शैक्षिक जीवनका अनुभवहरु (३७ )
२०७२ वैशाख १० गते विहिवार
अभिभावकको आमदानीमा भर पर्छ छोराछोरीको विद्यालय भर्ना
वैशाख महिना विद्यार्थीलाई भर्ना गर्ने महिना हो । यसै बेला पुरानो स्कूल छुटाउने र नयाँ स्कूलमा भर्ना गर्ने समय पनि हो ।समझदार अभिभावकहरु आफ्ना नानीहरुलाई सकभर पढिरहेका विद्यालयबाट छुटाउँदैनन् । कारण, नयाँ विद्यालयमा नानीहरुलाई घुलमिल हुंन धेरै समय लाग्छ । शिक्षकहरु नयाँ हुन्छन् । साथीसंगाती नयाँ हुन्छन् । वातावरण नयाँ हुन्छ ।
शिक्षकको पढाउने शैली नयाँ हुन्छ ।कम्तीमा पनि छ महिना लाग्छ, नयाँ वातावरणमा समायोजन हुंन ।
तर आमदानीको स्रोतमा सामान्य हेरफेर हुनासाथ अभिभावकहरुका मनस्थितिमा परिवर्तन आई हालेको पनि अनुभव गरेको छु ।राम्रो नोकरी पाउनासाथ, आमदानी ह्वास्स बढनासाथ अभिभावकहरु सरकारी विद्यालयबाट नानीहरुलाई झिकेर निजी बोर्डिंग स्कूलहरुमा भर्ना गर्न लैजान्छन् । फेरि अर्का थरीको आमदानी घट्यो भने निजी बोर्डिंगबाट नानीहरुलाई झिकेर सरकारी स्कूलहरुमा भर्ना गर्दछन् । यसो गर्दा नानीहरुको पढ्ने निरन्तरतामा गतिरोध आउँछ ।
सामान्य भौतिक पूर्वाधार भएको विद्यालय र योग्य अनुभवी शिक्षक दरवन्दी भएमा त्यहाँबाट विद्यार्थी निकाली अन्यत्र भर्ना गर्न लैजान हुंदैन ।