Category Archives: Experience of Teaching Life

शैक्षिक जीवनका अनुभवहरु ( ४५ )

शैक्षिक जीवनका अनुभवहरु ( ४५ )

२०७२ वैशाख १८ गते शुक्रवार

महाभूकम्प पश्चात बन्द विद्यालय अब खोली विद्यार्थीको मन पुन:स्थापन गर्नु पर्छ ।

२०७२ वैशाख १२ गते शनिवार महाभूईचालो आई कोहराम मच्चाएको साता दिन भइसक्यो ।त्यो दिन विद्यालयहरु विदा परेकाले  विद्यार्थीहरुको बिचल्ली हुन पाएन । सरकारले सम्वेदनशीलतालाई मध्यनजर राखेर विद्यालय एक हप्ताकोलागि बन्द गर्ने सकारात्मक निर्णय गर्यो । वालवालिकाहरुले आ-आफ्ना अभिभावकहरुसंगै बसेर त्रासदी झेल्नुको अनुभव गरे । कतिले पहिलेदेखि नै संचालन गरिएको भूकम्प सम्बन्धित सचेतना कार्यक्रमबाट  टेवा पाए होलान् । कतिपय शिक्षालयहरुको  पूर्वाधारमा क्षति पुगेको छ । तर अब विद्यालय खोलिनु  जरुरी छ । शिक्षकहरुबाट महाभूकम्पको कारण, परिणाम् र धन जनको क्षतिबारे विद्यार्थीलाई अवगत गराउनु , सतर्कता  अपनाउनु पर्ने कुराहरु सिकाउनु र सुरक्षित बस्ने उपायहरु बारे बताउनु पर्दछ । विभिन्न परिस्थितिको सामना गर्ने विधिहरु सिकाउनु पर्दछ । द:खमा एक आपसमा मेलजोल गरी बस्ने, सद्भाव राख्ने र धैर्य धारण गर्ने जस्ता कुराहरु सिकाउनु पर्दछ।  शिक्षकहरुबाट पाएको शिक्षा, अनुभवहरु र जीवनदर्शनले जीउने कला सिकाउँछ । शोकलाई शक्तिमा बदल्ने साहस बढाउँछ । मन पुन:स्थापना गर्ने नैतिक शिक्षा दिनु पर्दछ ।मन, मस्तिष्क र शरीरको संयोजन

भएपछि जीउने कलाको विकास हुन्छ ।

शैक्षिक जीवनका अनुभवहरु ( ४४ )

शैक्षिक जीवनका अनुभवहरु ( ४४ )

२०७२ वैशाख १७ गते विहिवार

प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गरौं 

महाभूकम्पको कारणले हाम्रो देश विपदमा परेको छ । देश रोई रहेको छ ।देश संकटमा छ ।नागरिक घरवास विहिन भएका छन् ।पीडित नागरिक राहत खोजी रहेका छन् ।प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गर्नु पर्दछ र गरौं भन्ने पारिवारिक छलफल चलिरहेको थियो । निखिल चेतना केन्द्र ,बुटवलका गुरु बहिनीहरु सहयोगको अपेक्षा राख्दै घर आउनु भयो । गोरखाका भूकम्प पीडित नागरिकलाई सहयोग पठाउने उद्देश्य बताउनु भयो । योजना जायज लाग्यो । यथोचित रकम प्रदान गर्यौं ।

म एक सेवानिवृत्त शिक्षक हुं ।राष्ट्रले मलाई दिनु पर्ने बेलामा मनग्गै दिएको छ ।मैले पनि केही दिने वेला आयो भन्ने सोंच आयो । एउटाको पीडामा अर्कोले सहयोग गर्नु नै नागरिक कर्तव्य हो । सरकारी टेक्स कटाइ पाउने एक महिनाको पेन्सन रकम राहत कोषमा दाखिला गर्ने संकल्प गरेको छु ।

मित्रहरु ।

तपाईहरुले पनि आ-आफ्ना ठाउँबाट सहयोग गर्नुस् , है !

