शिक्षण जीवनका अनुभवहरु ( १३५ )
२०७२ साउन २३ गते शनिवार
शिक्षण एक कला हो । तालिम,अनुभव र लगनले प्रोफेशनल ( Professional ) बनाउँछ ।
शिक्षण वा पढाउनु भनेको एक कला हो । शिक्षण पेसामा प्रवेश गरेपछि त्यससंबंधित तालिम, सो अनुसार पढाउने क्रम, पढाउँदै जाँदा प्राप्त हुने अनुभव,निरन्तरको योग्यता उकास्ने अध्ययन र विद्यार्थीको मनेविज्ञान बुझी समस्या समाधान गर्ने सीप र जेष्ठ / कनिष्ठ सहकर्मीसंगको विचारविमर्श आदि अभ्यासले गर्दा शिक्षकलाई Professional बनाउँछ ।
शिक्षण जीवनका अनुभवहरु ( १४१ )
२०७२ साउन २९ गते शुक्रवार
शिक्षण कार्यकलाप बदल्दै जाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।
विद्यार्थी संख्या ३० / ४० । तपाई पढाउँदै हुनुहुन्छ । शायद, कुनै पाठ्याँश सस्वर पाठ गर्दै । कक्षा पछाडि हल्ला गर्दैछन्, विद्यार्थीहरु । दिक्क लाग्छ । भन्न मन लाग्छ – चुप । भन्नु हुन्छ नै । तर कुनै असर हुंदैन ।लाग्छ, कक्षा बाईकट गरौं । तर गर्नु हुंदैन ।यसो गर्नुस् – हल्लालाई हल्लाले ठाउँमा ल्याउँछ । भन्नुस- ” ल अब सबैले ठूलो स्वरमा पढ्नु । म चेक गर्छु, कस्ले पढेको छैन भनेर ।”
अब सबैले पढ्न शुरु गर्छन् । हल्ला गर्ने कोही हुंदैन । मुश्किलले ५ मिनट सबै पढ्छन् । फेरि गनगन । आपसमा थाल्छन्, कुरा गर्न । अब आदेश दिनुस् – ” ल म दुईटा प्रश्न बोर्डमा लेख्छु । यसको जवाफ आ-आफ्नो कापीमा लेख्नु । उनीहरु लेख्न थाल्छन् । कक्षा शान्त हुन्छ । केही समयपछि सबैलाई पालो पालो लेखेको उत्तर पढ्न लगाउनुस् । एकपछि अर्कोले पढ्दै जान्छ । कक्षा शान्त हुन्छ । जवाफ नलेख्नेलाई बोर्डतिर आउन भन्नुस् । त्यसपछि उनीहरुलाई सही उत्तर लेख्नेको कापीबाट आफ्नो कापीमा सार्न भन्नुस ।कक्षा फेरि शान्त हुन्छ । वालवालिका स्भावलेनै चन्चल हुन्छन् ।शिक्षण कार्यकलाप परिवर्तन गर्दै लैजाँदा कक्षा नियन्त्रित हुंदै जान्छ ।यो एक उदाहरण हो । प्रयोग गर्नुस् ,आफ्नो विषयको प्रकृति अनुसार ।
शिक्षण जीवनका अनुभवहरु ( १४२ )
२०७२ साउन ३० गते शनिवार
कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )
