कविता
देश बन्छ
गरीब छ र देश ?
मात्र हिमाली पानी बेचे
देश बन्छ ।
भर नपरी छिमेकमै
तेल उत्खनन् गरे
देश बन्छ ।
कौडीमा नबेची जडिबुटी
प्रशोधन गरे
देश बन्छ ।
सुन्दर प्रकृति घुमाउन,
टिकाउन सके पर्यटक
देश बन्छ ।
हिमाल,पहाड र तराईले
हातेमालो गरे
देश बन्छ ।
स्वावलम्बी बन्न
खोले उद्योग कारखाना
देश बन्छ ।
मालिक नबनी प्रशासक,
जन सेवक बने
देश बन्छ ।
हाम्रालाई नभनी
राम्रालाई छाने
देश बन्छ ।
युवावर्ग विदेशिन रोकी
सीप र अवसर दिए,
देश बन्छ ।
अध्यात्म जोडी राजनीतिमा
थोरै पनि इमान थपे
देश बन्छ ।
नबाँडी मात्र सपना
साकार पारे स-साना कुरा
देश बन्छ ।
त्यागी स्वार्थ
गरे विकासे राजनीति
देश बन्छ ।
सरकार दीगो बनाउन
सचेत भए मतदाता
देश बन्छ ।
न्याय छिटो छरितो
र सुलभ भए
देश बन्छ ।
महिला समावेशी
सरकार बने
देश बन्छ ।
भर नपरी मात्र सरकारको
सक्ने जति गरे समुदायले
देश बन्छ ।
बनाए चाडपर्व किफायति
बचत गरे खर्चलाई
देश बन्छ ।
वैदेशिक कमाइ
लगानी गरे उत्पादनमा
देश बन्छ ।
बने देश म बन्छु
भन्ने सुसंस्कार भए
देश बन्छ ।
( २०७४ कार्तिक २७ )