पल्लो घरको झ्यालमा

पल्लो घरको झ्यालमा

पल्लो घरको झ्यालमा,
सधैं ऐना हेर्छिन्-
एक युवति ।
राम्रैछ लिपेको मुहार पनि,
मिलेकै छ (लाली) ओंठ पनि ।
पल्लो घरको………

एक दिन नजिकैको पार्कमा,
देखें निजलाई ऐना हेदै,
तील – चामले केशबिन्यासमा,
काइदाकै छ, छोपेको कालो पनि,
कोही भन्दा के कम? पहिरनमा पनि ।
बनौट पनि शिल्पी कै छ,
हेर्छे छाति घरि – घरि तैपनि ।
पल्लाे घरकाे……

अरुले हेरी दिनु छैन जोवन,
हेरी मक्खै पर्छे आफैँ छिन-छिन ।
खै कसलाई साँचेको त्यो जोवन ?
कोही टिप्दैन त्यो, फुलि सक्दा पनि ।
———-

रहेछ

रहेछ

तातो तातो चीयाले ओंठ पोल्दो रहेछ ।
न्यानो न्यानो मायाले मुटु जल्दो रहेछ ।

टाढा टाढा हुंदा जोवन गल्दो रहेछ ।
पर्खाइको घडी झन लामो हुंदा रहेछ ।

तन टाढा भए पनि मन नजिकिंदो रहेछ ।
पीरती साँचो भए मनको तार जोडिंदो रहेछ ।

फूलमा राम्रो गुलाब टिप्दा बिज्दो पो रहेछ ।
सृष्टिमा राम्रो मनुवा छान्दा बैगुनी पो परेछ ।
( २०६७ फाल्गुन ५ , काठमाण्डौं )

तातिन्छ कि ?

तातिन्छ कि ?

आज मौसम चीसो चीसो छ ।
सिरेटोले मुटु नै छो’को छ ।

पहारले पनि तातिन्न यो ।
वहारले पो तातिन्छ कि ?

रापले पनि तातिन्न यो ।
मातले पो तातिन्छ कि ?

अधरै िपएर पनि तातिन्न यो ।
मुटु नै जोडेर पो तातिन्छ कि ?

( २०६७ /११/३०/०२)

मुक्तक

मुक्तक

नेता

चिल्ला रोटी खाँदै,
चिल्ला कुरा गर्ने ।

सुकिला, मुकिला ,
भरिला र चिल्ला ।

भोका -नाँगा,
जनताका नेता ।
( २०६७ / ०८ / १५ )

राम्रो

राम्रो

पछ्यौरी खसाली नराख्नु ,
यौवन छोपेकै राम्रो ।

ओंठ जोडी नराख्नु ,
मुस्कान छरेकै राम्रो ।

नयन गिराई नराख्नु ,
निशाना हानेकै राम्रो ।

फूल ओइलाई नराख्नु ,
कपालमा सिउरेकै राम्रो ।

मन मारी नबस्नु ,
भावना पस्केकै राम्रो ।
( २०६७/०८/१९)

काकाकुल काठमाण्डौं

काकाकुल काठमाण्डौं

विकासको गोष्ठी पाँचतारे होटलमा ,
जनताका रित्ता गाग्री सडक पेटीमा ।

कुरा ठूला कागजमा, के को पंच वर्षे योजना ?
जलस्रोतका धनी जनता, पानीको हाहाकारमा ।

पानीनै नपाइने, अरु सपना किन बाँड्यौ ?
पवित्र बागमतीमा, ढल किन मिलायौ ?

भएर नेता मिनरल बोकी,सडक पोल्ने ,
लाटा सोझा हामी सबै, सपना पिई बाँच्ने ?

काकाकुल कान्तिपुर, आऊ कोही बचाऊ ,
शान्ति गरी जनता बाँच्ने, ल उपाय बताऊ ।
———