Category Archives: Experience of Teaching Life

(९९) निजामति कर्मचारी र सामुदायिक शिक्षकमा विभेद

शिक्षण जीवनका अनुभवहरु ( ९९ )

२०७२ असार १६ गते बुधवार

निजामति कर्मचारी र सामुदायिक शिक्षकमा विभेद

असार ८ गतेदेखि ११ गतेसम्म Civil Service Hospital ( निजामति कर्मचारी अस्पताल ) मिनभवन,काठमाण्डौंमा परिवारको उपचारनिम्ति गएको थिएँ । मित्र राष्ट्र चीन सरकारको सहयोगमा निर्मित यो अस्पताल तत्कालीन प्र.मं. माधव कुमार नेपालले २०६६ सालमा उदघाटन गरेका थिए । 

यो अस्पताल राम्रो ब्यवस्थापन, नयाँ उपकरण र योग्य डाक्टरहरु कार्यरत रहेको मानिन्छ । यस्मा लाग्ने उपचार खर्च पनि विरामीको पहूंच भित्र पर्ने मानिन्छ । यसै आधारमा हामी त्यहाँ गयौं । दिनको दुई शिफ्ट सेवा प्रदान गर्ने  र ३ बजेदेखि पे-क्लीनिक पनि २५० /- शुल्कमा सेवा प्रदान गर्दछ । हामीले लिएको सेवाबाट हामी सन्तोष नै भयौं । 

तर शुल्क र दवाई आदिमा सरकारी कर्मचारीले सहूलियत पाँदारहेछन् । मलाई पनि सोधियो, ” तपाई कर्मचारी हो ?” ” सरकारी शिक्षक हौं । सामुदायिक विद्यालयका शिक्षक । सरकारी तलब भत्ता र पेन्सन खाने !”, मैले जवाफ दिएं । “त्यसो त हुन्न । निजामतिको परिचय पत्र नै चाहिन्छ ।”, बिलिंगका कर्मचारीले जवाफ दिए ।

म वाल्ल परें । जिल्ल परें । भने,” तपाईको सरकारले विभेद गर्छ । सैनिककोलागि खोल्छ, छुट्टै अस्पताल ।

प्रहरीकालागि बनाउँछ, अलग्गै अस्पताल । सरकारी कर्मचारीकोलागि बनाउँछ ,बेग्लै अस्पताल ।भोलि सुकुम्बासी र सडक वालवालिकाकोलागि पनि बनाउला भिन्दै अस्पताल । हामी शिक्षककोलागि भने , राम जाने । भगवान भरोसा, बाबै ।”

(९८) विद्यार्थीको सफलता नै गुरुको सफलता हो ।

शिक्षण जीवनका अनुभवहरु ( ९८ ) 

२०७२ असार १५ गते मंगलवार

विद्यार्थीको सफलता नै गुरुको सफलता हो ।

हिजो फेस बुकको मेसेन्जरमा यस्तो सन्देश आयो ।

“Love सर नमस्ते ,ज्ञानोदय रात्रि मा.वी मा तपाई ले पढाउनु भएको इंग्लिश ले गर्दा आजमा क्यानाडा मा सफल छु |”  Dinesh Oli

मेरा विगतका विद्यार्थीले यस्तो फेस बुकमा लेखी पठाउँदा उनीहरुले मबाट केही सिकेका रहेछन् र मैले पनि केही सिकाएको रहेछु भन्ने अनुभूत गरेको छु ।

(९६) एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( ९६ )

२०७२ असार ९ गते बुधवार

एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ ।

अरुचिकर, अभाषिक र अव्यवहारिक विषयको पठनपाठनको कारणले एसएलसी परीक्षामा अनुत्तीर्ण हुंनेको संख्या बढ्ने कुरा ब्लग नं. ९५ मा उल्लेख गरें । 