विद्यालयमा धेरै दिनको पठनपाठनको सिलसिलामा विद्यार्थीहरुलाई नियास्रो लाग्न सक्छ । उनीहरुले शिक्षकलाई केही प्रस्ताव राख्न सक्छ । जस्तै कि, आज खेल्न दिनुस् , आज पुस्कालयमा बसेर पढ्न पाउँ, कबड्डी खेलौं, बल खेल्छौं , कक्षामा जाडो भयो घाममा पढ्छौं आदि । मानी दिनु पर्छ, विद्यार्थीको प्रस्ताव । उनीहरु प्रफुल्ल हुन्छन् । तर याद राख्नुस् , उनीहरुसंगै सहभागी भएर खेलना भाग लिनुस् । यसो गर्दा दुई कुराको फाइदा हुन्छ । पहिलो , विद्यार्थीको मन पर्ने शिक्षक भइन्छ, दोस्रो कक्षा बाहिर पनि विद्यार्थी नियन्त्रित भइरहन्छन् ।
शिक्षण जीवनका अनुभवहरु ( १४० )
२०७२ साउन २८ गते विहिवार
शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।
विद्यालयको चौतर्फि विकासको दायित्व प्रधानाध्यापकमाथि निर्भर रहन्छ । तर नेपालमा शिक्षा क्षेत्रमा यतिविधि राजनीति हुन्छ कि जुन पार्टीको सरकार बन्छ, त्यसै पार्टीको कार्यकर्तालाई विद्यालयको प्रधानाध्यापकमा नियुक्ति गरिन्छ। स्थानीय विद्यालयमा उपलब्ध नभए अन्यत्रबाट सरुवा गरेर ल्याइन्छ । २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो। शिक्षामा काँग्रेसीकरण भयो । वरिष्ठलाई छाडी कनिष्ठलाई प्रधानाध्यापक बनाउन थालियो । संचालक समिति पनि त्यसै मुताबिक बन्न थाले । क्याम्पस र विश्वविद्यालय पनि यही नीतिमा चल्न थाल्यो । एमाले सरकारमा आउँदा यही नियती दोहरियो । एमाओवादीको सरकार बन्दा त झन गहिरो भयो यो समस्या । जुन पार्टी सत्तामा आउँछ उसैको हालीमुहाली चल्ने । यसले शिक्षामा भाँडभैलो मच्चायो । ऐन,नियमहरु वस्तुपरक हुनु पर्दछ । प्राज्ञिक वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।
शिक्षण जीवनका अनुभवहरु ( १३८ )
२०७२ साउन २६ गते मंगलवार
अंग्रेजी पढाउँदा translation method पनि उपयोगी हुन्छ ,प्रयोग गर्नु पर्छ ।
२५ गतेको बाँकी…
तर सामान्यतया विद्यार्थीको आमाबाबु अंग्रेजी बोल्दैनन् । खेल्ने चौरमा साथीसंगाती अंग्रेजी बोल्दैनन् ।टोलछिमेकमा अंग्रेजी बोलिन्न । स्वयं शिक्षकहरु स्टाफ रुममा आपसमा अंग्रेजी बोल्दैनन् । कक्षा कोठामा अनेकथरिका भाषा बोल्ने जनजातिहरु हुन्छन् । उनीहरुलाई अंग्रेजी फलामको च्यूरा चपाए जस्तै हुन्छ । सामुदायिक विद्यालयहरुमा ६ वटा घंटी नेपाली माध्यममा पढाइन्छ । मात्र अंग्रेजी ४५ मिनट पढाइन्छ । यस्तो परिस्थितिमा कसरी अंग्रेजीको स्तरीय पढाइ हुन्छ ?
