारे आम जनमानसलाई सचेत गराइ जागा गर्नु नितान्त आवश्यक छ । भारत र चीनबीच कतिपय विषयमा सम्झौता हुन्छ भन्ने ज्ञात हुंदा हुंदै कुटनीतिक माध्यमबाट पहल नगर्नु हाम्रै परराष्ट्र मामिला हेर्ने बुझक्कडहरुको कमजोरी हो । चनाखोपनको अभाव हो । 

यसबारे मैले जेठ ३० गते पोष्ट गरेको ब्लग पुन पोष्ट गर्दछु –

“भारत र चीनले गरेको लिपुलेक सम्झौतामा नेपाललाई पनि समावेश गर्नु पर्दछ ।

लिपुलेक महाकाली नदीपारि कालापानी क्षेत्रमा पर्छ ।यो दार्चुला जिल्लाको व्यास गाविस हो ।नेपाल र चीनको सीमा हो । यसैबाटो भएर मित्र राष्ट्रहरु भारत र चीनले आपसमा ब्यापारिक नाका खोल्ने सम्झौता गरेका छन् भन्ने खबर सार्वजनिक भएको छ । यो गएको जेठ १ गतेको कुरा हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्र्मणको बेला सम्पन्न भएको ४१ बुंदे सम्झौताको हुंदा नं. २८ मा उल्लेख छ भन्ने तथ्य प्रकाशमा आएकोछ । यो सम्झौता हुंदा दुबै देशले नेपाललाई बिर्से छन् । जुन देशको भू-भाग भएर ब्यापार गर्नु छ , उसैलाई बेवास्ता गरियो । यो पक्कै बल मिच्याइँ त हुंदै होइन । किन कि नेपाल सार्वभौंमसम्पन्न देश हो भनेर दुबैलाई राम्ररी हेक्का छ । अन्तर्राष्ट्रिय मान्यताले पनि यसो गर्न दिंदैन भन्ने । यो हड्बडमा छुट्न गएको, भूल हुन गएको मात्र हो जस्तो लाग्दछ । कहिले काँही विहेको निमन्त्रणा नजिकैको नातेदारलाई दिन भूलेझैं । यसर्थ मित्र राष्ट्र चीनले तुरन्तै सच्याउने छ भन्ने हामी विश्वास गरौं । भारतले पनि महसूस गर्ने नै छ । त्यो हुंदा नं. २८ सच्याएर नेपाललाई पनि सहभागी गराइ त्रि-पक्षीय ब्यापार सम्झौता हुनु नितान्त आवश्यक छ ।

नेपालले यसलाई गम्भीर चासोको विषय बनाइ कुटनीतिक माध्यमबाट उक्त बुंदाको सम्झौता सच्याउने तर्फ क़दम चाल्नुमा  नै देशको हित हुनेछ ।”

(११९) आज १०:१५ बजे राति फेरि भूकम्पको पराकम्पन

शिक्षण जीवनका अनुभवहरु ( ११९ )

२०७२ साउन ६ गते  बुधवार

आज १०:१५ बजे राति फेरि भूकम्पको पराकम्पन

९:४५ राति भंगेरीहरु रूखबाट उडेर चिरबीर- चिरबीर कराउन थाले। यो संकेत राम्रो छैन । कतै भूकम्प आउने त हैन ? भनेर कुरा चल्दै थियो । तर कौवा कराएको छैन भन्ने कुरा पनि भयो । यो वर्षायाम भरि  के के होला खै ? टुरिष्टहरु पनि कतै आएका छैनन् ।तिनका देशहरुले उर्दी वै जारी गरेका छन् । यस्तै छलफल हुंदै थियो ।आधि घंटापछि भूकम्प गयो। झस्कायो सबैलाई ।४.५ रेक्टर स्केलको थियो ।

भंगेराले ३० मिनट पहिले नै थाहा पाउने रहेछ भन्ने ज्ञान भयो ।

((११८) जनताका प्रतिक्रिया र सुझावहरु संविधानको मस्यौदामा समावेश गर्नसकेमात्र संविधान दीगो हुन्छ ।

शिक्षण जीवनका अनुभवहरु ( ११८ )

२०७२ साउन ५ गते  मंगलवार

जनताका प्रतिक्रिया र सुझावहरु संविधानको मस्यौदामा समावेश गर्नसकेमात्र संविधान दीगो हुन्छ ।