शिक्षण जीवनका अनुभवहरु ( ४३)

शैक्षिक जीवनका अनुभवहरु ( ४३ )

२०७२ वैशाख १६ गते बुधलवार

उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं ।

इमान्दार भएर उद्धार सामग्रीको बितरण गरियोस् ।

२०७२ साल वैशाख १२ र १३ गतेको अकल्पनीय महाभूकम्पको चपेटामा परी मर्माहत भएका नेपाली जनताको उद्धारको पवित्र भावनाले प्रेरित भई मित्र राष्ट्रहरूले उद्धारकर्ता जवानहरु र सहयोग सामग्री पठाएका छन् । दुखमा सच्चा मानिसले मात्र मानवता देखाउँछ ।धन्यवाद छ । साधुवाद, छ वहाँहरुलाई ।

हामी नेपालीहरुले पनि आफ्ना पीडित दाजुभाइहरुलाई उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं । तर सहयोग गर्दा आधिकारिक निकाय वा संस्थालाई मात्र गर्नु उचित हुन्छ । जसको अगुवाइमा संकलित रकम, राहत सामग्री दुरुपयोग हुन नपावस् । वास्तविक पीडित वर्गले राहत पावस् । नियामक निकाय पनि दुरुपयोग हुनबाट सतर्क होस् । वितरण गर्न खटाउने र खटिने मानिसका मनमा लोभ नपलावस् ।हे भगवान ! यस्तै होस् ।यस्ता सामग्रीमा भ्रष्टाचार नहोस् । लुकी लुकी घर र आफन्तको घरमा कोसेली भनी कसैले नलगोस्, नलैजावस् । विपत्तिमा सम्पत्ति कसैले नजोडोस् । नत्र महापाप लागोस्, यस्तो कुकृत्य गर्नेलाई । कीरा परोस् भ्रष्टाचारीको मुखमा ।

शैक्षिक जीवनका अनुभवहरु ( ४२ )

शैक्षिक जीवनका अनुभवहरु ( ४२ )

२०७२ वैशाख १५ गते मंगलवार

महाभूकम्प पश्चातको आवश्यकता र अवस्था

महाविनाशकारी भूकम्पपछि विपद पीडित सर्वसाधारणलाई निम्न कुराहरुको आवश्कता पर्दछ । तर भूकम्पले प्रताडना गरेको चौथो दिन भईसक्दा पनि निम्न स्थिति देखा प-यो ।

१/  आतंकित ,त्रसित र पीड़ितलाई सान्त्वना, भरोसा र राहत चाहिन्थ्यो । तर प्राप्त भएन । पीडित माझ स्वयंसेवकहरु,नेता ,सरकारी प्रतिनिधिको उपस्थिति विरलै देखियो ।

२/ सय भन्दा बढी राजनैतिक दलहरु भएपनि तिनले कार्यकर्ता परिचालन गरेको देखिएन ।

३/ तत्कालै पु-याउनु पर्ने पानी र औषधिको अभाव रह्यो । तदारुकतासाथ व्यवस्थापन गर्नु प-यो ।

४/ जताततै फोहर थुप्रियो ।प्रभावकारी सरसफाइ व्यवस्थापन भएन ।नगरपालिकाहरु सक्रिय रहनु प-यो ।

५ / अत्यावश्यक खाद्य सामग्री सुपथ मूल्यमा सुलभ हुनु पर्थ्यो । अभाव र कालाबजारी पल्क्यो । कड़ा कार्यवाही हुनुपर्छ् ।

६ / संरचना ध्वस्त भएका विद्यालयको पुनर्संरचनानिमित्त सरकारले अनुदान प्रदान गरी विद्यार्थीको पठनपाठन सुचारू गर्न लगाउनु पर्दछ ।

