(१४४) बन्दले त्रस्त जनजीवन । जनताको छैन सरकारमा भरोसा ।

शिक्षण जीवनका अनुभवहरु ( १४४) 

२०७२ साउन ३२ गते सोमवार

बन्दले त्रस्त जनजीवन । जनताको छैन सरकारमा भरोसा ।

३३ दलीय गठबन्धनले साउन ३१ र ३२ गते नेपालमा बन्दको आह्वान गर्यो । ३१ गते जनजीवन प्रभावित भयो । ३२ गते साउन महिनाको अन्तिम सोमवार परेकोले भगवान पशुपतिनाथको पूजा अर्चना गर्न लाखौंको भीड़ लाग्ने निश्चित रहेकोले बन्द खुकुलो रह्यो । हामी पनि दर्शन गर्न गयौं, प्रात: ५:३० बजे । भगवान पशुपतिनाथको प्राँगणमा नर भन्दा नारीको संख्या अत्यधिक थियो । सार्वजनिक यातायात न्यून संख्यामा चलेकै थियो । निजी सवारी नगन्य थियो । दुई पाँग्रे भने चलेकै थियो । धर्मकैलागि नेता कार्यकर्ताले बल प्रयोग गरेको बिरल्लै पाइयो ।यो नेतागणको सकारात्मक सोच हो । साधुवाद यसनिम्ति । 

दिउँसो  गौशाला, नयाँ बानेश्वर , मैतिदेवी,पुतलीसडक, दरवारमार्ग, ठमेल र सोर्हैखुट्टे गएं । ५ वटा बैंकहरुमा केही न केही काम बोकेर गएको थिएं । बैंकका कर्मचारी च्यानल गेटमा ताल्चा मारेर भित्र बसेका थिए । बन्दको कारणले थोरै कर्मचारी मात्र आएका थिए । कामको गती सुस्त थियो । सबै त्रसित । बजार ९५ प्रतिशत बन्द ।दुकान खोलेमा तोड्फोड नुक्सानको डर ।कसले हेर्न आउँछ ? कसले भरोसा र सुरक्षा दिन्छ व्यवसायीलाई । सरकारले ? हाँस्छन् उनीहरु सरकारको नाम सुनेर । सरकार छैन, उनीहरुकोलागि ।धेरै पटक धोका खाइ सके व्यवसायी र उद्यमीहरुले त्यसैले बन्दमा बाध्य भएर बन्द गर्छन् , उद्योगी र ब्यापारीहरुले । 

(१४३) बन्द गरौं “बन्द संस्कृति

शिक्षण जीवनका अनुभवहरु ( १४३)

२०७२ साउन ३१ गते आइतवार

बन्द गरौं “बन्द संस्कृति

आज नेपाल बन्द । ३३ दलीय गठबन्धनले आह्वान गरेको । बन्दकोलागि खर्च लागेछ, तीन अर्व ।यो बन्दमा नोक्सान हुंने अर्थतन्त्रको आँकड़ा हो । नेपालका राजनैतिक दलहरु कहिल्यै नसुध्रने भए । बन्द तिनीहरुको मौलिक अधिकार भइसक्यो । न पर्यटकसंग मतलब छ ,न अशक्तसंग । न बन्दब्यापार संग सरोकार राख्छौं , न त संविधान लेखनसंग सरोकार राख्छ । जनताको कन्तबिजोग भइसक्यो ।विकल्प किन सोंचदैनन् ? प्रतीकात्मक बन्द किन गर्दैनन् ? 

