( ४५ ) लाश , जो भष्म हुंदैन
मेले अाफ्नो शरीरभित्र
एउटा लाश जलाई राखेको छु।
त्यो लाश
म मा नव चेतनाले प्रवेश गरेदेखि
निर्वाध गतिले जलिरहेछ ।
मेरो मनका कोमल इच्छा ,अाकांक्षा ,
महत्वाकांक्षा,रीस,ईर्ष्या,लोभ अादि सबैलाई
पालै – पालोसंग होमी दिएको छु ।
भीषण अग्नि प्रज्जोल्लित गर्दा पनि
त्यो चीसो शव
भष्म हुन सकेको छैन ।
सधैं यो चीसो चिता कति जलाउने , कति कुर्ने ?
एउटा शीथिल अन्तःस्थल
एउटा गतीरोध चाल
एउटा अन्यमनस्कताको मनस्थिती
र एउटा असमयको अलाप
यही छ मेरो लाशमा शायद !
म मा मात्र हैन साथी,
यो तिमिमा पनि,हामी सबैमा नै विद्यामान छ ।
जिजीविषा बोकेको छ , यस्ले ।
गहिरीएर , एकचित्त भएर तिमी सोच ,
अवश्य नै साक्षात्कार हुन्छौ , यो संग ।
किन तिमी तड्पन्छौ , असीमित पीडाले ?
हो , यो शाश्वत लाशलाई
खरानी – खरानी पार्ने हो भने
मैले,तिमीले र हामीले
हाम्रो यो पार्थिव अाशा युक्त देहलाई ।
हीउँदै चीतामा होम्नु पर्ला ,
तब शायद यो लाशको
चीर अन्त होला ।
-( २०३४ असार २९ )