(१५४ ) विद्यालय निर्माणमा लोभी पापीहरु परास्त भए

(१५४ ) विद्यालय निर्माणमा लोभी पापीहरु परास्त भए

 ( शिक्षण जीवनका अनुभवहरु )

२०७२ भाद्र १० गते विहिवार 

सन्दर्भ २०४७ चैत देखि २०५० मंसीर सम्मको हो । काठमाण्डौंको सिनामंगल स्थित गुह्येश्वरी माध्यमिक विद्यालयको प्र.अ.मा कार्यरत थिएं ।हवाई विभागले अधिकरण गरेको विद्यालयको ठाउँमा नयाँ भवन बनाइ विद्यालय सार्नु थियो ।विद्यालयमा संचालक समिति थियो । तर २०४६ सालको परिवर्तनपछि आफूलाई नेपाली काँग्रेस भन्ने स्व-मनोनित / स्व-घोषित अध्यक्ष र उनका पकेटका २ सदस्यले स्वैच्छिक निर्णय गराउन खोज्थे । पूर्व पंचहरु र नेकपा ( एमाले ) पनि थिए । अध्यक्ष र उनका पिछलग्गूहरु नाम मात्रको विद्यालय बनाइ लाभ लिने अपेक्षा राख्थे । ठेकेदार चयन,रोडा ,ढुंगा,सीमेन्ट,काठ डण्डी आदि निर्माण सामग्री खरिद जस्ता प्रकरणमा अनेक प्रकारले प्रभावित पार्न खोज्थे । पंचहरुको समूह मुआब्जा रकम शतप्रतिशत सदुपयोग हुनु पर्ने भनी खबरदारी गर्थे । वापन्थी खेमाकाहरु असल काम भए मात्र समर्थन रहने भन्थे ।समितिका सदस्यहरुको परीक्षण गर्नै मलाई ६ महिना लाग्यो । “सुन तौलनु बारम्बार मान्छे तौलनु एक बार ।” भन्ने उखान अनुसार साँच्चिकै विद्यालय निर्माण गर्ने मानसिकता राख्ने खेमाको पक्ष लिएँ, मैले । ( क्रमश: …) 

(१५३) समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन ।

शिक्षण जीवनका अनुभवहरु (१५३ )

२०७२ भाद्र ९ गते बुधवार

समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन ।

बहुप्रतिक्षित संविधानको मस्यौदा विधयक संविधान सभामा छलफल जारी छ । कैलालीको टीकापुरमा भएको अमानवीय हिंसात्मक बिउ तराईको पूर्व र पश्चिम तर्फ फैलंदैछ ।शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको छ । निषेधाज्ञा जारी गर्दा पनि तोडिने प्रयास भईरहेको छ । कतै गोली चलेको छ । नेपाली सेनामाथि जनताको भरोसा छ । अवाँक्षित गतिविधि नियन्त्रण गरी देशको अखण्डता अक्षुण्य राख्ने दायित्व सेनामा हुन्छ, अन्तत्वगत्वा ।महाभूकम्पमा नेपाली सेनाले विपदमा परेका नेपालीको उद्वार गरेको ताजा नै छ ।नेपालीले सेनाको  सम्मान स्वरुप सलाम गरेको थियो ।

नेतागणले  आम नेपाली जनताको आत्माको आवाजलाई उच्चतम दरमा  संविधानमा समावेश गर्नु पर्दछ । आत्मसंतुष्टि र आ-आफ्ना भोट बैंककोलागि सिमाँकन प्रभावित गर्नु कदापि हुंदैन । विवादित विषयलाई जनमत संग्रहमा लैजानु पर्दछ ।कसैको प्रलोभनमा नपरी नेपाली मात्रको दीर्घकालीन हितकोलागि संविधान बनाउन बल लगाउनुस् । होस्ते भन्नुस्, जनता हैंसे भन्छन् । विगतमा वा अनजानमा लोभीपापी मनलाई शान्त पार्न केही योगदान भएको भए प्रायश्चित गर्न आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जानुस् । आशुतोष भगवानले क्षमा र सदबुध्दि प्रदान  गर्नु हुंने नै छ । समस्याको शान्तिपूर्ण समाधान वार्ताबाट मात्रै हुन सक्छ । प्रमाद र अहंकारले कदापि हैन । हजारौं हजार जनताको वलिदान भई सकेकोछ , अब कसैले वलि चढ्न नपरोस् ।

