Category Archives: Culture and Religion

(१२८) गुरु पूर्णिमाको महत्व र गुरू महिमा

शिक्षण जीवनका अनुभवहरु ( १२८ )

२०७२ साउन १६ गते शनिवार

गुरु पूर्णिमाको महत्व र गुरू महिमा

विगत केही वर्षदेखि गुरु पूर्णिमा पर्व औपचारिकतामा मात्र सीमित रहेको देखिन्छ । उपल्लो कक्षाका विद्यार्थीहरुले यो पर्व मनाउन केही अर्थ संकलन गर्दछन् । गुरूवर्गलाई सम्मान गर्दछन् । शिक्षक र विद्यार्थीको तर्फबाट एक दुई नैतिक भाषण ठोकिन्छ । अर्को दिनदेखि फेरि त्यही यन्त्रवतका क्रियाकलाप । केही पाकाहरुको यस्तो भनाइ सुनें डिल्लीबजारको चौकमा-     ” अहिले गुरु, गुरु जस्तो छैनन् । चेला, चेला जस्तो छैन । गुरूलाई मूल्यमा तौलिने गरिन्छ ।शिष्यलाई एउटा उत्पादन / Product को रुपमा । विकाउका चीज हुंन् जस्ता । शिष्यको तानातान हुन्छ, भर्ना गर्ने गराउने बहानामा। विदेशी शैक्षिक प्रतिष्ठानहरु खोल्छन् मेलाहरु । यिनलाई कुनै रोकटोक छैन ।हजारौं कलिला छात्रछात्राहरु विदेशिन्छन् , गतिलो र गुनिलो कलेज विश्वविद्यालयका खोजमा । बेखबर छन् सरकारी निकाय । कानमा तेल हालेका र बाँधेका छन्  आँखामा पट्टी ,यहाँका नेताजीहरुले । गुरुहरु मौन व्रतमा छन् ।”

(१२७) गुरु पूर्णिमा

शिक्षण जीवनका अनुभवहरु ( १२७ )

२०७२ साउन १५ गते विहिवार

गुरु पूर्णिमाको पावन पर्वमा आदरणीय समस्त मार्ग दर्शक गुरुवर्गमा हार्दिक प्रणाम गर्दछु ।

(१२५ ) शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

शिक्षण जीवनका अनुभवहरु ( १२५  )

२०७२ साउन  १२ गते मंगलवार

शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

शिक्षक बन्ने ब्यक्तिले सदा समय पालन गर्नु पर्दछ भनेर मेरा अग्रज आदरणी गुरुहरुले भन्ने गर्नु हुन्थ्यो । म शिक्षक बनेपछि यो कुरा अनुभूत गरें । समयमा विद्यालय पुग्ने गर्नाले प्र.अ. ,संचालक समिति र अभिभावक-विद्यार्थी सबै खुसी हुंदा रहेछन् । केही work cheat / काम ठग सहकर्मीहरु भने इर्ष्या गर्दा रहेछन् । यिनीहरु शिक्षण पेसालाई दोस्रो दर्जाको ठान्ने, प्लेट फर्म बनाइ कुरेर बस्ने र मौका पाउनासाथ अर्कै पेसामा लाग्ने खालका हुन्छन् ।समयमा पुग्नु, समयमा कक्षा लिने, समयमा कक्षा छाड्ने र निर्धारित समयमा उत्तरपुस्तिका परीक्षण गरी रिजल्ट दिने शिक्षकको प्राथमिकतामा पर्नु पर्दछ । लामो समयसम्म प्रधानाध्यापक हुंदा पनि मैले समय पालन गरें ।  शिक्षक टाइम पिस बन्नु पर्दछ  ।

(११०) हिन्दू धर्मले समन्वयकारी भूमिका निर्वाह गरेकै थियो

शिक्षण जीवनका अनुभवहरु ( ११० )

२०७२ असार २७ गते आइतवार

हिन्दू धर्मले समन्वयकारी भूमिका निर्वाह गरेकै थियो ।निरपेक्षता त नेपाली जनताको माग हुंदै होइन ।

