२०७२ जेष्ठ ८ गते शुक्रवार ( ६५ )
आफ्नालाई खोजें । आफ्नाले खोजे ।
२०७२ वैशाख १२ र १३ गतेको महाभूकम्पको कोकोहोलो हुंदा म परिवारका सदस्यहरुसंगै बुटवल घरमै थिएं । तेस्रो तलाको भान्सामा सबैले खाना भरखरै खाई सकेका थियौं । छत थर थर हल्लिन थाल्यो ।किचन -याक र त्यसमा झुन्ड्याइका कप र थालहरु हल्लन थाल्यो । डाइनिंग टेबल डगमगाउन थाल्यो । घर पछाडिका रुखहरु दायाँ बायाँ निहुरिएर भाँच्चिएला कि जस्ता भए । हामी ढोकाको चौकस मुनि उभियौं । घर उत्तर- दक्षिण गरी हल्लन लाग्यो । कम्पन नरोकिइकन निस्कनु नहुने कुराको जानकारी थियो । केही हुंदैन ,नआत्तिऔं भनी सम्झाउन थालें । घर मापदण्ड अनुसार नै बनेको हुनाले विश्वास पनि जाग्यो । मन त बलियो पारेर बस्यौं । त्रास लागी रह्यो । गुरु मन्त्र उच्चारण गर्यौं । ईश्वरको नाम लियौं । खसे,थिचिए र मरिए संगै मर्ने भयौं भन्ने भावना पलायो । झण्डै ४५ सेकेण्डसम्म हाम्रो होस गुम भयो । कम्पन रोकिएपछि विस्तारै तल झर्यौं ।
काठमाडौंमा साली, साडुभाइ, बहिनी, अफिस स्टाफ,घरमा , छिमेकमा, मित्रहरुलाई सम्पर्क गरें । कैयौं पटक विफल । तर नेटवर्क कनेक्शन नै भएन । डाटा कनेक्शन रहेछ । फेस बुकमा स्टेटस पोष्ट गरें ।
मेसेच्युट्स, अमेरिकाबाट भाइको छोरा मिनेस श्रेष्ठले कमेन्ट गरी पठायो । क्यारलिफोनियामा रहेका छोरा सरोज जोशीसंग २ घण्टा पछि सम्पर्क भयो । स्थिति अवगत गराएँ ।
१४ गते मेघौली, चितवनबाट तारामाले सोधखोज गर्नु भयो । त्यही दिनै मिनेसोटा ,अमेरिकाबाट Steph E. Abbas ले मेसेज पठाइ पशुपति मित्र मा. वि. चावहिलका स्टाफका जीवन सुरक्षाबारे चासो राखिन् ।ऊनी तीन महिना स्वयंसेवकों रूपमा पढाएर फर्केकी थिईन् । ऊनले म सुरक्षित रहेको सेफ्टी चेक पोष्ट गरिन् । मन खुसीले भरियो । तीन महिनाको हेलमेलको अवधिमा पनि निज विदेशीले हामीसंगको सम्बन्ध प्रगाढ़ र आत्मीय बनाएकीमा ।
१५ गते बहिनी सरिताले भैरहवाबाट फोन गरी भलाकुसारी गरिन् । फेरि मन खुसी भयो ।विपत्मा आफ्नाले खोजेमा मन खुसी भई आँखा हर्षको आँशुले भरिएर आउंदोरहेछ । आफूले आफ्नालाई सोधखोज गर्न पाएमा मन रमाउँदै रहेछ । यस्तै अनुभव गरें ।I