शैक्षिक जीवनका अनुभवहरु ( ४१ )

शैक्षिक जीवनका अनुभवहरु ( ४१ )

२०७२ वैशाख १४ गते सोमवार

महाभूकम्पको अकल्पनीय धन जनको क्षति

२०७२ वैशाख १२ को ७.६ र १३ गतेको ६.९ रेक्टर स्केलको महाभूकम्पको कारण नेपालीले जन धनको अकल्पनीय क्षति व्योहोर्नु  प-यो । टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण, घटना , विवेचनाले जनमानसलाई किंकर्तव्यविमुढ बनाएकोछ ।स्वजनको विछोडको सबभन्दा सम्बेदनशील पक्ष त छंदैछ । घरवास भत्केर अर्को उठिबास । पटके शक्तिशाली कम्पन । सन्त्रस्त मनःस्थिति । तत्कालै उद्वारको अभाव ।विपदमा होस हवास हराउँछ, मानिसको । आफू सम्हालिन जरुरी छ ।

प्राकृतिक विपद पछि मानवीय सम्वेदनहीनता देखा पर्छ, अर्को तिर । खाद्य सामग्रीको कालाबजारी । चर्को मूल्य बृद्धि । औषधीमूलोको अभाव । चाहिएको वेलामा नपाइनु । खाने पानीको अभाव । विजुली नबल्ला भन्दापनि करेन्ट लागेर ज्यान गुमाउनु पर्ने डर । अस्पतालहरुमा घाइतेको कन्त विजोग ।पूर्वतयारीको अभाव । तारे होटलमा गफ चुट्ने , कुराको सगरमाथा खडा गर्न जान्ने योजनाविद्हरुले कहीं कतै पूर्वाधार निर्माण गरी विपद व्यवस्थापन गरेर देखाउन सकेन ।

बन्द,हडताल, चक्काजाम, विहानै सवारी साधनमा आगो लगाई आफ्ना मालिकलाई खुसी पार्न माहिर दलहरुका भातृसंघ संगठनका सिपाहीहरु कुन मुसाको दुलामा छिरे ? तीन दिनसम्म वेपत्तै रहे । 

यस्तो दु:खको बेलामा सुरक्षा निकायलाई खोज्दा रहेछन् ,जनमानस । ज्यानको बाजी लगाई जनताको सेवा गर्दा रहेछन्, जवानहरु ।