क्या राम्री !

( १६९ ) दैनिक जीवनका अनुभवहरु
२०७२ साल भाद्र २८ सोमवार

क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।

मृग नयनमा पनि गाजल,
ती नयनाभिराम नयन,
क्या राम्री ।

पूर्ण श्रृँगारमा सजिएकी प्रकृति,
त्यो कृत्रिम श्रृँगार किन चाहियो ?
क्या राम्री ।

रसिला ओंठहरु
चुम्बन खोजी रहन्छन् ।
तीनमा लिपपोत किन गर्ने ?
क्या राम्री

प्रकाशको पुन्ज त्यो मुखमण्डल ।
लाली त्यहां किन चाहियो ?
क्या राम्री ।

चन्द्रमा त दागी छ ।
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।

नितम्ब तलै झरेको केश लहरी,
छालझैं सागरमा ।
क्या राम्री ।

फिक्का हुंने शिल्पिको कला पनि,
त्यो चन्द्रवदन
क्या राम्री ।

रमाउने आफ्नै संस्कृतिमा,
हाकु पतासीमा यो ल्यासे,
क्या राम्री ।

मर्काई पातुलो कम्मर,
अनार दाना दाँत देखाउने चाल,
क्या राम्री ।

आपतकै आँधी छेक्ने …
हिमालझैं अविचल,
साहसी व्यक्तित्व,
क्या राम्री ।

चन्द्रमा त दागी छ
तिमी त बेदाग छ्यौ ।
क्या राम्री ।
-२०७१ पुस ७

 ( १६८ ) दायित्व बोधको पर्व – पिता सम्मान दिवस ।

 ( १६८ ) दायित्व बोधको पर्व – पिता सम्मान दिवस ।
           दैनिक जीवनका अनुभवहरु
           २०७२ भाद्र २७ गते आइतवार
आज भाद्र औंसी । नेपाल भाषा ( नेवारी ) मा “ब्वाया ख्वा स्वेगु औंसी।”  नेपाली भाषामा ” पिता सम्मान दिवस ।” सर्वसाधारणको बोलाचालीमा ” बाउ खुवाउने औंसी।” अंग्रेजीमा ” Father’ Day”.

बुबा हुंने छोराछोरीले आफ्नो जन्मदाता लालन पालन कर्तालाई  सम्झेर सम्मान गर्नु पर्ने । छोराछोरी वयस्क भए,परिवारमा संगै भए पितालाई दैनिक जीवनका क्रियाकलापमा काँधमा काँध मिलाइ सहयोग गर्नु पर्ने ।स्वदेशैमा नोकरी व्यवसायको सिलसिलामा घरदेखि टा-ढा भए  निरन्तर संचार संपर्कमा रही रहेर निर्देशन, सर सल्लाह अनुसार कार्य सम्पादन गर्ने । विदा मिलाइ वा विदाको बेलामा घर आई सपोर्ट गर्ने । धेरै टाढा विदेशमा रहे हप्ता, पन्द्र दिनमा सामाजिक संजाल मार्फत सन्चो बिसन्चो सोधनी गरेर भावनात्मक सम्बन्धको गाँठो कसेर राख्नु पर्ने । संभव भए मातापितालाई बोलाइ भ्रमण गराउनु पर्ने । बढीमा दुई वर्षको समयको अन्तरालमा आफ्नो थातथलोमा फर्कनु पर्ने । परिवार र स्वदेशसंग पारिवारिक, सामाजिक, धार्मिक – साँस्कृतिक र राजनैतिक सम्बन्ध नवीकरण गर्न पर्ने । बृद्ध मातापिता भए पारिवारिक वातावरणमा संगै बसी सेवा गर्नु पर्ने । उनीहरुलाई बृद्धाश्रममा राख्ने योजना बनाउने भूल नगर्ने ।
यी नै हुंन् नेपालको धर्म, संस्कृति र नैतिकता अनुसार छोराछोरीले पितामाताप्रति वहन गर्नु पर्ने कर्तब्य र दायित्वहरु । नेपाल आमाका सन्ततिहरु कर्तब्यनिष्ठ भई यीनै कामनाहरु परिपूर्ती गर्न सफल होऊन् । यही शुभेच्छा राख्दछु ।

