(१३३) मुस्लिम समुदाय पनि हिन्दू धर्मपक्षधर 

शिक्षण जीवनका अनुभवहरु ( १३३ )

२०७२ साउन २१ गते विहिवार

मुस्लिम समुदाय पनि हिन्दू धर्मपक्षधर 

केही समयदेखि नेपालमा बसोबास गर्ने मुस्लिम समुदायले पनि देशको नयाँ बन्ने संविधानमा सतातन हिन्दू धर्म कायम हुनु पर्ने अभिव्यक्ति दिंदै आएको देखिएकोछ । यो अस्वाभाविक भने होइन । यो हिन्दू धर्मको समन्वयकारी र संरक्षणकारी प्रकृतिको प्रतिफल हो । 

 हिन्दू धर्म प्राचीन र  सनातनदेखि मानी आएको र चली आएको धर्म हो । यसको क्षत्रछायाँमा सबै जातजाति सुरक्षित छन् । केही नेताहरूले राज्यको कुनै धर्म हुंदैन भन्दै आएका छन् । यो सिद्धान्तको कुरा हो ।मान्छेले सिद्धान्त बनाउने हो । सिद्धान्तले मान्छे बनाउने होइन । सतातनदेखि चली आएको प्रचलनलाई संरक्षण दिनु राज्यको कर्तव्य हुन्छ । सबैको हित गर्ने, सबैको सुख चाहने यो धर्मलाई पाखा लगाउँदा कसैको अभीष्ट पूरा हुंदैन । बरू कलंकों टीका लगाउनु जस्तै होला, केहीलाई। यो कुचेस्ता नगरियोस् । बहुसंख्यक नेपालीको मनोभावनाको कदर हुंनै पर्दछ ।  

(१३२) सरल,निष्ठावान र विकासप्रेमी बुटवलवासी राजनीतिकर्मी सूर्य प्रसाद प्रधान रहेनन् ।

शिक्षण जीवनका अनुभवहरु ( १३२ )

२०७२ साउन २० गते बुधवार

सरल,निष्ठावान र विकासप्रेमी बुटवलवासी राजनीतिकर्मी सूर्य प्रसाद प्रधान रहेनन् ।

सरल व्यक्तित्व । मिलनसार । कसैको बिगार नगर्ने । बुटवलको चौतर्फि विकासमा समर्पित । बुटवलका नगर प्रमुख र नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. ४ का पूर्व सांसद थिए, उनी । एउटा संसदीय समितिका सभापति पनि । तर नेपाली काँग्रेसबाट उनी मन्त्री बन्न सकेनन् । भनौं मन्त्री बनाइएन । बुटवलवासीको इच्छा थियो, वहाँ त्यो पदमा पुगुन् भन्ने ।

मैले यसबारे एक पटक सोधेको थिएं । जवाफ दिनु भयो- ” म जेलनेल नखाएको मान्छे परें । मेरो नम्बर त कहिल्यै नआउने रहेछ । कहिलेकाँही बिरक्ति लाग्छ । २०४६ तिरको जन आन्दोलनमा शहिद भएको भए राम्रो हुन्थ्यो ।”

कटु अभिव्यक्ति थियो । नेपाली काँग्रेसको अनुदारवादी नीति स्पष्ट भयो । निरन्तर लागी रहनु भयो बुटवलको प्रगतिनिम्ति । बुटवल स्थित ज्ञानोदय रात्री माध्यमिक विद्यालयको संचालक समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । म प्र. अ. भएर १० वर्ष काम गर्ने अवसर पाएको थिएं । उद्योग वाणिज्य संघ बुटवलको तर्फबाट निरन्तर अनुदान उपलब्ध गराउनु भयो । मजदूरवर्ग र पढाइ छुटेका महिलावर्गले समेत शिक्षाको अवसर पाएका छन् ।

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । यस दु:खद घडीमा परिवार जनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दछु ।

(१३१) काष्ठमण्डप अब सम्झनामा

शिक्षण जीवनका अनुभवहरु ( १३१ )

२०७२ साउन १९ गते मंगलवार

image

image

२०७२ वैशाख १२ / २९ को महाभूकम्पले धराशायी बनाएको नेपालको साँस्कृतिक महत्ता बोकेको काष्ठमण्डप स्थल पुगेपछि हृदय विदीर्ण हुन्छ । अक्क न बक्क भइन्छ । पटक-पटक हेरेको-देखेको काष्ठमण्डप आज अतित भएको छ । एउटै रूखबाट बनेको भनिएको यो कलाकृति के पुन: त्यसरी नै खडा हुंन सक्ला ? सील्पीको त कमी छैन, हाम्रो देशमा । सरकारको नेतृत्वदायी भूमिकामा नेपाली मात्रले एउटा इटाको योगदान गर्नै पर्छ । परामुखापेक्षी हुनु हुन्न । 