पाठ्यक्रमको उद्देश्य प्राप्त गर्न केही त गर्नै पर्छ । शिक्षकले परिश्रमकासाथ पढाउंनै पर्दछ । सरल सुबोध अंग्रेजी माध्यममा बोल्नै पर्दछ । विद्यार्थीलाई बोल्न प्रेरित गर्नै पर्दछ । त्यसकोलागि दैनिक प्रयोग गरिने वाक्याँश घोकाउनै पनि पर्दछ ।शिक्षकले प्रश्नोत्तर लेखाइ बारम्बार पढ्न र लेख्न लगाइ सोधनी गर्नै पर्दछ । पाठ्याँशको आवश्यक आवश्यक ठाउँमा नेपाली भाषामा अनुवाद पनि गर्नै पर्दछ ।शिक्षकको दायित्व हो – विद्यार्थीलाई बुझाइ पढाउनु ।शिक्षकले मात्र कक्षामा अंग्रेजी फटफटाएर हुंनेवाला केही छैन । कसै कसैले गर्व पनि गर्दछन् , अंग्रेजीमा नै पढ़ाएँ, बोलें भनेर । यस्तो जड व्यवहारले भैंसीको सामु बाँसुरी बजाउनु जस्तै हुन जान्छ ।
आजकाल communicative English को बोलबाला छ । Translation method लाई traditional method भनेर गिल्ला गर्नु कदापि हुंदैन । पाठलाई सरल बनाइ बुझाउन यो विधि प्रभावकारी छ ।
शिक्षण जीवनका अनुभवहरु ( १३७ )
२०७२ साउन २५ गते सोमवार
अंग्रेजी पढाउंदा आवश्यक परेको ठाउँमा नेपालीमा पनि अनुवाद गरेर बुझाउनु पर्दछ ।
विद्यालय शिक्षाको पाठ्यक्रममा अंग्रेजी विषय अनिवार्य विषयमा पर्दछ । २०२८ सालदेखि ५० को दशकसम्म कक्षा ४ देखि अंग्रेजी पढाइन्थ्यो । २०६० को हाराहारीदेखि सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै अंग्रेजी पढाइन थालियो । यसलाई दोस्रो र विदेशी भाषाको रुपमा लिइन्छ । अप्ठेरो त अवश्यै हुन्छ, नै । भाषा शिक्षण गर्दा सोही भाषामा नै गर्नु पर्दछ । अर्थात अंग्रेजी पढाउंदा अंग्रेजीमा नै पढाउनु पर्छ, विद्यार्थीलाई अंग्रेजी नै बोल्न लगाउनु पर्दछ । यसो गर्दा संचार ( communication ) छिटो हुन्छ भन्ने सोंच हो । तर विद्यालयको कक्षा कोठा भित्रमात्र अंग्रेजी बोलेर हुंदैन । घर-आगन,खेल मैदान र साथीसंगाती माझ पनि अंग्रेजी बोल्ने वातावरण हुनु पर्दछ ।( क्रमश: )
शिक्षण जीवनका अनुभवहरु ( १३६ )
२०७२ साउन २४ गते आइतवार
जीवन्त शिक्षण
प्रभावकारी शिक्षण सम्पन्न हुनकोलागि निम्न चाँजोपाँजो मिल्नु आवश्यक हुन्छ ।
१ / दक्ष शिक्षक
२ / जिज्ञासु विद्यार्थी
३ / शैक्षिक सामग्री
४ / विद्यालय भवन
५ / शान्त वातावरण
६ / पुस्तकालय
७ / जागरुक अभिभावक
८ / देश, काल र परिस्थिति
तर अन्यान्य कुराहरुको अभाव भए पनि दक्ष शिक्षक र जिज्ञासु विद्यार्थी दुई कुरा उपलब्ध भएमा शिक्षण जीवन्त ( LIVE ) हुन्छ ।
शिक्षण जीवनका अनुभवहरु ( १३४ )
२०७२ साउन २२गते शक्रवार
हिन्दू सभा
आज विशाल हिन्दू सभा र -याली भयो, राजधानीमा । हिन्दू गुरुहरु , सन्तमहन्त , मठ मन्दिरका पुजारीहरु सबैको बाक्लो उपस्थिति थियो । ठूलो संख्यामा सर्वसाधारण पनि । सनातन हिन्दू धर्म संविधानमा लिपीबद्ध हुनु पर्ने माग थियो । ढीलै भए पनि धर्माधिकारीहरुले एक्यबद्धता देखाउनु भयो । आह्वान पनि गर्नु भयो, हाम्रा नेताहरूलाई जनभावनाको कदर गर्न । नेता सनातनी वैदिक हुन । तर कसैले उनीहरुलाई झुक्याए, निरीह बनाए । प्रलोभनमा पारे । केही कसैको क़र्ज़ाले लादिएको भए,भीक्षातन गरेर शोधभर्ना गर्ने छौं भनी बारम्बार जनआवाज कुर्लीरहेको थियो ।