(१६७ )राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ ।

( १६७ ) राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ ।
           दैनिक जीवनका अनुभवहरु
           २०७२ भाद्र २६ गते शनिवार
हिमाल,पहाड र तराई एकीकृत भई नेपालको भूगोल बनेको हो । संविधान सभा – २ ले नयाँ संविधान लेख्ने प्रक्रिया पूरा गर्न लागेको बेलादेखि सीमाँकन र प्रदेशमा समावेसी मुद्दालाई लिएर तराई मधेसको दैनिक जन जीवन  
आन्दोलित भएको छ । सुरक्षाकर्मीहरुको गोली लागी सर्वसाधारणको ज्यान गएको छ । आन्दोलनकारीहरुको क्रुरतामा परेर प्रहरी हाकिम र जवानहरुको हिंसक तरिकाबाट मृत्यु भएको छ । सम्पूर्ण तराई-मधेश आन्दोलित छ । सद्भाव र शान्ति खलबल हुनेगरी हिंसा बढेको छ । देशको एउटा भू-भाग रक्तरंजित छ । तर अर्को भूभाग- राजधानीमा संविधान लेखनको हतार छ ।जलेको तराई-मधेशलाई संबोधन नगरी संविधान ल्यायो भने त्यो चीरकालसम्न दीगो हुन सक्दैन । निषेधको राजनीति त्याज्य छ । सहमतिको विन्दुमा सबै आउनु नै पर्दछ । राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ । २४० वर्षदेखि तराई सशक्तिकरण हुंन पाएको थिएन । त्यसकै उपज हो त्यो आन्दोलन । अब विगतबाट पाठ सिकेर राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ । दंभ र प्रमाद कसैले नदेखावस् ।आन्दोलनकारी पनि वार्ताको टेबुलमा आई आफ्नो हक अधिकारकोलागि बहस गर्नु पर्दछ । संविधान सभा बाईकट गरेर हल निक्लंदैन, माननीयहरु । तपाईहरुलाई जनताको अभिमत के छ ? संविधान सभा भित्रै बहस र तर्क गरेर समस्या समाधान गर्नु पर्दछ । 

 

( १६६ )  संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस् केही दिन ।

( १६६ )  संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस् केही दिन ।
           जल्दा बल्दा समस्या संबोधन होस् ।
           २०७२ साल भाद्र २५ गते शुक्रवार 
पूरै तराई मधेस आन्दोलित भएको छ । सरकारी कार्यालयहरु धमाधम आगजनी हुंदैछन् ।सर्वसाधारण अराजनैतिक ब्यक्तिहरु र किशोरहरु पुलिसको गोली लागी मृत्यु भएका छन् ।सुरक्षाकर्मीहरु मानिने क्रम रोकिोएको छैन ।  बन्द आदिले आम जनजीवन कष्टकर भएको छ ।उद्योग, ब्यापार व्यवसाय चौपट भएका छन् । त्रसित छन् सर्वसाधारण । अप्रिय घटना घटीहाल्छ कि भन्ने आशंका भई रहन्छ ।

यता काठमाण्डौंमा संविधान जारी गरी हाल्नु पर्ने हतारमा छन् , प्रमुख तीन दलका नेतागण । राप्रपा ( नेपाल ) संघारैमा आएर प्रक्रियाबाट अलग भएको छ । निषेधको राजनीति भयो भन्छ , राप्रपा नेपाल । तराई आधारित दलहरू पहिल्यै छाडी सके । गच्छदारको गठबन्धन पनि अलगियो । संविधान रक्तरंजित हुन जाला भनी हरेक सचेत नागरिक चिन्तित छन् । यस्तो हालतमा संविधान मात्र लेखेर जारी गर्दा नेपाली मात्रको पक्कै जीत हुने छैन । देशलाई आन्तरिक उपद्रोहमा जाकेर कस्ले पो विजयोत्सव मनाउला र ? यसर्थ राष्ट्रको बृहत् हितलाई शीरोपर गरी संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस्, केही दिन ।तराई लगायत अन्य जल्दा बल्दा समस्या संबोधन होस् । ६ वर्ष भन्दा बढी ढीलो भएको संविधान लेखाइ अरु पन्द्र दिन ढीलो भएमा केही फरक पर्ने छैन । यस्मा बेवास्ता गरी महोत्वाकाँक्षा पूरा गर्ने  जिद्दी गरिएमा देश चक्रव्यूहमा फंस्न सक्छ । बेलैमा चेतना भया …।