काष्ठमण्डपको सेरोफेरोमा घुम्ने अर्थतन्त्र भने तुहिएकै छ । म वाल्ल परेर हेर्दै थिएँ । एक जना जिज्ञासुले सोध्यो, ” यहाँका देवताहरु कहाँ छन् त ? रैथाने फूल व्यापारीले जवाफ दियो,” भूकम्प आएपछि देवताहरु पनि खुट्टा हालेर भागे ।”

(१३०) पशुपतिनाथको दर्शन गर्न मानव सागर उर्लियो

 

शिक्षण जीवनका अनुभवहरु ( १३० )

२०७२ साउन १८ गते सोमवार

पशुपतिनाथको दर्शन गर्न मानव सागर उर्लियो

आज साउन महिनाको तेस्रो सोमवार । कमलाले भगवान पशुपतिनाथको दर्शन गर्ने इच्छा गरेकीले प्रात:काल ५:३० बजे नै प्राँगणमा पुग्यौं ।बोलबम काँवरिया भक्तजनहरुको ला—-मो लाम थियो । त्यो लाममा किशोर,किशोरी, युवा-युवति र पाका भक्तहरुको संयोजन थियो । हिमालवासी, पहाडवासी,तराईवासी र सहरवासी सबैतिरकावासी थिए । एउटै मनोकाँक्षाका थिए – शिव दर्शन । एउटै स्वर थियो – ” बोलबम ! बोलबम !! बोलबम !!! पहेंलपूरी भएको थियो , आराध्यदेवको प्राँगण । स्वस्फुर्त थियो भेला ।समर्पण थियो , उत्सर्ग थियो ।  कस्को निम्तोमा आएका थिए त्यो मानव सागर ? उनीहरुमा कुनै राजनैतिक आग्रह पूर्वाग्रह  थिएन । यस्ता शिव भक्तहरुको देशलाई कस्ले चाहेको हो धर्मनिरपेक्ष बनाउँन ? को हो त्यो जसले भन्छ – ” राज्यको कुनै धर्म हुंदैन”भनेर ? त्यो नेपालको माटोमा जन्मेका हैन र ? त्यसले खहरे खोलाको एक अंजुली पानी पिएको छैन र ? बहुसंख्यक जनमानसको कदर संघीय गणतन्त्रमा हुंदैन र ? के नेतातन्त्रको मनपरी हुन्छ र प्रजातन्त्रमा ?

(१२९) गुरुले मन लगाएर, ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १२९ )
२०७२ साउन १७ गते आइतवार

गुरुले मन लगाएर,  ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।

दैनिक कक्षा शिक्षणको क्रममा गुरुले आफ्ना विद्यार्थीहरुलाई नयाँ नौलो ज्ञान सीपका साथै विषयवस्तुमाथि विस्तृत प्रकाश पारेर शिक्षण गर्नु पर्दछ ।विद्यार्थीले आफ्नो शक्ति अनुसार ग्रहण गर्दछन् । तर शिक्षकले शिक्षण गर्दा थप उर्जाका साथ पढाउनु पर्दछ ।

 

(१२८) गुरु पूर्णिमाको महत्व र गुरू महिमा

शिक्षण जीवनका अनुभवहरु ( १२८ )

२०७२ साउन १६ गते शनिवार

गुरु पूर्णिमाको महत्व र गुरू महिमा

विगत केही वर्षदेखि गुरु पूर्णिमा पर्व औपचारिकतामा मात्र सीमित रहेको देखिन्छ । उपल्लो कक्षाका विद्यार्थीहरुले यो पर्व मनाउन केही अर्थ संकलन गर्दछन् । गुरूवर्गलाई सम्मान गर्दछन् । शिक्षक र विद्यार्थीको तर्फबाट एक दुई नैतिक भाषण ठोकिन्छ । अर्को दिनदेखि फेरि त्यही यन्त्रवतका क्रियाकलाप । केही पाकाहरुको यस्तो भनाइ सुनें डिल्लीबजारको चौकमा-     ” अहिले गुरु, गुरु जस्तो छैनन् । चेला, चेला जस्तो छैन । गुरूलाई मूल्यमा तौलिने गरिन्छ ।शिष्यलाई एउटा उत्पादन / Product को रुपमा । विकाउका चीज हुंन् जस्ता । शिष्यको तानातान हुन्छ, भर्ना गर्ने गराउने बहानामा। विदेशी शैक्षिक प्रतिष्ठानहरु खोल्छन् मेलाहरु । यिनलाई कुनै रोकटोक छैन ।हजारौं कलिला छात्रछात्राहरु विदेशिन्छन् , गतिलो र गुनिलो कलेज विश्वविद्यालयका खोजमा । बेखबर छन् सरकारी निकाय । कानमा तेल हालेका र बाँधेका छन्  आँखामा पट्टी ,यहाँका नेताजीहरुले । गुरुहरु मौन व्रतमा छन् ।”

(१२७) गुरु पूर्णिमा

शिक्षण जीवनका अनुभवहरु ( १२७ )

