शैक्षिक जीवनका अनुभवहरु ( ४९ )

शैक्षिक जीवनका अनुभवहरु ( ४९ )

२०७२ वैशाख २२ गते मंगलवार

नेताप्रति जन आक्रोश बढ्दो छ 

१८ वर्ष पुगेका विद्यार्थी होस या युवक युवति, सबैलाई अनिवार्य सैनिक तालिम दिनु राष्ट्रकै आवश्यकता भएको छ ।

२०७२ / १ / १२ र १३ गतेको भूकम्पले क्षतविक्षत पारेको नेपाली गाउँ र सहरहरुमा पार्टीका नेताहरू समयमा नपुग्दा जन असन्तोष बढ्दो छ । यस्को प्रमाण हो – माधव नेपाललाई साँखुमा हातपात भयो भन्ने “खबर डबली डट कम” को समाचार । प्रजातन्त्रमा जनताका प्रतिनिधिहरुले नै शासन चलाउने हो । यसमा दुविधा छैन । तर पहिलो संविधान सभा संविधान नबनाइ अवसान भएदेखि हाम्रा अधिकाँश नेताहरु जनताबाट अपहेलित भइरहेका छन् । भूकम्पको कोकोहोलोमा साता दिन सम्म नेताहरुको दर्शन नभएपछि जनता आक्रोशित हुन थालेका हुंन । यो स्वावभाविक हो ।

जे जस्तो भए पनि सेना र प्रहरीको जवानहरु आफ्नो ज्यानको फिक्री नगरी पीडितहरुको उद्धार कार्यमा लागी परे । सेनाको लोकप्रियता बढ्यो । सेना जनताको रक्षक नै सावित भए । सलाम गर्दछु म । सेना र प्रहरीका बहादुर जवानहरुलाई ।

राष्ट्रीय विपद्को वेला अझ धेरै जना जवानहरुको दरकार टड्कोरो भएको छ ।यस्कोनिमत्त १८ वर्ष पुगेका विद्यार्थी होस या युवक युवति, सबैलाई अनिवार्य सैनिक तालिम दिनु राष्ट्रकै आवश्यकता भएको छ ।

शैक्षिक जीवनका अनुभवहरु ( ४८ )

शैक्षिक जीवनका अनुभवहरु ( ४८ )

२०७२ वैशाख २१ गते सोमवार

बुद्ध हाम्रो देशमा किन यस्तो अशान्ति ?

आज २५५९ औं जयन्ती । 

शान्तिका प्रतीक हे बुद्ध  !  प्रणाम् । तपाईको जयन्तीमा आज केही प्रश्न सोध्न चाहान्छु । जवाफ नदिइकन समाधान मात्र गरिदिनु होला ।

१ / तपाईको जन्म थातथलो नेपालमा किन अशान्ति भईरहेको छ ?

२ / नेपालमा १० वर्षे जनयुद्ध किन भयो ?

३ / राजाको वंश नाश किन हुन गयो ?

४ /  पहिलो संविधान सभा संविधान नबनाइकन किन अवसान भयो  ?

५ / दोस्रो संविधान सभाका सभासद्हरुले अहिलेसम्म किन संविधान बनाई जन इच्छा पुरा गर्न सकेका छैनन् ? के संविधान पनि बारह बुंदे, अनि के के बुंदे जस्तै नयाँ दिल्ली मै बनेर त आउने होइन ?

६ / २०७२ साल भित्रै नेपालमा नै बनोस् है, तथागत ?

७ /  २०७२ वैशाख १२ र १३ गतेको विनाशकारी महाभूकम्प किन आयो, प्रभु ?

८ / नेताहरू किन आपसमा फुटेका ? यी जुट्ने कहिले ? यिनले चुस्ने कहिले सम्म, भन्टे ?

९ / गाईप्राणी नेपालीले अझ कति सहनु पर्ने, गौतम बुद्ध ?

१० / नेपालीले ढुक्कसंग बाँच्ने र गरी खान पाउने दिन कहिले आउला, शान्ति दूत ?