( १६५ ) १२ वर्षे गोदावरी सिंह अस्त मेला 

( १६५ ) १२ वर्षे गोदावरी सिंह अस्त मेला 

दैनिक जीवनका अनुभवहरु 
२०७२ साल भाद्र २२ गते मंगलवार

गोदावरी ललितपुर जिल्लामा पर्दछ । यो काठमाडौँबाट अन्दाजी १४ /१५ किलोमीटर दक्षिण -पूर्वी भागमा पर्दछ ।समुन्द्री सतहबाट ५००० फिट उँचाईमा रहेकोछ । मौसम विज्ञानको भाषामा यसलाई काठमाडौँ उपत्यकाको ” चेरापूंजी” भनिन्छ । छिनछिनमा पानी पर्ने ठाउँ । आज त हामी त्यहाँ रहंदासम्म पानी परेन । छिनछिनमा बदली भयो ।
गोदावरी पौराणिककालदेखि स्थापित एक तीर्थ स्थल रहेछ । प्रत्येक १२ वर्षमा सिंह राशीमा वृहस्पति र सूर्य एकै स्थानमा भाद्र महिनामा पर्न आउँदा  यहाँ १२ / १२ बर्षमा मेला लाग्ने परम्परा रहेछ । गोदावरी भन्ने बत्तिकै एक पवित्र गंगा / नदीको नाम, एक सुन्दर फूलको नाम भन्ने बुझिन्छ । अनेकौं वर्ष पहिले एक जना बहादुर पुरी नाम गरेका सिद्ध योगी बस्दथे । उनी आफ्नो योगवलद्वारा आकाशमार्ग भई भारतको गोदावरी तीर्थमा नित्य गंगा स्नान गर्न जान्थे । एक दिन सपनामा गोदावरी गंगाले उनलाई भनिन्,” अब तिमी यती टाढा स्नान गर्न आउनु पर्दैन , म तिमी बस्ने स्थानमा नै प्रकट हुनेछु, त्यही स्नान गर्नु ।” योगीले कसरी विश्वास गर्ने भनी प्रश्न गरे । गंगाले भनिन् , ” तिम्रो कमण्डलु,माला, खराऊ,चिम्ता,झोली आदि गंगामा विसर्जन गर्नु । प्रमाण स्वरुप पहिला तिम्रा सामान आउने छन् र पछिबाट म प्रकट हुनेछु ।” यस्तै भएछ । त्यसै समयदेखि गोदावरी मेला पर्व शुरु भयो भन्ने कथन रृषभदेव घिमिरेलाई आफ्नो ” गोदावरी संक्षिप्त परिचय,२०७२” भन्ने पुस्तिकामा लेख्नु भएको छ ।

गोदावरी एक  प्राकृतिक सम्पदा हो । प्रकृतिको खुल्ला संग्रहालय हो । देशको एक मात्र बोटानिकल गार्डन यहीं नै छ । यो एक धार्मिक स्थल हो ।एक सांस्कृतिक सम्पदा हो । यहाँ जैविक विविधता छ ।एक पर्यटक स्थल हो । यहाँको हावा, पानी र वातावरणमा आफूलाई हराइ दिन्छन्, पर्यटकहरु । 