(१५२) टीकापुर घटना : शान्तिपूर्ण आन्दोलनको मर्म विपरित

शिक्षण जीवनका अनुभवहरु (१५२ )

२०७२ भाद्र ८ गते मंगलवार 

टीकापुर घटना : शान्तिपूर्ण आन्दोलनको मर्म विपरित

२०७२ भाद्र ७ गते सोमवारका दिन कैलाली जिल्लाको टीकापुरमा प्रहरीहरुमाथि जुन बरबर्तापूर्ण हमला भयो त्यो नितान्त निन्दनीय छ । त्यो शान्तिपूर्ण रूपमा हुंने भनिएको आन्दोलनको मर्म विपरित सिद्ध भएको छ । सीमाँकनको विषय लिएर धेरै दिनदेखि आन्दोलन भई रहेको थियो । त्यसले त्यो विभत्स रुप लेला भन्ने पूर्वानुमान थिएन । हाम्रा नेताहरु संविधान सभाको टेवुलमा बसेर निर्णय नगरी कोठा कोठामा बसेर मनमाना गर्ने बानीले गर्दा यो असंतोषको परिणाम् गोचर भएको हुनु पर्छ ।

संविधानमा जन्मने वेलाको प्रसव पीडाले आमा र शिशु दुबैलाई सुरक्षित अवतरण गरावस् भन्ने कामना गर्दछु ।

(१५१) हामी नेपालीलाई हिमाल,पहाड र तराई एकीकृत भएको अखण्ड नेपाल चाहिएको छ ।

शिक्षण जीवनका अनुभवहरु (१५१ )

२०७२ साल भाद्र ७ गते सोमवार

हामी नेपालीलाई हिमाल,पहाड र तराई एकीकृत भएको अखण्ड नेपाल चाहिएको छ ।

आज सोमवार कैलालीको टीकापुरमा भएको हिंसात्मक घटना अत्यन्त दु:खदायी छ । प्रदेशको सिमाँकनको सिलसिलामा यो घटना घटेको हो । प्रहरी अधिकृत एसएसपी लक्ष्मण न्यौपानेलाई भीडले कुटपिट गरी पेट्रोल छर्केर आगो लगाइ ज्यान लिइएको छ । अन्य सुरक्षाकर्मीहरुले समेत ज्यान गुमाएका छन् । सर्वसाधारण सहित २१ जना हताहत भएका छन् । निषेधाज्ञा समेत उलंघन गरेर भिड़न्त हुंदाको परिणाम थियो, यो ।कैलाली र रौतहटको ग़ौरमा प्रहरी र असन्तुष्ट जमात बीच यस्तो झडप साम्य पार्न सरकारले दंगाग्रस्त क्षेत्र घोषित गरेर सेना परिचालन गरेकोछ ।कर्फ़्यू लगाइएको छ । तराई आन्दोलित हुंने लक्षण देखिएको छ । साम्प्रदायिक सद्भाव, एकता र शान्ति कायम राख्नु नेपालीको कर्तव्य हो । तराई मधेसका २२ जिल्लामा शान्ति कायम हुनु पर्दछ ।

नेताहरुले विवेक नगुमाइ समग्र नेपालीको हित हुने गरी संविधान जारी गर्नु नितान्त आवश्यक छ । हामी नेपालीलाई हिमाल,पहाड र तराई एकीकृत भएको अखण्ड नेपाल चाहिएको छ ।

(१५०) नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको : स्वामीजीको गुनासो

शिक्षण जीवनका अनुभवहरु (१५० )

२०७२ साल भाद्र ६ गते आइतवार
२०७२ भाद्र ५ को बाँकी अंश…

नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको : स्वामीजीको गुनासो

स्वामीजीको वेद ब्याख्या सुन्दा सुन्दै निदाएको र सात्विक भोजन खान छोडेकोमा वहाँ रुष्ट हुनुहुन्थ्यो । सन्त भए पनि वहाँको रगत त राईको नै थियो । हामी हाँसेर ग्रहण गर्थ्यौं , स्वामीजीको रिसाउने कलालाई । साता दिनको बनारस बसाइमा हामीले सिक्यौं वहाँबाट- सादगी, त्यागी र जिज्ञासुपना ।