२०७२ साउन १५ गते विहिवार

गुरु पूर्णिमाको पावन पर्वमा आदरणीय समस्त मार्ग दर्शक गुरुवर्गमा हार्दिक प्रणाम गर्दछु ।

(१२५ ) शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

शिक्षण जीवनका अनुभवहरु ( १२५  )

२०७२ साउन  १२ गते मंगलवार

शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

शिक्षक बन्ने ब्यक्तिले सदा समय पालन गर्नु पर्दछ भनेर मेरा अग्रज आदरणी गुरुहरुले भन्ने गर्नु हुन्थ्यो । म शिक्षक बनेपछि यो कुरा अनुभूत गरें । समयमा विद्यालय पुग्ने गर्नाले प्र.अ. ,संचालक समिति र अभिभावक-विद्यार्थी सबै खुसी हुंदा रहेछन् । केही work cheat / काम ठग सहकर्मीहरु भने इर्ष्या गर्दा रहेछन् । यिनीहरु शिक्षण पेसालाई दोस्रो दर्जाको ठान्ने, प्लेट फर्म बनाइ कुरेर बस्ने र मौका पाउनासाथ अर्कै पेसामा लाग्ने खालका हुन्छन् ।समयमा पुग्नु, समयमा कक्षा लिने, समयमा कक्षा छाड्ने र निर्धारित समयमा उत्तरपुस्तिका परीक्षण गरी रिजल्ट दिने शिक्षकको प्राथमिकतामा पर्नु पर्दछ । लामो समयसम्म प्रधानाध्यापक हुंदा पनि मैले समय पालन गरें ।  शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

(१२४) भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम रहेनन् ।

शिक्षण जीवनका अनुभवहरु ( १२४ )

२०७२ साउन  ११ गते  सोमवार

भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम रहेनन् ।

मित्र राष्ट्र भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम रहेनन् । उनको देहावसान असममा अकस्मात् विरामी हुंदा भयो ।उनी भारतका रकेट वैज्ञानिक थिए । उनी missile man भनेर चिनिन्थे ।सन २००२ देखि २००७ सम्म उनी भारतका ११ औं राष्ट्रपति थिए । भारतीय जनता पार्टीका प्रधानमन्त्री अटल विहारी बाजपेयीले उनलाई राष्ट्रपति बनाउन भूमिका खेलेका थिए ।उनलाई विद्यार्थीहरु निकै मन पर्थ्यो । पढाउन अति नै सौखिन थिए ।राष्ट्रपतिकोलागि मनोनित गर्नु पूर्व उनलाई सोधिएको थियो , ” सर तपाई अहिले के गर्दै हुनुहुन्छ ?” तुरुन्तै जवाफ दिए,” भोलि पढाउनु पर्ने विषयको तयारी गर्दै छु ।”

नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय पहिलो पटक स्थापना गर्दा एक जना वैज्ञानिकको ठाउँमा एक जना सडक बनाउने ठेकेदारलाई मन्त्री बनाइएको थियो ।

अब्दुल कलामले भनेका थिए, ” मलाई माया गर्ने हो भने मेरो मृत्यु हुंदा देशमा विदा नदिनु , अझ बढी परिश्रम गरी काम गर्नु ।”

दिवंगत आत्माले चीर शान्ति पावस् भनी भनवानसंग प्रार्थना गर्दछु ।

(१२३)त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।

शिक्षण जीवनका अनुभवहरु ( १२३ )

२०७२ साउन  १० गते   आइतवार

त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।

कुरा २०२७ सालतिरको हो । म बुटवल -खस्यौली नगर पंचायतद्वारा संचालित अनिवार्य नि:शुल्क प्राथमिक पाठशाला केन्द्र नं.१ कालिका नगरमा पढाउँथें । म पढाइ लेखाइको मामलामा अलिक कडाइ गर्थें । गृह कार्य नगर्ने विद्यार्थीलाई केही न केही सजाय  दिन्थें । एक दिन १० / १२ जनाले गृह कार्य गरेर ल्याएनन् । तिनीहरुलाई विद्यालय पछाडि लगें । त्यहाँ खेतमा सिंचाइ गर्ने कुलो थियो । “लौ तिमीहरु १० मिनट कुलोमा उभिएर बस”, मैले निर्देशन दिएं । एउटा गएर पानी छोयो ।”ओ हो , मरिन्छ ।” , भन्न थाल्यो । ढीलो विद्यालय भर्ना भएका केटीहरु लजाउन थाले । म आफै कुलोमा एकछिन उभिनु थालें ।पानी चीसो थियो ।किन कि जाडो याम पुस थियो । दिन लागेको सजाय रोकें ।विकल्प सोचें । भने- “भैगो, जाडो छ । कक्षा कोठा सफा गर अथवा करेसाबारी गोडमेल गर । रोजेर काम गर ।” 

छात्रहरु करेसाबारी तिर गए । छात्राहरु कक्षा कोठा सफा गर्न गए । त्यहाँ केटा र केटीले गर्ने कामको स्पष्ट विभाजन देखियो ।