यसबाट नेताहरूले पाठ सिकेर जनभावनाको कदर गर्ने साहस देखाउनु पर्दछ ।
शिक्षण जीवनका अनुभवहरु ( १३३ )
२०७२ साउन २१ गते विहिवार
मुस्लिम समुदाय पनि हिन्दू धर्मपक्षधर
केही समयदेखि नेपालमा बसोबास गर्ने मुस्लिम समुदायले पनि देशको नयाँ बन्ने संविधानमा सतातन हिन्दू धर्म कायम हुनु पर्ने अभिव्यक्ति दिंदै आएको देखिएकोछ । यो अस्वाभाविक भने होइन । यो हिन्दू धर्मको समन्वयकारी र संरक्षणकारी प्रकृतिको प्रतिफल हो ।
हिन्दू धर्म प्राचीन र सनातनदेखि मानी आएको र चली आएको धर्म हो । यसको क्षत्रछायाँमा सबै जातजाति सुरक्षित छन् । केही नेताहरूले राज्यको कुनै धर्म हुंदैन भन्दै आएका छन् । यो सिद्धान्तको कुरा हो ।मान्छेले सिद्धान्त बनाउने हो । सिद्धान्तले मान्छे बनाउने होइन । सतातनदेखि चली आएको प्रचलनलाई संरक्षण दिनु राज्यको कर्तव्य हुन्छ । सबैको हित गर्ने, सबैको सुख चाहने यो धर्मलाई पाखा लगाउँदा कसैको अभीष्ट पूरा हुंदैन । बरू कलंकों टीका लगाउनु जस्तै होला, केहीलाई। यो कुचेस्ता नगरियोस् । बहुसंख्यक नेपालीको मनोभावनाको कदर हुंनै पर्दछ ।
शिक्षण जीवनका अनुभवहरु ( १३२ )
२०७२ साउन २० गते बुधवार
सरल,निष्ठावान र विकासप्रेमी बुटवलवासी राजनीतिकर्मी सूर्य प्रसाद प्रधान रहेनन् ।
सरल व्यक्तित्व । मिलनसार । कसैको बिगार नगर्ने । बुटवलको चौतर्फि विकासमा समर्पित । बुटवलका नगर प्रमुख र नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. ४ का पूर्व सांसद थिए, उनी । एउटा संसदीय समितिका सभापति पनि । तर नेपाली काँग्रेसबाट उनी मन्त्री बन्न सकेनन् । भनौं मन्त्री बनाइएन । बुटवलवासीको इच्छा थियो, वहाँ त्यो पदमा पुगुन् भन्ने ।
मैले यसबारे एक पटक सोधेको थिएं । जवाफ दिनु भयो- ” म जेलनेल नखाएको मान्छे परें । मेरो नम्बर त कहिल्यै नआउने रहेछ । कहिलेकाँही बिरक्ति लाग्छ । २०४६ तिरको जन आन्दोलनमा शहिद भएको भए राम्रो हुन्थ्यो ।”
कटु अभिव्यक्ति थियो । नेपाली काँग्रेसको अनुदारवादी नीति स्पष्ट भयो । निरन्तर लागी रहनु भयो बुटवलको प्रगतिनिम्ति । बुटवल स्थित ज्ञानोदय रात्री माध्यमिक विद्यालयको संचालक समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । म प्र. अ. भएर १० वर्ष काम गर्ने अवसर पाएको थिएं । उद्योग वाणिज्य संघ बुटवलको तर्फबाट निरन्तर अनुदान उपलब्ध गराउनु भयो । मजदूरवर्ग र पढाइ छुटेका महिलावर्गले समेत शिक्षाको अवसर पाएका छन् ।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु । यस दु:खद घडीमा परिवार जनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दछु ।