शिक्षण जीवनका अनुभवहरु (६८)
बुटवल ।
२०७२ जेष्ठ १० गते आइतवार
धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ?
यता केही दिनदेखि नेपालका मठ मन्दिरहरुमा देवी देवताको ,प्रकृतिको क्षमा पूजा गरी महाभूकम्पको सन्त्रास हटाइ शान्ति स्वस्ति गर्न थालिएकोछ । रेडियो र टेलिभिजनमा पनि त्यस्तै त्यस्तै कार्यक्र्म प्रसारण भई रहेका छन् ।मैले विद्यार्थी जीवनमा नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्र हो,देवभूमि हो , तपोभूमी हो भनेर पढेको थिएं ।जनआन्दोलनपछि एकाएक यो देश धर्म निरपेक्ष घोषित भयो । कुनै पनि आन्दोलनको माग पनि थिएन , धर्म निरपेक्ष हुनु पर्छ भन्ने । कुनै पनि राजनैतिक पार्टीको घोषणा -पत्रको बोलकबोल पनि थिएन,यो ।धर्मप्राण गाईप्राणी नेपालीहरुको त सपनामा पनि सोच थिएन, नेपाललाई धर्म निरपेक्ष बनाउने ।
यसैलाई प्रसंग बनाएर बस स्टपमा केही वरिष्ठ जेष्ठ नागरिकहरु आपसमा कुरा गर्दै थिए ।
पहिलो नागरिक – जबदेखि धर्म मेटियो तब देखि नै अनेक अनिष्ट हुंदैछ ।
दोस्रो नागरिक- हो, ठीक भन्नु भो ।गौ हत्या, बाढी पहीरो, आगलागी, हत्याहिंसा,भूकम्प तेसैको नतिजा हो ।
तेस्रो नागरिक- यो सबै नेताका देन हुन् ।तिनीहरुले हेरुन् , शनिवारको दिन मनकामना र पशुपतिनाथ दर्शन गर्न जानेहरुको भीड् । निम्ता पाएर गएका हुन् र त्यहाँ ?
पहिलो नागरिक- धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ?
मलाई छोयो, तिनीहरुको कुराकानीले । यत्रो दैवी प्रकोप ? हो, स्वस्ति शान्ति पनि एउटा उपचार । दु:खी मनको उपचार । रोदन आत्माको शान्ति ।विदीर्ण मन र मष्तिष्ककोलागि सान्त्वना ।