शैक्षिक जीवनका अनुभवहरु ( ४७ )
२०७२ वैशाख २० गते आइतवार
श्रद्धा सुमन : २०७२ वैशाख १२ / १३ को महाभूईंचालोमा जीवन उत्सर्ग गर्ने नेपाली प्राणहरुलाई !!!
शैक्षिक जीवनका अनुभवहरु ( ४७ )
२०७२ वैशाख २० गते आइतवार
श्रद्धा सुमन : २०७२ वैशाख १२ / १३ को महाभूईंचालोमा जीवन उत्सर्ग गर्ने नेपाली प्राणहरुलाई !!!
शैक्षिक जीवनका अनुभवहरु ( ४६ )
२०७२ वैशाख १९ गते शनिवार
कुराको सगरमाथा बनाउन सबै दक्ष छन् ।
मानिस पहिला गाँस खोज्छ । अनि वास खोज्छ ।घर मानिसको भर हो । आश्रय हो ।
समय ,परिस्थिति र औकात अनुसार मानिस घर बनाउँछ ।सबैले मापदण्ड पु-याउन सक्तैनन् । यसै कमजोरीलाई भूईचालोले प्रहार गर्दछ । गर्यो नै, काइदाले । तर विपद व्यवस्थापनमा सरोकारवाला सबै चुक्यौं । कुराको सगरमाथा बनाउन सबै दक्ष छन् ।
शैक्षिक जीवनका अनुभवहरु ( ४५ )
२०७२ वैशाख १८ गते शुक्रवार
महाभूकम्प पश्चात बन्द विद्यालय अब खोली विद्यार्थीको मन पुन:स्थापन गर्नु पर्छ ।
२०७२ वैशाख १२ गते शनिवार महाभूईचालो आई कोहराम मच्चाएको साता दिन भइसक्यो ।त्यो दिन विद्यालयहरु विदा परेकाले विद्यार्थीहरुको बिचल्ली हुन पाएन । सरकारले सम्वेदनशीलतालाई मध्यनजर राखेर विद्यालय एक हप्ताकोलागि बन्द गर्ने सकारात्मक निर्णय गर्यो । वालवालिकाहरुले आ-आफ्ना अभिभावकहरुसंगै बसेर त्रासदी झेल्नुको अनुभव गरे । कतिले पहिलेदेखि नै संचालन गरिएको भूकम्प सम्बन्धित सचेतना कार्यक्रमबाट टेवा पाए होलान् । कतिपय शिक्षालयहरुको पूर्वाधारमा क्षति पुगेको छ । तर अब विद्यालय खोलिनु जरुरी छ । शिक्षकहरुबाट महाभूकम्पको कारण, परिणाम् र धन जनको क्षतिबारे विद्यार्थीलाई अवगत गराउनु , सतर्कता अपनाउनु पर्ने कुराहरु सिकाउनु र सुरक्षित बस्ने उपायहरु बारे बताउनु पर्दछ । विभिन्न परिस्थितिको सामना गर्ने विधिहरु सिकाउनु पर्दछ । द:खमा एक आपसमा मेलजोल गरी बस्ने, सद्भाव राख्ने र धैर्य धारण गर्ने जस्ता कुराहरु सिकाउनु पर्दछ। शिक्षकहरुबाट पाएको शिक्षा, अनुभवहरु र जीवनदर्शनले जीउने कला सिकाउँछ । शोकलाई शक्तिमा बदल्ने साहस बढाउँछ । मन पुन:स्थापना गर्ने नैतिक शिक्षा दिनु पर्दछ ।मन, मस्तिष्क र शरीरको संयोजन
भएपछि जीउने कलाको विकास हुन्छ ।
शैक्षिक जीवनका अनुभवहरु ( ४४ )
२०७२ वैशाख १७ गते विहिवार
प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गरौं
महाभूकम्पको कारणले हाम्रो देश विपदमा परेको छ । देश रोई रहेको छ ।देश संकटमा छ ।नागरिक घरवास विहिन भएका छन् ।पीडित नागरिक राहत खोजी रहेका छन् ।प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गर्नु पर्दछ र गरौं भन्ने पारिवारिक छलफल चलिरहेको थियो । निखिल चेतना केन्द्र ,बुटवलका गुरु बहिनीहरु सहयोगको अपेक्षा राख्दै घर आउनु भयो । गोरखाका भूकम्प पीडित नागरिकलाई सहयोग पठाउने उद्देश्य बताउनु भयो । योजना जायज लाग्यो । यथोचित रकम प्रदान गर्यौं ।
म एक सेवानिवृत्त शिक्षक हुं ।राष्ट्रले मलाई दिनु पर्ने बेलामा मनग्गै दिएको छ ।मैले पनि केही दिने वेला आयो भन्ने सोंच आयो । एउटाको पीडामा अर्कोले सहयोग गर्नु नै नागरिक कर्तव्य हो । सरकारी टेक्स कटाइ पाउने एक महिनाको पेन्सन रकम राहत कोषमा दाखिला गर्ने संकल्प गरेको छु ।
मित्रहरु ।
तपाईहरुले पनि आ-आफ्ना ठाउँबाट सहयोग गर्नुस् , है !