“जस्ले पढ्यो, उस्ले जान्यो” । यसै प्रबृत्तिले गर्दा गर्न सक्नु भयो , वेदमा पीएचडि ।उत्तर आधुनिक युग (  Post modern era) का एक जल्दो बल्दो दृष्टान्त हुंन् , काले राई उर्फ डा. स्वामी प्रपन्नाचार्य । वेद वेदान्त आदि शाश्त्रहरुमा अभिजात्य, विशेष गरी ब्राम्हण समुदायको मात्र आधिपत्य हुनु पर्छ भन्ने परम्परालाई चुनौति दिनु भयो, वहाँले । विद्वान सबैतिर पुजिन्छ भन्ने उक्ति सार्थक भयो वहाँकोनिमित्त ।देशभरिका संघसंस्थाहरुले स्वामीजीप्रति सम्मान प्रदान गरे । अनगिन्ति छन् वहाँका सम्मान पत्रहरु । 

२०१४ नवम्बर ९ ( २०७१/७/ २३ ) का दिन डा. स्वामी प्रपन्नाचार्यलाई नेपाल संस्कृत विश्वविद्यालयले प्रथम विशेष दीक्षान्त समारोहको आयोजना वहाँकै आश्रय मृगस्थली , पशुपति क्षेत्रमा आयोजना गरेर मानार्थ डि.लिट. ( महा विद्यावारिधि ) को उपाधिले विभूषित गर्यो । म जिज्ञासु भएर त्यहाँ उपस्थिति भई २/४ फोटो खिचेको थिएं । त्यस बेला मैले केही मित्रहरुलाई भनेको थिएं – ने. सं.वि. ले उत्कृष्ट काम गर्यो । तर असाध्यै विलम्ब गरेर । स्वामी अशक्ततावस्थामा पुगी सक्नु भएको थियो । यदि वहाँलाई त्यो उपाधि, त्यो सम्मान १० वर्ष पहिले प्रदान गर्न सकेको भए स्वामीजीले धेरै बौद्धिक योगदान गर्न सक्नु हुन्थ्यो । वहाँ विश्वविद्यालय जानु भएर प्राज्ञिक खोज अनुसन्धान गर्ने स्कलरहरुलाई मार्ग दर्शन गर्नु हुन्थ्यो होला । नेपाल संस्कृत विश्वविद्यालयको गरिमा सगरमाथा जत्तिकै चुलिन्थ्यो होला । तर अफसोंच, वि.वि.का पदाधिकारीहरुले सन्त र विद्वानको समयमा कदर गर्न सकेनन् । कृपणता देखाए उनीहरुले । आ-आफ्ना लाभ हानीकोनिमित्त तालाबन्दी र खोल्ने खेलमा भुले उनीहरु ।  ‘नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको’ भन्ने स्वामीजीको गुनासो साँचो भएको लाग्छ मलाई ।

स्वामीजीलाई केही समयदेखि पशुपति विकास कोषले दिने १३०००/ ले पुगनपुग थियो भने वहाँका हितैषीहरुले जुटाइ दिने ४०,०००/ ले टेवा दिएको थियो । आ.व. २०७२ / २०७३ देखि सरकारले प्रदान गरेको मासिक ३०,०००/ को भत्ता त्यसै छाडी वहाँ समाधीष्ट हुनु भयो ।

(१४८) राष्ट्रले लगानी नगरी उदाएका वेद,संस्कृति र हिन्दू धर्मका विद्वान डा. स्वामी प्रपन्नाचार्य अब रहेनन् ।

शिक्षण जीवनका अनुभवहरु ( १४८) 

२०७२ भाद्र  ४ गते शुक्रवार

राष्ट्रले लगानी नगरी उदाएका वेद,संस्कृति र हिन्दू धर्मका विद्वान डा. स्वामी प्रपन्नाचार्य अब रहेनन् ।