आज संविधानबारे चर्चा गर्न मन लाग्यो । यो देशमा धार्मिक मेलमिलाप त सदा नै थियो । नागरिकलाई स्वतन्त्रता छंदै थियो । बौद्ध धर्म अनुयायीहरु हिन्दू मठमन्दिरमा श्रद्धापूर्वक पूजाआजा गर्दछन् । त्यस्तै हिन्दूहरु विहार,गुम्बामा शीर झुकाइ नै रहेका छन् । ज्ञानमाला भजनमा लीन भएकै छन् । जैन मन्दिरमा पूजा प्रवचन हुंदा सहभागी भएकै छन् । मुस्लिम दाजुभाइको इद पर्वमा सार्वजनिक विदा सरकारले दिएकै छ । नारायणहिटी दरवारको दक्षिणमा विशाल मस्जिदमा प्रति शुक्रवार हजारौं मुस्लिम दाजुभाइले स्वतन्त्रतापूर्वक नमाज पढेकै छन् । राजाहरूले विहानै उठ्दा “अल्लाह अकबर…” को ध्वनि श्रवण गरेर आनन्द लिएकै थिए । क्रिश्चियन समुदायले आफ्नो “प्रभु” को प्रार्थना र बाईबल बाँडेकै हुन् । “गुरुद्वार” राम्ररी चलिराखेकै छ । लुम्विनीले सबैलाई स्वागत गरेर बुद्ध दर्शन फैलाएकै छ ।सर्व धर्म समन्वय छंदै छ । 

के नेपालीले “धर्मनिरपेक्षता” चाहियो भनेर नारा जुलूस ,धर्ना कार्यक्रम गरेर देशै जाम गरेको थियो ?

प्रधानमन्त्रीको कार्यकक्ष घेराबन्दी तालाबन्दी भएको थियो ?

प्रचण्डको कडा सुरक्षा तोडेर धर्मनिरपेक्षता मागेको थियो ?

माधव नेपालको पाउ परेर ” कामरेड ! नेपालीलाई धर्मनिरपेक्षता उपहार देऊ” भनेर विन्ति गरेको थियो ?

६०१ जनाले सभामुखलाई माग पत्र पेश गरेका थिए ?

यी सबै प्रश्नहरुको जवाफ कुनै पनि नेता संग छैन ।

अब समाधान र पश्चाताप यसरी गर्नुस् –

जनमत संग्रह गर्नुस् र आम जनतासंग सोध्नुस् – नेपालको संविधानमा ” हिन्दू राष्ट्र” घोषणा गर्ने कि “धर्मनिरपेक्ष” राष्ट्र” उल्लेख गर्ने ?

जे परिणाम् आउँछ, त्यही स्वीकार हुनेछ , नेपाली जनतालाई ।प

(१०९) पंचहरु शिक्षामा राजनीति गर्थे 

शिक्षण जीवनका अनुभवहरु ( १०९ )

२०७२ असार २६ गते शनिवार

पंचहरु शिक्षामा राजनीति गर्थे 

२०२० सालदेखि तत्कालिन बुटवल-खस्यौली नगर पंचायतले नेपालमै पहिलो पटक ५ वटा “अनिवार्य नि:शल्क प्राथमिक प्राथमिक पाठशालाहरु” संचालन गरेर नमूना बनेको थियो । कक्षा १ देखि ५ सम्म शिक्षा पूर्ण रुपमा नि:शुल्क नै हुन्थ्यो । नगर पंचायतले स्थानीय स्तरमा शिक्षा कर लगाएर बजेट व्यवस्था गर्दथ्यो । शिक्षकको न्यूनतम शैक्षिक योग्यता एसएलसी थियो। तालिम प्राप्त र उपल्लो योग्यता भएकाले ग्राह्यता पाउन्थे । लिखित र अन्तरवार्ताबाट शिक्षकको छनौट हुन्थ्यो । योग्य र क्षमतावानले अवसर पाउँथे ।तलब रु.१२५ / १५५ / २२५ / र ग्रेड तथा तालिम भत्ता आदि सुविधा थियो । म २०२७ सालमा नियुक्ति भएं । एसएलसी मात्र भएकोले तलब १२५ / खान्थें । पुग्थ्यो मस्तिले ।

तर पंचहरु खुब राजनीति गर्थे । शिक्षकहरुलाई गुट-गुटमा विभाजन गर्थे । कोठे मिटिंग र चीया पसलमा जमघट गर्थे । माष्टरहरुको ( त्येतिबेला शिक्षकलाई “माष्टर” भनिन्थ्यो । ) चरित्रबारे सोधखोज गर्थे । माष्टरले कुनै पंचलाई नमस्कार गरेन भने त्यसको खुबै आलोचना गरिन्थ्यो । शिक्षा समितिको बोर्ड वैठकमा निजबारे कुरा उठाइन्थ्यो । पत्र पठाइ स्पष्टीकरण समेत सोधिन्थ्यो । सचेत गराइन्थ्यो । चेतावनी पत्र दिइन्थ्यो । त्यस्तै परेमा जागीर चट ।