( १३५) शिक्षण एक कला हो । तालिम,अनुभव र लगनले प्रोफेशनल ( Professional ) बनाउँछ ।

शिक्षण जीवनका अनुभवहरु ( १३५ )

२०७२ साउन २३ गते शनिवार

शिक्षण एक कला हो । तालिम,अनुभव र लगनले प्रोफेशनल ( Professional ) बनाउँछ ।

शिक्षण वा पढाउनु भनेको एक कला हो । शिक्षण पेसामा प्रवेश गरेपछि त्यससंबंधित तालिम, सो अनुसार पढाउने क्रम, पढाउँदै जाँदा प्राप्त हुने अनुभव,निरन्तरको योग्यता उकास्ने अध्ययन र विद्यार्थीको मनेविज्ञान बुझी समस्या समाधान गर्ने सीप र जेष्ठ / कनिष्ठ सहकर्मीसंगको विचारविमर्श आदि अभ्यासले गर्दा शिक्षकलाई Professional बनाउँछ । 

(१४१) शिक्षण कार्यकलाप बदल्दै जाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।

शिक्षण जीवनका अनुभवहरु ( १४१ )

२०७२ साउन २९ गते शुक्रवार 

शिक्षण कार्यकलाप बदल्दै जाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।

विद्यार्थी संख्या ३० / ४० । तपाई पढाउँदै हुनुहुन्छ । शायद, कुनै पाठ्याँश सस्वर पाठ गर्दै । कक्षा पछाडि हल्ला गर्दैछन्, विद्यार्थीहरु । दिक्क लाग्छ । भन्न मन लाग्छ – चुप  । भन्नु हुन्छ नै । तर कुनै असर हुंदैन ।लाग्छ, कक्षा बाईकट गरौं । तर गर्नु हुंदैन ।यसो गर्नुस् – हल्लालाई हल्लाले ठाउँमा ल्याउँछ । भन्नुस- ” ल अब सबैले ठूलो स्वरमा पढ्नु । म चेक गर्छु, कस्ले पढेको छैन भनेर ।” 

अब सबैले पढ्न शुरु गर्छन् । हल्ला गर्ने कोही हुंदैन । मुश्किलले ५ मिनट सबै पढ्छन् । फेरि गनगन । आपसमा थाल्छन्, कुरा गर्न । अब आदेश दिनुस् – ” ल म दुईटा प्रश्न बोर्डमा लेख्छु । यसको जवाफ आ-आफ्नो कापीमा लेख्नु । उनीहरु लेख्न थाल्छन् । कक्षा शान्त हुन्छ । केही समयपछि सबैलाई पालो पालो लेखेको उत्तर पढ्न लगाउनुस् । एकपछि अर्कोले पढ्दै जान्छ । कक्षा शान्त हुन्छ । जवाफ नलेख्नेलाई बोर्डतिर आउन भन्नुस् । त्यसपछि उनीहरुलाई सही उत्तर लेख्नेको कापीबाट आफ्नो कापीमा सार्न भन्नुस ।कक्षा फेरि शान्त हुन्छ । वालवालिका स्भावलेनै चन्चल हुन्छन् ।शिक्षण कार्यकलाप परिवर्तन गर्दै लैजाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।यो एक उदाहरण हो । प्रयोग गर्नुस् ,आफ्नो विषयको प्रकृति अनुसार ।

 

(१४२) कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )

शिक्षण जीवनका अनुभवहरु ( १४२ )

२०७२ साउन ३० गते शनिवार 

कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )

विद्यालयमा धेरै दिनको पठनपाठनको सिलसिलामा विद्यार्थीहरुलाई नियास्रो लाग्न सक्छ । उनीहरुले शिक्षकलाई केही प्रस्ताव राख्न सक्छ । जस्तै कि, आज खेल्न दिनुस् , आज पुस्कालयमा बसेर पढ्न पाउँ, कबड्डी खेलौं, बल खेल्छौं , कक्षामा जाडो भयो घाममा पढ्छौं आदि । मानी दिनु पर्छ, विद्यार्थीको प्रस्ताव । उनीहरु प्रफुल्ल हुन्छन् । तर याद राख्नुस् , उनीहरुसंगै सहभागी भएर खेलना भाग लिनुस् । यसो गर्दा दुई कुराको फाइदा हुन्छ । पहिलो , विद्यार्थीको मन पर्ने शिक्षक भइन्छ, दोस्रो कक्षा बाहिर पनि विद्यार्थी नियन्त्रित भइरहन्छन् ।