७/ भग्नावशेषभित्र जीवितै रहेकाको जीवन तत्कालै बचाउनु पर्दछ । तर आवश्यक उपकरणहरुको अभाव रह्यो ।

८ / गन्तव्यतिर जानआउन सहज यातायात सेवा प्राप्त भएन ।यातायातको खपिनसक्नु मनपरी भाडा बढ्यो ।सरकार रमिते बन्यो ।

९ / सरकारसंग सवारी साधन छैन । भएको साझा यातायात पनि परिचालन भएन ।

१० / उद्धार कार्य सबै सहर केन्द्रित रह्यो। गाउँ, पहाडमा पुग्न सकेन ।

शैक्षिक जीवनका अनुभवहरु ( ४१ )

शैक्षिक जीवनका अनुभवहरु ( ४१ )

२०७२ वैशाख १४ गते सोमवार

महाभूकम्पको अकल्पनीय धन जनको क्षति

२०७२ वैशाख १२ को ७.६ र १३ गतेको ६.९ रेक्टर स्केलको महाभूकम्पको कारण नेपालीले जन धनको अकल्पनीय क्षति व्योहोर्नु  प-यो । टेलिभिजनहरुको प्रत्यक्ष प्रसारण, घटना , विवेचनाले जनमानसलाई किंकर्तव्यविमुढ बनाएकोछ ।स्वजनको विछोडको सबभन्दा सम्बेदनशील पक्ष त छंदैछ । घरवास भत्केर अर्को उठिबास । पटके शक्तिशाली कम्पन । सन्त्रस्त मनःस्थिति । तत्कालै उद्वारको अभाव ।विपदमा होस हवास हराउँछ, मानिसको । आफू सम्हालिन जरुरी छ ।

प्राकृतिक विपद पछि मानवीय सम्वेदनहीनता देखा पर्छ, अर्को तिर । खाद्य सामग्रीको कालाबजारी । चर्को मूल्य बृद्धि । औषधीमूलोको अभाव । चाहिएको वेलामा नपाइनु । खाने पानीको अभाव । विजुली नबल्ला भन्दापनि करेन्ट लागेर ज्यान गुमाउनु पर्ने डर । अस्पतालहरुमा घाइतेको कन्त विजोग ।पूर्वतयारीको अभाव । तारे होटलमा गफ चुट्ने , कुराको सगरमाथा खडा गर्न जान्ने योजनाविद्हरुले कहीं कतै पूर्वाधार निर्माण गरी विपद व्यवस्थापन गरेर देखाउन सकेन ।

बन्द,हडताल, चक्काजाम, विहानै सवारी साधनमा आगो लगाई आफ्ना मालिकलाई खुसी पार्न माहिर दलहरुका भातृसंघ संगठनका सिपाहीहरु कुन मुसाको दुलामा छिरे ? तीन दिनसम्म वेपत्तै रहे । 

यस्तो दु:खको बेलामा सुरक्षा निकायलाई खोज्दा रहेछन् ,जनमानस । ज्यानको बाजी लगाई जनताको सेवा गर्दा रहेछन्, जवानहरु ।

शैक्षिक जीवनका अनुभवहरु ( ४० )

शैक्षिक जीवनका अनुभवहरु ( ४० )