राष्ट्रले लगानी नगरी उदाएका । वेद,संस्कृति र हिन्दू धर्मका विद्वान । गोठाले जीवनमा साधुसंग पछि लागी हिंडेका ।३० वर्षको उमेरमा क ख रा सिकेका राई लिम्बुका छोरा । जोगी,साधु सन्तको सत्संगमा विद्वान भएका । वेदान्तमा विद्यावारिधि गरेका ।  काशीवासबाट नेपाल आई मातृभूमिको सेवामा समर्पित  । डा. स्वामी प्रपन्नाचार्य ( काले राई ) २०७२ भाद्र ४ गते विहान ३::३० बजेदेखि हामीबीच रहेनन् ।

 २०४५ / २०४६ तिर वहाँ नेपाल आउनु भयो । आफ्नो घर फिदिम जानु भयो । तर बस्नु भएन । जोगी साधुको  जीवन अपनाएपछि एक पटक आफ्नो घर आउनु पर्ने धर्म निभाउन आउनु भएको रहेछ । देशको विभिन्न स्थानको भ्रमण गर्नु भयो । राजा वीरेन्द्रले राजसभाको सदस्यमा मनोनित गरेर सन्तको सम्मान मात्र गर्नु भएन बल्कि राज सभामा रिषी मुनिको उपस्थिति गराउनु भयो । सभाको गरिमा बढ्यो । राजा रिषीमनका रहेछन् भन्ने सन्देश देश विदेशमा फैलियो ।वेद वेदान्त र हिन्दू सनातन परम्पराको मान बढ्यो । स्वामीजीको सम्मान पनि बढ्दै गयो । देश गणतन्त्रमा प्रवेश गरेपछि प्रपन्नाचार्यजीको ब्यक्तित्वमा केही अन्तरालकोनिमित्त प्रश्नचिन्ह लाग्न थाल्यो । नेताहरु राजाको पृष्ठपोषक ठानी वहाँको सुविधाआदि काट्ने प्रयासमा लागे । के फरक पर्थ्यो र एक सन्तलाई ? वहाँ अविचलित भई साधनामा लागी रहनु भयो । पशुपति मृगस्थलीको आश्रयमा जीवन विताउन थाल्नु भयो । २०७० सालतिर वहाँ आर्थिक संकटमा पर्नु भयो ।अस्वस्थता पनि बढ्दै गयो । वहाँका केही सहयोगी मध्ये एक जना सेवानिवृत्त हेडसर नेपाल सर, पशुपति मित्र माध्यमिक विद्यालयका सप्रअ घनश्याम राज काफ्ले आदिले स्वामीलाई सहयोग गर्नु पर्ने कुरा ल्याउनु भयो । स्टाफ साथीहरु राजी भए । मलाई बेग्लै खुसी लाग्यो । कारण थियो २०३७ / २०३८ मा एक साता स्वामीजीसंग बनारसमा बसउठ भएको थियो । ( क्रमश:) 

 

(१४९) काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

शिक्षण जीवनका अनुभवहरु ( १४९ ) 

२०७२ भाद्र  ५ गते शनिवार 

काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं ।

२०७२ भाद्र ४ गतेको बाँकी…

रुपन्देही ,बुटवलबाट म र कालिका मा.वि.का प्र.अ. कौशल राज बस्याल जिल्ला स्तरीय प्रश्न-पत्र छपाउन बनारसको विश्वनाथ गल्ली स्थित माधव मुद्रणालय (प्रेस)मा बसेका थियौं । प्रेस मालिकले स्वामीजीसंग परिचय गराइ दिनु भयो ।दिनभरि जसो हामी आ-आफ्ना काममा ब्यस्त हुन्थ्यौं । राती बास बस्न स्वामीजी त्यहीं आउनु हुन्थ्यो । त्यतिखेर वहाँ ” वेदमा के छ ?” भन्ने पुस्तक छापेर वितरण व्यवस्थापन गर्न लाग्नु भएको थियौं ।वैदिक ज्ञान, आफ्नो जीवन र नेपालको शिक्षाबारे छलफल गर्न रुचाउनुहुन्थ्यो, स्वामीजी । नयराज पन्तलाई विद्वान मान्छु भन्नु हुन्थ्यो । काठमाडौं उपत्यकालाई “अधित्यका”भन्नु पर्ने विचार थियो, वहाँको । साकाहारी खानपान भएका वहाँले साम्बर मन पराउनुहुन्थ्यो । औधि पिरो तरकारी खानु पर्ने । हामीलाई पनि आफुले खाने भोजनालयमा लैजानुहुन्थ्यो । खान्थ्यौं स्वादिष्ट भोजन ।पेमेन्ट हामी स्वयं गर्ने गर्थ्यौं । तर पिरो खानाले हाम्रो पेट बिग्रियो।कारण बताएर हामी अन्तै खान थाल्यौं । वहाँलाई मान गर्नेको जमात नै हुन्थ्यो । काशीमा नेपाली सन्तको त्यस्तो इज्जत देख्दा हामीले गर्व अनुभव गर्यौं । सन्त समागममा पनि गयौं । विशिष्ट स्थान थियो वहाँको । राति वहाँको ज्ञान,गुन ,प्रवचन सुन्दै निदाउन्थ्यौ ।सायद वेद रसको बानी परेको थिएन, हामीलाई त्यतिबेला ।( क्रमश: )