(१४०) शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १४० )

२०७२ साउन २८ गते विहिवार 

शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

विद्यालयको चौतर्फि विकासको दायित्व प्रधानाध्यापकमाथि निर्भर रहन्छ । तर नेपालमा शिक्षा क्षेत्रमा यतिविधि राजनीति हुन्छ कि जुन पार्टीको सरकार बन्छ, त्यसै पार्टीको कार्यकर्तालाई विद्यालयको प्रधानाध्यापकमा नियुक्ति गरिन्छ। स्थानीय विद्यालयमा  उपलब्ध नभए अन्यत्रबाट सरुवा गरेर ल्याइन्छ । २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो। शिक्षामा काँग्रेसीकरण भयो । वरिष्ठलाई छाडी कनिष्ठलाई प्रधानाध्यापक बनाउन थालियो । संचालक समिति पनि त्यसै मुताबिक बन्न थाले । क्याम्पस र विश्वविद्यालय पनि यही नीतिमा चल्न थाल्यो । एमाले सरकारमा आउँदा यही नियती दोहरियो । एमाओवादीको सरकार बन्दा त झन गहिरो भयो यो समस्या । जुन पार्टी सत्तामा आउँछ उसैको हालीमुहाली चल्ने । यसले शिक्षामा भाँडभैलो मच्चायो । ऐन,नियमहरु वस्तुपरक हुनु पर्दछ । प्राज्ञिक वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

 

(१३८) अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।

शिक्षण जीवनका अनुभवहरु ( १३८ )

२०७२ साउन २६ गते मंगलवार

अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।

२५ गतेको बाँकी…

तर सामान्यतया विद्यार्थीको आमाबाबु अंग्रेजी बोल्दैनन् । खेल्ने चौरमा साथीसंगाती अंग्रेजी बोल्दैनन् ।टोलछिमेकमा  अंग्रेजी बोलिन्न । स्वयं शिक्षकहरु स्टाफ रुममा आपसमा अंग्रेजी बोल्दैनन् । कक्षा कोठामा अनेकथरिका भाषा बोल्ने जनजातिहरु हुन्छन् । उनीहरुलाई अंग्रेजी फलामको च्यूरा चपाए जस्तै हुन्छ । सामुदायिक विद्यालयहरुमा ६ वटा घंटी नेपाली माध्यममा पढाइन्छ । मात्र अंग्रेजी ४५ मिनट पढाइन्छ । यस्तो परिस्थितिमा कसरी अंग्रेजीको स्तरीय पढाइ हुन्छ ? 

पाठ्यक्रमको उद्देश्य प्राप्त गर्न केही त गर्नै पर्छ । शिक्षकले परिश्रमकासाथ पढाउंनै पर्दछ । सरल सुबोध अंग्रेजी माध्यममा बोल्नै पर्दछ । विद्यार्थीलाई बोल्न प्रेरित गर्नै पर्दछ । त्यसकोलागि दैनिक प्रयोग गरिने वाक्याँश घोकाउनै पनि पर्दछ ।शिक्षकले प्रश्नोत्तर लेखाइ बारम्बार पढ्न र लेख्न लगाइ सोधनी गर्नै पर्दछ । पाठ्याँशको आवश्यक आवश्यक ठाउँमा नेपाली भाषामा अनुवाद पनि गर्नै पर्दछ ।शिक्षकको दायित्व हो – विद्यार्थीलाई बुझाइ पढाउनु ।शिक्षकले मात्र कक्षामा अंग्रेजी फटफटाएर हुंनेवाला केही छैन । कसै कसैले गर्व पनि गर्दछन् , अंग्रेजीमा नै पढ़ाएँ, बोलें भनेर । यस्तो जड व्यवहारले भैंसीको सामु बाँसुरी बजाउनु जस्तै हुन जान्छ । 