शैक्षिक जीवनका अनुभवहरु ( ४६ )

शैक्षिक जीवनका अनुभवहरु ( ४६ )

२०७२ वैशाख १९ गते शनिवार 

कुराको सगरमाथा बनाउन सबै दक्ष छन् ।

मानिस पहिला गाँस खोज्छ । अनि वास खोज्छ ।घर मानिसको भर हो । आश्रय हो ।

 समय ,परिस्थिति र औकात अनुसार मानिस घर बनाउँछ ।सबैले मापदण्ड पु-याउन सक्तैनन् । यसै कमजोरीलाई भूईचालोले प्रहार गर्दछ । गर्यो नै, काइदाले । तर विपद व्यवस्थापनमा सरोकारवाला सबै चुक्यौं । कुराको सगरमाथा बनाउन सबै दक्ष छन् ।

शैक्षिक जीवनका अनुभवहरु ( ४५ )

शैक्षिक जीवनका अनुभवहरु ( ४५ )

२०७२ वैशाख १८ गते शुक्रवार

महाभूकम्प पश्चात बन्द विद्यालय अब खोली विद्यार्थीको मन पुन:स्थापन गर्नु पर्छ ।

२०७२ वैशाख १२ गते शनिवार महाभूईचालो आई कोहराम मच्चाएको साता दिन भइसक्यो ।त्यो दिन विद्यालयहरु विदा परेकाले  विद्यार्थीहरुको बिचल्ली हुन पाएन । सरकारले सम्वेदनशीलतालाई मध्यनजर राखेर विद्यालय एक हप्ताकोलागि बन्द गर्ने सकारात्मक निर्णय गर्यो । वालवालिकाहरुले आ-आफ्ना अभिभावकहरुसंगै बसेर त्रासदी झेल्नुको अनुभव गरे । कतिले पहिलेदेखि नै संचालन गरिएको भूकम्प सम्बन्धित सचेतना कार्यक्रमबाट  टेवा पाए होलान् । कतिपय शिक्षालयहरुको  पूर्वाधारमा क्षति पुगेको छ । तर अब विद्यालय खोलिनु  जरुरी छ । शिक्षकहरुबाट महाभूकम्पको कारण, परिणाम् र धन जनको क्षतिबारे विद्यार्थीलाई अवगत गराउनु , सतर्कता  अपनाउनु पर्ने कुराहरु सिकाउनु र सुरक्षित बस्ने उपायहरु बारे बताउनु पर्दछ । विभिन्न परिस्थितिको सामना गर्ने विधिहरु सिकाउनु पर्दछ । द:खमा एक आपसमा मेलजोल गरी बस्ने, सद्भाव राख्ने र धैर्य धारण गर्ने जस्ता कुराहरु सिकाउनु पर्दछ।  शिक्षकहरुबाट पाएको शिक्षा, अनुभवहरु र जीवनदर्शनले जीउने कला सिकाउँछ । शोकलाई शक्तिमा बदल्ने साहस बढाउँछ । मन पुन:स्थापना गर्ने नैतिक शिक्षा दिनु पर्दछ ।मन, मस्तिष्क र शरीरको संयोजन

भएपछि जीउने कलाको विकास हुन्छ ।

शैक्षिक जीवनका अनुभवहरु ( ४४ )

शैक्षिक जीवनका अनुभवहरु ( ४४ )

२०७२ वैशाख १७ गते विहिवार

प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गरौं 

महाभूकम्पको कारणले हाम्रो देश विपदमा परेको छ । देश रोई रहेको छ ।देश संकटमा छ ।नागरिक घरवास विहिन भएका छन् ।पीडित नागरिक राहत खोजी रहेका छन् ।प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गर्नु पर्दछ र गरौं भन्ने पारिवारिक छलफल चलिरहेको थियो । निखिल चेतना केन्द्र ,बुटवलका गुरु बहिनीहरु सहयोगको अपेक्षा राख्दै घर आउनु भयो । गोरखाका भूकम्प पीडित नागरिकलाई सहयोग पठाउने उद्देश्य बताउनु भयो । योजना जायज लाग्यो । यथोचित रकम प्रदान गर्यौं ।

म एक सेवानिवृत्त शिक्षक हुं ।राष्ट्रले मलाई दिनु पर्ने बेलामा मनग्गै दिएको छ ।मैले पनि केही दिने वेला आयो भन्ने सोंच आयो । एउटाको पीडामा अर्कोले सहयोग गर्नु नै नागरिक कर्तव्य हो । सरकारी टेक्स कटाइ पाउने एक महिनाको पेन्सन रकम राहत कोषमा दाखिला गर्ने संकल्प गरेको छु ।

मित्रहरु ।

तपाईहरुले पनि आ-आफ्ना ठाउँबाट सहयोग गर्नुस् , है !

