(१४९) काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

शिक्षण जीवनका अनुभवहरु ( १४९ ) 

२०७२ भाद्र  ५ गते शनिवार 

काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

२०७२ भाद्र ४ गतेको बाँकी…

रुपन्देही ,बुटवलबाट म र कालिका मा.वि.का प्र.अ. कौशल राज बस्याल जिल्ला स्तरीय प्रश्न-पत्र छपाउन बनारसको विश्वनाथ गल्ली स्थित माधव मुद्रणालय (प्रेस)मा बसेका थियौं । प्रेस मालिकले स्वामीजीसंग परिचय गराइ दिनु भयो ।दिनभरि जसो हामी आ-आफ्ना काममा ब्यस्त हुन्थ्यौं । राती बास बस्न स्वामीजी त्यहीं आउनु हुन्थ्यो । त्यतिखेर वहाँ ” वेदमा के छ ?” भन्ने पुस्तक छापेर वितरण व्यवस्थापन गर्न लाग्नु भएको थियौं ।वैदिक ज्ञान, आफ्नो जीवन र नेपालको शिक्षाबारे छलफल गर्न रुचाउनुहुन्थ्यो, स्वामीजी । नयराज पन्तलाई विद्वान मान्छु भन्नु हुन्थ्यो । काठमाडौं उपत्यकालाई “अधित्यका”भन्नु पर्ने विचार थियो, वहाँको । साकाहारी खानपान भएका वहाँले साम्बर मन पराउनुहुन्थ्यो । औधि पिरो तरकारी खानु पर्ने । हामीलाई पनि आफुले खाने भोजनालयमा लैजानुहुन्थ्यो । खान्थ्यौं स्वादिष्ट भोजन ।पेमेन्ट हामी स्वयं गर्ने गर्थ्यौं । तर पिरो खानाले हाम्रो पेट बिग्रियो।कारण बताएर हामी अन्तै खान थाल्यौं । वहाँलाई मान गर्नेको जमात नै हुन्थ्यो । काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं । सन्त समागममा पनि गयौं । विशिष्ट स्थान थियो वहाँको । राति वहाँको ज्ञान,गुन ,प्रवचन सुन्दै निदाउन्थ्यौ ।सायद वेद रसको बानी परेको थिएन, हामीलाई त्यतिबेला ।( क्रमश: )

(१४७) लगातार वर्षा हुंदैछ । यो झरीले विपत् नल्यावस् ।

शिक्षण जीवनका अनुभवहरु ( १४७) 

२०७२ भाद्र  ३ गते विहिवार

लगातार वर्षा हुंदैछ । यो झरीले विपत् नल्यावस् ।

भाद्र महिनाको शुरुदेखि नै लगातार वर्षा भइरहेको छ । झरीको बेला छ  । कहीं कतै बाहिर निस्कियो भने कौवा र भंगेरीको गती हुन्छ । लुछुप्पै भिज्नु पर्ने । छाताले काम गर्दैन । रेनकोटले पनि आधी जीउ भिजाउँछ । बाइक स्कूटर चलाउनेको त कन्त बिजोग । छाता आदि नलिइकन हिंड्ने युवतिहरुको त बेहाल नै हुन्छ । तरर भिजेर काँपेका हुन्छन् ।भिजेको लुगाले लाज छोप्न गाह्रो । त्यसमा शुरु हुन्छ रुधा ,खोकी र ज्वरो । धेरै दिन रहे निमोनिया ।वर्षाबाट जोगिनु पर्दछ ।

वैशाखको भूकम्पले धाँजा फाटेका पहाडका डाँडा बस्तीहरु, पाखा पखेराहरु, उजाडिएका गाउँ बस्तीहरु वढी जोखिममा छन् । नदी किनाराका जनताका आँखामा निंद छैन । ज्यान हत्केलामा लिएर बसेका छन् । बाढी पैह्रोले आवागमन मात्र अवरोध नगरी बस्ती नै बनाउने त्रासमा छौं हामी नेपालीहरु । हरेक साल वेहोर्नु पर्ने यो प्राकृतिक प्रकोपको दीगो समाधान हुन सकेन । राहत थोरै आहत धेरै । लाचार छ सरकार भन्ने राजनैतिक “बुं ख्याचा” । यो त समवेदना पनि बाँड्न सक्दैन । दसौं हजार जनता भूकम्पमा परी मृत्यु वरण गरे । तर सरकार नामको विचरो चरोले देशमा एक दिन पनि राष्ट्रिय शोक घोषणा गरेन । तिनका कार्यकर्ता मरोस् त , झण्डा आधा झुकाउँछ र शोक मनाउँछ ।

अब प्रकृतिसंग प्रार्थना गरौं – थप विपत्ति नआवस् । बाढी पैह्रोले धनजनको क्षति नगरोस् । देशको पूर्वाधारहरु नष्ट नहोस् ।