आजकाल communicative English को बोलबाला छ । Translation method लाई traditional method भनेर गिल्ला गर्नु कदापि हुंदैन । पाठलाई सरल बनाइ बुझाउन यो विधि प्रभावकारी छ ।

(१३७) अंग्रेजी पढाउंदा आवश्यक परेको ठाउँमा नेपालीमा पनि अनुवाद गरेर बुझाउनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १३७ )

२०७२ साउन २५ गते सोमवार

अंग्रेजी पढाउंदा आवश्यक परेको ठाउँमा नेपालीमा पनि अनुवाद गरेर बुझाउनु पर्दछ ।

विद्यालय शिक्षाको पाठ्यक्रममा अंग्रेजी विषय अनिवार्य विषयमा पर्दछ । २०२८ सालदेखि ५० को दशकसम्म कक्षा ४ देखि अंग्रेजी पढाइन्थ्यो । २०६० को हाराहारीदेखि सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै अंग्रेजी पढाइन थालियो । यसलाई दोस्रो र विदेशी भाषाको रुपमा लिइन्छ । अप्ठेरो त अवश्यै हुन्छ, नै । भाषा शिक्षण गर्दा सोही भाषामा नै गर्नु पर्दछ । अर्थात अंग्रेजी पढाउंदा अंग्रेजीमा नै पढाउनु पर्छ, विद्यार्थीलाई अंग्रेजी नै बोल्न लगाउनु पर्दछ । यसो गर्दा संचार ( communication ) छिटो हुन्छ भन्ने सोंच हो । तर विद्यालयको कक्षा कोठा भित्रमात्र अंग्रेजी बोलेर हुंदैन । घर-आगन,खेल मैदान र साथीसंगाती माझ पनि अंग्रेजी बोल्ने वातावरण हुनु पर्दछ ।( क्रमश: )

(१३६) जीवन्त शिक्षण

शिक्षण जीवनका अनुभवहरु ( १३६ )

२०७२ साउन २४ गते आइतवार

जीवन्त शिक्षण

प्रभावकारी शिक्षण सम्पन्न हुनकोलागि निम्न चाँजोपाँजो मिल्नु आवश्यक हुन्छ ।

१ / दक्ष शिक्षक

२ / जिज्ञासु विद्यार्थी

३ / शैक्षिक सामग्री

४ / विद्यालय भवन

५ / शान्त वातावरण

६ / पुस्तकालय

७ / जागरुक अभिभावक

८ / देश, काल र  परिस्थिति

तर अन्यान्य कुराहरुको अभाव भए पनि दक्ष शिक्षक र जिज्ञासु विद्यार्थी दुई कुरा उपलब्ध भएमा शिक्षण जीवन्त ( LIVE ) हुन्छ ।

(१३४) हिन्दू सभा

शिक्षण जीवनका अनुभवहरु ( १३४ )

२०७२ साउन २२गते शक्रवार

हिन्दू सभा

आज विशाल हिन्दू सभा र -याली भयो, राजधानीमा । हिन्दू गुरुहरु  , सन्तमहन्त , मठ मन्दिरका पुजारीहरु सबैको बाक्लो उपस्थिति थियो । ठूलो संख्यामा सर्वसाधारण  पनि । सनातन हिन्दू धर्म संविधानमा लिपीबद्ध हुनु पर्ने माग थियो । ढीलै भए पनि धर्माधिकारीहरुले एक्यबद्धता देखाउनु भयो । आह्वान पनि गर्नु भयो, हाम्रा नेताहरूलाई जनभावनाको कदर गर्न । नेता सनातनी वैदिक हुन । तर कसैले उनीहरुलाई झुक्याए, निरीह बनाए । प्रलोभनमा पारे । केही कसैको क़र्ज़ाले लादिएको भए,भीक्षातन गरेर शोधभर्ना गर्ने छौं भनी बारम्बार जनआवाज कुर्लीरहेको थियो ।

यसबाट नेताहरूले पाठ सिकेर जनभावनाको कदर गर्ने  साहस देखाउनु पर्दछ ।