शिक्षण जीवनका अनुभवहरु ( ४३)

शैक्षिक जीवनका अनुभवहरु ( ४३ )

२०७२ वैशाख १६ गते बुधलवार

उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं ।

इमान्दार भएर उद्धार सामग्रीको बितरण गरियोस् ।

२०७२ साल वैशाख १२ र १३ गतेको अकल्पनीय महाभूकम्पको चपेटामा परी मर्माहत भएका नेपाली जनताको उद्धारको पवित्र भावनाले प्रेरित भई मित्र राष्ट्रहरूले उद्धारकर्ता जवानहरु र सहयोग सामग्री पठाएका छन् । दुखमा सच्चा मानिसले मात्र मानवता देखाउँछ ।धन्यवाद छ । साधुवाद, छ वहाँहरुलाई ।

हामी नेपालीहरुले पनि आफ्ना पीडित दाजुभाइहरुलाई उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं । तर सहयोग गर्दा आधिकारिक निकाय वा संस्थालाई मात्र गर्नु उचित हुन्छ । जसको अगुवाइमा संकलित रकम, राहत सामग्री दुरुपयोग हुन नपावस् । वास्तविक पीडित वर्गले राहत पावस् । नियामक निकाय पनि दुरुपयोग हुनबाट सतर्क होस् । वितरण गर्न खटाउने र खटिने मानिसका मनमा लोभ नपलावस् ।हे भगवान ! यस्तै होस् ।यस्ता सामग्रीमा भ्रष्टाचार नहोस् । लुकी लुकी घर र आफन्तको घरमा कोसेली भनी कसैले नलगोस्, नलैजावस् । विपत्तिमा सम्पत्ति कसैले नजोडोस् । नत्र महापाप लागोस्, यस्तो कुकृत्य गर्नेलाई । कीरा परोस् भ्रष्टाचारीको मुखमा ।

शैक्षिक जीवनका अनुभवहरु ( ४२ )

शैक्षिक जीवनका अनुभवहरु ( ४२ )

२०७२ वैशाख १५ गते मंगलवार

महाभूकम्प पश्चातको आवश्यकता र अवस्था

महाविनाशकारी भूकम्पपछि विपद पीडित सर्वसाधारणलाई निम्न कुराहरुको आवश्कता पर्दछ । तर भूकम्पले प्रताडना गरेको चौथो दिन भईसक्दा पनि निम्न स्थिति देखा प-यो ।

१/  आतंकित ,त्रसित र पीड़ितलाई सान्त्वना, भरोसा र राहत चाहिन्थ्यो । तर प्राप्त भएन । पीडित माझ स्वयंसेवकहरु,नेता ,सरकारी प्रतिनिधिको उपस्थिति विरलै देखियो ।

२/ सय भन्दा बढी राजनैतिक दलहरु भएपनि तिनले कार्यकर्ता परिचालन गरेको देखिएन ।

३/ तत्कालै पु-याउनु पर्ने पानी र औषधिको अभाव रह्यो । तदारुकतासाथ व्यवस्थापन गर्नु प-यो ।

४/ जताततै फोहर थुप्रियो ।प्रभावकारी सरसफाइ व्यवस्थापन भएन ।नगरपालिकाहरु सक्रिय रहनु प-यो ।

५ / अत्यावश्यक खाद्य सामग्री सुपथ मूल्यमा सुलभ हुनु पर्थ्यो । अभाव र कालाबजारी पल्क्यो । कड़ा कार्यवाही हुनुपर्छ् ।

६ / संरचना ध्वस्त भएका विद्यालयको पुनर्संरचनानिमित्त सरकारले अनुदान प्रदान गरी विद्यार्थीको पठनपाठन सुचारू गर्न लगाउनु पर्दछ ।

७/ भग्नावशेषभित्र जीवितै रहेकाको जीवन तत्कालै बचाउनु पर्दछ । तर आवश्यक उपकरणहरुको अभाव रह्यो ।

८ / गन्तव्यतिर जानआउन सहज यातायात सेवा प्राप्त भएन ।यातायातको खपिनसक्नु मनपरी भाडा बढ्यो ।सरकार रमिते बन्यो ।

९ / सरकारसंग सवारी साधन छैन । भएको साझा यातायात पनि परिचालन भएन ।

१० / उद्धार कार्य सबै सहर केन्द्रित रह्यो। गाउँ, पहाडमा पुग्न सकेन ।