शैक्षिक जीवनका अनुभवहरु (३२ )
२०७२ वैशाख ५ गते शनिवार
जीवनको प्रथम गुरू हुन् – आमा
आज मातातीर्थ औंसी । आमाको मुख हेर्ने दिन । यस धर्तीमा सन्तानलाई जन्म दिने जननी । नौ महिनासम्म गर्भ धारण गर्ने । जन्म पश्चात लालनपालन गर्ने आमा । असंख्य रात सुत्दैनन् आमा ।आफ्नो स्वास्थ्यको परवाह नराखी सन्तानको सुखदुखमा साथ दिने । “बाबा” भन, “आमा” भन भनी भाषाको प्रथम चरणको सुनाइ-बोलाइको सीप सिकाउने आमा । यो गर्नु हुन्छ,त्यो गर्नु हुंदैन भनी नैतिक शिक्षा पढाउने आमा । जीवनकै प्रथम गुरू आमा । छोराको साथी । छोरीकी सखी । आमा । आमा । केवल आमा ।
मातृशक्तिलाई सतत् प्रणाम ।
आमा हुंनेहरुले यथोचित मान,सम्मान र कदर गरी शुभाशिष थापुन् । आमालाई सुख शान्ति दिन नसकेपनि दु:ख,कष्ट र पीडा नदिउन् । आफू सुख सयलमा बस्न बृद्धाश्रममा आमा राख्न नलैजाउन् । कोही पनि धिक्कारको पात्र नबनुन् ।
यस धरामा आमा नहुंनेहरुले आमाको प्रात: स्मरण गरुन् ।दान गरुन् ,खुवाउन् वृद्धालाई ।ब्राम्हणलाई सिदा दान गरुन् ।आमाको नामबाट छात्रवृत्ति स्थापना गरुन् । अन्य पुण्य काम गरुन् ।
वालपनमा चेतना नजागेसम्म आमा चिन्न सकिन्न रहेछ ।वाल मस्तिष्कमा आमाको आकृति नपरेसम्म आमाको परिकल्पना समेत आउन्न रहेछ । मान्छे सानै छँदा , अबोध हुंदाको बेलामा आमा खसिन् भने आमा सपनामा पनि आउँदिन रहेछ । आमाको सपना समेत देख्न सक्दैन रहेछ, मानिसले । मेरो यस्तै अनुभूति छ ।
आमाप्रति श्रद्धा सुमन अर्पण गर्दछु ।