शैक्षिक जीवनका अनुभवहरु ( ४३ )
२०७२ वैशाख १६ गते बुधलवार
उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं ।
इमान्दार भएर उद्धार सामग्रीको बितरण गरियोस् ।
२०७२ साल वैशाख १२ र १३ गतेको अकल्पनीय महाभूकम्पको चपेटामा परी मर्माहत भएका नेपाली जनताको उद्धारको पवित्र भावनाले प्रेरित भई मित्र राष्ट्रहरूले उद्धारकर्ता जवानहरु र सहयोग सामग्री पठाएका छन् । दुखमा सच्चा मानिसले मात्र मानवता देखाउँछ ।धन्यवाद छ । साधुवाद, छ वहाँहरुलाई ।
हामी नेपालीहरुले पनि आफ्ना पीडित दाजुभाइहरुलाई उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं । तर सहयोग गर्दा आधिकारिक निकाय वा संस्थालाई मात्र गर्नु उचित हुन्छ । जसको अगुवाइमा संकलित रकम, राहत सामग्री दुरुपयोग हुन नपावस् । वास्तविक पीडित वर्गले राहत पावस् । नियामक निकाय पनि दुरुपयोग हुनबाट सतर्क होस् । वितरण गर्न खटाउने र खटिने मानिसका मनमा लोभ नपलावस् ।हे भगवान ! यस्तै होस् ।यस्ता सामग्रीमा भ्रष्टाचार नहोस् । लुकी लुकी घर र आफन्तको घरमा कोसेली भनी कसैले नलगोस्, नलैजावस् । विपत्तिमा सम्पत्ति कसैले नजोडोस् । नत्र महापाप लागोस्, यस्तो कुकृत्य गर्नेलाई । कीरा परोस् भ्रष्टाचारीको मुखमा ।
शैक्षिक जीवनका अनुभवहरु ( ४२ )
२०७२ वैशाख १५ गते मंगलवार
महाभूकम्प पश्चातको आवश्यकता र अवस्था
महाविनाशकारी भूकम्पपछि विपद पीडित सर्वसाधारणलाई निम्न कुराहरुको आवश्कता पर्दछ । तर भूकम्पले प्रताडना गरेको चौथो दिन भईसक्दा पनि निम्न स्थिति देखा प-यो ।
१/ आतंकित ,त्रसित र पीड़ितलाई सान्त्वना, भरोसा र राहत चाहिन्थ्यो । तर प्राप्त भएन । पीडित माझ स्वयंसेवकहरु,नेता ,सरकारी प्रतिनिधिको उपस्थिति विरलै देखियो ।
२/ सय भन्दा बढी राजनैतिक दलहरु भएपनि तिनले कार्यकर्ता परिचालन गरेको देखिएन ।
३/ तत्कालै पु-याउनु पर्ने पानी र औषधिको अभाव रह्यो । तदारुकतासाथ व्यवस्थापन गर्नु प-यो ।
४/ जताततै फोहर थुप्रियो ।प्रभावकारी सरसफाइ व्यवस्थापन भएन ।नगरपालिकाहरु सक्रिय रहनु प-यो ।
५ / अत्यावश्यक खाद्य सामग्री सुपथ मूल्यमा सुलभ हुनु पर्थ्यो । अभाव र कालाबजारी पल्क्यो । कड़ा कार्यवाही हुनुपर्छ् ।
६ / संरचना ध्वस्त भएका विद्यालयको पुनर्संरचनानिमित्त सरकारले अनुदान प्रदान गरी विद्यार्थीको पठनपाठन सुचारू गर्न लगाउनु पर्दछ ।