(१४६) सरकारी कर्मचारी र शिक्षकहरुले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने ।

शिक्षण जीवनका अनुभवहरु ( १४६ )

२०७२ भाद्र  २ गते बुधवार

सरकारी कर्मचारी र शिक्षकहरुले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने ।

भारतको इलाहाबाद उच्च न्यालयले हिजो भाद्र १ गते उत्तर प्रदेशको सबै सरकारी कर्मचारीका सन्तानलाई सरकारी प्राथमिक विद्यालयमा भर्ना गर्नु पर्ने आदेश दिएको समाचार प्रकाशमा आएको छ । सरकारका मुख्य सचिवको नाममा यो आदेश दिंदै अदालतें ६ महिना भित्रै प्रबन्ध मिलाइ आगामी शैक्षिक सत्रदेखि निर्णय कार्यान्वयन गर्न भनेको छ । सरकारी विद्यालयहरुको गिर्दो अवस्था देखेर यस्तो निर्णय लिएको बताइएको छ । हुने खानेका सन्तानहरु पढ्न थालेपछि सरकारी विद्यालयको भौतिक र आर्थिक स्थितिमा सुधार आउने विश्वास लिइएको छ ।

हाम्रो नेपालको हालतमा यो निर्णय बलियो नजीर हुंने देखिन्छ । हामी कहाँ पनि प्राथमिक विद्यालयहरुको अवस्था दयनीय छ । त्यसमा पनि वैशाख १२ र २९ को महाभूकम्पले धेरै विद्यालय ध्वस्त पारेको छ । दयनीय छन्, हाम्रा प्राथमिक विद्यालयहरु । हाकिम सर्कलका कर्मचारीका सन्तानहरु भर्ना गर्ने चलन छैन । महंगा निजी स्कूलमा पढ्छन् ,उनीहरुका सन्ततिहरु । सके विदेश पढ्न पढाइन्छ । शिक्षकहरु पनि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । अपवादको रुपमा भने कसै कसैले आफ्ना सन्ततिलाई बोर्डिंगबाट छुटाएर आफूले पढाउने विद्यालयमा भर्ना गरेको उदाहरण पनि पाइन्छ । जस्तै पशुपति मित्र मा. वि. चावहिलका अंग्रेजी शिक्षक चन्द्र कान्त पंडितले आफ्ना तीन जना नानीहरुलाई आफूले पढाउने विद्यालयमा भर्ना गरेका छन् । नत्र भने विद्यालयको पालेहरुले पनि आफ्ना नानीहरु महंगा बोर्डिंगमा मात्र भर्ना गर्दछन् । सरकारी कर्मचारी र शिक्षकहरुले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने नियम बनाइ लागू गर्नु पर्दछ ।कमजोर विद्यालयहरु सशक्त हुने छन् ।

(१४५) देशमा सद्भाव र अमनचैन रही रहोस् 

शिक्षण जीवनका अनुभवहरु ( १४५)

२०७२ भाद्र १ गते मंगलवार 

देशमा सद्भाव र अमनचैन रही रहोस् 

संविधान आउने पूर्वसन्ध्यामा देशको विभिन्न जिल्लाहरु अशान्त देखिएको छन् । मध्यपश्चिम,सुदूरपश्चिम,नवलपरासी, बाग्लुंग,सप्तरी ,जुम्ला र अन्य जिल्लाहरु आन्दोलनमा उत्रेका छन् । कतै “अखण्ड” को माग र कतै जातीय प्रदेश , कतै जिल्ला टुक्रिएकोमा आवेग देखिन्छ । तराई केन्द्रित सभासद्हरु संसद छाडेर सडक आन्दोलन गर्ने बिगुल फुकिरहेका छन् ।हिन्दू धर्मको स्थापनाकोलागि साधु सन्त महन्तले जुलूस निकालेको छ । जनताको बीचमा पुलिस गोली चलाउँछ ।  कारण आत्मरक्षाकोलागि भनिन्छ । सरकारले संयम गुमाउनु हुंदैन ।सरकार दशलाखमा एउटा प्राणको मूल्य तोक्छ । यो सीमांकनको सकस  हो । असन्तोष हो । आक्रोश हो । अवैज्ञानिकता हो ।  चार जलले देशको ठेक्का पाएको होइन ।वैज्ञानिक र प्राविधिक विशेषज्ञहरु संमिलित टोली गठन गरेर भौगोलिक बनावटको आधारमा सीमाँकन र नामाँकनको निर्णय गर्नु पर्दछ । हामी पहिला त नेपाली नै हौं । हाम्रो देशको अखण्डता पहिला जोगाउनु पर्दछ । त्यसपछि गाउँ र जिल्लाको सीमानाबारे बसेर छलफल गर्नु पर्दछ । देशमा सद्भाव र अमनचैन क़ायम हुनु पर्दछ । देशले “हाम्रो र राम्रो” संविधान पाउनु पर्दछ ।