२०७२ वैशाख १३गते आइतवार

देश भर भूईचालोको त्रास 

विक्रम शम्बत २०७२ चार जना छात्राहरु वार्षिक परीक्षामा फेल भएपछि महाकालीमा फाल हाली आत्महत्या गरेपछि शुरु भएको हो । वैशाख १२ गते शनिवार ७.५ रेक्टर स्केलको भूकम्पले देशै शोकाकुल बनायो । २९ जिल्लामा धन जनको क्षति भयो । उपत्यकामा ठूलै विघ्न मच्चायो । पशुपतिनाथ मन्दिरबाहेक एतिहासिक धरोहर विश्व सम्पदा ध्वस्त हुंन गयो । असंख्य घरवास धराशायी भए । बाटो, चौबाटो,चौरमा शवहरु छरपस्तै राखियो । मानव कोलाहल ब्यापक छायो। जताततै दारुण क्रन्दन गुन्ज्यो ।संचार सम्पर्क लामो समयसम्म विच्छेद रह्यो । आपसी संचार छुट्यो । स्थिति भयावह बन्यो । अस्पतालहरु घाइतेहरुले भरियो ।उपचारको क्रममा बितेका सर्वसाधारणको लाशको लाम लाग्यो । जताततै अब्यवस्था र भद्रगोल । विपद ब्यवस्थापनको नारा र नाममा धेरै खर्चभएतापनि आपदको बेलामा व्यवहारमा  अति नै न्यूनता देखियो ।सरकार पनि समयमा परिचालन हुन सकेन । टोलटोलमा जनमानस स्वयं परिचालित भएर पालमाआश्रय लिएको समाचार र प्रतिक्रिया आयो ।  आइतवार १२:५० को समयमा पुन: ६.९ रेक्टर स्केलको भूकम्प आयो । कोदारीतिर लक्षित केन्द्र भएको यसले बाह्रबीसेमा क्षति पुर्यायो । जनमानसमा सन्त्रास फैलियो । मानिस सपरिवार खुल्ला ठाउँमा बस्न थाले ।

१९९० माघ २ को भूकम्पबारे हजूरआमाले कथा सुनाउनु हुन्थ्यो । वहाँ पुरिनु भएको थियो, तेतिबेला ।बाँच्नु भयो । 

खुब पढेको थिएं। पढाएको पनि हो विद्यार्थीलाई । आफै भोगें । देखें । विपदा हेरें । मनःस्थिति ठेगानमा छैन ।

बुटवलमा पनि निखिल चेतना केन्द्रको कम्पाउण्डमा पुलचोकवासी बस्न आए । बजारका वासिन्दा सडकको डिभाइडर वरपर लाम लागेर राजमार्ग चौराहासम्म बसिरहेका भेटिए । 

घर बनाउने काममा विगत २.५ महिनादेखि हाम्रो परिवार बुटवलमा मुकाम भएकोछ । महाभूकम्पको त्रासले बुटवलवासीलाई पनि चैनको साँस लिन दिएको छैन ।

अब विनाश धेरै हुने छैन भन्ने हामी सबैले कामना गरौं ।

शैक्षिक जीवनका अनुभवहरु (३९ )

शैक्षिक जीवनका अनुभवहरु (३९ )

२०७२ वैशाख १२ गते शनिवार

आखिर आयो भूईचालो 

विज्ञहरु भनिरहन्थे, ” भूईचालो आउँछ,आउँछ,कुनै पनि बेला आउँछ।भूकम्प स्वयंले ज्यान लिंदैन । कमजोर संरचनाले लिन्छ, ज्यान ।” आई छाड्यो ११:५६ बजे । नेपाल भर आयो । भूकम्पबाट बच्ने उपायबारे संचार माध्यमले सक्दो जन चेतना जगाएकै हो । विद्यालय -विद्यालयका शिक्षकलाई तालिम दिएकै हो । सबै सुसूचित भएकै हुन् ।व्यवहारमा कत्तिको उपयोगी भयो, समीक्षा पछि हुंदै गर्ला ।

गोरखालाई केन्द्रव्न्दु बनाई ७.५ रेक्टर स्केलको भूकम्पले देशको धेरै भागमा धनजनको क्षति गरायो । खुल्ला चौक / चौकमा वास गरायो ।धरहरा ध्वस्त भयो । दरवार क्षेत्रहरुमा ठूलो क्षति भयो ।चक्र पथ र चौंडा सडकहरुमा धाँजा फाट्यो ।पाँच दर्जन जति साना ठूला कम्पनहरु महसूस गरिए ।