७/ भग्नावशेषभित्र जीवितै रहेकाको जीवन तत्कालै बचाउनु पर्दछ । तर आवश्यक उपकरणहरुको अभाव रह्यो ।
८ / गन्तव्यतिर जानआउन सहज यातायात सेवा प्राप्त भएन ।यातायातको खपिनसक्नु मनपरी भाडा बढ्यो ।सरकार रमिते बन्यो ।
९ / सरकारसंग सवारी साधन छैन । भएको साझा यातायात पनि परिचालन भएन ।
१० / उद्धार कार्य सबै सहर केन्द्रित रह्यो। गाउँ, पहाडमा पुग्न सकेन ।
शैक्षिक जीवनका अनुभवहरु ( ४१ )
२०७२ वैशाख १४ गते सोमवार
महाभूकम्पको अकल्पनीय धन जनको क्षति
२०७२ वैशाख १२ को ७.६ र १३ गतेको ६.९ रेक्टर स्केलको महाभूकम्पको कारण नेपालीले जन धनको अकल्पनीय क्षति व्योहोर्नु प-यो । टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण, घटना , विवेचनाले जनमानसलाई किंकर्तव्यविमुढ बनाएकोछ ।स्वजनको विछोडको सबभन्दा सम्बेदनशील पक्ष त छंदैछ । घरवास भत्केर अर्को उठिबास । पटके शक्तिशाली कम्पन । सन्त्रस्त मनःस्थिति । तत्कालै उद्वारको अभाव ।विपदमा होस हवास हराउँछ, मानिसको । आफू सम्हालिन जरुरी छ ।
प्राकृतिक विपद पछि मानवीय सम्वेदनहीनता देखा पर्छ, अर्को तिर । खाद्य सामग्रीको कालाबजारी । चर्को मूल्य बृद्धि । औषधीमूलोको अभाव । चाहिएको वेलामा नपाइनु । खाने पानीको अभाव । विजुली नबल्ला भन्दापनि करेन्ट लागेर ज्यान गुमाउनु पर्ने डर । अस्पतालहरुमा घाइतेको कन्त विजोग ।पूर्वतयारीको अभाव । तारे होटलमा गफ चुट्ने , कुराको सगरमाथा खडा गर्न जान्ने योजनाविद्हरुले कहीं कतै पूर्वाधार निर्माण गरी विपद व्यवस्थापन गरेर देखाउन सकेन ।
बन्द,हडताल, चक्काजाम, विहानै सवारी साधनमा आगो लगाई आफ्ना मालिकलाई खुसी पार्न माहिर दलहरुका भातृसंघ संगठनका सिपाहीहरु कुन मुसाको दुलामा छिरे ? तीन दिनसम्म वेपत्तै रहे ।
यस्तो दु:खको बेलामा सुरक्षा निकायलाई खोज्दा रहेछन् ,जनमानस । ज्यानको बाजी लगाई जनताको सेवा गर्दा रहेछन्, जवानहरु ।
शैक्षिक जीवनका अनुभवहरु ( ४० )
२०७२ वैशाख १३गते आइतवार
देश भर भूईचालोको त्रास
विक्रम शम्बत २०७२ चार जना छात्राहरु वार्षिक परीक्षामा फेल भएपछि महाकालीमा फाल हाली आत्महत्या गरेपछि शुरु भएको हो । वैशाख १२ गते शनिवार ७.५ रेक्टर स्केलको भूकम्पले देशै शोकाकुल बनायो । २९ जिल्लामा धन जनको क्षति भयो । उपत्यकामा ठूलै विघ्न मच्चायो । पशुपतिनाथ मन्दिरबाहेक एतिहासिक धरोहर विश्व सम्पदा ध्वस्त हुंन गयो । असंख्य घरवास धराशायी भए । बाटो, चौबाटो,चौरमा शवहरु छरपस्तै राखियो । मानव कोलाहल ब्यापक छायो। जताततै दारुण क्रन्दन गुन्ज्यो ।