(१४४) बन्दले त्रस्त जनजीवन । जनताको छैन सरकारमा भरोसा ।

शिक्षण जीवनका अनुभवहरु ( १४४) 

२०७२ साउन ३२ गते सोमवार

बन्दले त्रस्त जनजीवन । जनताको छैन सरकारमा भरोसा ।

३३ दलीय गठबन्धनले साउन ३१ र ३२ गते नेपालमा बन्दको आह्वान गर्यो । ३१ गते जनजीवन प्रभावित भयो । ३२ गते साउन महिनाको अन्तिम सोमवार परेकोले भगवान पशुपतिनाथको पूजा अर्चना गर्न लाखौंको भीड़ लाग्ने निश्चित रहेकोले बन्द खुकुलो रह्यो । हामी पनि दर्शन गर्न गयौं, प्रात: ५:३० बजे । भगवान पशुपतिनाथको प्राँगणमा नर भन्दा नारीको संख्या अत्यधिक थियो । सार्वजनिक यातायात न्यून संख्यामा चलेकै थियो । निजी सवारी नगन्य थियो । दुई पाँग्रे भने चलेकै थियो । धर्मकैलागि नेता कार्यकर्ताले बल प्रयोग गरेको बिरल्लै पाइयो ।यो नेतागणको सकारात्मक सोच हो । साधुवाद यसनिम्ति । 

दिउँसो  गौशाला, नयाँ बानेश्वर , मैतिदेवी,पुतलीसडक, दरवारमार्ग, ठमेल र सोर्हैखुट्टे गएं । ५ वटा बैंकहरुमा केही न केही काम बोकेर गएको थिएं । बैंकका कर्मचारी च्यानल गेटमा ताल्चा मारेर भित्र बसेका थिए । बन्दको कारणले थोरै कर्मचारी मात्र आएका थिए । कामको गती सुस्त थियो । सबै त्रसित । बजार ९५ प्रतिशत बन्द ।दुकान खोलेमा तोड्फोड नुक्सानको डर ।कसले हेर्न आउँछ ? कसले भरोसा र सुरक्षा दिन्छ व्यवसायीलाई । सरकारले ? हाँस्छन् उनीहरु सरकारको नाम सुनेर । सरकार छैन, उनीहरुकोलागि ।धेरै पटक धोका खाइ सके व्यवसायी र उद्यमीहरुले त्यसैले बन्दमा बाध्य भएर बन्द गर्छन् , उद्योगी र ब्यापारीहरुले । 

(१४३) बन्द गरौं “बन्द संस्कृति

शिक्षण जीवनका अनुभवहरु ( १४३)

२०७२ साउन ३१ गते आइतवार

बन्द गरौं “बन्द संस्कृति

आज नेपाल बन्द । ३३ दलीय गठबन्धनले आह्वान गरेको । बन्दकोलागि खर्च लागेछ, तीन अर्व ।यो बन्दमा नोक्सान हुंने अर्थतन्त्रको आँकड़ा हो । नेपालका राजनैतिक दलहरु कहिल्यै नसुध्रने भए । बन्द तिनीहरुको मौलिक अधिकार भइसक्यो । न पर्यटकसंग मतलब छ ,न अशक्तसंग । न बन्दब्यापार संग सरोकार राख्छौं , न त संविधान लेखनसंग सरोकार राख्छ । जनताको कन्तबिजोग भइसक्यो ।विकल्प किन सोंचदैनन् ? प्रतीकात्मक बन्द किन गर्दैनन् ? 

( १३५) शिक्षण एक कला हो । तालिम,अनुभव र लगनले प्रोफेशनल ( Professional ) बनाउँछ ।

शिक्षण जीवनका अनुभवहरु ( १३५ )

२०७२ साउन २३ गते शनिवार

शिक्षण एक कला हो । तालिम,अनुभव र लगनले प्रोफेशनल ( Professional ) बनाउँछ ।

शिक्षण वा पढाउनु भनेको एक कला हो । शिक्षण पेसामा प्रवेश गरेपछि त्यससंबंधित तालिम, सो अनुसार पढाउने क्रम, पढाउँदै जाँदा प्राप्त हुने अनुभव,निरन्तरको योग्यता उकास्ने अध्ययन र विद्यार्थीको मनेविज्ञान बुझी समस्या समाधान गर्ने सीप र जेष्ठ / कनिष्ठ सहकर्मीसंगको विचारविमर्श आदि अभ्यासले गर्दा शिक्षकलाई Professional बनाउँछ । 

(१४१) शिक्षण कार्यकलाप बदल्दै जाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।

शिक्षण जीवनका अनुभवहरु ( १४१ )