॥ १ ॥ एस.एल. सी. परीक्षाको नतिजा उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकमा पनि भर पर्दछ । जस्तो कि यदि निजी बोर्डिंग स्कूलमा पढाउने शिक्षक / परीक्षकले सामुदायिक स्कूलबाट परीक्षा दिने विद्यार्थी / परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण ग-यो भने त्यो परीक्षार्थीले कम अंक पाउँछ । किन कि त्यस परीक्षार्थीले नेपाली भाषामा उत्तर लेखेको हुन्छ । बोर्डिंमा नेपाली भाषा बाहेक अन्य विषय अंग्रेजी माध्यममा पढाइन्छ । अंग्रेजी माध्यममा पढाउने शिक्षकले  नेपाली माध्यममा उत्तर लेख्ने विद्यार्थीलाई अपवाद बाहेकको अवस्थामा थोरै अंक प्रदान गर्दछ । 

॥ २ ॥ यस्तै गरेर नेपाली माध्यममा पढाउने शिक्षकले अंग्रेजी माध्यममा लेखिएको उत्तरपुस्तिका परीक्षण ग-यो भने धेरै अंक प्रदान गर्दछ । विद्यार्थीको लेखन शैलीबाट निज शिक्षक आवश्यकता भन्दा बढी प्रभावित हुन पुग्दछन् ।

॥ ३ ॥ परीक्षकको अहंमा पनि नतिजा निर्भर हुन्छ । नेपालमा प्राय: परीक्षकले आफ्नै स्तरमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्दछन् । “यत्ति जाबो पनि यसलाई लेख्न आएन” भन्दै कम अंक प्रदान गर्दछन् । जब कि परीक्षकले परीक्षार्थीको स्तरमा उत्रेर उत्तरपुस्तिका परीक्षण गर्नु पर्ने हुन्छ ।निजले ” मैले एसएलसी दिंदा कत्तिको लेख्न सकेको थिएँ” भन्ने सोंच्नु पर्दछ । परीक्षार्थीको मौलिक शैली, भाव र अभिव्यक्त गर्न खोजेको सारमा अंक प्रदान गर्नु पर्ने हुन्छ । ( क्रमश: )

(९५) विषयहरुको अनिवार्यताले गर्दा पनि अनुत्तीर्ण संख्या बढेको हो ।

शिक्षण जीवनका अनुभवहरु ( ९५ )
२०७२ असार ८ गते मंगलवार

विषयहरुको अनिवार्यताले गर्दा पनि अनुत्तीर्ण संख्या बढेको हो ।

एस.एल.सी.मा नतिजाको प्रतिशत घटाउने कारक तत्व पाठ्यक्रममा अनिवार्य गरिएका विषयहरु पनि हुन् । अंग्रेजी विषयमा जनजाति विद्यार्थी र दूर दराजमा बस्ने किशोर किशोरीहरु फेल हुने गरेको पाइन्छ ।अंग्रेजी उनीहरुकोलागि अभाषिक विषय हो ।त्यसको सट्टा स्थानीय भाषा वा कुनै सीपसंग संबंधित विषय छनौट गर्न दिनु पर्दछ । यसलाई एेच्छिक बनाइनु पर्दछ ।

फेरि अर्को अनिवार्य विषय हो – अनिवार्य गणित । यस अन्तर्गत पढाइने ज्यामिती र बीजगणित धेरै विद्यार्थीको दैनिक जीवनमा व्यवहारमा नआउने अस्वादिलो वस्तु हो । यसमा रहेको अंकगणित दैनिक जीवनसंग सरोकार राख्ने विषय हो । यसलाई बरु छुट्टै भार दिई पूर्ण विषय बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

पहिला विज्ञान विषय एेच्छिक थियो । सक्नेले लिन्थे, पढ्थे । डाक्टर हुने लक्ष्य राख्नेले पढ्थे ।अहिले अनिवार्य गरिएकोछ । सबैको रुचि भन्दा बाहिरको विषय हुन् गयो । ( क्रमश: )