सात दोवाटोमा एकत्रित पारिएको शवहरु प्रमाण भए, क्षतिको । १० बजे रातिसम्म ११०० शव गन्ती भएकाछन्। संख्या अझैं बढ्ने अवस्था छ ।

दु:ख़को घडीमा नेपालीले नेपालीलाई सहयोग र राहत पु-याउनु हाम्रो कर्तव्य हो । सरकारले अब्बल दर्जाको सहयोगको प्याकेज घोषणा गर्नु पर्दछ ।

बुटवलमा बलियो धक्काहरू आए । १२ बजेको समयमा लग्-लग् हल्लायो । धनजनको क्षतिको खबर छैन, यहाँ ।

२०१८ सालमा म सानै थिएं । महा भूकम्प आउँछ भनेर चौर चौरमा पाल टाँगेर बसेकाछौं थिए, सबै बटौलीवासीहरु ।

तर आएन, भूकम्प । 

२०२४ सालमा पनि महाभूकम्पको त्रासले बुटवलको टुंडिखेलमा सामूहिक वास भयो । म पनि थिएं। भजन कीर्तन भएको थियो । भूकम्प टार्न । तर आएन ।

४८ वर्षपछि बुटवल हल्लायो । बुटवलको जीवनमा पहिलो भूईचालोको ठूलो झट्का। नगरपालिकाले भूकम्प प्रतिरोधक नक्सा पास गर्न लगाइ बनाइएका नयाँ घरहरु पनि झ्याँइकुति खेल्न थाले । हामी परिवारका सदस्यहरुसंगै तेस्रो तलामा खाना खाँदै थियौं । मज्जाले पिंग मच्चायो ।रूखहरु पनि चौरमा हल्लिन थाल्यो । दोस्रो धक्कापछि मात्र बाहिर आयौं । साँझ पनि आयो कम्प ।

काठमाडौंमा ४ बजे पछि मात्र संचार सम्पर्क भयो । स्वजन र मित्रजनलाई सम्पर्क गरें । सकुशल रहेछन् ।

आपतविपत साइरन बजाएर आउँदैन । आएपछि सहनै पर्दछ । धैर्य नगुमाऔं । सरकारमा रहेकाहरु र नेतागणले विवेक राखेर काम गरुन् ।

सहानुभूति प्रकट गर्दछु पीडित दाजुभाइ प्रति ।

समवेदना व्यक्त गर्दछु दिवंगतका आत्मीयजनप्रति ।

प्रार्थना गर्दछु दिवंगतका आत्माको चीर शान्तिकोलागि ।

शैक्षिक जीवनका अनुभवहरु ( ३८ )

शैक्षिक जीवनका अनुभवहरु (३८ )

२०७२ वैशाख ११ गते शुक्रवार

विद्यार्थीहरूलाई जिज्ञासु बनाउन के के गर्न सकिन्छ ?

प्रतिदिन शिक्षण कार्यकलाप प्रारम्भ गर्नु भन्दा पहिले विद्यार्थीहरूलाई जिज्ञासु, जागरुक वा उत्सुक बनाउन केही न केही क्रिया ( action ) गर्नु पर्दछ । ती निम्न हुन सक्दछन् ।

१ / सामान्य ज्ञानसंग सम्बन्धित २ / ३ प्रश्न सोध्ने ।

२ / अखबारको कुनै महत्वको फोटो कटिंग ल्याएर देखाउने, त्यसबारे प्रश्न सोध्ने ।

३ / छोटो जोक / हँस्यौली / ठट्यौली सुनाउने वा विद्यार्थीलाई सुनाउन लगाउने ।

४ / उखान, टुक्का सुनाइ अर्थ सोध्ने ।

५ / गीत गाउन लगाउने । गीत सुनाउने। 

६ / कुनै शब्दको हिज्जे भन्न लगाउने ।

७ / कुनै चरा, जानवर  र ब्यक्ति विशेषको आवाजको वा नक्कल गर्न लगाउने । इत्यादि ।

शैक्षिक जीवनका अनुभवहरु (३७ )