संचार सम्पर्क लामो समयसम्म विच्छेद रह्यो । आपसी संचार छुट्यो । स्थिति भयावह बन्यो । अस्पतालहरु घाइतेहरुले भरियो ।उपचारको क्रममा बितेका सर्वसाधारणको लाशको लाम लाग्यो । जताततै अब्यवस्था र भद्रगोल । विपद ब्यवस्थापनको नारा र नाममा धेरै खर्चभएतापनि आपदको बेलामा व्यवहारमा अति नै न्यूनता देखियो ।सरकार पनि समयमा परिचालन हुन सकेन । टोलटोलमा जनमानस स्वयं परिचालित भएर पालमाआश्रय लिएको समाचार र प्रतिक्रिया आयो । आइतवार १२:५० को समयमा पुन: ६.९ रेक्टर स्केलको भूकम्प आयो । कोदारीतिर लक्षित केन्द्र भएको यसले बाह्रबीसेमा क्षति पुर्यायो । जनमानसमा सन्त्रास फैलियो । मानिस सपरिवार खुल्ला ठाउँमा बस्न थाले ।
१९९० माघ २ को भूकम्पबारे हजूरआमाले कथा सुनाउनु हुन्थ्यो । वहाँ पुरिनु भएको थियो, तेतिबेला ।बाँच्नु भयो ।
खुब पढेको थिएं। पढाएको पनि हो विद्यार्थीलाई । आफै भोगें । देखें । विपदा हेरें । मनःस्थिति ठेगानमा छैन ।
बुटवलमा पनि निखिल चेतना केन्द्रको कम्पाउण्डमा पुलचोकवासी बस्न आए । बजारका वासिन्दा सडकको डिभाइडर वरपर लाम लागेर राजमार्ग चौराहासम्म बसिरहेका भेटिए ।
घर बनाउने काममा विगत २.५ महिनादेखि हाम्रो परिवार बुटवलमा मुकाम भएकोछ । महाभूकम्पको त्रासले बुटवलवासीलाई पनि चैनको साँस लिन दिएको छैन ।
अब विनाश धेरै हुने छैन भन्ने हामी सबैले कामना गरौं ।
शैक्षिक जीवनका अनुभवहरु (३९ )
२०७२ वैशाख १२ गते शनिवार
आखिर आयो भूईचालो
विज्ञहरु भनिरहन्थे, ” भूईचालो आउँछ,आउँछ,कुनै पनि बेला आउँछ।भूकम्प स्वयंले ज्यान लिंदैन । कमजोर संरचनाले लिन्छ, ज्यान ।” आई छाड्यो ११:५६ बजे । नेपाल भर आयो । भूकम्पबाट बच्ने उपायबारे संचार माध्यमले सक्दो जन चेतना जगाएकै हो । विद्यालय -विद्यालयका शिक्षकलाई तालिम दिएकै हो । सबै सुसूचित भएकै हुन् ।व्यवहारमा कत्तिको उपयोगी भयो, समीक्षा पछि हुंदै गर्ला ।
गोरखालाई केन्द्रव्न्दु बनाई ७.५ रेक्टर स्केलको भूकम्पले देशको धेरै भागमा धनजनको क्षति गरायो । खुल्ला चौक / चौकमा वास गरायो ।धरहरा ध्वस्त भयो । दरवार क्षेत्रहरुमा ठूलो क्षति भयो ।चक्र पथ र चौंडा सडकहरुमा धाँजा फाट्यो ।पाँच दर्जन जति साना ठूला कम्पनहरु महसूस गरिए ।