(१४७) लगातार वर्षा हुंदैछ । यो झरीले विपत् नल्यावस् ।

शिक्षण जीवनका अनुभवहरु ( १४७) 

२०७२ भाद्र  ३ गते विहिवार

लगातार वर्षा हुंदैछ । यो झरीले विपत् नल्यावस् ।

भाद्र महिनाको शुरुदेखि नै लगातार वर्षा भइरहेको छ । झरीको बेला छ  । कहीं कतै बाहिर निस्कियो भने कौवा र भंगेरीको गती हुन्छ । लुछुप्पै भिज्नु पर्ने । छाताले काम गर्दैन । रेनकोटले पनि आधी जीउ भिजाउँछ । बाइक स्कूटर चलाउनेको त कन्त बिजोग । छाता आदि नलिइकन हिंड्ने युवतिहरुको त बेहाल नै हुन्छ । तरर भिजेर काँपेका हुन्छन् ।भिजेको लुगाले लाज छोप्न गाह्रो । त्यसमा शुरु हुन्छ रुधा ,खोकी र ज्वरो । धेरै दिन रहे निमोनिया ।वर्षाबाट जोगिनु पर्दछ ।

वैशाखको भूकम्पले धाँजा फाटेका पहाडका डाँडा बस्तीहरु, पाखा पखेराहरु, उजाडिएका गाउँ बस्तीहरु वढी जोखिममा छन् । नदी किनाराका जनताका आँखामा निंद छैन । ज्यान हत्केलामा लिएर बसेका छन् । बाढी पैह्रोले आवागमन मात्र अवरोध नगरी बस्ती नै बनाउने त्रासमा छौं हामी नेपालीहरु । हरेक साल वेहोर्नु पर्ने यो प्राकृतिक प्रकोपको दीगो समाधान हुन सकेन । राहत थोरै आहत धेरै । लाचार छ सरकार भन्ने राजनैतिक “बुं ख्याचा” । यो त समवेदना पनि बाँड्न सक्दैन । दसौं हजार जनता भूकम्पमा परी मृत्यु वरण गरे । तर सरकार नामको विचरो चरोले देशमा एक दिन पनि राष्ट्रिय शोक घोषणा गरेन । तिनका कार्यकर्ता मरोस् त , झण्डा आधा झुकाउँछ र शोक मनाउँछ ।

अब प्रकृतिसंग प्रार्थना गरौं – थप विपत्ति नआवस् । बाढी पैह्रोले धनजनको क्षति नगरोस् । देशको पूर्वाधारहरु नष्ट नहोस् ।

(१४६) सरकारी कर्मचारी र शिक्षकहरुले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने ।

शिक्षण जीवनका अनुभवहरु ( १४६ )

२०७२ भाद्र  २ गते बुधवार

सरकारी कर्मचारी र शिक्षकहरुले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने ।