म २०४८ मा एक्लै,२०६० मा सपत्नी र २०७२ मा सपरिवार  लगातार मेला भर्न आएं ।तेस्रो पटक कुण्डमा नुहाउने अवसर मिलेन । भीड्मभीडले गर्दा ।जनसागर ओइरिएको ओइरिएकै छ ।एक महिना सम्म मेला लाग्छ । एकातिर यस्तो अवस्था छ भने संविधान निर्माताहरुले देशलाई ” धर्मनिरपेक्ष” घोषणा गर्न लागी परेकाछन् । केही नेतागण भन्छन् – राज्यको कुनै धर्म हुंदैन । तर सनातनदेखि चली आएको धर्मको संरक्षण पनि त हुनु पर्दछ ।
रमाइलो छ गोदावरी मेला । युवायुवतिको अचाक्ली भीड थियो । फेसन परेड जस्तो पनि देखें । बृद्धबृद्धा थोरै देखिन्छन् । खाजा खाना पसलहरु प्रसस्तै रहेका । इलेक्ट्रिक रोटे पींगमा जोड़ीका जोडी फनफनी घुमेका ।सुरक्षाको विशेष प्रबन्ध थियो नै । स्थानीय उत्पादन भटमास,मासको दाल, बोडी,केराउ , अकबरे खुर्सानी, थ-थरीको अचार,खुवा, काँक्रो सबै लोभलाग्दो । किनौ- किनौ लाग्ने । किनी छाडे एक हजार जतिको ।

रमाइलो मान्यौं, हामी सबैले । थकान भने मज्जाले लाग्यो । हाइ गोदावरी ! बाइ गोदावरी ।

( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।

( १६४ ) एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।
            शिक्षण जीवनका अनुभवहरु 
           २०७२ भाद्र २१ गते सोमवार

घंटी लागेपछि चक, डष्टर र किताब लिएर अफिस गएं । टेबुलमाथि राखें । बाहिर गएं । बाहिर अवलोकनकर्ताहरु बसिरहेका थिए । एक जनाले भने, ” सर, १८ / २० वर्ष शिक्षण गरेका शिक्षकको पूरै कक्षा अवलोकन गर्नु आवश्यक ठानेनौं, हामीले । अरु प्रतियोगीहरु पनि छन् । एक हप्तापछि रिजल्ट दिने छौं, धन्यवाद ” ,  एक मोटो ,रौं सेतो देखिने, चाक्लो अनुहार भएका ब्यक्तिले  भने ।” सबैलाई ” नमस्कार ” गरी म सिनामंगल चौकतिर लागें । केही किनमेल गर्दै थिएं ।त्यसैबेला कक्षा शिक्षणपछि बोल्ने ब्यक्ति भेट भए । उनले आफूलाई विसंसको अध्यक्ष भएको परिचय दिए । हात मिलाए । 
” मेरो एउटा प्रस्ताव छ । अर्का एक जना योग्य मित्र पनि हुनु हुन्छ । विद्यालय दुई शिफ्ट संचालन हुन्छ । तपाई भिजिटिंग टिचर भएर दिउँसोको शिफ्टको प्र. अ. भई संचालन गर्नुस् । निजले विहानको मा.वि. शिफ्ट संचालन गर्छन् । मिलेर काम गरौं ।”

” सर, यो भिजिटिंग टिचर भन्ने विद्यालय स्तरमा प्रचलित छैन । विश्वविद्यालयमा भिजिटिंग प्रोफेसर हुन्छ । एक विद्यालयमा दुई प्रअ रहनु भनेको विवादास्पद विषय हो । एकै घाटमा दुई शेरले संगै पानी पिउँदैनन् ।”

खिस्स हाँसेर “सी यू” भन्दै बाइक कुदाउंदै गए, अध्यक्ष । ( क्रमश:..)