२०७२ साउन २९ गते शुक्रवार 

शिक्षण कार्यकलाप बदल्दै जाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।

विद्यार्थी संख्या ३० / ४० । तपाई पढाउँदै हुनुहुन्छ । शायद, कुनै पाठ्याँश सस्वर पाठ गर्दै । कक्षा पछाडि हल्ला गर्दैछन्, विद्यार्थीहरु । दिक्क लाग्छ । भन्न मन लाग्छ – चुप  । भन्नु हुन्छ नै । तर कुनै असर हुंदैन ।लाग्छ, कक्षा बाईकट गरौं । तर गर्नु हुंदैन ।यसो गर्नुस् – हल्लालाई हल्लाले ठाउँमा ल्याउँछ । भन्नुस- ” ल अब सबैले ठूलो स्वरमा पढ्नु । म चेक गर्छु, कस्ले पढेको छैन भनेर ।” 

अब सबैले पढ्न शुरु गर्छन् । हल्ला गर्ने कोही हुंदैन । मुश्किलले ५ मिनट सबै पढ्छन् । फेरि गनगन । आपसमा थाल्छन्, कुरा गर्न । अब आदेश दिनुस् – ” ल म दुईटा प्रश्न बोर्डमा लेख्छु । यसको जवाफ आ-आफ्नो कापीमा लेख्नु । उनीहरु लेख्न थाल्छन् । कक्षा शान्त हुन्छ । केही समयपछि सबैलाई पालो पालो लेखेको उत्तर पढ्न लगाउनुस् । एकपछि अर्कोले पढ्दै जान्छ । कक्षा शान्त हुन्छ । जवाफ नलेख्नेलाई बोर्डतिर आउन भन्नुस् । त्यसपछि उनीहरुलाई सही उत्तर लेख्नेको कापीबाट आफ्नो कापीमा सार्न भन्नुस ।कक्षा फेरि शान्त हुन्छ । वालवालिका स्भावलेनै चन्चल हुन्छन् ।शिक्षण कार्यकलाप परिवर्तन गर्दै लैजाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।यो एक उदाहरण हो । प्रयोग गर्नुस् ,आफ्नो विषयको प्रकृति अनुसार ।

 

(१४२) कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )

शिक्षण जीवनका अनुभवहरु ( १४२ )

२०७२ साउन ३० गते शनिवार 

कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )

विद्यालयमा धेरै दिनको पठनपाठनको सिलसिलामा विद्यार्थीहरुलाई नियास्रो लाग्न सक्छ । उनीहरुले शिक्षकलाई केही प्रस्ताव राख्न सक्छ । जस्तै कि, आज खेल्न दिनुस् , आज पुस्कालयमा बसेर पढ्न पाउँ, कबड्डी खेलौं, बल खेल्छौं , कक्षामा जाडो भयो घाममा पढ्छौं आदि । मानी दिनु पर्छ, विद्यार्थीको प्रस्ताव । उनीहरु प्रफुल्ल हुन्छन् । तर याद राख्नुस् , उनीहरुसंगै सहभागी भएर खेलना भाग लिनुस् । यसो गर्दा दुई कुराको फाइदा हुन्छ । पहिलो , विद्यार्थीको मन पर्ने शिक्षक भइन्छ, दोस्रो कक्षा बाहिर पनि विद्यार्थी नियन्त्रित भइरहन्छन् ।

(१४०) शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १४० )

२०७२ साउन २८ गते विहिवार 

शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

विद्यालयको चौतर्फि विकासको दायित्व प्रधानाध्यापकमाथि निर्भर रहन्छ । तर नेपालमा शिक्षा क्षेत्रमा यतिविधि राजनीति हुन्छ कि जुन पार्टीको सरकार बन्छ, त्यसै पार्टीको कार्यकर्तालाई विद्यालयको प्रधानाध्यापकमा नियुक्ति गरिन्छ। स्थानीय विद्यालयमा  उपलब्ध नभए अन्यत्रबाट सरुवा गरेर ल्याइन्छ । २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो। शिक्षामा काँग्रेसीकरण भयो । वरिष्ठलाई छाडी कनिष्ठलाई प्रधानाध्यापक बनाउन थालियो । संचालक समिति पनि त्यसै मुताबिक बन्न थाले । क्याम्पस र विश्वविद्यालय पनि यही नीतिमा चल्न थाल्यो । एमाले सरकारमा आउँदा यही नियती दोहरियो । एमाओवादीको सरकार बन्दा त झन गहिरो भयो यो समस्या । जुन पार्टी सत्तामा आउँछ उसैको हालीमुहाली चल्ने । यसले शिक्षामा भाँडभैलो मच्चायो । ऐन,नियमहरु वस्तुपरक हुनु पर्दछ । प्राज्ञिक वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।