नेपालको संविधानको प्रारम्भिक मस्यौदा , २०७२ मा जनताको प्रतिक्रिया र सुझावहरु संकलन गर्न सभासद्हरु आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर निर्देशित कार्य गर्ने क्रममा हुलहुज्जत, आक्रोश ,आक्रमण ,जुलूस ,मस्यौदा चात्नु र जलाउनु आदि हुन गएको संचार माध्यमले जनाउ दिइ रहेका छन् । यो केही हदसम्म स्वाभाविक पनि छ । अल्प समय प्रदान गरी द्रुत मार्गबाट संविधान जारी गरी हाल्ने आतुर मनसाय आफैमा त्रुटिपूर्ण छ ।तर पनि सकेसम्मको जनाकाँक्षा प्रतिनिधित्व हुने गरी संविधान जारी गर्नु नितान्त आवश्यक छ । प्राप्त राय सुझाहरुको अवमूल्यन हुंन गयो भने संविधानले पूर्णता पाउने छैन । संविधानमा अपरिवर्तनीय भनी कुनै कुरा राख्नु पनि हुंदैन । समय आफै परिवर्तनशील छ । यसलाई कस्ले पो बाँधेर राख्न सक्छ र ? पंचायतले पनि आफ्नो संविधानमा यस्तै चाहना राखेको थियो । तर परिवर्तन भयो । संविधान भनेको समय परिस्थिति र जन आकाँक्षा र चाहना मुताबिक समय समयमा परिवर्तन, संशोधन हुंदै परिपक्वता ग्रहण गर्ने दस्तावेज हो । यो तथ्यलाई दल र तिनका नेताहरूले हृदयंगम गर्नै पर्दछ ।

(११७) संविधानको प्रारम्भिक मस्यौदामा मैले निम्न प्रतिक्रिया र सुझावहरु वेव साइट मार्फत पठाएको छु ।

शिक्षण जीवनका अनुभवहरु ( ११७ )

२०७२ साउन ४ गते  सोमवार

संविधानको प्रारम्भिक मस्यौदामा मैले निम्न प्रतिक्रिया र सुझावहरु वेव साइट मार्फत पठाएको छु ।

( १ ) यस प्रस्तावनाको ” सामन्ती,निरंकुश,केन्द्रीकृत ,एकात्मक र ” शब्दहरुको स्थानमा।”पूर्व” शब्द मात्र राखेर आलोच्य वाक्यांश हटाउन उपयुक्त हुन्छ ।

( २ ) भाग ५ धारा ६० को उप-धारा ३ मा उल्लेख भएको “आठ” प्रदेशको स्थानमा “पाँच”
प्रदेश मात्र उल्लेख गर्ने । सीमाँकन र नामाँकनकोनिमित्त हालको पाँच विकास क्षेत्र नै प्रयोगमा ल्याउन सकिन्छ । यसलेगर्दा देशले आर्थिक भार पनि बहन गर्न सक्नेछ । यो सीमाँकन र नामाँकन भौगोलिक रुपमा सबैलाई मान्य हुनेछ ।

(११६) नेपालमा प्राविधिक शिक्षा महंगो छ ।

शिक्षण जीवनका अनुभवहरु ( ११६ )

२०७२ साउन ३ गते  आइतवार

नेपालमा प्राविधिक शिक्षा महंगो छ ।
 
सरकारी क्षेत्रका र निजी क्षेत्रका विद्यालयहरुले गुणात्मक प्राविधिक शिक्षा ( इन्जीनियरिंग, मेडिकल, कम्प्यूटिंग,वन अध्ययन ,मेकानिकल आदि ।)  अध्यापन गराएको हुंनाले नेपाली विद्यार्थी विदेश पलायन हदैसम्म रोकियो । ठूला प्रतिष्ठानहरु पनि स्थापित हुन थाल्यो । विदेशी विद्यार्थी पनि केही मेडिकल विषय अध्ययन गर्न नेपाल आउन थाल्यो । अन्तराष्ट्रीय शिक्षालयहरुले पनि सम्बन्धन देखाइ / लिइ संचालन हुन थाल्यो ।राम्रै जनशक्ति उत्पादन भयो । तर यी शिक्षालयहरु चर्को महंगो सावित हुन गए । त्यसको फलस्वरूप नेपाली युवायुवति भारतका विभिन्न शिक्षालयहरुमा अध्ययन गर्न जाने क्रम फेरि बढ्न थाल्यो । भारतीय विश्वविद्यालयका संचालनकर्ताहरु राजधानी र अन्य शहरहरुमा ” शिक्षा मेला ” आयोजना गरी तत् तत् स्थानमा भर्ना गरेर लैजान थालेको छ । जथाभावी मेला आयोजना गर्ने काम कसैले नियन्त्रण र निगरानी गर्न सकेन ।