( १६३ ) त्यतिकैमा अवलोकनकर्ताहरु ह्वारह्वारती कक्षाबाट बाहिरिए । मेरो शान्त कक्षा बिथोलियो ।

( १६३ ) त्यतिकैमा अवलोकनकर्ताहरु ह्वारह्वारती कक्षाबाट बाहिरिए । मेरो शान्त कक्षा बिथोलियो ।

शिक्षण जीवनका अनुभवहरु 
२०७२ भाद्र २० गते आइतवार

अन्तर्वार्ता सहजै सम्पन्न भयो । विद्यालय संचालनमा दिनहुं आउने समस्याहरुबारे तार्किक ढंगले प्रस्तुत हुनु मेरोनिम्ति नौलो कुरा थिएन । अन्तर्वार्ता बोर्डलाई चित्त बुझ्यौ रै’छ । दोस्रो चरणको परीक्षा – कक्षा शिक्षणकोलादि छनौट भएको खबर भोलि पल्ट पाएँ । निर्धारित समयमा पुगें । ११ बजेको समय थियो- दोस्रो पिरियड । कक्षा ९ मा अंग्रेजी विषयमा रहेको “Fables of Aesop”पाठ पढाउने निर्देश भयो । केही अवलोकनकर्ता  कक्षा पछाडि बस्न गए, केही अगाडिको बेन्चमा विद्यार्थीसंगै बसे । अंग्रेजीमा अभिवादन गरे लगत्तै पाठ पढाउन थालें । कक्षा शान्त र नियन्त्रित थियो । पहिलो पंक्ति पढाइ विद्यार्थीहरुसंग प्रश्नोत्तर शुरु गरें । त्यतिकैमा अवलोकनकर्ताहरु ह्वारह्वारती कक्षाबाट बाहिरिए । मेरो शान्त कक्षा बिथोलियो । नरमाइलो लाग्यो ।पाँचै मिनटमा मेरो मूल्याँकन गरे छन् भन्ने लाग्यो । शिक्षणको sequence ( सिलसिलेवार ) नै नहेरी गए, अवलोकनकर्ताहरु । मैले आफ्नो कर्तव्य निर्वाह गर्नु थियो । पूरै समय पढ़ाएँ । कक्षा कार्य समेत दिएँ । ( क्रमश:….)

( १६० ) समस्याग्रस्त शिक्षकलाई कसरी तह लगाउने ?

( १६० ) समस्याग्रस्त शिक्षकलाई कसरी तह लगाउने ?

      शिक्षण जीवनका अनुभवहरु
           
      २०७२ साल भाद्र १६ गते बुधवार

२०४७ साल चैत । गुह्येश्वरी मा.वि. सिनामंगले गोरखापत्रमा “प्रधानाध्यापकको आवश्यक्ता”को विज्ञापन प्रकाशित गर्यो । मैले बुटवलबाट दरखास्त रजिष्ट्री गरी पठाएको थिएं । सम्पर्क मितिमा उपस्थिति भएं ।छनौट प्रक्रिया अन्तर्वार्ता र कक्षा शिक्षण राखिएको ज्ञात भयो । 

अन्तर्वार्ताको दिन भएको प्रश्नोत्तर –
प्रश्नकर्ता १- किन काठमाडौंमा प्र.अ. हुंन चाहनु भएको ? “पीएचडि गर्ने प्लेट फर्म पाउने अाशाले ।”
                 यो पद अस्थायी नि ? ” म स्थायी प्रअ हुँ । सरुवा गरेर आउँछु ।”
प्रश्नकर्ता २- समस्याग्रस्त शिक्षकलाई कसरी तह लगाउने ? 
                 ” शिक्षक कर्मचारीलाई मनोवैज्ञानिक र प्रशासनिक तौरतरिकाले तह लगाउन सकिन्छ । प्रथमत: निजलाई उस्ले गरेको गल्ती, लापरवाहीको नतिजाले विद्यालयलाई असर पारेको उदाहरण दिई सुध्रन समय सीमा तोक्ने । अनुगमन जारी राख्ने । आवश्यक परे दोस्रो पटक लिखित स्पष्टीकरण सोधी सचेत गराउने । सुधार नआए, अटेर गरे ,निजलाई नै बदल्ने अर्थात बर्खास्त गर्ने गरी संचालक समितिमा निर्णय लिने ।” ( क्रमश:)

( १६१ ) स्तरीय पढाइले विद्यालयको आर्थिक स्तरमा सुधार हुन्छ ।

( १६१ ) स्तरीय पढाइले विद्यालयको आर्थिक स्तरमा सुधार हुन्छ ।
          शिक्षण जीवनका अनुभवहरु 