शैक्षिक जीवनका अनुभवहरु (३७ )

२०७२ वैशाख १० गते विहिवार

अभिभावकको आमदानीमा भर पर्छ छोराछोरीको विद्यालय भर्ना

वैशाख महिना विद्यार्थीलाई भर्ना गर्ने महिना हो । यसै बेला पुरानो स्कूल छुटाउने र नयाँ स्कूलमा भर्ना गर्ने समय पनि हो ।समझदार अभिभावकहरु आफ्ना नानीहरुलाई सकभर पढिरहेका विद्यालयबाट छुटाउँदैनन् । कारण, नयाँ विद्यालयमा नानीहरुलाई घुलमिल हुंन धेरै समय लाग्छ । शिक्षकहरु नयाँ हुन्छन् । साथीसंगाती नयाँ हुन्छन् । वातावरण नयाँ हुन्छ ।

शिक्षकको पढाउने शैली नयाँ हुन्छ ।कम्तीमा पनि छ महिना लाग्छ, नयाँ वातावरणमा समायोजन हुंन ।

तर आमदानीको स्रोतमा सामान्य हेरफेर हुनासाथ अभिभावकहरुका मनस्थितिमा परिवर्तन आई हालेको पनि अनुभव गरेको छु ।राम्रो नोकरी पाउनासाथ, आमदानी ह्वास्स बढनासाथ अभिभावकहरु सरकारी विद्यालयबाट नानीहरुलाई झिकेर निजी बोर्डिंग स्कूलहरुमा भर्ना गर्न लैजान्छन् । फेरि अर्का थरीको आमदानी घट्यो भने निजी बोर्डिंगबाट नानीहरुलाई झिकेर सरकारी स्कूलहरुमा भर्ना गर्दछन् । यसो गर्दा नानीहरुको पढ्ने निरन्तरतामा गतिरोध आउँछ ।

सामान्य भौतिक पूर्वाधार भएको विद्यालय र योग्य अनुभवी शिक्षक दरवन्दी भएमा त्यहाँबाट विद्यार्थी निकाली अन्यत्र भर्ना गर्न लैजान हुंदैन ।

शैक्षिक जीवनका अनुभवहरु (३६ )

शैक्षिक जीवनका अनुभवहरु (३६ )

२०७२ वैशाख ९ गते बुधवार

छात्रहरु भन्दा छात्राहरुले बढी गृहकार्य गर्दछन् 

दैनिक कक्षा शिक्षणमा पाठको अन्तमा गृहकार्य दिनु पर्ने नियम हुन्छ । तर दिनकादिन दिनु पर्छ नै भन्ने होइन । गृहकार्य दिने कुरा पाठको प्रकृतिमा भर पर्दछ । शिक्षकले ठीक- ठीक निर्णय लिनु पर्दछ । गृहकार्य दिंदा विद्यार्थीले समाधान गर्न सक्ने प्रकृतिको हुनु पर्दछ । नत्र भने  गरी ल्याउन सक्तैनन् ।

कक्षामा छात्रहरु छलफलमा सहभागी हुन्छन् । डर, संकोच मान्दैनन् । तर छात्राहरु प्रश्नोत्तर गर्दैनन् । दिएको गृहकार्य सही गलत जे भएपनि उनीहरु गरेर ल्याउँन्छन् । तर केटाहरुको स्वभाव भने बेग्लै किसिमको हुन्छन् । उनीहरु लेख्नै पर्ने गृहकार्य पनि छल्न खोज्छन् । परिणाम त परीक्षामा  न्यून अंक पाएका हुन्छन् । मेरो आफ्नो अनुभवमा  गृहकार्य गर्नेको संख्या छात्र भन्दा छात्राहरु धेरै हुन्छन् ।trong>