मैले यस्तो घटना देखें
काण्ड-काण्डका प्रकाण्ड विद्वान देखें,
श्वेतवश्त्रमा भ्रष्टाचारी,पाखण्डी देखें ।
हजूर हजूर िमलेर तारे होटलमा,
दुर्गमको योजना बनाएको देखें ।
मैले यस्तो घटना देखें ।
गरीब,मजदुर चूसी धनी पोष्ने,
राष्ट्रिय वजेट ल्याएको देखें ।
गुरू मारी गोरू पोष्ने,
अन्धो चेला मेचमा देखें ।
मैले यस्तो घटना देखें
भोको पेटले विकास गर्न,
रूंदै गुरू पढाएको देखें ।
कुरा गरी काम नगर्ने ,
राष्ट्रिय मेलमिलाप देखें ।
मैले यस्तो घटना देखें ।
मैं नेता ठूला भन्दै,
राष्ट्रिय पार्टी फुटाएको देखें ।
समतामुलक देशको मैं नेता भन्दै,
विभूतिका शालिक भत्काएको देखें ।
मैले यस्तो घटना देखें
युवा जमात बेरोजगार भई,
विकास शक्ति विदेशिंदै देखें ।
सांस्कृतिक-सम्पदा पलायन देखें,
हजूरहरू मिल्दा गुजुर हराएको देखें ।
मैले यस्तो घटना देखें ।
गस्ती टोली सेटिंगमा फँस्दा,
भन्यारमा फ्यूज गएको देखें ।
नेता-नेताको भेषमा,
डनहरूको ग्याँग देखें ।
मैले यस्तो घटना देखें ।
आशुतोष भगवानको देशमा,
मूर्तिचोरको ग्याँग देखें ।
सम्यक सम्बुद्धको देशमा,
मारकाटको खेल देखें ।
मैले यस्तो घटना देखें ।
नेपालीले नेपालीलाई मार्ने,
नांगो मृत्यु नाच देखें ।
गाई प्राणी जनता झुक्याइ,
आफै आयु थपेको देखें ।
सपना ठूला -ठूला बाँडी,
नेता सुकिला फुकिला देखें ।
मैले यस्तो घटना देखें ।
(२०६९ /०२/१४)
कविता कथा
………………..
आमाको पर्खाइमा
श्मसानको दन्किएको चितामा
आमाको लाश खरानी हुंदैछ ।
उता-
एउटा वालक
तोते बोलीमा-
“आमा घल आन्छ पापा मालाई दिन्छ”, भन्दै
दैलोमा उभिई
हेरी रहन्छ बाटोमा
हेर्छ, हेर्छ, आउन्न ।
निदाउँछ त्यो पर्खाइमा
पलक पछि
त्यो एक्कासी झस्कन्छ
रून्चे स्वर सुनी
उसको बुबाको
“बाबु, किन याँ,जाउँ बा, भित्र जाउँ ।”
एक पटक शंकाको दृष्टिले
हेर्छ उसले ।
बुबाको तर भएको
नाँगो शरीरमा
र सोध्छ-
“आमा, आमा खै नि ?”
भक्कानो रोक्दै
विचलित हृदय सम्हाल्दै
भन्छ मन बुझाउन वालकको
“हेर बाबु, ऊ मा-थि”
हेर्छ ऊ नील गगनको चारैतिर
फेरि सोध्छ-
” खै त ?”
“ऊ त्यहीं छ, तिमी देख्तैनौ, बाबु ,
ती ताराहरू भन्दा पनि
धेरी -धेरी पछाडी ।”
(रचना काल: २०३८ /०९/१०)