                   प्रश्नकर्ता ३- ” विद्यालयको आर्थिक स्थिति कसरी सुदृढ पार्न सकिन्छ ?”
                    ” Quality education ( गुणात्मक शिक्षा ), योग्य,अनुभवी,तालिम प्राप्त अध्ययनशील र परिश्रमी  शिक्षकहरुको “Team Work”। त्यो टीमलाई प्रोत्साहन प्रदान गर्ने विद्यालय संचालक समिति ।यो अवस्थामा स्तरीय पठनपाठन हुन्छ । यस्तो पढाइ हुंने विद्यालयमा हुनेखानेहरुले आफ्ना सन्तति भर्ना गर्न ल्याउँछन् ।हुंदा खानेहरुले पनि गाँस काटेर नानीहरु भर्ना गर्न ल्याउँछन् । केही शल्क बृद्धि गरे पनि खुसीराजीले तिर्छन्, अभिभावकहरु ।”
प्रश्नकर्ता ४- अन्य केही उपाय पनि छन् कि, सर ?
                 ” छन्, हजुर । विद्यालयको सडक मोहडामा जग्गा, ज़मीन भए कवाल / पसल / सटर निर्माण गरी भाडामा लगाउने । यसबाट स्थायी आमदानी भई रहन्छ । स्थानीय सरकार – नगर पालिका / जिल्ला विकास समिति / NGO /  INGO संग आवधिक योजना देखाइ अनुदान माग गर्न प्रक्रिया चलाउने ।स्थानीय दाताहरुसंग अनुरोध गर्ने । भागवत महापुराणको आयोजना गरी दान संकलन गर्ने । संकलित रकम पूर्ण सदुपयोग गर्न सकियो भने नपुग रकम समेत माग गर्न मिल्छ ।” ( क्रमश: )…

                  

(१५९ ) हुह्येश्वरी मा.वि.मा आगो बले जस्तै थियो,२०४७ / २०४८ मा   

(१५९ ) हुह्येश्वरी मा.वि.मा आगो बले जस्तै थियो,२०४७ / २०४८ मा
  
      शिक्षण जीवनका अनुभवहरु
   
      २०७२ साल भाद्र १५ गते मंगलवार
२०४६ / २०४७ सालमा प्रजातन्त्र पुनर्वहालीकोलागि देशै भरि आन्दोलन चरम उत्कर्षमा पुगेको थियो ।नेताहरुले विद्यार्थी र शिक्षकहरुलाई पनि परिचालन गरेको थियो । शिक्षकले ढुंगा हान्थे  । विद्यार्थीलाई पनि हान्न लगाउँथे ।
शिक्षक-विद्यार्थीहरु दुबै प्रजातन्त्रका संवाहक थिए । केही अन्तराल पछि त्यो परिदृश्य विद्यालयहरुको कक्षा कोठामा पनि देखियो । सा-सानो कुरामा विद्यार्थीहरु शिक्षकहरुसंग कडा प्रतिवाद गर्दै भनाभन र पाखुरा सुर्का सुर्कि समेत हुन्थ्यो । यो अवस्थाबाट गुह्येश्वरी पनि अलग थिएन । २०४७ चैतमा म प्र.अ.मा छानिंदा मेरा सामु यस्तै चुनौतिहरु सामना गर्नु पर्ने थियो। यत्ति मात्रले  कहाँ पुग्थ्यो र ? त्यहाँ शिक्षक र संचालक समिति वीच तनाव थियो । संचालक समितिका सदस्यहरु वीच पनि वैमनस्यता थियो । शिक्षा प्रशासन कार्यालयहरु पनि विद्यालय प्रति विश्वस्त थिएनन् ।अभिभावकहरुको विद्यालय प्रति दरिलो विश्वास एवं सहयोग थिएन । यी सबै परिस्थिति सम्हालेर विद्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न गर्ने दायित्व वहन गर्नु थियो । ( क्रमश: )