सात दोवाटोमा एकत्रित पारिएको शवहरु प्रमाण भए, क्षतिको । १० बजे रातिसम्म ११०० शव गन्ती भएकाछन्। संख्या अझैं बढ्ने अवस्था छ ।
दु:ख़को घडीमा नेपालीले नेपालीलाई सहयोग र राहत पु-याउनु हाम्रो कर्तव्य हो । सरकारले अब्बल दर्जाको सहयोगको प्याकेज घोषणा गर्नु पर्दछ ।
बुटवलमा बलियो धक्काहरू आए । १२ बजेको समयमा लग्-लग् हल्लायो । धनजनको क्षतिको खबर छैन, यहाँ ।
२०१८ सालमा म सानै थिएं । महा भूकम्प आउँछ भनेर चौर चौरमा पाल टाँगेर बसेकाछौं थिए, सबै बटौलीवासीहरु ।
तर आएन, भूकम्प ।
२०२४ सालमा पनि महाभूकम्पको त्रासले बुटवलको टुंडिखेलमा सामूहिक वास भयो । म पनि थिएं। भजन कीर्तन भएको थियो । भूकम्प टार्न । तर आएन ।
४८ वर्षपछि बुटवल हल्लायो । बुटवलको जीवनमा पहिलो भूईचालोको ठूलो झट्का। नगरपालिकाले भूकम्प प्रतिरोधक नक्सा पास गर्न लगाइ बनाइएका नयाँ घरहरु पनि झ्याँइकुति खेल्न थाले । हामी परिवारका सदस्यहरुसंगै तेस्रो तलामा खाना खाँदै थियौं । मज्जाले पिंग मच्चायो ।रूखहरु पनि चौरमा हल्लिन थाल्यो । दोस्रो धक्कापछि मात्र बाहिर आयौं । साँझ पनि आयो कम्प ।
काठमाडौंमा ४ बजे पछि मात्र संचार सम्पर्क भयो । स्वजन र मित्रजनलाई सम्पर्क गरें । सकुशल रहेछन् ।
आपतविपत साइरन बजाएर आउँदैन । आएपछि सहनै पर्दछ । धैर्य नगुमाऔं । सरकारमा रहेकाहरु र नेतागणले विवेक राखेर काम गरुन् ।
सहानुभूति प्रकट गर्दछु पीडित दाजुभाइ प्रति ।
समवेदना व्यक्त गर्दछु दिवंगतका आत्मीयजनप्रति ।
प्रार्थना गर्दछु दिवंगतका आत्माको चीर शान्तिकोलागि ।
शैक्षिक जीवनका अनुभवहरु (३८ )
२०७२ वैशाख ११ गते शुक्रवार
विद्यार्थीहरूलाई जिज्ञासु बनाउन के के गर्न सकिन्छ ?
प्रतिदिन शिक्षण कार्यकलाप प्रारम्भ गर्नु भन्दा पहिले विद्यार्थीहरूलाई जिज्ञासु, जागरुक वा उत्सुक बनाउन केही न केही क्रिया ( action ) गर्नु पर्दछ । ती निम्न हुन सक्दछन् ।
१ / सामान्य ज्ञानसंग सम्बन्धित २ / ३ प्रश्न सोध्ने ।
२ / अखबारको कुनै महत्वको फोटो कटिंग ल्याएर देखाउने, त्यसबारे प्रश्न सोध्ने ।
३ / छोटो जोक / हँस्यौली / ठट्यौली सुनाउने वा विद्यार्थीलाई सुनाउन लगाउने ।
४ / उखान, टुक्का सुनाइ अर्थ सोध्ने ।
५ / गीत गाउन लगाउने । गीत सुनाउने।
६ / कुनै शब्दको हिज्जे भन्न लगाउने ।
७ / कुनै चरा, जानवर र ब्यक्ति विशेषको आवाजको वा नक्कल गर्न लगाउने । इत्यादि ।