भारतको इलाहाबाद उच्च न्यालयले हिजो भाद्र १ गते उत्तर प्रदेशको सबै सरकारी कर्मचारीका सन्तानलाई सरकारी प्राथमिक विद्यालयमा भर्ना गर्नु पर्ने आदेश दिएको समाचार प्रकाशमा आएको छ । सरकारका मुख्य सचिवको नाममा यो आदेश दिंदै अदालतें ६ महिना भित्रै प्रबन्ध मिलाइ आगामी शैक्षिक सत्रदेखि निर्णय कार्यान्वयन गर्न भनेको छ । सरकारी विद्यालयहरुको गिर्दो अवस्था देखेर यस्तो निर्णय लिएको बताइएको छ । हुने खानेका सन्तानहरु पढ्न थालेपछि सरकारी विद्यालयको भौतिक र आर्थिक स्थितिमा सुधार आउने विश्वास लिइएको छ ।

हाम्रो नेपालको हालतमा यो निर्णय बलियो नजीर हुंने देखिन्छ । हामी कहाँ पनि प्राथमिक विद्यालयहरुको अवस्था दयनीय छ । त्यसमा पनि वैशाख १२ र २९ को महाभूकम्पले धेरै विद्यालय ध्वस्त पारेको छ । दयनीय छन्, हाम्रा प्राथमिक विद्यालयहरु । हाकिम सर्कलका कर्मचारीका सन्तानहरु भर्ना गर्ने चलन छैन । महंगा निजी स्कूलमा पढ्छन् ,उनीहरुका सन्ततिहरु । सके विदेश पढ्न पढाइन्छ । शिक्षकहरु पनि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । अपवादको रुपमा भने कसै कसैले आफ्ना सन्ततिलाई बोर्डिंगबाट छुटाएर आफूले पढाउने विद्यालयमा भर्ना गरेको उदाहरण पनि पाइन्छ । जस्तै पशुपति मित्र मा. वि. चावहिलका अंग्रेजी शिक्षक चन्द्र कान्त पंडितले आफ्ना तीन जना नानीहरुलाई आफूले पढाउने विद्यालयमा भर्ना गरेका छन् । नत्र भने विद्यालयको पालेहरुले पनि आफ्ना नानीहरु महंगा बोर्डिंगमा मात्र भर्ना गर्दछन् । सरकारी कर्मचारी र शिक्षकहरुले समेत आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने नियम बनाइ लागू गर्नु पर्दछ ।कमजोर विद्यालयहरु सशक्त हुने छन् ।

(१४५) देशमा सद्भाव र अमनचैन रही रहोस् 

शिक्षण जीवनका अनुभवहरु ( १४५)

२०७२ भाद्र १ गते मंगलवार 

देशमा सद्भाव र अमनचैन रही रहोस् 

संविधान आउने पूर्वसन्ध्यामा देशको विभिन्न जिल्लाहरु अशान्त देखिएको छन् । मध्यपश्चिम,सुदूरपश्चिम,नवलपरासी, बाग्लुंग,सप्तरी ,जुम्ला र अन्य जिल्लाहरु आन्दोलनमा उत्रेका छन् । कतै “अखण्ड” को माग र कतै जातीय प्रदेश , कतै जिल्ला टुक्रिएकोमा आवेग देखिन्छ । तराई केन्द्रित सभासद्हरु संसद छाडेर सडक आन्दोलन गर्ने बिगुल फुकिरहेका छन् ।हिन्दू धर्मको स्थापनाकोलागि साधु सन्त महन्तले जुलूस निकालेको छ । जनताको बीचमा पुलिस गोली चलाउँछ ।  कारण आत्मरक्षाकोलागि भनिन्छ । सरकारले संयम गुमाउनु हुंदैन ।सरकार दशलाखमा एउटा प्राणको मूल्य तोक्छ । यो सीमांकनको सकस  हो । असन्तोष हो । आक्रोश हो । अवैज्ञानिकता हो ।  चार जलले देशको ठेक्का पाएको होइन ।वैज्ञानिक र प्राविधिक विशेषज्ञहरु संमिलित टोली गठन गरेर भौगोलिक बनावटको आधारमा सीमाँकन र नामाँकनको निर्णय गर्नु पर्दछ । हामी पहिला त नेपाली नै हौं । हाम्रो देशको अखण्डता पहिला जोगाउनु पर्दछ । त्यसपछि गाउँ र जिल्लाको सीमानाबारे बसेर छलफल गर्नु पर्दछ । देशमा सद्भाव र अमनचैन क़ायम हुनु पर्दछ । देशले “हाम्रो र राम्रो” संविधान पाउनु पर्दछ ।