(९४) घरमा आइ पर्ने काम गर्नु पनि व्यवहारिक शिक्षा हो 

शिक्षण जीवनका अनुभवहरु ( ९४ )

२०७२ असार ७ गते सोमवार

घरमा आइ पर्ने काम गर्नु पनि व्यवहारिक शिक्षा हो 

गृह नगर बुटवलमा म करिब ५ महिना बसें ।परिवार त विगत २० महिनादेखि त्यहाँ बस्दै आएकी थिईन् ।हामीले घर निर्माणको कार्य दत्तचित्त भएर सम्पन्न गर्यौं । ६ गते साँझ काठमाण्डौं आई पुग्यौं । थकान त थियो नै । सपना र विपनाले मिलेर भान्सा तयार पारे ।निद त्यत्ति लागेन । विहान गर्नु पर्ने सबै सरसफाइ गर्यौं । घरमा आइ पर्ने काम गर्नु पनि व्यवहारिक शिक्षा हो । मध्यान्ह बाहिरको केही जरुरी काम गर्यौं । दुई डोको काम भ्यायौं । लखतरान भएं । जीउ लत्रियो । क्रमश: लेख्ने भनेको ब्लग लेख्नै सकिन । प्रयास गरें । आईप्याडमाथि नै झुकु-झुकु निंद लाग्यो । निन्द्रा देवीको काखमा शरण लिएं । 

(९३) सामुदायिक विद्यालयको एस. एल. सी.नतिजामा उकालो किन ?

शिक्षण जीवनका अनुभवहरु ( ९३ )

२०७२ असार ६ गते आइतवार
सामुदायिक विद्यालयको एस. एल. सी.नतिजामा उकालो किन ?

वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले अभिभावकको जीवन स्तरमा सुधार भएकोले तिनका छोराछोरीको पढ़ाइमा पनि गुणात्मकता आएको हो । यसै कारण तिनीहरुको पोषणमा स्तरियता आयो । आवश्यक शैक्षिक सामग्री र गेस पेपर गाइड बुक चाहिएको वेलामा किन्न सक्यो ।  कमजोर विषयहरुमा प्राइभेट ट्यूसन लिन सक्ने क्षमता भयो । यो सबैले गर्दा तिनीहरुमा आत्मविश्वास बढ़्यो । परिणामत: तिनीहरुको एस.एल. सी. नतिजा उच्च अंककासाथ पास हुने गरी सुधार भयो । यसको साथ साथै २०६२ / २०६३ मा  १० वर्षे जनयुद्ध समाप्ति भएर देश शान्ति स्थिरताको गोरेटोमा हिडेको कारक तत्वलाई पनि नकार्न सकिन्न है । 
 यो नतिजामा उत्तरोत्तर सुधार ल्याउन निम्न कुरामा पनि सम्बंधित सबैले ध्यान दिनु पर्दछ ।
१ / जेष्ठता / उपल्लो योग्यता भएका शिक्षकलाई विद्यालयमा नेतृत्वदायी भूमिका दिने ।
२ / नेता, कर्मचारी र शिक्षक स्वयंले आफ्ना सन्ततिलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्ने । र यसबापत कर्मचारी वर्णलाई पदोन्नति गर्दा २ / ३ अंक प्रदान गर्ने ।
३ / शिक्षकको तलबमानमा ५० % ले बढाउने ताकि उनीहरुलाई “हेलमेट टिचर” बन्न नपरोस् । ( क्रमश: )

(९०) जीवनमा पीडा खेप्ने विद्यार्थी भविष्यमा स्वाभिमानी र आफ्नो पौरखमा बाँच्ने नागरिक बन्दछ ।

शिक्षण जीवनका अनुभवहरु (९० )
२०७२ असार २ गते 

जीवनमा पीडा खेप्ने विद्यार्थी भविष्यमा स्वाभिमानी र आफ्नो पौरखमा बाँच्ने नागरिक बन्दछ ।

