शैक्षिक जीवनका अनुभवहरु (३९ )
२०७२ वैशाख १२ गते शनिवार
आखिर आयो भूईचालो
विज्ञहरु भनिरहन्थे, ” भूईचालो आउँछ,आउँछ,कुनै पनि बेला आउँछ।भूकम्प स्वयंले ज्यान लिंदैन । कमजोर संरचनाले लिन्छ, ज्यान ।” आई छाड्यो ११:५६ बजे । नेपाल भर आयो । भूकम्पबाट बच्ने उपायबारे संचार माध्यमले सक्दो जन चेतना जगाएकै हो । विद्यालय -विद्यालयका शिक्षकलाई तालिम दिएकै हो । सबै सुसूचित भएकै हुन् ।व्यवहारमा कत्तिको उपयोगी भयो, समीक्षा पछि हुंदै गर्ला ।
गोरखालाई केन्द्रव्न्दु बनाई ७.५ रेक्टर स्केलको भूकम्पले देशको धेरै भागमा धनजनको क्षति गरायो । खुल्ला चौक / चौकमा वास गरायो ।धरहरा ध्वस्त भयो । दरवार क्षेत्रहरुमा ठूलो क्षति भयो ।चक्र पथ र चौंडा सडकहरुमा धाँजा फाट्यो ।पाँच दर्जन जति साना ठूला कम्पनहरु महसूस गरिए ।
सात दोवाटोमा एकत्रित पारिएको शवहरु प्रमाण भए, क्षतिको । १० बजे रातिसम्म ११०० शव गन्ती भएकाछन्। संख्या अझैं बढ्ने अवस्था छ ।
दु:ख़को घडीमा नेपालीले नेपालीलाई सहयोग र राहत पु-याउनु हाम्रो कर्तव्य हो । सरकारले अब्बल दर्जाको सहयोगको प्याकेज घोषणा गर्नु पर्दछ ।
बुटवलमा बलियो धक्काहरू आए । १२ बजेको समयमा लग्-लग् हल्लायो । धनजनको क्षतिको खबर छैन, यहाँ ।
२०१८ सालमा म सानै थिएं । महा भूकम्प आउँछ भनेर चौर चौरमा पाल टाँगेर बसेकाछौं थिए, सबै बटौलीवासीहरु ।
तर आएन, भूकम्प ।
२०२४ सालमा पनि महाभूकम्पको त्रासले बुटवलको टुंडिखेलमा सामूहिक वास भयो । म पनि थिएं। भजन कीर्तन भएको थियो । भूकम्प टार्न । तर आएन ।
४८ वर्षपछि बुटवल हल्लायो । बुटवलको जीवनमा पहिलो भूईचालोको ठूलो झट्का। नगरपालिकाले भूकम्प प्रतिरोधक नक्सा पास गर्न लगाइ बनाइएका नयाँ घरहरु पनि झ्याँइकुति खेल्न थाले । हामी परिवारका सदस्यहरुसंगै तेस्रो तलामा खाना खाँदै थियौं । मज्जाले पिंग मच्चायो ।रूखहरु पनि चौरमा हल्लिन थाल्यो । दोस्रो धक्कापछि मात्र बाहिर आयौं । साँझ पनि आयो कम्प ।
काठमाडौंमा ४ बजे पछि मात्र संचार सम्पर्क भयो । स्वजन र मित्रजनलाई सम्पर्क गरें । सकुशल रहेछन् ।
आपतविपत साइरन बजाएर आउँदैन । आएपछि सहनै पर्दछ । धैर्य नगुमाऔं । सरकारमा रहेकाहरु र नेतागणले विवेक राखेर काम गरुन् ।
सहानुभूति प्रकट गर्दछु पीडित दाजुभाइ प्रति ।
समवेदना व्यक्त गर्दछु दिवंगतका आत्मीयजनप्रति ।
प्रार्थना गर्दछु दिवंगतका आत्माको चीर शान्तिकोलागि ।