२०७२ साल वैशाख १२ / १३ / २९ को भूकम्पलाई प्रत्यक्ष भोग्ने अधिकाँश विद्यार्थीहरु भविष्यमा सम्वेदनशील हुंने छन् । किनभने, उनीहरुले भूकम्पले घरहरु गरल्यामगुर्लुम भत्काएको,धँसाएको, लडाएको देखे । हाम्रा बाजे बाआमाले घर कच्ची बनाएको भन्ने महसूस गरे । कार्यालय भवनहरु मापदण्ड विपरित बनाउनुमासाथै गुणस्तरहीन सामग्री प्रयोग गरेको बुझे ।परिवारका स्वजन वित्दा विपत् आईपरेको ज्ञात गरे ।विपत्मा संयमपूर्वक मिलेर काम गर्नु पर्ने पाठ सिके । टोलछिमेकमा आपसमा मिलेर काम गर्नु पर्ने मेलमिलाप सिके । गाउँमा एकले अर्कालाई आलोपालो सघाउने र ऐंचोपैंचो गर्नु पर्ने अनिवार्यता बोध गरे ।सरकार र दाताको मुख मात्र ताक्नुको बदलामा आ-आपसमा सहयोग सद्भाव राखेर अघि बढ्नु पर्ने कुरा सिके ।प्रकृतिले उँचनीच,धनी- गरीव नभनी समान व्योहार  गर्दछ । ( क्रमश: )

(८८) प्रत्यक्ष रुपमा तीन किसिमका देवीदेवताहरु

शिक्षण जीवनका अनुभवहरु ( ८८ )

२०७२ जेष्ठ ३२ गते सोमवार

मानिसको जीवनमा प्रत्यक्ष रुपमा तीन किसिमका देवीदेवताहरु हुंदा रहेछन् भन्ने अनुभूत गरेकोछु । 

१ / माता – जन्म दिई धरतीमा अवतरण गराउँछिन् ।

२ / पिता – पालनकर्ताको भूमिका निर्वाह गर्दछन् ।

३ / गुरू – कर्म दिन्छन् , ज्ञान विज्ञानद्वारा योग्य गराउँदछन् ।

(८४/८५) विवेकपूर्ण निर्णयले पनि विद्यार्थीको भविष्य निर्माण गर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( ८४ /८५ )

२०७२ जेष्ठ २७ / २८ गते बुधवार / विहिवार

परीक्षामा अंकले मात्र निर्णायक भूमिका नखेली परिस्थितिजन्य र विवेकपूर्ण निर्णयले पनि विद्यार्थीको भविष्य निर्माण गर्दछ ।

अभिभावक  १:- सर,मिस । मेरी छोरी थमन कुमारी थापाको रिजल्ट कस्तो छ ? लु सर , उसलाई पास गराइ दिनु प-रो । बिहे छ,उसको पुसमा । यसपाली आठ कक्षामा जान्छे भन्या छौं ।             

प्र. अ:- ऊ, वहाँ मिस संग सोध्नुस । वहाँ कक्षाध्यापक हुनु हुन्छ ।

मिस:- कमजोर छिन्। ४ विषय लाग्या छ ।

अभिभावक १:- लु, मार्यो नि अब । विषय लाग्नै भएन । १८ की भई ।नत्र बिहे त रोकिन्छ,सर,मिस ।

प्र.अ :- लौ अब जानुस् । हामी मिटिंमा छल गर्छौं ।

निज अभिभावक गए लगत्तै स्टाफमा छलफल भयो । निज छात्रा विज्ञान, पूर्व व्यावसायिक , सामाजिक र स्वास्थ्य शारीरिक शिक्षामा अनुत्तीर्ण थिईन् । मिटिंगकै क्रममा निज छात्रा की आमा आई पुगिन् ।

अभिभावक २:- नमस्ते सर, मिसहरु । बुढालाई पठा थिएं ।  थमनको बारेमा कुरा गर्न ।पास हुन्छ कि हुंदैन यसपाली ? जसरी नि पास अर्नु परो ,सर । पुसाँ विहे छ । आठ कक्षामा जान्छे भन्या छौं ।

मिस :- खै चार विषयमा फेल छिन् ।खै  कसरी पास हुन्छिन् ?

अभिभावक २:-छोरी मुन्छेको कुरा हो, मिस । एउटै छोरी हुंन् यिनी ।फेल भई भने विहे के होला खै ? आठ कक्षादेखि त जवाइंले हंगकंगमै पढाउने रे । बिन्ती छ, पास गराइ दिनुस् ।

२०३८ सालतिरको समस्या हो, यो । म जनज्योती मा.वि. डिंगरनगर, रूपन्देहीमा प्र.अ. थिएं ।कमै आमाबाबुले छोरी स्कूल पढन पठाउँथे । उमेर छिप्पिएर स्कूल भर्ना गर्दथे । थमनको केस पनि यस्तै थियो । १८ वर्षमा सात कक्षा पढ्दै ।

हामीले अर्को दिन थमनसंग पनि कुरा बुझ्ने निधो ग-यौं ।टिफिन टाइममा  पियनलाई “संगै लिएर आऊ” भनी  पठायौं ।

थमनले केटो राम्रो र विदेशमा जागीर खाने हुंदा बाआममले कुरा छिनेको बताइन् । आफूले सात कक्षा पास गर्छु पनि भनेकी रहिछिन् । कक्षाध्यापक मिसले भन्नु भयो, “यो त तरूनी पो देखिन्छे , हुरू हुरु बढीछे ।” 

थमनको झैं अन्य कसैको विहेको समस्या भए नभएको बुझ्यौं । थिएन पनि। कक्षा सातका विद्यार्थीहरुको पास-फेल विषयको विश्लेषण गर्यौं ।मुख्य मानिने विषयहरु -अंग्रेजी, नेपाली र गणितमा अधिकाँश विद्यार्थी उत्तीर्ण थिए । थमन पनि यसै अन्तर्गत परिन् । कुल ३० नम्बर ग्रेस दिइ बाँड्दा थमनलाई १० नम्बर पुगेन । कक्षाध्यापक मिसले “थमनको विहे हुनु पर्ने कुरा छ , यसर्थ यसलाई तरूनीको १० नम्बर थपौं”, भन्नु भयो । सबै हाँस्यौं ।

२०४१ सालमा थमन दम्पति छोरा सहित स्कूलमा आए । थमनले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेकी श्रीमानले बताए । हामीलाई चकलेट बाँडे ।

परीक्षामा अंकले मात्र निर्णायक भूमिका नखेली परिस्थितिजन्य र विवेकपूर्ण निर्णयले पनि विद्यार्थीको भविष्य निर्माण गर्दछ ।

( ७८ ) अहिले र उहिलेका विद्यार्थीहरु

शिक्षण जीवनका अनुभवहरु (७८)

२०७२ जेष्ठ २० गते बुधवार१

अहिले र उहिलेका विद्यार्थीहरु

-उहिले विद्यार्थीहरु teacher friendly थिए ।

-उहिले पाठ्यपुस्तकलाई केन्द्रमा राखी शिक्षण गरिन्थ्यो । गेस पेपर गाइडलाई प्रोत्साहन थिएन ।

– शिक्षकको सामाजिक मान मर्यादा उच्च थियो ।

-शिक्षक एउटै विद्यालय प्रति जवाबदेही हुन्थ्यो 

—————————————-

# अहिले शिक्षकहरु student friendly छन् ।

# अहिले पाठ्यक्रम ,पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको आधारमा पढाइ हुन्छ ।

# अहिले शिक्षकको व्यवसायिक दक्षतामा मूल्याँकन हुन्छ ।

# अहिले शिक्षकहरु Helmet teacher को रुपमा २ / ३ ठाउँमा अध्यापन गर्दछन् ।

–